९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

वैदेशिक लगानी र दिगो पूर्वाधार

सरकारले भर्खरै लगानी सम्मेलन गरेको छ।यसअघि पनि यस्ता सम्मेलन भएका थिए। लगानीको प्रतिबद्धता भएर पनि कार्यान्वयनको चरणमा भने दाता तथा लगानीकर्ताको विश्वास नदेखिएको इतिहास हामीसँग छँदैछ। खासगरी नेपाल जस्ता भर्खर विकासको पथमा लम्कन खोज्ने चेस्टा गरेका देशका लागि यस्ता सम्मेलनले केही आशा तथा आत्मसमीक्षाको आधार खडा गर्छन्।

कुनैपनि देशको भौतिक, आर्थिक तथा सामाजिक उन्नयनका लागि सम्पन्न राष्ट्र तथा विकास कोष जस्ता निकायले सहयोग गर्ने सामग्री, रकम तथा सेवा नै वैदेशिक सहयोग वा लगानी हो। यसका लागि ग्रहणकर्ता देशको स्पस्ट वैदेशिक सहयोगसम्बन्धी नीति हुन आवश्यक छ। वैदेशिक लगानीको मुख्य प्रयोजन लगानी भित्र्याउने भन्दा बढी आन्तरिक स्रोत साधनको समुचित उपयोग गरी दिगो पूर्वाधार र कल्याणकारी राज्य तथा समाज निर्माणका लागि हुनुपर्छ। अन्यथा राज्यलाई ऋणको भार पर्ने, लगानीको दुरुपयोग हुने, पर्यावरणीय सन्तुलन बिग्रने जस्ता दुष्परिणाम भोग्नुपर्ने तथ्य नकार्न सकिन्न। यसैगरी लागत तथा समयावधि बढ्ने, प्राकृतिक प्रकोपको मार, खराब व्यवस्थापन र बजारीकरण, अपेक्षित गुणस्तरमा कमी जस्ता समस्या विगतका परियोजनाबाट हामीले लिएको शिक्षा हो।

लगानीकर्ताको मुख्य चासो लगानी सुनिश्चितताका लागि भरपर्दो सरकार, सवल नेतृत्व, सुरक्षा र प्रतिफल नै हो । सरकारले प्रस्टरूपमा यी तथ्यलाई उचिततवरले सम्बोधन गर्छ या गरेको छ त ? यसैमा अडिएको छ आगामी समृद्धिको बाटो ।

कसरी हुन्छ दिगो पूर्वाधार विकास?
बाह्य लगानी समृद्धिको आधार हुन सक्छ। दक्षिण एशिया, दक्षिण अमेरिकाका कैयौँं देश यसका दृष्टान्त हुन्। त्यसका लागि पारदर्शी विकासनीति, आन्तरिक शान्ति सुरक्षा र स्पष्ट लक्ष्य हुन आवश्यक छ। विडम्बना, हाल करिव ४० प्रतिशतले बाह्य लगानी घटेको विभिन्न अध्ययनले देखाएका छन्। लगानीकर्ताको मुख्य चासो लगानी सुनिश्चितताका लागि भरपर्दो सरकार, सवल नेतृत्व, सुरक्षा र प्रतिफल नै हो। यिनै चासोहरूको निरूपण नै लगानीको आधार हो। सरकारले प्रस्टरूपमा यी तथ्यलाई उचिततवरले सम्बोधन गर्छ या गरेको छ त ? यसैमा अडिएको छ आगामी समृद्धिको बाटो।

निश्चय नै  कुनै पनि देशको समृद्धि त्यहाँको पूर्वाधारसँग जोडिएको हुन्छ। किन पश्चिमा देशहरूको आर्थिक–सामाजिक अवस्था उन्नत छ ? किन छिमेकी देश भारत र चीनको आर्थिक–प्राविधिक अवस्था विश्वमै हस्तक्षेपकारी र गरिबीको अवस्था उल्लेख्य घट्दो क्रममा छ ? सजिलो जवाफ छ– उनीहरूसँग व्यापक गुणस्तरीय सडक सञ्जाल छ, बन्दरगाह छ। स्थानीय रोजगारी प्रवर्धन गर्ने गरी विश्वको माग सम्बोधन गर्न सक्ने वस्तुको उत्पादन तथा सेवाको सुनिश्चितता छ। अब यहाँ विकाससँगै जोडिने विषय हो– मनुष्य जातिको सुन्दर भविष्यसँग जोडिएको विकास। प्रकृतिको, पर्यावरणीय गरिमालाई उचो राखिएको विकास।

दिगो पूर्वाधारको विकास यतिबेला सार्थक हुन्छ जब उच्चतम् आर्थिक विकास, व्यापक रोजगारीको सिर्जना, स्थानीय स्रोत÷साधन, सेवाको समुचित उपयोग, प्राकृतिक स्रोत साधनको सम्वर्धन, संस्कृतिको जगेर्ना,  संस्थागत स्थायित्व र समुदायको जीवनशैलीमा गुणात्मक परिवर्तन हुन्छ। यसका लागि उद्योग तथा परियोजनाको योजना, डिजाइन, कार्यान्वयन, सम्पन्न, उपभोग आदि हरेक चरणमा दिगो विकासका मूलभूत पक्ष (आर्थिक, सामाजिक, वातावरणीय र संस्थागत दिगोपना) लाई आत्मसात गरेको हुनुपर्छ। बहुसांस्कृतिक र एतिहासिक धरोहरले भरिएको नेपालमा पुराना संरचनाबाट उत्सर्जित कतिपय निर्माण सामग्रीको पुनः प्रयोगले संस्कृतिको जगेर्ना र मितव्ययिताको विकास हुन्छ। दिगो विकास सम्बन्धित क्षेत्रको भौगोलिक र राजनीतिक मनोविज्ञानसँग पनि प्रत्यक्ष÷परोक्षरूपमा सन्निकट हुन्छ। अतः विकासको स्थायित्वका लागि त्यहाँको आञ्चालिकता, सामाजिक ऐक्यबद्धता, अपनत्व र जलवायु जस्ता विषयको संवेदनशीलता बुझ्नु अपरिहार्य हुन्छ।

सहस्राब्दी लक्ष्य भेट्न लगानी अभाव महसुस गरेको नेपालले हालको अवस्थामा सन् २०३० भित्र रियो सम्मेलनले उल्लेख गरेका दिगो विकासका लक्ष्य भेट्न मुस्किल पर्ने देखिन्छ। दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रमुख विकास सांझेदार विश्व बैंकले भनेझैँ कुल गार्हस्थ्य उत्पादनको ११ प्रतिशत पूर्वाधारमा लगानी गर्न के नेपाल सफल होला ? साथै यी लक्ष्य भेट्न आवश्यक स्रोत÷साधन, राजनीतिक वातावरण, नेतृत्व क्षमता र प्रविधिको सुनिश्चित गर्ला ? आमचासो यिनै हुन्। कुनै पनि आविष्कारपूर्व सपना देख्ने गरिन्छ जब सपना वस्तुनिष्ट र भरोसायोग्य हुन्छ तब आविष्कार हुने गर्छ। देशका नीति निर्माता, राजनीतिज्ञ र अनुसन्धानकर्मीहरूले सपना देख्ने र बुझ्ने चेष्टा गर्नुपर्छ। सपना स्वैरकाल्पनिक र भावुक हुनुहँुदैन। भर्खरै राजनीतिक परिवर्तनपश्चात् विकासको भोक जागेको नेपालमा साँच्चिकै त्यो मौलिक भोक मेट्ने विकास योजना र निर्माणको खाँचो छ। भूपरिवेष्ठित नेपालमा पानीजहाजभन्दा रेलमार्गको खाँचो होला, रेलमार्गभन्दा बढी सडक सञ्जाल अपरिहार्य होला। जनताको दैनन्दिन आवश्यकता परिपूर्ति गर्ने उद्योगको आवश्यकता होला। युरेनियमको उत्खनन् र प्रशोधनभन्दा खेर गइरहेको पानी सदुपयोग गरी नवीकरणीय विद्युत् ऊर्जालाई प्राथमिकता दिँदा बढी व्यावहारिक हुने कुरामा दुईमत छैन।

हाम्रा समस्या
भौतिक संरचना वा पूर्वाधारमा दिगोपना हुनु भनेको दिगो र निरन्तर आर्थिक अभिवृद्धिको आधार हो।  यद्यपि यथेष्ट प्राकृतिक तथा भौगर्भिक अध्ययनबिना कार्यान्वयनमा आएका र सम्पन्न भइसकेको संरचना बहुजोखिमयुक्त भएका र संकट निम्तिएका उदाहरण हामीसँग छन्। काठमाडौँ उपत्यकाको अव्यवस्थित सहरीकरण, पारम्परिक प्रशासनिक भवन, जीर्ण ढल निकास संरचना, वन विनास, पुरातन प्रसारण लाइन, गुणस्तरहीन र अपर्याप्त सडक, भूकम्प र पहिरोले क्षतविक्षत जलविद्युत् संरचना, निरन्तर अद्यापि पहिरोको प्रकोपमा परिरहेको मुग्लिन–नारायणघाट, बुटवल–पाल्पा सडक खण्ड आदि केही दृष्टान्त हुन्। आधुनिक प्रविधिसँग अभ्यस्त नभएका हामी उच्च सिपयुक्त दक्ष जनशक्तिको अभाव महसुस गरिरहेकै छौँं। हामीसँग विश्वसनीय तथ्यांक संयन्त्र छैन। प्रभावकारी निर्माण व्यवस्थापन, श्रमिक अधिकार, समावेशिता र निर्माण सुरक्षा मापन जस्ता कुरामा हामी धेरैनै पछाडि छौंँ।

लगानीका लागि चाहिने मुख्य आधार लगानीमैत्री वातावरण हो। आन्तरिक शान्ति सुरक्षा, स्थायी सरकार र पारदर्शितामा हामी चुकिरहनु हाम्रा मुख्य समस्या हुन्। सीमित स्वार्थका लागि संस्थागतरूपमै गुणस्तरमा सम्झौता हुनु आजको अर्को विडम्बना हो। वित्तीय अनुशासनमा हामी परिपक्व छैनौँं। शक्ति र स्रोतको  बाँडफाँटमा पनि हामी कन्ज्युस्याइँ गर्छौँ। यस्तै वास्तविकताका बावजुद हामीसँग पछाडि फर्केर हेर्ने समय छैन। कसैलाई गाली गरेर आफूलाई अकर्मण्य तुल्याउने सुविधा पनि छैन।

दिगो पूर्वाधार विकास किन ?
स्थानीय, क्षेत्रीय वा विश्वव्यापी जुनसुकै अर्थमा पनि दिगो पूर्वाधार विकासका केही मूलभूत उद्देश्य छन्। दिगो पूर्वाधारले आर्थिक सवलीकरण गर्नेमात्र नभई समग्र मानवजाति, जलवायु र प्रकृतिको बृहत्तर हितको विगुल फुक्छ। ठोस फोहोरमैलाको करिब ३० प्रतिशत निर्माण परियोजनाबाट उत्सर्जित हुने तथ्य अमेरिका जस्ता विकसित देशमा समेत रहेकाले दिगो पूर्वाधारको अवधारणाले स्वच्छ हावा र न्यून ठोस फोहोरमैला उत्सर्जनको लागि टेवा पु¥याउँछ। समुचित ऊर्जाको खपतसँगै पारिस्थितिक पद्धतिमा खलल नपु¥याउनु, सामुदायिक र श्रमिक स्वास्थ्यमा सचेत हुनु, विपत् जोखिमको सामना गर्नसक्ने स्थायी संरचनामा जोड दिनु दिगो पूर्वाधारका विशेषता हुन्। जलवायु सन्तुलन कायम गर्न र बढ्दो तापमानमा कमील्याइ समस्त प्राणीको सुरक्षित भविष्यका लागि यस्ता संरचना आवश्यक छन्। दिगो पूर्वाधार विकास र समग्र दिगो विकाससँगै जनता, सरकार, कर्मचारीतन्त्र र निजी क्षेत्रको बहुआयामिक क्षमता अभिवृद्धि हुने, कार्यसम्पादनमा जवाफदेहिता र पारदर्शिता बढ्ने हुँदा यसको महत्व झनै बढेको छ।

अन्तमा,
विश्व तापमान र जलवायु परिवर्तनको असर नेपाल जस्ता गरिब मुलुक र पृथ्वीको उचाइमा रहेका मुलुकमा प्रत्यक्ष देखापर्छ। एकातिर तीव्र आर्थिक–सामाजिक अवस्थामा ठोस परिवर्तन ल्याउने, अर्कोतर्फ वातावरणमैत्री विकास गर्ने र तत्सम्बन्धी वकालत गरी कार्बन उत्सर्जनमा कमी ल्याइ विश्व हरित अभियानलाई सघाउ पु-याउँदै समुन्नत र सुरक्षित विश्वका लागि सांझेदार बन्न नेपालसामु अवसर र चुनौती छ। व्यापक कार्वन कटौती गर्ने, जैविक–प्राकृतिक ऊर्जाको खपत घटाउने, वायु प्रदूषण घटाउने र नवीकरणीय ऊर्जा प्रबर्धन गर्न यो अभियानमा विश्वव्यापीरूपमै वातावरणकर्मीहरू पनि लागेका छन्। इन्जिनियर रावत निर्माण व्यवस्थापनका विद्यार्थी हुन्।

प्रकाशित: २४ चैत्र २०७५ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App