१६ चैत्र २०८० शुक्रबार
विचार

गाउँ : वृद्धाश्रम

आधुनिक जीवनशैली अपनाउने क्रम बढेसँगै समाजमा परिवारबाट छुट्टिएर बस्ने चलन पनि निकै बढेको छ । पश्चिमा समाजमा छोराछोरी बालिग हुनासाथ अभिभावकबाट छुट्टिने गर्छन् । त्यही संस्कृतिको प्रभावमा परेका नेपालीहरूमा पनि बाबुआमासँग छुट्टिएर अलग बस्ने परिपाटी सुरु भएको छ । यद्यपि पश्चिमी समाज र हाम्रो समाज अनि पश्चिमी संस्कृति र हाम्रो संस्कृति भिन्न भएकाले यी दुई समाज र संस्कृतिबीचको भिन्नतामा बाबुआमासँग छुट्टिएर बस्नुलाई समान दृष्टिकोणले हेर्नु न्यायोचित नहुनसक्छ । पश्चिमी समाजमा बालिग भएपछि बाबुआमासँग छुट्टिनुलाई जसरी स्वाभाविक मानिन्छ, नेपाली समाजमा बाबुआमासँग छुट्टिनुलाई त्यति नै अस्वाभाविक मानिन्छ । त्यसैले पश्चिमी जीवनशैलीले नेपाली समाजमा पारेको प्रभावलाई नकारात्मकरूपमा बुझ्ने गरिन्छ । नेपाली समाजमा छोराछोरी बाबुआमासँग छुट्टिए भने नराम्रोरूपमा लिइन्छ । यसरी छुट्टिँदा बाबुआमालाई हेलाँ गरेको मानिन्छ अथवा बाबुआमालाई उपेक्षा गरेको मानिन्छ । तथापि यस्तो जीवनशैली अपनाउन लालायित नेपाली युवाको संख्या भने उल्लेख्यरूपमा बढेको छ । यो परिस्थितिले गर्दा सहरी क्षेत्रमा व्यवस्थित वृद्धाश्रमको आवश्यकता बढ्दै गएको छ । हाम्रो सामाजिक मनोविज्ञानले वृद्धाश्रमलाई अनावश्यक ठाने पनि अहिलेको सामाजिक यथार्थले भने वृद्धाश्रमको आवश्यकतालाई औंल्याइरहेको छ । विशेषगरी सहरी क्षेत्रमा व्यस्त परिवारका वृद्धवृद्धा र विभिन्न कारणले परिवारबाट परित्यक्त वृद्धवृद्धाहरूको सुरक्षाका लागि वृद्धाश्रमको आवश्यकता देखिएको छ।

सामाजिक उत्तरदायित्वबोध गर्ने सन्तानले वृद्ध बाबुआमाका लागि सकेको गर्ने प्रयास गरेको पाइन्छ । तर समयाभाव र आफ्नो पेसागत वा व्यवसायजनित जिम्मेवारीबोधले गर्दा वृद्ध बाबुआमासँग नचाहेर पनि टाढिनुपर्ने र चाहेर पनि त्यस्ता बाबुआमाप्रतिको जिम्मेवारीनिर्वाहमा चुक्नुपर्ने बाध्यता वर्तमान समयका धेरै सन्तानलाई परेको छ । यो बाध्यतालाई वृद्ध बाबुआमाले पनि बुझेको हुनुपर्छ र बुझ्नुपर्छ भन्ने आग्रह पनि गर्न सकिन्छ । यस्तो बाध्यतालाई नबुझ्ने वृद्ध बाबुआमाले चित्त दुखाउने गरेको पनि पाइन्छ । त्यस्ता बाबुआमालाई सम्झाईबुझाई वृद्धाश्रममा राख्ने व्यवस्था भए उनीहरूको जीवन सुरक्षित र सहज हुने अपेक्षा गर्न सकिन्छ।

आधुनिक समाजको सानो परिवारको परिभाषाभित्र श्रीमानश्रीमती र केटाकेटीको बीचमा बाबुआमा नअटाउने भएका छन् । यसो हुँदा परिवारको परिभाषाबाटै बाबुआमा हराउने हो कि भन्ने चिन्ता पनि बढेको छ । सहरको कोठा वा सहरको घरमा श्रीमानश्रीमती र केटाकेटी मात्रै भेटिन्छन् । बाबुआमा भेट्न गाउँमै पुग्नुपर्छ । त्यसैले सहर भनेको छोराछोरीको र गाउँचाहिँ बाबुआमाको भनेर बुझ्नुपर्ने अवस्था सिर्जना भएको छ । घर धान्ने र खेतीपाती हेर्ने बाबुआमा र सहरमा बसेर लेखपढ गर्ने र आयआर्जन गर्ने छोराछोरीबीचको दूरी बढ्दै गएकाले सामाजिक र आर्थिक दृष्टिकोणले पनि ज्येष्ठ नागरिकहरूको जीवनयापन असुरक्षित र असहजसमेत बन्दै गएको छ । त्यसैले अब सहरमा भन्दा गाउँमा वृद्धाश्रमको आवश्यकता टड्कारो बन्दैछ । हुर्केका छोराबुहारी र नातिनातिनी सहरमै बस्ने हुँदा गाउँमा वृद्ध बाबुआमा र हजुरबुबाहजुरआमा मात्रै बस्ने भएकाले तिनको जीवनको सुरक्षा र सहज जीवनयापनका लागि गाउँमै सुविधायुक्त वृद्धाश्रमहरूको आवश्यकता देखिएको हो।

वृद्धाश्रममा बस्नु वा राख्नुलाई हाम्रो सामाजिक मनोविज्ञानसँगसँगै सामाजिक परम्पराले पनि गलत ठह¥याए पनि यो आवश्यकता नै बनिसकेको छ । घरमै बसेर असुरक्षित र अमर्यादित जीवन जिउनुभन्दा वृद्धाश्रममा बसेर सुरक्षित र केही हदसम्म मर्यादित जीवन जिउन पाउनु वृद्धावृद्धाका लागि बाध्यता नभई आवश्यकता बनेको छ । चाहेर पनि आफ्ना सन्तानले समय दिन नसक्ने र स्याहारसुसार गर्न नसक्ने वृद्धवृद्धाका लागि वृद्धाश्रम नै सुरक्षितस्थल बन्नसक्छ । वृद्धाश्रममा वृद्धवृद्धाहरूको दैनिकी र उनीहरूको चाहना र आवश्यकताअनुरूपको सेवा तथा सुविधाको प्रबन्ध हुनसक्यो भने उनीहरूका लागि वृद्धाश्रम घरभन्दा पनि सुरक्षित र आरामदायी आश्रयस्थल बन्नसक्छ । त्यसैले हाम्रो पुरातन सामाजिक मनोविज्ञानलाई बदल्नुपर्ने र समयको मागअनुसार हाम्रो सामाजिक परम्परालाई पनि बदल्नुपर्ने आवश्यकता पनि देखिएको छ । यही बदलाव पनि सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण पाटो बन्नसक्छ।

हाम्रो देशको कृषि निर्वाहमुखी मात्र बनेको र यसबाट आर्थिक उन्नति सम्भव नदेखेर यसप्रति युवा आकर्षण निरन्तर घटिरहेको छ । कृषि गरिब र अशिक्षितहरूको मात्रै पेसाको रूपमा सीमित बन्दै गएको छ । शिक्षित र महात्वाकांक्षी युवा अवसर र रोजगारीको खोजीमा धमाधम विदेसिने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । देशका गाउँगाउँबाट युवाको लर्कन विदेसिइरहेका छन् । हाल करिब ४५ लाखको हाराहारीमा नेपाली युवा विदेशमा कार्यरत् छने भने अझै पनि दिनहुँ झन्डै १५ सयको हाराहारीमा विदेसिइरहेका छन् । सुखद भविष्यको आशामा यसरी युवाको लर्कन विदेसिँदा गाउँ युवाविहीन बन्दैछन् । गाउँगाउँबाट युवा पुरुष र महिला अवसर र रोजगारीका लागि विदेसिँदा गाउँघरका परिवारमा केही महिला, केटाकेटी र ज्येष्ठ नागरिक मात्रै बाँकी रहन थालेको छ । महिला र केटाकेटी पनि गुणस्तरीय शिक्षाको खोजीमा सदरमुकाम वा सहर पस्न थालेपछि गाउँको घरमा ज्येष्ठ नागरिक मात्रै बाँकी रहन थालेका छन् । यसले गर्दा त्यस्ता ज्येष्ठ नागरिकहरूको जीवनयापन निकै असुरक्षित र असहज हुन थालेको छ । स्याहारसुसार गर्ने मान्छेको अभावमा तिनको जीवन नै कष्टकर बनेको र थप जोखिममा परेको देखिन्छ भने एक्लोपनले गर्दा तिनको जीवन थप विरसिलो बनेको देखिन्छ । त्यस्ता ज्येष्ठ नागरिकको जीवनयापन सुरक्षित र सहज बनाउनका लागि समुदायस्तरमा र राज्यस्तरमै पहल हुनुपर्ने आवश्यकता दिन प्रतिदिन बढिरहेको छ।

युवाविहीन बन्दै गएका गाउँगाउँका ज्येष्ठ नागरिकको जीवनयापनलाई सुरक्षित र सहज बनाउने एउटा महत्वपूर्ण उपाय वृद्धाश्रम नै बन्न सक्छ । यसै पनि अति आवश्यक सुविधाबाट बञ्चित दुर्गम क्षेत्र र गाउँगाउँका ज्येष्ठ नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि अब स्थानीयस्तरमै अति आवश्यक सुविधायुक्त वृद्धाश्रमहरू खुल्नुपर्ने खाँचो टड्कारो भएको छ । पश्चिमी समाज र संस्कृतिमा वृद्धाश्रमलाई सुविधाको विकल्प मानिए पनि हाम्रो विद्यमान समाज र संस्कृतिमा वृद्धाश्रम बाध्यताको उपजको रूपमा देखिएको छ । यद्यपि वृद्धाश्रममा बस्नुलाई नकारात्मक दृष्टिले हेर्ने र नकारात्मक सोच्ने प्रवृत्तिमा पनि परिवर्तन ल्याउनु आवश्यक देखिएको छ । हिजोका दिनमा कुनै व्यक्ति वा वर्गका लागि वृद्धाश्रम बाध्यताको रूपमा लिने गरिए पनि अब भने वृद्धाश्रमलाई सेवा तथा सुविधाको विकल्पको रूपमा लिनुपर्ने परिस्थिति सिर्जना भएको छ । घरमै बसेर बेसहारा बन्नु र असुरक्षित जीवनयापन गर्नुभन्दा वृद्धाश्रममा बसेर सुरक्षित र सहज जीवनयापन गर्नुलाई बुद्धिमानी ठान्नुपर्छ । गाउँगाउँमा वृद्धाश्रम खोलेर अति आवश्यक सेवा र सुविधा प्रदान नगर्ने हो भने अब देशका लाखौं ज्येष्ठ नागरिकहरूको जीवन असुरक्षित, असहज र अमर्यादित पनि बन्न सक्छ।

राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनअनुसार अहिले नेपालका ६४ जिल्लामा १४१ वृद्धाश्रम रहेका छन् । तर ती वृद्धाश्रमहरूमा जम्माजम्मी १,५७७ जना वृद्धवृद्धाले मात्रै आश्रय पाएका छन् । पछिल्लो जनगणनाअनुसार देशभरि ज्येष्ठ नागरिकहरूको संख्या २१ लाख रहेको छ । छोराछोरी विदेसिएसँगै बेसहारा बनेका र असुरक्षित जीवनयापन गरिरहेका ज्येष्ठ नागरिकहरू स्वेच्छाले नै वृद्धाश्रममा चाहेका छन् र बस्न थालेका पनि छन् । व्यस्त परिवार र छोराछोरी विदेसिएका परिवारका ज्येष्ठ नागरिकलाई घरभन्दा वृद्धाश्रम नै उपयुक्त ठाउँ बन्नसक्छ, जहाँ उनीहरूले आकस्मिक सेवा पनि पाउन सक्छन् र अरू सुविधा पनि पाउन सक्छन् । यस्तो अवस्थामा विदेशमा रहेका सन्तानले वृद्ध बाबुआमाको चिन्ता लिनुपर्ने अवस्था रहँदैन र उनीहरूले ढुक्कले काम गर्ने अवसर पाउनेछन् । साथै वृद्ध बाबुआमालाई हेरेनन् भन्ने सामाजिक आलोचनाबाट पनि मुक्त हुनेछन् । ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई उपयोग गर्ने नीति बनाएर काम गर्ने हो भने वृद्धाश्रमलाई केही हदसम्म सिर्जनात्मक र आयमूलक क्रियाकलापको थलो पनि बनाउन सकिन्छ । यसबाट वृद्धाश्रमलाई आर्थिक टेवा पनि पुग्नसक्छ।

प्रकाशित: २९ फाल्गुन २०७५ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App