८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

परनिर्भर बन्दै गाउँबस्ती

ज्ञानबहादुर बोहरा
म सानो थिएँ। घरको नजिक चौर थियो। सूर्य अस्ताउने समयमा घरको छतमा उभिएर मुखियाले डाको लगायो। गाउँले छिनमै चौरमा जम्मा भए। दुई घन्टासम्म छलफल भयो। छलफलबाट कुलो निर्माण गर्ने निर्यण भयो। बिहान प्रत्येक घरबाट गाउँले घरेलु औजारहरू जस्तैः घन, साबेल, कोदालो आदि बोकेर कुलो निर्माण गर्नतिर लागे। महिनौँ दिनसम्म श्रमदान गरेर ७ किलोमिटर कुलो खने।  

खोला तर्न साँघु होस् वा खानेपानी धारा, विद्यालय होस् वा चौतारो, यी सबै कार्य गाउँलेले श्रमदानमा गर्थे। हप्तौँसम्म श्रमदान गरेर ठूल्ठूला योजना बिना कसैको सहयोग सम्पन्न हुन्थे। त्यो बेला समस्या पहिचान, परियोजना निर्माण, स्रोत साधन व्यवस्थापन गर्दै यी सबै काम गाउँले मिलेर पूरा गर्थे। यी योजना तथा परियोजनामा गाउँलेको निकै माया र अपनत्व हुन्थ्यो। आफूले सम्पन्न गरेका परियोजनाको मर्मत सम्भार पनि स्वस्फूर्त रूपमा गाउँले आफैँ गर्थे। त्यसैले त धेरै वर्ष पहिले बनेका परियोजनाबाट स्थानीय  अहिले पनि लाभान्वित भइरहेका छन्।   तर अहिले अवस्था बदलिएको छ। गाउँघरमा स्थानीय सरकार छ। करोडौँका योजना छन्। तिनमा जनसहभागिता छैन। ती योजनामा स्थानीय जनताको न माया छ, न त सन्तुष्टि र अपनत्व नै। पाँच वर्षअघि करोडौँ खर्च गरी बनेका योजनाहरू अहिले देखिँदैनन्। अहिले बन्दै गरेका योजनाहरूको दिगोपनामा शंका छ। एक अर्कामा विश्वास छैन। सबैमा कुण्ठा, रिस, राग र प्रतिशोधको भावना पलाएको देखिन्छ। यसको प्रत्यक्ष असर विकास निर्माणमा परेको छ।

जग बलियो भएन भने घर बलियो हुँदैन। देशको जग भनेको ग्रामीण बस्ती हुन्। ती बलिया नहुँदासम्म राज्य बलियो हुन सक्दैन। ग्रामीण बस्ती त्यतिबेला बलिया हुन्छन् जतिबेला स्थानीय सरकार हरेक समस्या समाधान व्यक्तिगत योजना र पैसा बाँडेर होइन, स्थानीय स्रोत साधन परिचालन, जनसहभागिता र सुशासनमा विश्वास गर्छन्।

एकदिनको कुरा हो। गाउँघरमा घुम्दै थियौँ। जाँडले मातेको व्यक्ति नहर भत्काँउदै थियो। हामीले भत्काउनुको कारण सोध्यौँ। उसको कथन थियो– नहर निर्माणमा उपभोक्ता समितिले रकम हिनामिना ग¥यो। उपभोक्ता समितिमा आफ्ना मान्छेलाई मात्र राख्यो। हामिलाई संलग्न गराइएन।’ यो दृश्यले मलाई दुःखि तुल्यायो। मनमनै सोचँे– हाम्रा परम्परागत विकासका असल अभ्यासहरूलाई दल र व्यक्तिगत स्वार्थको रापले ध्वस्त पारिसकेको छ। झाँगिदै गरेको गलत आचरण, व्यवहार र स्वार्थले समाजको वातावरण धमिलो बनेको छ। यस्ता प्रवृति ध्वस्त गरी समाजको सकारात्मक परिवर्तनमा कसैको चासो र चिन्ता देखिँदैन। यसरी गाउँबस्तीमा देखिएका नकारात्मक अभ्यासको मुकदर्शक, पक्षपोषक र प्रेरक मात्र बन्ने गरेका छौंँ। हाम्रा मौलिकता, सिर्जनशिलता र असल अभ्यासहरू ध्वस्त हुँदा पनि हामी चुप लागेर बस्ने हो भने हाम्रो संस्कृति र जीवन प्रणालीमा संकट पर्नेमा दुईमत छैन।  

गाउँबस्तीमा पहिला हामी र हाम्रो भन्ने भावना थियो। आज तेरोमेरो भन्नेमा विभक्त भएको छ। यतिसम्म कि गाउँमा सञ्चालित योजनासमेत मैले ल्याएको, मेरो पार्टीले दिएको, मेरो पहलमा योजना परेको र त्यसको उपभोक्ता समितिमा मेरो मान्छे रहनुपर्नेजस्ता स्वार्थले गाँजेको छ। कतिपय व्यक्तिलाई आफ्नो पहलमा योजना ल्याएकामा दम्भ छ। कतिपयलाई विकास प्रक्रियामा सहभागी हुन नपाएकामा आक्रोश र कुण्ठा छ। यी दुवै प्रवृतिले समाजमा देखिएका समस्या समाधानभन्दा अझ बढाउने काम गरिरहेका छन्। एक पक्षले मैले ल्याएको योजना भन्ने र अर्का पक्षले उक्त योजनामा सहभागिता नहुने र अवरोध गर्ने वातावरण बनेको छ। जसको परिणाम समाजमा झगडा, कुटपिट र अनियमितताका घटना बढिरहेका छन्। यसले सामूहिक भावनामा चोट पु¥याएको छ। गाउँको दिगो विकास अवरुद्ध भएको छ। यो अवस्था सिर्जना हुनु समाजका लागि सुखद कुरा होइन।

आत्मनिर्भर गाउँहरू बिस्तारै परनिर्भरतामा फस्दै छन्। समस्याहरू सामूहिक रूपमा समाधान गर्ने संस्कृति हराउँदै गएको छ। ग्रामिण समुदायलाई स्वावलम्बी बनाउने हाम्रा पुराना अभ्यासहरूमा ह्रास आएको छ। हरेक समस्याको समाधान अरू कसैले गरिदेओस् भन्ने चाहना बढ्दो छ। समस्याहरूको समाधान आफँैबाट सम्भव छ भन्नेहरूको संख्या कम भएको छ। यसै सन्दर्भमा एक दिन एउटा गाउँमा पुगियो। त्यो गाउँमा खानेपानीको हाहाकार थियो। प्रत्येक दिन आधा घन्टा हिँडेर खानेपानी ल्याउनुपथ्र्यो। पहिराले करिब ३ सय मिटर खानेपानी पाइप बगाएको रहेछ। गाउँले मिलेर दुई घन्टा काम गर्ने हो भने घरघरमा खानेपानी पुग्न सक्थ्यो। तर स्थानीय योजनाको पखाईमा थिए। कसैले खानेपानी मर्मतका लागि रकम विनियोजन गरोस् भन्ने उनीहरूको आशा थियो। प्रत्येक दिन दुई घन्टा खानेपानी ओसार्न तयार तर खानेपानी पाइप मर्मत नगर्ने। गाउँबस्ती यति परनिर्भर बन्दै छन् कि समाजमा विद्यमान कुसंस्कार र संस्कृति अन्त्य गर्नेदेखि घरआँगन सरसफाइ, शौचालय निर्माण र चौतारी मर्मतसम्म योजनाबिना सम्भव देखिँदैन।  

आफ्नो काम आफँैले गर्नुपर्छ भन्ने पुरानो संस्कृति मृतसरह बनेको छ। आफूले केही गर्न नपरोस्, सबै अरूले गरिदिउन् भन्ने मानसिकता विकास भएको छ। भोकभोकै बस्न तयार तर बिनायोजना सिन्को नभाँच्ने ! स्थानीय सरकार र यसका प्रतिनिधिहरू चिया पसल, चौतारो र सार्वजनिक सभा समारोहमा विकास र समृद्धिका कुरा त गर्छन् तर व्यवहारमा मगन्ते संस्कृतिलाई पक्षपोषण गरिहेको देखिन्छ। जनतालाई बलियो, आत्मनिर्भर बनाउने कार्यमा स्थानीय सरकार चुकेको छ। स्थानीय सरकार मगन्ते संस्कृतिलाई निरुत्साहन गर्नुको सट्टा व्यक्तिका खुद्रे योजनाहरूमा रकम विनियोजन गर्दै रमाइरहेको छ। यस्ता कार्यले गाउँबस्तीहरू परिनिर्भर बन्दै गएका छन्।  

पैसा तथा योजना बाँडेर गरिबी अन्त्य हुन्छ, जनता आत्मनिर्भर हुन्छन्, गाउँबस्ती उँभो लाग्छन् भन्ने सोचमा परिवर्तन आवश्यक छ। जनतालाई पैसा बाँड्नु भनेको मगन्ते संस्कृति विकास गर्नु हो। समाजमा आर्थिक, भौतिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन त्यतिबेला देखिन्छ जतिबेला आफूसँग भएका स्रोत साधनको अधिकतम प्रयोग गर्ने वातावरण बन्छ। यी सबै कार्य गर्न स्थानीय सरकार दूरदृष्टिसाथ अघि बढ्न आवश्यक देखिन्छ।

‘समृद्ध नेपाली, सुखी नेपाली’ स्थानीय सरकारले आफँैलाई परीक्षणको भट्टीमा राखेर काम गर्न सक्नुपर्छ। दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको अधिकतम हितमा काम गर्ने साहस गर्नुपर्छ। विगतका राहत र वितरणमुखी योजनाले जनताको जीवन स्तर सुधार हुन सकेन। उल्टो परनिर्भरताको जग बसाल्यो। विकास प्रक्रियाका परम्परागत असल अभ्यासहरूलाई ध्वस्त पा¥यो। त्यसैले स्थानीय सरकारले विगतका कमीकमजोरीबाट पाठ सिकेर अघि बढ्दै जानुपर्छ। काम गर्दा कमजोरी हुन सक्छ तर त्यसलाई दोहो¥याउनु र जनतालाई परनिर्भरतामा हिँडाउने कार्यलाई प्रोत्साहन गर्नु हुँदैन। त्यसो गर्नु ठूलो गल्ती हुनेछ।

अन्तमा, जग बलियो भएन भने घर बलियो हुँदैन। देशको जग भनेको ग्रामीण बस्ती हुन्। ती बलिया नहुँदासम्म राज्य बलियो हुन सक्दैन। ग्रामीण बस्ती त्यतिबेला बलिया हुन्छन् जतिबेला स्थानीय सरकार हरेक समस्या समाधान व्यक्तिगत योजना र पैसा बाँडेर होइन, स्थानीय स्रोत साधन परिचालन, जनसहभागिता र सुशासनमा विश्वास गर्छन्। स्थानीय ग्रामीण बस्तीलाई आत्मनिर्भर, कर्तव्यनिष्ठ र स्वाभिमानी बनाई इतिहास रच्ने ठूलो अवसर सररकालाई छ। यसको सदुपयोग गरौँ। होइन भने इतिहासले त्यसको मूल्यांकन गर्ने नै छ।

प्रकाशित: २३ असार २०७६ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App