२९ श्रावण २०७७ बिहीबार
विचार

पाँच वर्षमा १५ सय बलात्कार र नारी दिवस !

अनिता कार्की ढोली
पुरुष–सत्ताको उदय आदिम साम्यवादी समाजको विघटनको जगबाट भएको सर्वस्वीकृत तथ्य हो। पुरुष–सत्ताले महिलालाई यौन सन्तुष्टिको साधन, बच्चा उत्पादन गर्ने यन्त्र र घरेलु सेवकका रूपमा मात्रै अस्तित्व स्वीकार गर्दै आएको छ। सत्ताको आरोहण र बहिर्गमनको आलापालो चक्रमा फरक राजनीतिक फ्लेबरका पुरुष शासकहरू फेरिए। यद्यपि महिलाहरूलाई हेर्ने पुरुष–सत्ताको दर्शन र व्यवहार फेरिएन। बलात्कार र हत्याको घटनाको सूचक अझै बढ्दो क्रममा छ। फलतः पुरुष–सत्तामा उक्लिएको सत्ता पक्षलाई बलात्कारी सत्ताको बिल्ला भिराउँछ प्रतिपक्ष। र सत्ताबाट ओर्लिएकै दिन प्रतिपक्ष सच्चा फेमिनिस्टको लोगो लगाउँछ। नेपाली राजनीतिमा यो भन्दा मजाक प्रहसन अरू हुनै सक्दैन। लैंगिक, सांस्कृतिक, आर्थिक, राजनीतिक रूपमा बहिष्कृत र बलात्कृत ५१ प्रतिशत महिलाहरूको नजरमा पुरुष–सत्ताको आरोही सत्ता पक्ष र बहिर्गमित प्रतिपक्ष दुवै बलात्कारका मतियार हुन्।

बलात्कारी जन्माउने नर्सरी
पहिलो शिक्षालय घरबाटै यौनिकताको विभेदको बीजारोपण गरियो। छोराको जन्मलाई वशंजको निरन्तरता र बुढ्यौलीको सहाराका रूपमा गर्व गर्ने एवं छोरीलाई पराईको सेवक ठान्ने सोचबाट सत्ता निर्देशित हँुदै आयो। जुन सोच अद्यापि कायमै छ। यही सोच र चिन्तन प्रवृत्तिले प्रत्येक घरबाट बलात्कारी पुरुष–सत्ता जन्मिरहेको छ। विद्यालय र क्याम्पसका पाठ्यक्रमहरूमा नैतिक आचरणको शिक्षा, लैंगिक मुद्दा, यौनिकता र यौन शिक्षाको आवश्यकतालाई कम प्राथमिकतामा राखिएको छ। तर युवकयुवतीहरूलाई प्रणय दिवस जस्ता पश्चिमा संस्कृति अवलम्बन गर्न स्वच्छन्दता दिने आजको सत्ताले अन्ततः बलात्कारी पुरुष–सत्तालाई नै जन्म दिन्छ। प्रशासनिक क्षेत्रमा लैंगिक समानुपातिक प्रतिनिधित्वलाई सत्ताले अस्वीकार गर्दै आयो। राजनीतिक दल, संगठन लगायतका संरचनामा लैंगिक मुद्दा ओझेलमा पारियो। समग्रमा राज्य सत्ताको सबै तह, अङ्ग र निकायमा पुरुषसत्ताको वर्चस्व कायम रहँदै आयो। यस प्रकार पुरुष वर्चस्वलाई उच्च प्राथमिकतामा राख्दै आएको घर, पाठशाला, क्याम्पस, विश्वविद्यालय, राजनीतिक दल, प्रशासन, सेना, प्रहरी, उद्योग, कलकारखाना सारतः बलात्कारी जन्माउने नर्सरी हुन् भन्न सकिन्छ।

बलात्कारको जोखिम
अर्थ राजनीतिक तथा सामाजिक सत्तामा पुरुष प्रभुत्वले बलात्कारको घटना निम्त्याइरहेको छ। २०७०÷७१ मा ९१२, २०७१÷७२ मा ९८१, २०७२÷७३ मा १०८९, २०७३÷७४ मा ११३१, २०७४÷७५ मा १४८३ बलात्कारका घटना दर्ता भएको सरकारी तथ्याङ्कले देखाएको छ। १४८३ घटना मध्ये ८५१ जना बालिका र ६१२ जना महिलाहरू थिए।  बलात्कारपछि हत्या भएको १९ जनामध्ये ६ जना दलित महिलाहरू छन्। एक अनुसन्धानका अनुसार प्रत्येक हप्ता कम्तीमा तीन जना महिला बलात्कृत भइरहेको र जसमध्ये  एक जना दलित महिला रहेको तथ्यांकले देखाउँछ। कञ्चनपुरकी निर्मला पन्त, माया विक, कास्कीकी श्रेया सुनार, धनुषाकी दितिया रसाइली लगायतका महिला तथा अबोध बालिकाहरू बलात्कारपछि हत्या गरिएको छ। कमजोर पारिवारिक संरचना, असुरक्षित पारिवारिक तथा सामाजिक वातावरण, न्यून प्रतिरोध चेतनाको कमजोर छिद्रबाट पुरुष–सत्ताले महिला, किशोरी र अबोध बालिकाको बलात्कार र हत्याको हर्कत गरिरहेको छ। घटनाका पीडितहरूको पारिवारिक पृष्ठभूमि केलाउँदा अधिकांश कमजोर वर्गका रहेको देखिन्छ। सत्ताको उत्पादन सम्बन्धमा पीधमा पारिएका वर्ग र समुदायका महिलाहरू बलात्कारको जोखिममा पर्दै आएको देखिन्छ।

बलात्कृत महिला आन्दोलन
सामन्तवादी पुरुष–सत्ताले महिलाको भौतिक शरीरमाथिको बलात्कारको शृखंलालाई बढाइरहेको छ। आजको पुँजीवादी सत्ताले फरक स्वरूपमा महिला अस्मितामाथि बलात्कार गरिरहेको छ। पुँजीवादी सत्ताको सिको गर्दै सत्ताको एउटा हिस्साले बलात्कार न्यूनीकरणका लागि रेडलाइट क्षेत्र निर्माण गर्नुपर्ने बहस गरिरहेको छ। रेडलाइट क्षेत्रमा पुरुष–सत्ताले बलात्कारलाई वैधानिकता दिन खोजिरहेको छ। यी हर्कतविरुद्ध नारीवादी आन्दोलन मौन देखिनु दुखद् परिघटना हो। आन्दोलनले आवाजविहीनहरूको पीडा र चीत्कारको नेतृत्व गर्न सकिरहेको छैन। महिला आन्दोलनमा देखिएको सन्नाटाले यति बेला पुरुष–सत्ताले केही चेलीहरूको अस्मिता मात्र लुटेको होइन, बरु सिंगो नारीवादी आन्दोलनलाई बलात्कार गरिरहेको आभास भइरहेको छ।

बलात्कारलाई नेपालको कानुनले फौजदारी मुद्दाअन्तर्गत दर्ज गरेको छ। फौजदारी अपराध (संहिता) ऐन २०७४ अनुसार विभिन्न उमेर समूहमाथिको जबर्जस्ती करणीको सन्दर्भमा अधिकतम बीस वर्ष र न्यूनतम सात वर्षको कैद सजाय तोकेको छ। बलात्कार गरी हत्या गर्ने कसुरदारलाई आजीवन कैद निर्धारण गरेको छ। अपराधीलाई कानुनको कठघरामा उभ्याई निर्धारित कानुनी कारबाही गर्ने सन्दर्भमा सम्बन्धित निकायको ढिलासुस्ती र उदासीनताले न्यायिक उपचारमा आशंका र आक्रोशसमेत पैदा गरिरहेको छ। फलस्वरूप अपराधीलाई मृत्युदण्डको सजाय माग गर्दै नारीवादी आन्दोलनको उग्रधारले कहिलेकाहीँ टाउको उठाउने गर्छ। मृत्युदण्ड तोकिएका मुलुकहरूमा आपराधिक घटनाहरू बारम्बार दोहोरिइरहेको छ। कडा कानुनले मात्र अपराध नियन्त्रण र निषेध हँुदैन। अपराधी जन्माउने शासन व्यवस्थाको चरित्रमा आमूल परिवर्तनले मात्र अपराधको न्यूनीकरण हुन्छ। यसर्थ बलात्कारको घटना नियन्त्रण गर्न अपराधीलाई मृत्युदण्ड होइन, बरु बलात्कारी जन्माउने पुरुष–सत्ताको विघटन गर्न जरुरी छ।

पुरुष कुनै मूर्त–अमूर्त पात्र होइन। बरु यो त सत्ता सञ्चालनको दर्शन हो। चिन्तन प्रवृत्तिको निरन्तर शृंखला हो जसले आफूलाई भौतिकरूपमा बलशाली ठान्छ। र महिलाहरूलाई कमजोर एवं अबलाको दर्जामा राख्छ। अनि निरन्तर लैंगिक अधिनायकवाद लागू गर्छ। यसर्थ अबको नारीवादी आन्दोलन लैंगिक रूपमा पुरुषविरुद्ध होइन, बरु सत्ता, शक्ति, सम्पत्ति र सम्बन्धमाथिको पुरुष नियन्त्रित सत्तामा आधारभूत परिर्वतनको निमित्त केन्द्रित गरिनु पर्छ। (लेखक स्कुल अफ रिसर्च एन्ड डिभलप्मेन्टका अध्येता हुन्)

प्रकाशित: २४ फाल्गुन २०७५ ०८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App