१९ श्रावण २०७७ सोमबार
विचार

पोखरी खन्ने मन छ

सन्तोष खत्री
सानो छँदाका सम्झनामध्ये सबैभन्दा धेरै याद आउने रहेछन्– गाँउका डाँडापाखा, पोखरी र खोला–खोल्साहरूमा चैत–वैशाखमा पनि छिपछिपाउने पानीका मूल र स–साना धाराहरू। पोखरीकै वरिपरि गुच्चा, कपडाको बल, कबड्डी र लुकामारी खेलेको।

पर्वतको दक्षिणी भेगमा रहेको मेरो गाउँवरिपरिका प्रमुख ठाउँहरू पोखरीकै नामबाट चिनिएका छन्, जस्तैः सुनपोखरी, डाँडापोखरा, बानीपोखरा, उरामपोखरा, खोरपोखरा आदि। त्यसो त मेरो जन्मस्थल देशकै चर्चित तालहरूको सहर पोखरादेखि सय किमिभन्दा कम दूरीमा छ। मेरो गाउँ पर्वत वहाकी खाल्टाको टोलमै पनि कैयौँ पोखरी थिए। एउटा सानो पोखरी, घरमाथि डाँडाको बारीमा थियो। केही तल चौतारीमा अर्को पोखरी। अनि घरदेखि पारि लाटोआँपमा तीनवटा पोखरी।

देशभर चलेका डोजरले सदियौंदेखिका भूमिगत पानीका रुटलाई छियाछिया पारिरहेका छन्। त्यसैले बाँकी रहेका पोखरी, तालतलैया बचाउनु अति आवश्यक भएको छ। हामीले देशविदेश गएर विज्ञान त पढ्यौँ, पढायौँ तर हाम्रै गाउँका लागि अत्यावश्यक यस्तो आधारभूत वैज्ञानिक कुरा  बुझेनौँ वा बुझ्ने झन्झट गरेनौँ।

घरमाथि डाँडाको बारीमा एउटा सानो पोखरी थियो। त्यो हाम्रो निजी थियो। हेर्दाहेर्दै त्यो पोखरी पुरियो। किन पुरियो थाहै भएन। तल चौतारीमा पनि मेरो मिल्ने साथी तेजेको घर छेउमै पोखरी थियो। त्यो पोखरी पनि पुरियो। अहिले नामोनिसान छैन। त्यहाँ गोठ ठडियो। गाउँभरका मानिसको शीतल ताप्ने, छलफल र मुद्दामामिला छिनोफानो गर्ने ठाउँ हो– त्यो चौतारी। पोखरी र सँगै वरपीपल, आँप लगायतका रूख भएका फराकिला ठाउँ हरेक गाउँ र टोलका महŒवपूर्ण सार्वजनिक स्थल थिए। तिनले सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय सन्तुलनको काम गरेका थिए। अहिले ती सबै पोखरी सुके। अनि सुके पानीका मूल। ठूलठूला वरपीपल ढालेर, पोखरीहरू पुरेर सडक र अरू संरचना बनाउने अभियान देशभर तीव्र रूपमा जारी छ।

केही समय ‘दिगो विकासका लागि शिक्षा’ अन्तर्राष्ट्रिय कार्यक्रम संयोजन गर्ने सिलसिलामा विभिन्न विषयका विज्ञका विचार सुन्ने मौका पाएँ। गत दशकमा हामीले धेरै सुनेको शब्दमध्ये एक हो– ‘क्लाइमेट चेन्ज’ अर्थात् पर्यावरणीय परिवर्तन। जसको प्रभावले  अल्प र अतिवृष्टि, खड़ेरी, पानीको मुहान सुक्ने, केही रैथाने बोटविरुवा हराउने र अनौठा झारपात  देखापर्ने आदि हुन्छन्।

गुगलमा अध्ययन गरेर एउटा बुझाइ बनाएँ। वर्षा हुँदा जमिनले त्यो पानी सोस्छ। डाँडापाखाको भिरालोमा पानी धेरै अडिँदैन। बगेर जान्छ। जमिनले धेरै सोस्नै पाउँदैन। त्यसैले हाम्रा पुर्खा, अग्रजहरूले ठाउँठाउँमा पोखरीहरू बनाए। त्यहाँ पानी जम्मा हुन्थ्यो। त्यहाँ माछा, भ्यागुताजस्ता जलप्राणी बाँच्थे। त्यति मात्र हैन, खडेरी पर्दा गाइवस्तुलाई खुवाउन पानी हुन्थ्यो। चराचुरुंगी र पुतलीदेखि किराफट्यांग्रासम्म त्यसमै रमाउँथे, बाँच्थे। अर्कातर्फ जमिनभित्र पानी लामोसमयसम्म सिञ्चित हुन्थ्यो। जसले गर्दा तल बेँसीमा पानीका मुहानहरू सुक्खा याममा पनि सुक्थेनन्। अहिले डाँडाका पोखरीहरू पुरिए, सुके अनि सँगसँगै सुके बेँसीका पानीका मुहान र धाराहरू पनि।

पाखा र समथर ठाउँमा बनेका पोखरी र तिनले भूमिगत रूपमा सिञ्चित गर्ने हाम्रा खोला, खोल्साका मूलहरू यसैगरी टिकेका थिए। तर त्यसको महŒवबारे हामीले भेउ नै पाएनौँ। अहिले मेरो गाउँका पोखरी मात्रै होइनन्, काठमाडौँका रानीपोखरी, नागपोखरी वा ललितपुर इमाडोलको कमलपोखरी होस्, देशभरका पोखरी पुरिए वा संकटमा छन्। सतहमा भएकाले पोखरी पुरिएको त हामीले देख्यौँ। तर त्यो भन्दा चिन्ताजनक कुरा, पोखरीदेखि पानीको मूलसम्म तिनले सिञ्चित गर्ने र रिचार्ज (पुनर्भरण) भएपछि सुक्खामा मूलसम्म जोड्ने पानीका ती नसाहरू (भूमिगत तन्तुहरू) टुटेका छन्। देशभर चलेका डोजरले सदियौंदेखिका भूमिगत पानीका ती रुटलाई छियाछिया पारिरहेका छन्। त्यसैले बाँकी रहेका पोखरी, तालतलैया बचाउनु अति आवश्यक भएको छ। हामीले देशविदेश गएर विज्ञान त पढ्यौँ, पढायौँ तर हाम्रै गाउँका लागि अत्यावश्यक यस्तो आधारभूत वैज्ञानिक कुरा  बुझेनौँ वा बुझ्ने झन्झट गरेनौँ।

यो यथार्थले पनि ‘गाँउमा गएर पोखरी खन्ने’ बेवकुफीले नै लखेटिरहेछ मलाई। मन भएर मात्रै त केही हुनेवाला छैन। हुने भएको भए त नेपालीको पहिचान नै फरक हुन्थ्यो नि संसारमा समृद्धिले गर्दा !  त्यसो भए अब के गर्ने त ? मनोगत मात्र हुने वा वस्तुगत पनि हुने ? मसँग विभिन्न विकल्प थिए– यो हुटहुटीलाई मनमै पोको पार्ने वा सामाजिक सञ्जालमा पोख्ने। वा, कुनै एक व्यावहारिक उपाय अपनाउने। जस्तैः सानै रूपमा भए पनि त्यसलाई साकार पार्न यस विषयमा सार्वजनिक रूपमै छलफल चलाउने र यसमा काम गर्नसक्ने र सम्बन्धित संस्थामा प्रस्ताव पेस गर्ने र आफ्ना तर्फबाट सक्दो योगदान गर्ने !  

तेस्रो विकल्प रोजेको छु। त्यो भनेको यो पोखरी ब्युँताउने हुटहुटीबारे आउने केही महिनामै गाउँ गएर वडाध्यक्ष भाइ भीम श्रेष्ठ, बिहादी गाँउपालिका अध्यक्ष मित्र कमल भुसालसँग ‘बिहादीलाई पोखरी नै पोखरीको गाउँ बनाऔँ’ भन्ने भन्ने प्रस्ताव गर्ने र पुर्खाहरूका नाममा एउटा पोखरी स्थापना गरेर सुरुवात गर्ने। त्यसलाई उहाँहरूले ‘हैट्, के यस्तो बकम्फुसे, बेवकुफी कुरा लिएर आउनुभएको ?’ भन्ने पक्कापक्की छ। किनभने जमाना सडक, खेलमैदान र पक्की घरकै छ। देशभरजस्तै मेरो जन्मथलोमा पनि लहर पक्की चिजकै छ। तर धेरै ठूला कुराभन्दा आफूलाई लागेको यौटै भए पनि काम गरौँ भन्ने लाग्यो। हाललाई मन मष्तिस्कमा गाउँलाई पोखरीमय बनाउने हुटहुटी नै सवार छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App