२४ जेष्ठ २०७७ शनिबार
विचार

सैद्धान्तिक होइन सीपमूलक शिक्षा

बढ्दो प्रविधि प्रयोगसँगै अबको शिक्षा व्यावहारिक र सीपमूलक हुनुपर्ने देखिन्छ। सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानले विद्यार्थी सक्षम हुन्छन् र रोजगारका लागि भौतारिनु पर्थेनजस्तो लाग्छ। पढेरमात्र जागिर पाउन सकिन्न। काम गर्न सीप आवश्यक हुन्छ। स्नातक र स्नातकोत्तर गरेका धेरै युवा अहिले बेरोजगार बस्नुपरेको छ। यसले हाम्रो शिक्षा प्रणाली नै सुधार गर्नुपर्ने वा परिवर्तन गनुपर्ने देखाउँछ। 

हाम्रो देश, सही शिक्षा अभावकै कारण पछाडि परिरहेको छ भन्दा अत्युक्ति नहोला। व्यवसाय गरी आफ्नै कमाइ गरेर खाने संस्कृति विकास नहुनुमा मुख्य कारण औपचारिक शिक्षा हो। यसैकारण सबभन्दा पहिले शिक्षा प्रणाली सुधार वा परिमार्जन गनुपर्ने देखिन्छ। शिक्षालाई प्राविधिक र उत्पादनमुखी बनाउनु जरुरी छ। प्राविधिक ज्ञान भएकाहरू बेरोजगार बस्नु पर्दैन। पछिल्लो समय विद्यार्थी पनि व्यावहारिक तथा व्यावसायिक शिक्षातर्फ आकर्षित भएका छन्। यसले मानिसलाई काम गर्न सक्षम बनाउँछ। र, यस्तो जनशक्तिबाट छिट्टै देशकै आर्थिक तथा सामाजिक विकास पनि हुन्छ। 

मेरो अनुभवमा अहिले सञ्चालन भइरहेका धेरैजसो सीपमूलक तालिम मागका आधारमा भन्दा आपूर्तिका लागि भइरहेका छन्। हामीले गरेका अध्ययनमा रोजगारदाताहरूले चाहेजस्तो सीपयुक्त दक्ष व्यक्ति नपाएको गुनासो गरेको पाइयो। यसमा रोजगारदाताले बुझ्नुपर्ने कुरा के हो भने त्यस्ता दक्ष व्यक्तिलाई त्यहीअनुसार तलब र सुविधा तथा काम गर्ने वातावरण दिनुपर्छ। साथै दक्ष जनशक्ति उत्पादनका लागि आफैंले पहल गर्नुपर्छ। हाम्रो परियोजनाको सुरुवात नै नीजि क्षेत्रबाट हुनेछ। सीपयुक्त व्यक्तिले रोजगारी पाउने अवस्था छ। त्यसैले शिक्षामा सीपमुलक विषयसहितका पाठ्यक्रम तयार गर्नुपर्छ। 

कुर्सीमा बस्नेमात्र नभई हिलोमा टेक्ने र गोबर सोहोर्नेजस्ता जनशक्ति आवश्यक छ अहिले। यसको परिपूर्ति गर्नुपर्छ। विदेश गएर सानो–ठूलो केही नभनी जे पायो त्यही काम गर्छाैं हामी। तर त्यही काम आफ्नो देशमा गर्ने वातावरण छैन। अहिले विदेशिएका प्रायः युवासँग कुनै व्यावहारिक ज्ञान तथा सीप छैन। जसले गर्दा उनीहरूलाई काम गर्न गाह्रो भइरहेको छ। यो कुरा सरकारले कहिले बुझ्ने ? 

अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषय अनिवार्य गरे मुलुकमा प्राविधिक जनशक्ति बढ्नाका साथै युवा विदेशिने क्रम घट्ने देखिन्छ। देशभित्रै रोगजार र अवसर नपाउँदा उच्च शिक्षा हासिल गरेका अब्बल विद्यार्थीसमेत विदेश पलायन भइरहेका छन्। यो राज्यका लागि ठूलो घाटा हो। त्यसैले हाम्रो शिक्षा उत्पादनमुखी बन्नुपर्छ। आत्मनिर्भर जनशक्तिले मात्रै मुलुक रूपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिन्छ। 

तर दुःखको कुरा, हाम्रो समाजमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई दोस्रो दर्जाका रूपमा लिने गरिएको छ। हरेकपल्ट बन्ने सरकारले प्राविधिक शिक्षालाई मुख्य प्राथमिकतामा राख्ने गरेका त छन् तर यसमा सरकारी लगानी भने बढाइएको छैन। यसलाई बढाउनु अहिलेको प्रमुख आवश्यकता हो भन्ने मलाइ लाग्छ। 

प्राविधिक शिक्षालाई महत्व दिएर जनशक्ति उत्पादन गरी उनीहरूलाई रोजगार तथा व्यापारको व्यवस्था गर्नुपर्छ। वातावरण नभएरै यहाँ काम गर्न लाज मानेर नेपाली युवा विदेशिने गर्छन्। तर विदेशमा गएर यहाँ नगरेको त्यही काम गर्न बाध्य हुन्छन्। नेपालमा कपडा सिलाउने, कपाल काट्ने, निर्माण क्षेत्र, इँटाभट्टाका काम तथा रिक्सा, अटो चलाउने, सिरकडसना बनाउने, कुकर तथा विद्युतीय उपकरण बनाउने, होटल व्यवसाय गर्नेजस्ता काम भारतलगायत अन्य छिमेकी मुलुकका मानिस आएर गरिरहेका छन्।  जसले गर्दा नेपालको मुद्रा बाहिर गइरहेको छ। यो विडम्बना हो। 

हामी आफ्नो काम आफैं गर्न नसकेर परनिर्भर भइरहेका छौं। पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकहरूको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ। विद्यार्थीका लागि ‘फलामे ढोका’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा लिनसके कोही पनि बेरोजगार बनेर बस्नु पर्थेन। 

बुबाआमाले बारीमा काम गर्ने मजदुर नपाउने तर स्नातक पास गरेको छोरो १५ हजारको जागिर खोज्न बजार धाउने परिपाटीकै कारण बेरोजगारी समस्या बढेको हो। उच्च शिक्षा हासिल गरेपछि बारीमा काम गर्न लाज लाग्छ। अब यस्तो शिक्षा नीति परिवर्तन गर्नु आवश्यक छ।  

नेपालमा प्राविधिक शिक्षाका लागि सरकारले स्विस सरकारसँग लामो समयदेखि सहकार्य गरिरहेको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रमा गरिएको यो सहकार्यकै परिणाम देशमा थुप्रै सीपमूलक तालिमहरू सञ्चालन भइरहेका छन्। नेपाल सरकार र स्विस सरकारबीचको सहकार्यमा शिक्षा मन्त्रालयअन्तर्गत सिटीइभिटी तथा राष्ट्रिय सीप परीक्षण कार्यक्रम सञ्चालनमा छ। 

अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छाअनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यहीअनुसार निर्णय गर्नुपर्छ। हामीकहाँ अझै विद्यार्थीको इच्छा एकातिर अभिभावकको चाहना अर्कातिर हुने गरेको छ। दबाब दिएर होइन, आफ्नो क्षमता र इच्छाअनुसार विद्यार्थीलाई आफैं विषय छनोट गरेर अध्ययन गर्न प्रोत्साहन गनुपर्छ। अनिमात्र उनीहरूले मन लगाएर पढ्छन् र अघि बढ्छन्। 

अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु अति आवश्यक भइसकेको छ। जुन विषय अध्ययन गरिन्छ त्यो सिर्जनात्मक श्रमशक्ति उत्पादक बन्न सक्नुपर्छ। देश विकासको मुख्य आधार नै शिक्षा हो। तसर्थ स्वरोजगार बनाउने खालको शिक्षा नीति ल्याउनु जरुरी छ। देशलाई आर्थिक रूपमा समृद्ध बनाउने प्रमुख दायित्व राज्यको हो। सरकारले रोजगारीमूलक शिक्षा दिनु जरुरी छ। शिक्षा नीति नै परिवर्तन गर्नुपर्ने देखिएको छ। 

प्रकाशित: १३ चैत्र २०७५ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल