२९ असार २०७७ सोमबार
विचार

शिवपुरीमा सफारी

काठमाडौँ उपत्यकाको प्रदूषण कम गर्न वरिपरिका हरिया पहाडले ठूलो मद्दत गरेका छन्। कचौरा आकारको यो उपत्यकालाई बस्नयोग्य बनाएको यिनै पहाडले हो। यो हरियालीले प्राकृतिक वातावरण सिर्जना गरेको छ। एकझर पानी पर्नेबित्तिकै जेठ–असारका दिनमा समेत वहने चिसो हावाले यहाँ शीतलता प्रदान गर्छ। न धेरै गर्मी न धेरै जाडो, यस्तो सुगम मौसम भएका बिरालाकोटी स्थानमा काठमाडौँ पर्छ। आवासका निम्ति यो ठाउँ भूस्वर्ग नै हो। यस्तो सुखद स्थान क्रमशः कंक्रिटको जंगलमा अनुदित भइरहेको छ। काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाको विस्तार पहाडको काखसम्म भइसकेको छ। त्यतिमात्र होइन, वरिपरि जंगलमा समेत मानव बस्तीले आक्रमण गरिरहेको छ। यी जंगलको उपयोग निजी प्रयोजनका निम्ति कति हुने हो ? राज्यले व्यापारिक प्रयोजनका निम्ति कति दिने हो ? यसको संरक्षण नीति के हो ? यस्ता प्रश्न अहिले क्रमशः उठिरहेका छन्। काठमाडौँ उपत्यकाभित्रका पालिका सरकारहरू आफैँ पनि यी ठाउँको विकास र विस्तारमा लागेका छन्। ती प्रत्येकको विकास मोडल के हो ? यी जंगल कतिसम्म प्रयोग गर्न सकिन्छ भन्ने राष्ट्रिय नीतिबाट परिलक्षित हुनु त्यतिकै आवश्यक देखिन्छ। तर पछिल्ला वर्षहरूमा यी जंगलमा अतिक्रमण सुरु भइसकेको छ। त्यसमा होटल खोल्ने, केबलकार चलाउने र सफारी सञ्चालन गर्ने योजनाहरू सार्वजनिक हुने क्रमसँगै यी जंगल संरक्षणको प्रश्न उठ्न थालेको छ।

शिवपुरीमा सफारकिा नाममा जुन हिसाबले अहिले विकास गर्ने भनिँदै छ, त्यसले केही व्यक्तिका व्यापारिक उद्देश्य त पुरा गर्ला, तर काठमाडौंको हित गर्दैन।

राजनीतिक प्रभावका आधारमा योजना बन्ने र तिनको कार्यान्वयन हुने गरेका छन्। राजधानी काठमाडौँलाई हरियाली, शीतलता र पानीका स्रोत दिइरहेको शिवपुरी जंगलमा सफारी चलाउने योजनाले वातावरण प्रेमीहरूलाई चिन्तित तुल्याएको छ। शिवपुरी निकुञ्ज वषौँंको संरक्षण प्रयासले अहिलेको अवस्थासम्म जोगिएर रहेको हो। तर त्यहाँ सफारी चलाइने भएपछि जैविक पर्यावरण तहसनहस हुने खतरा बढेको छ। अहिले विकास भन्नु नै बाटो भन्ने भइरहेको छ। बाटोका निम्ति जहाँसुकैका जंगल र पहाडी भित्ताहरू खोस्रिने विकृति व्यापक भइरहेको छ। हाम्रा पहाडहरू यसै पनि कमला छन्। त्यहाँ प्रयोग भएको डोजरले बर्सेनि बाढीपहिरो प्रकोपसमेत बढिरहेको छ। त्यसमा पनि शिवपुरीमा धेरै असर पार्नु भनेको उपत्यकामाथि थप खतरा निम्त्याउनु पनि हो। यसै पनि काठमाडौँ अहिले निकै तातो भइसकेको छ। यहाँको जनसंख्या बढ्नु र तिनका निम्ति आवश्यक पानी, ढल र अन्य सुविधाले पनि यहाँको वातावरण बिगारिरहेको छ। सामान्यतः नीलो आकाश देखिने काठमाडौँ पानी नपर्ने बेलामा प्रदूषणको बाक्लो पत्रले ढाकिएको हुन्छ। वर्षायाममा नियमित पानी पर्दा मात्र यहाँको हावाको गुणस्तर राम्रो हुन्छ। काठमाडौँ उपत्यका वरिपरिका हरिया सुन्दर पहाडलाई व्यापारिक प्रयोजनले दोहन गर्ने परिपाटी कम गर्नुपर्छ। पानी परेर आकाश खुलेका बेला देखिने हिमाच्छादित टाकुराहरूले काठमाडौँको सौन्दर्य बढाउँछन्। तर यस्तो दृश्य नियमित देख्न पाइँदैन।

काठमाडौँ वरिपरिका पहाडमा किन धेरै केबलकार आवश्यक पर्छ ? चन्द्रागिरिमै पनि केबलकार बनाउन जसरी दिइएको छ र जसरी त्यहाँ जंगल फाँडेर कंक्रिटका संरचना बनाइएका छन्, त्यसले कुनै अर्थमा पनि काठमाडौँलाई वातावरणीय हिसाबमा सुन्दर रहन दिएको छैन। काठमाडौँ उपत्यकाको वातावरणमा नकारात्मक प्रभाव पर्नेगरी दिइएको अनुमतिबाट राज्यलाई प्राप्त राजस्व अपेक्षाकृत उल्लेख्य छैन। फेरि यस्तै प्रकृतिका संरचना शिवपुरीतिर पनि बन्ने हुन् भने त्यसले काठमाडौँमा थप समस्या ल्याउनेछ। काठमाडौँमा चिसोपन ल्याउने नागार्जुन, गोदावरी, चन्दागिरिको महŒवलाई कम आँकेको देखिँदै छ। कुनै बेला यहाँका किसानले यी पहाडबाट आएको पानीबाट सिँचाइ गरी खेतीसमेत गर्ने गरेका थिए। तर अहिलेकै अवस्था रहने हो भने भावी पिँढीका निम्ति यो एउटा किंवदन्तीमात्र हुनेछ। विशेषगरी शिवपुरीकै कारण राजधानी काठमाडौँका बासिन्दाले पानीका स्रोतमा निर्भर रहनुपरेको छ। सरकारले वितरण गर्ने खानेपानी नियमित नहुँदा पनि यस्तै प्राकृतिक स्रोतमा भर परेर आफूलाई येनकेन बचाइरहेका छन्। पहाडका फेदबाट आइरहेका जरुवा पानीका स्रोत अहिले पनि देख्न सकिन्छ। सर्वसाधारणले प्रकृतिप्रदत्त प्रशोधित पानी उपभोग गर्न पाएका छन्। तर शिवपुरीमा सफारीका नाममा जुन हिसाबले अहिले विकास गर्ने भनिँदै छ, त्यसले केही व्यक्तिका व्यापारिक उद्देश्य त पूर्ति गर्ला, तर काठमाडौँको हित गर्दैन। कम्तीमा यहाँका स्थानीय सरकारहरूले विचार गर्नुपर्ने हो, यस्ता प्राकृतिक स्रोतलाई अन्यत्रका मुलुकले कसरी संरक्षण गरेका छन्। त्यसका लागि धेरै टाढा जानै पर्दैन। चीनले तिब्बतमा रहेको विशाल सिमसार क्षेत्र संरक्षण गरेको छ। अध्ययन/अनुसन्धान र आवश्यकताबिना शिवपुरी सफारीजस्ता योजनामा समयमै रोक लगाउनु आवश्यक छ। यहाँको पर्यावरणभन्दा ठूलो कुरा कुनै व्यक्ति र सरकारको व्यवसाय हुन सक्दैन।

प्रकाशित: ६ असार २०७६ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App