२४ असार २०७७ बुधबार
विचार

मधेसी युवाको दाइजो मोह

प्रमोद सरबरिया
युवा शब्द सुन्नेबित्तिकै मानसपलटमा एउटा बिम्ब बन्ने गर्छ–हृष्टपुष्ठ शरीर भएको, जोश/जाँगरले भरिपूर्ण, नयाँ विचार बोकेको, समाज परिवर्तनको संवाहक आदि। त्यसैले व्यक्तिदेखि समाज र राष्ट्र सबैलाई नयाँ विचारले परिवर्तन गर्ने नै युवावर्ग हो। घरको आर्थिक विपन्नतादेखि लिएर राष्ट्रको राजनीतिक परिवर्तनसम्म, सबै परिवर्तनमा प्रमुख भूमिका युवाकै हुन्छ।

तर अफसोच, मधेसका युवाहरूका मामिलामा यो नियम लागु हुन्न। उनीहरूलाई दहेजले नराम्रोसँग गाँजेको छ।जसले गर्दा मधेसका युवाको प्रसंग आउँदासाथ मानिस अचेल दहेजसँग जोड्न थालेका छन्। र, प्रश्न गरिहाल्छन् कि दाइजोमा कित लियौँ ? यस्तो प्रश्न गर्नुपर्ने अवस्थाले पूरै मधेसी युवाको शिर निहुरिएको छ।

मधेसका युवा जसले २०६२/६३ को मधेस आन्दोलनलाई चरम उत्कर्षमा पु-याए। राज्यसत्तालाई घुँडा टेक्न बाध्य बनाए। राजनीतिक परिवर्तनमा अहम् भूमिका निर्वाह गरे। तर सामाजिक परिवर्तनमा आज तिनै मधेसी युवा निकै पछाडि परेका छन्।बाराका डा. सिचितानन्दले दाइजोकै कारण पत्नी सुनितालाई यातना दिएर मारे।त्यस्तै पलङ दाइजोमा नदिँदा रौतहटकी निशा उपाध्याय तिवारीलाई चरम यातना दिइ मारियो। सिरहामा मात्र दाइजोका कारण महिला हिंसा भएका भनेर७ सयभन्दा बढी उजुरी परेका छन्। यसबाट पनि थाहा हुन्छ कि मधेसी युवा सामाजिक परिवर्तनको पाटोमा कति पिछडिएका छन् भन्ने।

त्यस्तै सिरहाकै लहानस्थित मदन प्रसूति पोलिक्लिनिकमा छोरी जन्मेपछि आमा÷बुबा फरार भनेर समाचार आएको थियो। दाइजोको भयाबह अवस्थाले गर्दा आज आमा÷बुवा छोरी छाडेर भाग्न बाध्य हुने गरेका छन्। यस्तो बाध्यात्मक परिस्थिति निम्त्याउने अरु कोही हैन, हामी मधेसी युवा नैहौँ। हामी डाक्टर बन्छौँ, इन्जिनियर बन्छौँ,अधिकृत भन्छौ तर आफ्नो सोच भने परिवर्तन गर्दैनौँ। यो बडो दुःखलाग्दो कुरो हो। हामी आफ्ना अभिभावकलाई कहिल्यै पनि सम्झाउँदैनौँकि हामीलाई दाईजो चाहिँदैन भनेर। उल्टै हामीले आफ्ना साथीभाइलाई सोध्छौँ– ‘तिमीले आफ्नो विवाहमा दाइजो कति लियौ?’ अनि साथीले दाइजोको सूची सुनाउँछ। हामी खुशी हुन्छौँ र भन्छौँ–‘हेर म त आफ्नो विवाहमा तिमीभन्दा पनि बढी दाइजो लिएर देखाउँछु।’के हामी सही मार्गमा छौँ त ? प्रश्न सोचनीय छ।

हाम्रा अभिभावकले दाइजो लिने गरेका होइन, हामी युवाले अविभावकलाई बुझाउन नसकेर तिनीहरू दाइजोको लोभमा परेका हुन्। त्यस कारण मधेसका युवाले आफ्नो साख जोगाउने हो भने मधेसमा गाउँ–गाउँबाट युवाहरू एकजुट भई दाइजो प्रथाविरुद्ध उत्रनुपर्छ। मुख्यगरी आफ्ना अभिभावकलाई सचेत पार्नुपर्ने आवश्यकता छ। प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान चलाएको छ। प्रदेश सरकारले पनि यस नारालाई सार्थक बनाउने हो भने मधेसका युवालाई दहेजविरुद्ध जनचेतनामूलक कार्यक्रम चलाउन सहयोग गर्नुपर्छ।

किनकि मधेसमा छोरी जन्मनेबित्तिकै दाइजोको जोहोमा घर/परिवार जुट्न थाल्नुपर्ने बाध्यता छ। नकि उसको उचित शिक्षादीक्षामा। जसको फलस्वरूप छोरीलाई घरमा, समाजमा बोझका रूपमा लिने गरिन्छ। त्यसैले अब मधेसमा समाज परिवर्तनको एउटा मात्र आशलाग्दो सम्भावनाका किरण भनेकै मधेसका युवा हुन्। त्यसैले समाजबाट दाइजो, महिला हिंसा समाप्त गर्ने जिम्मेवारी पनि उनीहरूकैकाँधमा आएको छ।यदि समाज परिवर्तनकालागि अन्धकार हटाउन हामी युवा जल्दैनौ भने तब कसले अन्धकार हटाउने ?बरु यसका लागि आजैदेखि आआफ्नो तह र तप्काबाट प्रयास थालिहाल्ने हो कि ? अन्यथा मधेसी युवा कलंकको टीका भिरिरहन बाध्य हुनेछन्।

प्रकाशित: १४ जेष्ठ २०७६ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App