६ वैशाख २०८१ बिहीबार
विचार

भ्रष्टाचार उन्मूलनमा महिला

घरमा, समाजमा, राष्ट्रमा होस् या सृष्टिमै महिलाको भूमिका महत्वपूर्ण छ। महिलाविना सृष्टि सम्भव छैन भने महिलाविनाको घर कल्पनासम्म गर्न सकिन्न। अर्थात् महिला नभएको घर शून्य, निरस, हरेक चिज भएर पनि केही अभाव जस्तो, केही अपुग जस्तो महसुस हुन्छ। एकदिन आमा या श्रीमती माइत जाँदा घर कस्तो हुन्छ  ? घर लिएर आमा जानुहुन्न तर सबै खुसी र रौनक आमासँगै गएको अनुभूति हुन्छ। खुसीमा मात्र महिलाको साथ कहाँ हो र सहनशीलता, सौम्य, धैर्यमा पनि महिला गुणले नै सघाउ पुर्‍याएको हुन्छ। त्यति मात्रै नभएर राष्ट्रको नमीठो क्रोनिक रोग भ्रष्टाचार निवारणमा समेत घरकी महिलाको भूमिका त्यत्ति नै महत्वपूर्ण हुँदो रहेछ। यो कुरा पंक्तिकार स्वयंले अनुभूति गरेको कुरा त हुँदै हो अहिले काठमाडौँका चलचित्र हलहरूमा प्रदर्शन भइरहेको ‘सयकडा दस’ चलचित्रले मन नै चसक्क हुनेगरी, हृदय नै गाँठो पर्ने गरी अति मार्मिक तरिकाले प्रस्तुत गरेको छ।

भ्रष्टाचार किन हुन्छ? आज राष्ट्र सार्वजनिक सूचकांकको सर्वेक्षणअनुसार पनि १८० राष्ट्रमध्ये नेपाल १२४औँ स्थानमा परेको छ। अघिल्लो वर्ष १२२औँ स्थानमा थियो भने अहिले झनै २ अंक बढाएछ भ्रष्टाचारको समृद्धिमा। अरु राष्ट्रले सुशासनमा सुधार गरी भ्रष्टाचार अवधारणा सूचकांकमा आफ्नो स्थान सुधार गरेका छन् भने नेपालले आफ्नो स्तर गत वर्षभन्दा पनि माथि राखेको छ भ्रष्टाचारमा। यसका कारण हुन्– सरकारद्वारा सार्वजनिक क्षेत्रका पदाधिकारीहरूको कामकारबाहीमा निगरानीको स्थिति नाजुक हुनु र नागरिक समाजलाई राज्यका काम कारबाहीको जानकारीमा पहुँचको अभाव, आयातनिर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुस, व्यापार, व्यवसाय, ठेक्कापट्टा, आयात–निर्यातमा भ्रष्टाचार, सार्वजनिक पद दुरुपयोगमा कारबाही, सरकारबाट भ्रष्टाचार नियन्त्रणमा थप पहल नहुनु, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि पदको दुरुपयोग र राजनीतिक भ्रष्टाचारको व्यापकता जस्ता विषयमा अनियमितता। 

हामी हाम्रो वास्तविक धरातल नबुझी प्रत्येक घरका महिलाहरूलाई अरुलाई देखाउनकै निम्ति, अरु भन्दा सम्पन्न र उच्च स्तरको व्यक्ति हुँ भन्ने प्रदर्शन गर्नकै निम्ति निम्नतम आवश्यकताभन्दा माथि बढेर अनेकौँ इच्छा (ईष्र्यारूपी सम्पन्नता) पूरा गर्नका निम्ति अग्ला अग्ला बंगला जोड्ने, नयाँ ब्रान्डेड गाडी किन्ने, नयाँ नयाँ र महँगा पहिरन, सुन, हिरा जडित बहुमूल्यवान् गहनाले सजिएर हिँड्ने प्रचलन दिनानुदिन बढ्दै गइरहेको छ। यदाकदा बाहेक यो देखावटी प्रयास घरका पुरुषहरूमा भन्दा महिलाहरूको माग रहेको भेटिन्छ। त्यसै पनि कुनै श्रीमान्ले आफ्ना श्रीमतीलाई उनका सबै इच्छा पूरा गर्न नसकेको महसुस गर्छन् र हर प्रयासले  हुने नहुने काम गरेर आर्थिक रुपमा श्रीमतीलाई खुसी राख्न प्रयत्न गरेका तथ्य जायज र सत्य छन्। श्रीमान्ले कसरी कमाएर ल्याउँछ होइन, जसरी भए पनि कमाएर ल्याओस् र समाजमा म हुनेखाने सम्भ्रान्त परिवार भनेर परिचित बनूँ भन्ने आकांक्षाले धेरै श्रीमान्हरू भ्रष्टाचार र कालो धनको पछाडि लागिपरेका तथ्य सिनेमाले छर्लंग पारेको छ, जुन प्रायः यस समाजको वास्तविक चित्रणभित्र पर्छ। पुरुषहरूले उही पहिरनले धेरै औपचारिक समारोह र कार्यक्रममा जाँदा फरक नपर्ने, महिलाका पहिरन, सारी र गहना फेसनअनुसार फेरिरहनुपर्ने कुनै बाध्यता हो या सोख या त देखावटी  ? कसैले हामीलाई तपाईं त सधैँ उही सारीमा देखिनुहुन्छ, गहना पनि पुरानै छन्, घर पनि सानो छ, गाडी त किन्नै सक्नु भएको छैन भनी नै हाल्यो भने पनि के फरक पर्छ  ? सादा जीवन र उच्च विचारसहित आफ्नो जीवन जिउन कसले बाधा पार्छ  ? हामी सजिलै दोष दिन्छौँ अरुलाई, समाजलाई। होइन, यो भिन्नता समाज र कुनै दोस्रो व्यक्तिमा आउने होइन, हाम्रो अहंकारमा आउँछ त्यसैले जस्तोसुकै काम गरेर होस् कालो धन आर्जन गरेर भए पनि देखावटी जीवन बाँच्न बाध्य छन् आजका मानिस आफ्नै अहंकारले।

आमाबाको जस्तो संस्कार छ, त्यही संस्कार सन्तानमा बस्दै जाने हुँदाहुँदै पनि सयकडा दस चलचित्रका सन्तानले वास्तवमा आफ्ना बाले कसरी कमाइ गरेका थिए, थाहा नपाउँदा पनि समाजले भ्रष्टाचारीको सन्तान भनेर आँैल्याइदिँदा देश छोडेर विदेश जान बाध्य भएको तथ्यलाई मार्मिक रुपमा प्रस्तुत गरेको छ। भ्रष्टाचार गरेर सम्पत्ति जोडेर सन्तान सुखमा राखेको नाटक र बाको  कर्तुत थाहा पाएपछि विदेशिने सोच बनाएको छोरालाई आमाले बाबु जहाँ गए पनि तँ हाम्रै सन्तान त होस् नि, तैँले आफ्नो परिचय हामीबाट अलग गराउन सक्दैनस् क्यारे भनेर रोक्न खोज्दा एउटा मात्र सन्तान छोराले ‘म कपाल लामो बनाउँछु, कलर गर्छु। आँखामा लेन्स लगाउँछु। कसैले कुन देशबाट आएको भनी सोध्यो भने अरू नै देशबाट भन्दिन्छु। ममीबाबा म सबै ढाँटिदिन्छु। सकेँ भने नागरिकता र पासपोर्टको परिचय नै बदलिदिन्छु।’ तर देशमा भ्रष्टाचारीको छोरा–बुहारी भएर  बाँच्न चाहदैनौँ’ भन्ने संवादले एकपटक आँखाबाट आँसु नै चुहिन्छ। त्यसमा पनि ‘आमा ! बुबाले भ्रष्टाचार गरेरै यतिका सम्पत्ति जोड्नु भएको रहेछ। तपाईंले किन बुबालाई यस्तो कुकर्म गर्नबाट रोक्नु भएन ?’ भन्ने निर्दोष छोराको प्रश्नले आमा त अवाक् हुन्छिन् नै। हलमा रहेका सारा दर्शकसमेत स्तब्ध बन्न पुग्छन्। यो सिनेमा हो कि वास्तविक संवाद अनुमान लगाउनै बिर्सन्छन्। सायद सबै आमा र श्रीमतीलाई एकपटक सोचनीय बनाएकै हुनुपर्छ। एउटा घरलाई सुन्दर, शान्त, प्रेमिल र आनन्दित राख्न एउटी श्रीमती, एउटी आमाको कति महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरालाई हृदयस्पर्शी ढंगले वास्तविकतामा आधारित रहेर यति इमानदार प्रस्तुति दिनु वास्तवमा समाज र राष्ट्र सुधारको एउटा अपिल पनि हो। श्रीमान् स्वयंले ‘हरेक कुरामा मलाई सल्लाह दिन्थ्यौ र म मान्थेँ तर तिमीले भ्रष्टाचार गरेर कमाएर ल्याउनु पर्दैन चाहिँ किन भनिनौ  ?’ भनेर असहाय बन्दाको स्थितिले पनि एउटा पुरुषलाई भ्रष्टाचारमुक्त बनाउन एउटी महिलाको दह्रो भूमिकालाई नकार्न सकिन्न।

‘भ्रष्टाचारविरुद्ध सदाचार’ भन्ने सन्देशका साथ प्रदर्शन भइरहेको ‘सयकडा दस’ हाम्रै बागमती सफाइ अभियानका अभियन्ता मध्येका मित्रहरू (रामशरण पाठकको निर्देशन, चर्चित हास्यकलाकार मनोज गजुरेलको सामाजिक सन्देशमूलक बेजोड अभिनय, राजाराम पौडेल कार्यकारी निर्माता र अन्य अभियन्ता मित्रहरू पनि समावेश रहेको जीवन्तता बोकेको यो चलचित्रले समय बितेको पत्तै नहुनेगरी शिक्षा, मनोरञ्जन र प्रेरणादायक सन्देश दिँदै टुंगिदा दोस्रो भाग पक्कै आउला भन्ने एउटा आशा समेत जगाउँछ। चलचित्रले भ्रष्टाचार भनेको घुस लिने र दिने मात्रै नभई भ्रष्ट ‘आचरण भ्रष्टाचार हो त्यसैले सर्वप्रथम सबैको आचरण सम्यक र उत्कृष्ट हुनुपर्छ’ भनेर जोड दिएको छ। जीवनशैली र सोचाइ सकारात्मक हुनुपर्छ, वास्तविक सम्पन्नता र कसैलाई देखाउन लायक सम्पत्ति नै आचरण हो भनेर प्रस्ट पारेको छ। यसको लागि घरका महिलाको प्रत्यक्ष भूमिका रहने कुरालाई नकार्न मिल्दैन।

आफ्नो परिवारको सम्पत्ति कसरी वृद्धि भएको छ, बुवाआमाको आयस्रोत के र कसरी आउँछ, सम्पत्ति अस्वाभाविक रूपमा जोडिएको छ भने त्यसको कारण के भन्ने कुरा आफ्ना सन्तानले पनि घरभित्रैबाट मूल्यांकन गर्नुपर्ने दह्रो सन्देश पनि चलचित्रले दिएको छ। अझ अहिलेका युवा पुस्ताद्वारा समाज विकासको अभियानमा लागिपरेको दृश्य र सामाजिक सञ्जालको प्रयोग विभिन्न सामाजिक समस्या राखेर समाधानका विभिन्न कार्य गर्दै आएको उदाहरणबाट सामाजिक सञ्जालको दुरुपयोग होइन, सदुपयोग कसरी गर्ने र युवा अभियानले कतिसम्म मानिसलाई समाजसेवामा प्रेरित गर्न सक्छ भन्ने कुरा त्यसरी नै मीठो ढंगले प्रस्तुत गर्नु विशेष आकर्षणको विषय समेटिएको छ। नराम्रो काम आमाबुबाबाट पनि नहोस् भन्ने प्रेरणादायी सन्देश बोकेको यो चलचित्रले व्यक्तिको होस् या घर, समाज र राष्ट्रको आचरण सही राख्नमा महिलाको भूमिका र उनको सही निर्देशन र निगरानी अनि सादा जीवन, उच्च विचारको जीवनशैली अति नै महत्वपूर्ण छ भन्ने प्रमुख सन्देश चलचित्रले प्रस्तुत गरेको छ, जुन यथार्थपरक र समसामयिक छ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App