६ वैशाख २०८१ बिहीबार
विचार

हिंंसाको बदलिँदो रूप

स–साना नानी बलात्कृत भएका समाचार सुनेर हैरान हुनेहरू आजभोलि भयानक सिरिङ्ज आक्रमणका खबर सुनेर आक्रान्त छन्। सुन्दा पनि आङै सिरिङ्ग हुने सिरिन्ज आक्रमणबाट निको नहुने रोग, जस्तै– एचआइभी एड्स, हेपाटाइटिस बिलगायतकाजीवाणु सारिदिने कुरा बाहिर आएपछि महिलालाई ढुक्क भएर काठमाडौँलगायतका सहरमा हिँड्न पनि त्रास भइरहेको छ।

भर्खरैमात्र प्रहरीले काठमाडौँमा सिरिन्ज आक्रमण गर्ने रामेछापका सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक ग-यो। प्रहरीलाई बयान दिने क्रममा उनले छोटा लुगा लगाएर हिँड्ने महिलाहरू देखेर उत्तेजित हुँदै ढलान किलाले घोचेको बताए। त्यतिमात्रै होइन, उनले श्रीमतीसँगै हिँड्दासमेत सडकमा महिलाहरूलाई रमाइलाका लागि ढलान किलाले घोचेको बताए। उनले एकजनालाई मात्रै नभई विभिन्न ठाउँमा पाँचजनालाई यसरी किलाले घोचेको स्वीकार गरेका छन्। सन्तोषको यस्तो बयानपछि भयानक रोग स-यो कि भनेर अस्पतालको निगरानीमा उपचार गराइरहेका महिलालाई केही राहत त मिलेको छ तर सन्तोषले भनेको कुरामा कति सत्यता छ भनेर पुष्टि हुने कुनै आधार भेटिएको छैन। अस्पतालले पनि यस विषयमा केही बोलेको छैन।

पछिल्ला केही वर्षमा त बलात्कारका घटनाहरू यसरी बाहिर आउन थाले कि एउटी आमालाई बाबुका साथ छोरी छाडेर ढुक्कसँग बाहिर हिँड्न सक्ने अवस्थासमेत नहुने स्थिति आयो। सरकारका एक उपसचिवले ‘विदेशतिर छोरीसँग यौन सम्बन्ध राख्छन् के हुन्छ त !’भन्दै आफ्नै छोरीलाई फकाएर वर्षौँदेखि बलात्कार गरेको खबर सार्वजनिक भएको छ

काठमाडौँमा सिरिन्ज आक्रमण गर्दै हिँड्ने सन्तोष पक्राउ परेलगत्तै काभ्रेको बनेपामा महिलाले महिलालाई नै सिरिन्जले घोचेको घटना सार्वजनिक भयो। आपराधिक मानसिकता बोकेको सन्तोषले महिलालाई रमाइलोका लागि ढलान किलाले घोचेँ भनेर बयान दिए भने बनेपामा महिलाले महिलालाई कुन उद्देश्यले आक्रमण गरिन् ? सिरिन्जबाट कुनै रोग स-यो वा सरेन ? भन्ने विषयमा केही पनि बाहिर आएको छैन। तर चिकित्सक र प्रहरीले भने महिलाले महिललाई नै तिखो वस्तुले घोचेकाले अवश्य पनि काठमाडौँमा भएको घटनाभन्दा फरक हुनुपर्छ भनेका छन्। आक्रमणबाट पीडित बनेकी महिला भने घातक रोग स-यो कि भन्ने चिन्ताले छट्पटाइरहेकी छन्।

पछिल्लोपटक त्यस्तै घटना काठमाडौँको कीर्तिपुरमा भयो। त्यहाँ पनि अपरिचित व्यक्तिले महिलालाई तिखो वस्तुले घोचेको भनिएको छ। बनेपा र कीर्तिपुरको घटना भने सन्तोष कार्कीले ढलान किलाले घोचेजस्तो नभएको प्रहरीले जनाएको छ। काठमाडौँमै दिनदहाडै यस्तो घटना भएबाट बालिकादेखि युवा महिलासमेत डराउनुपर्ने अवस्था सिर्जना भएको छ। जिल्लामा समेत यस्ताघटना भइसकेका छन्। तर कुन उद्देश्यले किन यस्ता घटना भए भन्नेबारे प्रहरी नै अन्योलमा छ। सन्तोष कार्कीले वयान दिने क्रममा सिरिन्ज आक्रमण आफूले वैदेशिक रोजगारीमा जाँदा देखेको र रमाइलोका लागि यस्तो गरेको बताए भने अरु घटनामा संलग्नको पहिचान हुनै बाँकी छ।

संसारभरि भएको प्रविधिको विकाससँगै हिंसाका रूप पनि बदलिँदो अवस्थामा छ। बलियाले कमजोरमाथि शासन चलाउन गरिने हर्कतहरू जुनसुकै ठाउँमा पनि हुने गरेका छन्। मात्रै त्यसका रूप फरक हुने हुन्।केही वर्षअगाडिसम्म बलात्कारका घटना भएका खबरहरू त्यति सुनिँदैनथे। अथवा त्यस्ता घटना भए पनि बाहिर आउँदैनथ्यो। तर पछिल्ला केही वर्षमा त बलात्कारका घटनाहरू यसरी बाहिर आउन थाले कि एउटी आमालाई बाबुका साथ छोरी छाडेर ढुक्कसँग बाहिर हिँड्न सक्ने अवस्थासमेत नहुने स्थिति आयो। सरकारका एक उपसचिवले ‘विदेशतिर छोरीसँग यौन सम्बन्ध राख्छन् के हुन्छ त !’भन्दै आफ्नै छोरीलाई फकाएर वर्षौँदेखि बलात्कार गरेको खबर सार्वजनिक भएको महिना नबित्दै विदेशमा देखेको सिरिन्ज आक्रमणको अभ्यास एक युवाले काठमाडौँमा गर्नु संयोगमात्रै हो भन्न सकिँदैन।

प्रकाशित: १८ असार २०७६ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App