८ वैशाख २०८१ शनिबार
विचार

खै खाद्य सुरक्षा ?

श्रद्धा भट्टराई
खाद्य सुरक्षा अहिले विश्वको एउटा अनुसन्धानको विषय हो भने यसलाई हरेक खाद्य वस्तुमा लागुगर्नु अर्को चुनौती पनि हो। यसै सन्दर्भमा हाम्रो देशमा पनि आक्कलझुक्कल खाद्य सुरक्षाबारे छलफल हुने गरेको छ। तर पनि आमजनतामा यसबारे कमैमात्र ज्ञान पाइन्छ।

पहिलो कुरा त खाद्य सुरक्षा मात्र खाने कुरामा सीमित हँुदैन। यसमा खाद्यवस्तु बनाउँदा वा प्रशोधन गर्दा प्रयोग हुने सामग्रीको गुणस्तर र भण्डारण, यस वरिपरिको वातावरण, फोहोर व्यवस्थापन, कीरा र मुसाको नियन्त्रण, प्रयोग हुने हावा–पानी, ऊर्जाको गुणस्तर, प्याक गर्ने सामानको गुणस्तर, व्यक्तिगत सरसफाइ जस्ता अनेकौँ कुराले भूमिका निर्वाह गर्छ।

खाद्यवस्तु प्रशोधन गर्दा जैविक, रासायनिक र भौतिक जोखिम आउन सक्छन्। खाद्य सुरक्षा सुनिश्चित गर्न ती जोखिम के÷के हुन सक्छन् भन्ने पहिले नै एकिन गरेर त्यसको नियन्त्रणका तरिका पक्का गर्नुपर्छ। अझ प्रशोधनका क्रममा एओले पहिल्याएको १४ एलार्जिक खाद्यवस्तुमध्ये कुनै छ भने त्यो पनि पहिल्याएर खाद्यवस्तु पैक भएको लेबलमा उल्लेख  हुनुपर्छ। तर हामीले हाम्रो घर÷बजारमा पाउने खाद्यवस्तुको यसरी खाद्य सुरक्षा सुनिश्चित गर्न धेरै गाह्रो छ। नदीको किनार, घर नजिकको चौरलाई  वधशाला बनाइ अस्वस्थकररूपमा जनावर मारकाट गरी मासु र मासुजन्य वस्तु बिक्री गरिन्छ। अवैधानिकरूपमा विषादि हालेका सागपात, फलफूल बजारमा बेचिएका सामचार हामीले सुन्दै आएका छौँ।  दूधमा कस्टिक सोडा हालेर प्रशोधन गर्न पाउनुपर्छ भनेर उद्योगपतिहरूले आन्दोलन नै गर्दै आएका देखेकै छौँ।

बजारमा पाइने आयातीत खाद्यवस्तुमा के÷के हालेर बनाइएको छ भनेर पढ्न खोज्दा बुझिँदैन। न त्यसमा नेपाली भाषामा लेखिएको हुन्छ न त अंग्रेजीमा नै। हामी हचुवाकै भरमा खान मिल्ने वस्तु नै होला भनेर खान्छौँ पनि। ठूलाठूला नाम गरेका मिठाइ पसलदेखि गल्लीको सानो हलुवा पसलसम्ममा अखाद्य रंग प्रयोग भइरहेको हुन्छ। फोहोर उत्तिकै। बोल्ने कसले ?

काठमाडौँमा पानीको हाहाकार छ।हरेक टोलटोलमा ट्यांकरको पानी बेचेर आपूर्ति गर्ने धेरै छन्। तर त्यो ट्यांकर कहिले सफा गरिएका थिए, के हालेर सफा गरियो, अब कहिले सफा हुन्छ, त्यसले बोकेको पानी सफा नै छ भन्ने निश्चित गर्ने तरिका के हो ? कसैलाई थाहा छैन। अनि हामी यस्तै पानी प्रयोग गरेर खाद्य सुरक्षाको कामना गरिरहेका छौँ। यो हदैसम्मको विडम्बना हो।

बोतलको पानीदेखि हरेक नेपालीको भान्छामा प्रयोग हुने बेसारसम्म कुनै त्यस्तो खाद्य वस्तु छैन होला जुन खानु अथवा प्रयोग गर्नुपूर्व हामी दुई चोटि सोच्दैनौँ कि कतै यसले हाम्रो स्वास्थ्यमा हानि पो गर्ने हो कि भनेर। जब राजमार्गका होटलमा जान्छौँ, त्यहाँ बाहिरबाट शौचालयको दुर्गन्ध आइरहेको हुन्छ। राखेको पानी खाए पेट पो दुख्ने हो कि भनेर डर हुन्छ। पकाएको खानेकुरा खुलारूपमा देखाएर नछोपी राखेका हुन्छन्। कुनैमा त त्यहीँ बाहिर जुठा भाँडा माझेर नालीमा फोहोर बगिरहेको हुन्छ।
भक्तपुरको कुनै कुखुरा फर्ममा बर्ड फ्लु देखियो भन्ने समचार आउँछ। सम्बन्धित आधिकारिक निकायबाट कुनै विज्ञप्ति आउँदैन। हो कि हैन कसरी थाहा पाउने ? जनता अन्दाजकै भरमा नेपालीले जे  पनि पचाउँछ भन्दै मासु खाइरहेका छन्। त्यसमा थप अझ एक व्यक्तिको समेत बर्ड फ्लुकै कारणले मृत्यु भयो भनेर फेरि अर्को समाचार आउँछ। यति हँुदा पनि कुनै सरकारी निकायबाट कुखुराको मासु खानू वा नखानू भनेर कुनै  सूचना आउँदैन। त्यसैले फेरि पनि आमजनता अन्दाजकै भरमा मासु खाइरहेका छन्। यस्तो अवस्थामा कहाँ छ खाद्य सुरक्षा सरकार ?

प्रकाशित: १ असार २०७६ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App