८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

मानो खाएर मुरी

‘असारै महिनाको छिपछिपे हिलो छुनलाई घिन लाग्यो...’– एउटा चर्चित गीत। असार १५ ताका यो गीत रेडियो नेपालबाट बज्दै गर्दा अधिकतर किसान परिवार त्यही छिपछिपे हिलोमा मग्न हुन्थे। ‘मानो खाएर मुरी’ को जोहो गर्नुपर्ने यसबेला अझै धेरै खेतमा रोपाइँ हुन सकेको छैन। धान रोपाइँसँग जोडिएको यस दिनले कृषिकर्मसँग मात्र सरोकार राख्दैन। खासमा यो दिन मुलुकको कृषि अर्थतन्त्र बुझ्न पनि उपयोगी हुनुपर्छ। निर्वाहमुखी नै भए पनि हिजोका दिनमा सबैले खेतबारीमा दशनंग्रा खियाएर मुलुकको अर्थतन्त्रमा योगदान गर्दै आएका हौँ। राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान ३० प्रतिशतभन्दा तल छ। समग्र कृषिजन्य उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको मानिन्छ। तर, धान हाम्रो मुलुकमा एउटा महत्वपूर्ण खाद्यबालीका रूपमा छ। धनधान्यले भरिपूर्ण हुनु भनेको परिवारमा खाने अनाज हुनु हो। जीवन सहज बन्नु पनि हो। दुर्गम पहाड र तराईका नागरिक पनि आफूले उत्पादन गर्ने यस्तै कृषिजन्य वस्तुमा निर्भर हुन्छन्। यसको उत्पादन हुन सकेन भने तिनको जीवन कठिन हुन पुग्छ। यसकारण पनि असार महिना आगामी वर्ष बाँच्ने उपक्रमको एउटा निरन्तरता हो।

धान धेरै फल्दा किसानका भकारी मात्र ठडिँदैनन्, यसले सरकारको नाक पनि ठड्याउँछ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष धान धेरै फलेकामा समेत गौरव गर्दै भाषण गरेको हामीले सम्झिरहेका छौँ। उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलमा सरकारको प्रगतिबारे जानकारी दिँदै भनेका थिए– ‘यो मेरो सरकार आएपछि आलु धेरै फल्यो, ९ प्रतिशत धेरै फल्यो, धान मकै गहुँ पनि धेरै फलेका छन्। अब तपाईँहरू फलफूल रोप्ने अभियान चलाउनुस्, आफ्नो जग्गा नभए सार्वजनिक जग्गामै भए पनि लगाउनुस्।’ गत वर्ष तुलनात्मक रूपमा बढी वर्षा भएको थियो। त्यो वर्षाको प्रभाव कृषि प्रणालीमा पर्नु स्वाभाविक हो। आकासे पानीका भरमा खेती गरिरहेका हाम्रो मुलुकका किसानका निम्ति वर्षा स्वाभाविक रूपमा वरदान साबित हुन्छ। यस वर्ष बेला–बेला काठमाडौँमा पानी परेर धुलो मारिरहेको भए पनि खेती गरिरहेका किसान खुसी हुनेगरी अझै वर्षा हुन सकेको छैन। राम्ररी पानी नपरेका कारण असार १५ आइपुग्दा पनि अपेक्षाकृत रोपाइँ गर्न सकिएको छैन। राम्ररी वर्षा हुन सकेन भने धान र अन्य बाली उत्पादन लक्ष्यअनुसार हुन सक्दैन।

धान दिवसका रूपमा समेत मनाइने यो मध्यअसारको समय सरकारदेखि सरोकारवालसम्म सबैले किसानका पक्षमा केही सोच बनाउनु आवश्यक छ। किन किसानले भनेका बेला मल, बिउ  पाउँदैनन् ? मल कतिबेला चाहिन्छ भनेर किन बेलैमा योजना बनाउने काम हुँदैन। मुलुकका राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अवस्था त्यस्तै छ। कम्तीमा आकासे पानीका भरमा खेती गर्नुपर्ने नियतिबाट किसानलाई मुक्त गर्न सिँचाइ आयोजना समयमै पूरा गर्न सक्नुपर्ने थियो। तर, सिक्टा सिँचाइ आयोजनामा भएको कमसल निर्माण कार्यले वर्षौं पुरानो यो अपेक्षा पूरा गर्न सकेको छैन। भलै सरकारले अधुरो र अनियमितताले थिल्थिलो भएको यो आयोजना आफैँ सम्पन्न गर्ने जानकारी भर्खरै सार्वजनिक गरेको छ।

भेरी–बबई सिँचाइ आयोजनाको सुरुङ सम्झौताभन्दा एक वर्षअघि नै सम्पन्न भएको छ। उक्त आयोजनाबाट विद्युत् उत्पादन र सिँचाइको काम सँगै अघि बढाउने भनेका छन्। त्यसो भए यसले लक्ष्यअनुसार किसानका खेतमा पानी पु¥याउने सम्भावना बढेको छ। सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा विदेशमा कृषिसम्बन्धी सीप सिकेर आएका व्यक्तिलाई प्रोत्साहन गर्ने भनी १ अर्ब रुपैयाँ बजेट पनि छुट्याएको छ। सरकारले कृषिबाट विमुख हुँदै गएका जनतालाई आकर्षित गर्ने योजना पनि बनाउनुपर्ने भएको छ। कृषिमै आधारित परिवारका सदस्य ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएका छन्। त्यसले हाम्रा खेतबारी बाँझा बनेका छन्। कृषिबाट यहीँ रोजगारी सिर्जना हुन सक्ने र उत्पादनले बजार पाउने अवस्था सिर्जना गर्न सकिन्छ। धान दिवसको यो अवसरमा सोचमा परिवर्तन आवश्यक भइसकेको छ।

प्रकाशित: १६ असार २०७६ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App