१६ जेष्ठ २०७७ शुक्रबार
विचार

निर्वाचित तानाशाह बन्ने रहर

गएको हप्ता एकजना ‘पहुँचाहुवा फकिर’ अर्थात आध्यात्मिक गुरुसँग सौभाग्यले भेट भयो। उनी एकप्रकारको दार्शनिक जस्तै रहेछन्। जुन विषयलाई पनि दार्शनिक ढंगले विवेचना गर्ने।प्रसंगवस् एकजना मित्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण शासकीय अधिकार आफ्नो मातहत ल्याएर निरंकुश बन्न खोजेको कुरा उठाए। अर्को मित्रले अघिल्लो साथीलाई पुठ पुग्नेगरी तर्क गरे। कसैकसैले त प्रधानमन्त्रीले जे गरिरहेका छन्, ठीकै गरेका छन् भने।त्यस्ता आध्यात्मिक गुरुसामुन्ने यस्ता घोर सांसारिक कुराले मलाई भने अलि असजिलो महसुसगराइरहेको थियो। त्यहाँको माहोल यस्तो थियो, मानौँ संसद्भित्र ‘शून्य समय’ मा सांसदले बकम्फुसे कुरा गरिरहेका हुन्। गुरुचाहिँ सभामुखझैँ पालैपिलो वक्ताहरूको अनुहार नियालिरहेका हुन्थे। म चाहन्थेँ– यी यावत् बकवास् बन्दहुन् र स्वामीजीबाट कुनै तŒवज्ञानका २–४ वाक्य सुन्न पाइयोस्।

मनको कुरा ती सन्तले बुझेछन् क्यार ! उनले छलफलकै विषयवस्तुसँग प्रसंग जोड्दै भने– ‘हेर्नुहोस्, तपाईँहरूवेदवाक्यमाथि विश्वास गर्नुहुन्छ कि हुन्न मलाई थाहा छैन। तर वेदलाई रेफरेन्समा राखेर म, भन्छु– तपाईँहरू एउटा कुनै व्यक्तिलाई लक्ष्य गरेर ऊ निरंंकुश बन्न खोज्दैछ भनिरहनुभएको छ। उसलाई निरंकुश बन्नबाट रोक्नुप¥यो पनि भन्नुभयो कसैकसैले। हेर्नुहोस्,निरंकुश बन्ने प्रवृति मानव जातिको मात्र होइन,सबै जीवको शाश्वत स्वभाव नै हो। आज कुनै अमूक व्यक्तिलाई तपाईँ निरंकुश भयो भन्दै हुनुहुन्छ नि,तिनकै कुर्सीमा तपाईँ हामीलाई कसैले स्थापित गरिदियो भने तत्क्षणदेखि नैँ हामी पनि निरंकुश बन्ने कसरत गर्नेछौँ। यो स्वभाविक कुरा हो र योशाश्वत सत्य पनि हो। हो,देशै हाँक्न निस्किएका नेताले आफ्नो मनोकांक्षा दबाउने प्रयत्न गर्नुपर्छ।उनले आफ्नो इन्द्रीय दमन गरेर भएपनि आफू स्वच्छ भएको देखाउने प्रयत्न गर्नुपर्छ। देखाउनलाई जे गरे पनिदुवैको अवस्थामा निरंकुश बन्ने मनोकांक्षाचाहिँहुन्छ हुन्छ।

दुईतिहाइ बहुमत सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरिसक्दा पनि अझै सम्पूर्ण अधिकार आफँैमा राख्नुपर्ने जिरह निरंकुश बन्ने रहरबाहेक अरु के हो त ?

गुरुले थपे– कसैले ‘मनिरंकुश बन्न चाहन्न’ भन्छ भने त्यो व्यक्ति या पाखण्डी होया त ढोँगी। अर्थातउसले आजसम्म त्यस्तो अवसर पाएकै छैन भन्ने बुझे हुन्छ। निरंकुश बन्न, भ्रष्टाचारी बन्न याव्यभिचारी बन्न यावत वातावरण अनुकूल हुँदा पनि यदि कसैले त्यसको भोगगर्ने प्रयत्न गर्दैन भने त्यो त ठूलो योगी वा इन्द्रजीत भइगयो नि ! हेर्नुहोस्, वेदमा भनिएको छ– प्रत्येक जीवको ४ वटा शाश्वत स्वभाव हुन्छन्।ती हुन्– (१) प्रत्येक जीवले जीवन चाहन्छ, अर्थात् ऊ मर्न चाहँदैन।(२) मानिस स्वतन्त्रता चाहन्छ, पराधीन होइन। (३) शासन गर्ने चाहना राख्छ ऊ। (४) जीवले आनन्द वा शान्तिको चाहना गर्छगर्छ। यी स्वभावभन्दा बाहिर अरुकुनै चाहना मानिसको हुन्छ भन्ने तपाईँहरूकसैलाई लाग्छ भने वेद नै गलत सावित हुनेछ।तपाईँहरूमध्ये कसैले वेदका यी वाणीभन्दा अतिरिक्त कुनै चाहना पत्ता लगाउनुभयो भने भोलिको भेटघाटमा छलफल गरौँला।

स्वामीजीको यो संक्षिप्त प्रवचनले मानव स्वभावबारे हामीले दिव्य ज्ञान प्राप्त ग¥यौँ। स्वामीजीले आफ्नो प्रवचनका क्रममाएक ठाउँमा सुटुक्क मनोकांक्षा दवाउने योगी र इन्द्रीयदमन गर्ने इन्द्रजीतको कुरा पनि गरे। शासनभार बोकेका व्यक्तिहरूले आफ्नो स्वेच्छाले वरण गर्नुपर्ने स्वभाव हुन् ती। सद्चरित्रवान् शासकहरू छान्नकै निम्ति निर्वाचन प्रक्रिया वा प्रजातन्त्रको थालनी भएको हो। जनताको मन जितेर निर्वाचित भइसकेपछि शासनको कमान सम्हाल्ने शासकले मानिसको शाश्वत स्वभावको विपरित ‘वितरागी’ बन्नुपर्ने भएको हुँदा आफूलाई नियन्त्रित गरी जनमुखी बन्ने प्रयत्न गर्नुपर्छ। प्रजातन्त्रको तकाजा यही हो।

ओेली विकासप्रेमी हुन् र जनताले भोग्नुपरेको दुःखबाट उनी चिन्तित छन् भने उनले त जनताको दैनानुदिनको दुःख कसरी कम गर्न सकिन्छ र तिनलाई कसरी राहत दिने भन्नेमात्र सोच्नुपर्ने होइन ?

प्रधानमन्त्री केपी ओली भन्छन्– ‘म मानव अधिकार र लोकतन्त्रका निम्ति १४ वर्ष जेल बसेको मान्छे हुँ।’ हो पनि। उनको योगदानलाई कसैले कम आँक्ने धृष्टता गर्न हुन्न। यसपटकको निर्वाचनमा उनलाई नेपाली जनताले ‘राष्ट्रवादी अडान’ कै कारण प्रचण्ड बहुमत दिएका हुन्। भोको पेट बोकेर मानिस धेरै दिनसम्म राष्ट्रवादी बनिरहन सक्तैन भन्ने दिव्यज्ञान फुरेकै हुनाले केपी ओलीले सत्तासीन हुनेबित्तिकै चित्ताकर्षक नारा घन्काए– ‘समृद्ध नेपाल र सुखी नेपाली।’ कस्तो राम्रो कुरा ! २०४६ सालको जनआन्दोलनले प्रजातन्त्रलाई यो देशमा पुनस्र्थापित गरेपछि कृष्णप्रसाद भट्टराईं र मनमोहन अधिकारीबाहेक कुनै पनि प्रधानमन्त्रीले यत्तिको सटिक ढंगले देश र जनताको कुरा अघि सारेका थिएनन्। बाँकीको त के कुरा गर्नु? स्वयं ओलीले समेत अघिल्लोपटक आफैँप्रधानमन्त्री बन्दा पनि यसरी जनतालाई आश्वस्ततुल्याउन सकेका थिएनन्।

नेपालको संविधान नेपाली आफैँले लेख्ने प्रयास गर्दा हामीप्रति गिद्दे दृष्टि राख्ने र नेपालको ढाँडै भाँच्नेगरी आर्थिक नाकाबन्दी गर्ने भारतविरुद्ध आफ्नो आवाज वुलन्द गर्न संकोच गर्ने नेपाली कांग्रेसको वर्खिलाप राष्ट्रवादको नारा घन्काउन सफल भएकै हुनाले केपी ओलीलाई निर्वाचनमा बहुमत दिएर नेपाली जनताले पुरस्कृत गरेका हुन्। जनताको यस्तो प्रचण्ड बहुमत पाएका ओलीले समृद्ध नेपाल र सुखी नेपालीको जुन नारा ल्याए त्यसको कार्यान्वयन गर्ने मार्गचित्रअवश्यमेवः उनीसँग हुनुपर्छ भन्ने विश्वास थियो नेपाली जनताको। तरसरकार बनेको लगभग डेढवर्ष पुग्नलाग्यो, सरकारले न डेलिबरी गर्न सकेको छ न त उसले बोलेको लक्ष्यसम्म पुग्ने मार्गचित्र नै जनतालाई देखाउन सकेको छ। जनताले अब उनलाई कसरी विश्वास गर्ने ? एउटा सोझो व्यक्तिले पनि जान्ने कुरा हो– नेपालको समृद्धिका निम्ति मुलुकको आर्थिक क्रियाकलापमा असाधारणतवरले वृद्धि हुनुपर्छ। यसका निम्ति देशमै पुँजी निर्माण गरिनुपर्छ। दक्षजनशक्ति अभाव हुनुहुन्न। उत्पादन वृद्धि हुनुपर्छ। वितरणमा आधुनिकता प्रयोग हुनुपर्छ। सरकारले साधारण खर्चलाई न्यूनतम विन्दुसम्म पु¥याउन सक्नुपर्छ। यी यावत्कुरामासरकारको ध्यान नकारात्मक देखिरहेको बेला जनताको महŒवाकांक्षालाई उत्तेजित पार्नेगरी पानीजहाज, मोनो र मेट्रो रेल अनि महाराजमार्गको कुरा गर्नुको के प्रयोजन ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए– ‘कम्युनिस्टहरूले निर्वाचनमा जिते भने यहाँ अधिनायकवाद आउनेछ। अनि त जनताले स्वेच्छाले मन खोलेर हाँस्न त के रुन पनि पाउने छैनन्।’यो उद्गार सुन्दा त्यसबेला लागेको थियो– नेपालले बल्ल एउटा राष्ट्रवादी र विकासप्रेमी नेता पाएका बेला फेरि यस्ता कुरा गरी माहोल बिगार्नलागियो।हामीकहाँ एउटा भनाइ छ– ‘बिग्रिएको घडीले पनि २४ घण्टामा दुईपटक सही समय देखाउँछ।’ नभन्दै ती कांग्रेसी नेताले भनेको कुरा अहिले मनन् गर्दा उनी पनि बिग्रिएको घडीझैँ सत्य रहेछन् जस्तो देखियो। दुईतिहाइ बहुमत सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरिसक्दा पनि अझै सम्पूर्ण अधिकार आफँैमा राख्नुपर्ने जिरह निरंकुश बन्ने रहरबाहेक अरु के हो त ?

ओेली विकासप्रेमी हुन् र जनताले भोग्नुपरेको दुःखबाट उनी चिन्तित छन् भने उनले त जनताको दैनानुदिनको दुःख कसरी कम गर्न सकिन्छ र तिनलाई कसरी राहत दिने भन्नेमात्र सोच्नुपर्ने होइन? रोगीलाई उपचार कसरी सुलभ उपलब्ध गराउने ?चाँडोभन्दा चाँडो नेपालीलाई कसरी शिक्षित बनाउने ? रोजगारी कसरी बढाउने ? जनतालाई स्वच्छ पानी कसरी पिलाउने ? देशमा उपलब्ध भौतिक पूर्वाधारको अधिकतम उपयोग कसरी गर्ने ? भन्नेकुरामा चिन्तित हुनुपर्ने हो। तर हाम्रा प्रधानमन्त्री त सेनालाई आफ्नोनिजी नियन्त्रणमा राख्ने, पत्रपत्रिका र सञ्चारका माध्यमलाई नियन्त्रित गर्ने, मानव अधिकार आयोगलाई सरकारअन्तर्गत राख्ने जस्ता नियन्त्रणकारी मार्गचित्रबनाउन पो यो सरकारको ऊर्जा प्रयोग गरिरहेका छन्। यस्तो अवस्था देख्दा कांग्रेसी नेताको त्यो वाणी कहीँसार्थक हुने त होइन भन्ने डर पलाउन थालेको छ जनताको मनमा। यस्तो माहोलमा मन्त्रिपरिषद्ले खटाइ खटाइ पे्रसलाई दिने गरेको सूचनाको पछाडि गलत नियत छैन भनेर जनताले पत्याउने आधार के ?

निरंकुश तानाशाह बन्ने रहर शासकमा हुनु शाश्वत कुरा हो। यसलाई अन्यथा लिनुहुन्न भन्ने कुरामाथि स्वामीजीले व्याख्या गरेकावेदवाणीअन्तर्गतको ‘शासन’ गर्ने उत्कट इच्छाभित्रकै कुरा हो। प्रजातान्त्रिक इतिहासको धेरै गहिराइसम्म नपुग्दै अनगिन्ती यस्ता उदाहरण यत्रतत्रपाइन्छन् जहाँ प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचित सरकार प्रमुखले तानाशाह बन्ने महŒवाकांक्षा बोकेको हुन्छ। भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले आफू प्रधानमन्त्री पदमा दुईपटक निर्वाचित भइसकेपछि बिस्तार बिस्तार उनमा निरंकुश बन्ने महŒवाकांक्षा बढ्दै गयो।संसदीय व्यवस्थामारहेको नियन्त्रण र सन्तुलनले शासकको निरंकुश बन्ने महŒवाकांक्षालाई ‘घाँस नहाल्ने’ प्रष्ट देखिएपछि इन्दिराले भारतकोसंविधानैसंशोधन गरेर राष्ट्रपतीय शासनपद्धति लागु गर्र्ने गृहकार्य गोप्यरूपमा गरिसकेकी थिइन्। तर सन् १९७७मा उनले आफैँ चालेको ‘इमर्जेन्सी’ आफ्नै लागि प्रत्युत्पादक सावित भएपछि पतन भइन्।

नेपालकै इतिहासमा पनि गिरिजाप्रसाद कोइरालाको त्यस्तै हालत भएथ्यो। उनले संसदीय व्यवस्थालाई प्रधानमन्त्रीय शासन पद्धति हो भनीअथ्र्याए। पार्टीले सरकारको काम कारबाहीमा हस्तक्षेप गर्न हुन्न भन्ने उनको दलील थियो।उता गणेशमान सिंहजस्ता सिद्धान्तनिष्ट राजनेताचाहिँ भन्दै थिए– ‘चुनाव पार्टीले लड्नुपर्ने अनि शासनचाहिँ व्यक्तिले मात्र गर्ने ?यस्तो कदापि हुँदैन।’ओलीको आजको दिनको राज्य सञ्चालनको तरिकालेगिरिजाप्रसाद कोइरालाकै प्रवृत्ति पुनरावृत गरिरहेछ। प्रजातन्त्र यसरी चल्दैन। यसलाई सफल पार्नु छ भने शासकले पहिला आफ्नो पार्टीको अनि जनताको विश्वास लिनैपर्छ। मानव अधिकार आयोग र प्रेसलाई दुश्मन देख्ने सरकारलाई प्रजातान्त्रिक भन्न सकिन्न। यिनलाई टाढा राखेर सेनालाई अघिसारी प्रजातन्त्र जोगाउँछु भन्ने सपना देख्ने बढे बढे राजा÷महाराजा एवं तानाशाहहरूले धुलो चाट्नुपरेको इतिहास नबिर्सिए सबैको कल्याण हुन्थ्यो।

प्रकाशित: १३ जेष्ठ २०७६ १२:५५ सोमबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल