४ माघ २०७७ आइतबार
विचार

किन बढ्दैछ विकृति ?

अहिले नेपालमा चौतर्फीरूपमा विकृति बढिरहेको छ। सडकदेखि सदनसम्म, व्यक्तिदेखि घर÷परिवार हुँदै समाजसम्म, विद्यालयदेखि कार्यालयसम्म कोहीले कोहीलाई मान्दैन। सरकारमा बस्नेहरूदेखि गाउँका वडा तहसम्म बस्ने पनि उस्तै देखिएका छन्। यस्तो प्रवृत्तिले समाजमा विकृतिलाई मलजल गरिरहेको छ। सोझो अर्थमा भन्दा समाज विकृतिको खाडलतिर झन् तीव्ररूपले अघि बढिरहेको छ। यो राम्रो संकेत पक्कै होइन।

अहिले मुलुकमा दुईतिहाइको सरकार छ। अस्थिर सरकार भएकै कारण विकृतिका बाहकहरूलाई नियन्त्रण गर्न नसकिएको ठानिन्थ्यो। यही कारण केही मानिस यस्तै हो भनेर चित्त बुझाउन बाध्य थिए। तर अहिले समय फेरिएको छ। मुलुकमा दुईतिहाइयुक्त सरकार शासनसत्तामा छ। अझ भनौँ, उसले शासन गरिरहेको छ। यस्तो बेलामा विकृति कम होला र यसका स्रोतहरूमा प्रहार होला भन्ठानेको त, झन् बढ्दो पो छ। यो सरकारका लागिमात्र हैन, सिंगो मुलुककै लागि हानिकारक छ।

खासमा शिक्षाले हो सबैलाई नैतिकवान बनाउने। कानुन त केही मुर्ख तथा अबुझ अनि घमण्डीवालाका लागि हो। तर यसो हेर्दा लाग्छ कि यतिबेला हाम्रो शिक्षा प्रणालीमै खराबी छ। हैन भने शिक्षाले सबैलाई नियन्त्रण गर्नुपर्ने हो। मानिस स्वतः भलाद्मी बन्ने, मानवीय स्वभाव देखाउने तथा सही मार्गमा अघि बढ्ने र अरुलाई पनि सोही मार्ग देखाउने हुनुपर्ने हो। तर अहिले मानिस चुकेकै यही पथमा हो। त्यसैले विकृतिको स्रोत पनि यही हो। भनाइको मतलव अब हाम्रो शैक्षिक प्रणालीमा रहेका कमजोरी पनि खोतलेर त्यसलाई निमिट्यान्न पार्नपट्टि लाग्नुपर्छ कि ?

आमाले छोरी मार्ने, बाबुले छोरी बलात्कार गर्ने, आफन्त–आफन्तबीच नै लडाइँ हुने अवस्था सही हुन सक्दैन। शिक्षक–विद्यार्थी तनाव, आमा÷बाबु र सन्तानबीच दूरी बढ्दो, हाकिम र कर्मचारीबीच रिसराग, ठूला–सानाबीच द्वेष आदि किन बढिरहेका छन् ? किन सन्तुलन डगमगाइरहेको छ हाम्रो समाजको ? के त्यसलाई निन्यत्रण गर्ने कुनै उपाय छैन हामीसँग ? यी सबैको एकमुष्ठ उत्तर हुन सक्छ– हामीले सही शिक्षा लिएनौँ। वा लिए पनि त्यसलाई कार्यान्वयन तहमा ल्याउन आवश्यक ठानेनौँ। परिणाम, आज हामी जो भोगिरहेका छौँ।

कुनै एक क्षेत्र त्यस्तो भेटिन्न जहाँ विकृति नमौलाएको होस्। बसमा कर्मचारीले यात्रुलाई राम्रो व्यवहार गर्दैनन्। सुरक्षाका लागि खटिएका कर्मचारी आफैँ भक्षक छन्। कर्मचारी सेवाग्राहीलाई सहजीकरण गर्न बसेका हुन् तर उनीहरू आफैँ शासक पल्टन्छन्। विद्यार्थी शिक्षकमाथि हाबी हुन खोज्छ। शिक्षक पनि शिक्षक कम, राजनीतिक कार्यकर्ता बढी भएको देखापर्दैछ। गाउँका गन्यमान्यहरू हेपिन थालेका छन्। जसले हाम्रो परम्परालाई पनि नराम्रोसँग धक्का दिइरहेको छ।

यस्तो अवस्थामा हामीले सबैले आफूले गरिरहेको कामको पुनमूल्यांकन गर्नु जरुरी छ। के मैले ठीक गरिरहेको छु ? भनेर एकाध मिनेट सोच्ने हो भने पनि धेरै समस्याको समाधान स्वतः निस्कन्छ। तर विडम्बना हामी यो गर्न तयार छैनौँ। बरु उल्टै अरुलाई अर्ती उपदेश दिएर थाक्दैनौँ। अरुलाई उपदेश दिनुअघि सोचौँ त, के हामी सही मार्गमा छौँ ? के हामी विकृतिको खाडलबाट उम्कन सकेका छौँ ? कतै हामी नै बढ्दो विकृतिको स्रोत बनिरहेका त छैनौँ ? यतिमात्र सोच्न सके पनि धेरै हदसम्म सुधार सम्भव छ।
 

प्रकाशित: २३ असार २०७६ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App