८ वैशाख २०८१ शनिबार
विचार

रोगको राजधानी

चपला अबलाहरू एक सुरमा
गुनकेसरीको फूल ली शिरमा
हिँडन्या सखी ली कन ओरिपरि
अमरावती कान्तिपुरी नगरी।
हाम्रा आदिकवि भानुभक्त आचार्यले कान्तिपुर अर्थात् काठमाडौँलाई स्वर्गको राजधानी अमरावतीसँग तुलना गरेका पंक्ति अहिले पढ्दा दन्त्यकथाजस्तो लाग्छ। यो कतै मिथ हो कि यथार्थ भन्ने लाग्छ। यो यथार्थ हो। हाम्रै आँखाले हेर्दाहेर्दै काठमाडौँ हेरिनसक्नुको भइसकेको छ। यी हिउँदका दिनमा राजधानी काठमाडौँ वरिपरिका हरिया डाँडा छर्लंग देखिन्थे। निलो आकाशको मनको गहिराइसम्म हामीलाई आल्हादित तुल्याउँथ्यो। यी पंक्ति लेखिरहँदा हाम्रा वरिपरिका पहाड धुवाँ र धुलोले धुम्म परेका देखिएका छन्। यस्तो प्रदूषित वातावरण निश्चय पनि प्रीतिकर हुन सक्दैन। यो प्रदूषित अवस्था अनेकानेक रोगको घरजस्तो बन्न पुगेको छ।

राजधानी काठमाडौँ प्राकृतिक सुन्दरताले घेरिएको छ। तर, यहाँको अव्यवस्थाले त्यो सुन्दरतालाई छपक्कै ढाकेको अनुभूति हुन्छ। हुँदाहुँदा कतैबाट आकाशमार्ग हुँदै राजधानी छिर्ने बेलामा केही परदेखि नै यहाँको प्रदूषित अवस्था दृष्टिगोचर हुन्छ। यसले दैनिक जनजीवनमै असर पार्ने स्थिति छ। यहाँको धूलोको कणको मात्रा धेरै छ। स्वास्थ्य सुधारका निम्ति हिँडडुल नगरी नहुने भए पनि बिहान हिँड्नै नहुने अवस्था रहेको चिकित्सकहरूले बताउने गरेका छन्। यो विकराल अवस्थाले गर्दा सर्वसाधारण जीउमा रोग पालेर बाँच्नुपर्ने अवस्था आएको छ।हुँदाहुँदा चिकित्सकहरूले आफैँ भन्न थालेका छन्– काठमाडौँ बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ, यथार्थमा यो त्यस्तो छैन। यहाँ मानिसमा रोगले घरजम गरेको छ। स्वच्छ वातावरणमा बस्न नपाएपछि मानिसमा अनेकानेक रोग लाग्छ।

काठमाडौँ उपत्यकाका बासिन्दा मधुमेह, उच्च रक्तचाप, क्यान्सर, भिटामिन डी, कोलेस्ट्रोल, एलर्जी, श्वासप्रश्वाससम्बन्धी रोगले आक्रान्त छन्। धेरैजस्तो यस्ता रोगको सम्बन्ध यहाँको प्रदूषणसँग छ। प्रदूषित वातावरण, उपभोग गरिने वस्तुको गुणस्तर अभाव, जीवनशैलीमा नकारात्मक व्यवहार आदिले काठमाडौँलाई यो अवस्थामा पुर्‍याएको हो। प्रदूषणको प्रभाव बालबालिकाको मानसिक विकासमा समेत पर्छ भन्ने तथ्य सार्वजनिक भइसकेको छ। खासगरी राजधानीबासीमा श्वासप्रश्वाससम्बन्धी गम्भीर प्रकृतिका रोग लागेका छन्। अधिकांश व्यक्ति यही धुवाँधुलोका कारण बिरामी भई अस्पतालमा धाइरहेका छन्। वातावरण प्रदूषित भएका कारण सक्ने त गाडीमा पनि हिँड्छन्। तर, नसक्नेले यही धुवाँधुलोमा जीविका नगरी सुख छैन। कतिपय व्यक्ति घरैमा बसे पनि प्रदूषणको प्रभावबाट ती पनि मुक्त हुन सक्दैनन्। धेरै व्यक्ति अचेल घाममा बस्न छाडेका छन्। हिउँदमा पारिला घाम लाग्ने हाम्रो मुलुकका बासिन्दा भिटामिन डीको अभावमा औषधि खानुपर्ने अवस्थामा पुगेको देखिनु आफैँमा विडम्बनापूर्ण छ। अतः सर्वसाधारणको जीवनलाई सहज बनाउन र राजधानी काठमाडौँलाई प्रदूषित सहर बन्न नदिन महानगरपालिका, नगरपालिका, सरकारका निकाय आदिले विशेष ध्यान दिनुपर्ने देखिन्छ। अन्यथा, राजधानी काठमाडौँ सबैभन्दा रोगी मानिसहरू बस्ने घरजस्तो बन्न पुग्छ।

कुनै बेला काठमाडौँ महानगरपालिकाकाले स्वच्छ, सफा हराभरा काठमाडौँ भन्ने नारा अघि सारेको थियो। तर, अहिले यस्तो नारा र त्यसको कार्यान्वयन धेरै आवश्यक भएजस्तो देखिन्छ। राजधानी काठमाडौँलाई रोगको घर बन्न नदिई उही भानुभक्तले लेखेको जस्तै सुन्दर कान्तिपुर नगरीमा बस्ने मौका हामीलाई प्राप्त हुन सकोस्।

वातावरण स्वच्छ बनाउन यहाँ कसैलाई पनि रोक लगाइएको छैन। तर, किन कुनै एउटा निकाय अघि सरेर अरु सबैका निम्ति उदाहरणीय हुने गरी काम गर्न सक्दैन ? प्रधानमन्त्री केपी शर्मा ओलीले हालै राजधानी काठमाडौँमा धुलो हटिसकेको बताएका थिए। हो, केही ठाउँमा जहाँ कालोपत्रे भइसकेको छ, त्यसले राहत दिएको छ। तर, बाँकी ठाउँको निर्माण सम्पन्न नहुँदा त्यही धुलो उडेर आउँछ। वातावरणलाई प्रदूषित पार्छ। त्यसकारण पनि सरकारले विकास निर्माणका कामलाई तीव्र पार्न आफ्नो तर्फबाट भूमिका खेल्नु आवश्यक छ। यहाँ बेचिने खानेकुराको गुणस्तर मापन पनि मौसमी छ। गुणस्तर हेर्नेहरूले आफूलाई यदाकदा यसमा उतार्छन्। बाँकी समय त्यतिकै बस्छन्। यहाँ बेचिने तरकारी, फलफूल, दूध आदि खाद्य पदार्थलाई गुणस्तरयुक्त बनाउन पनि उत्तिकै पहल आवश्यक छ। विषादि अत्यधिक प्रयोग भएका तरकारी र फलफूल खाँदा पनि सर्वसाधारणलाई रोग लागेको छ। सर्वसाधारण नागरिक रोगी हुनु मुलुकका निम्ति घाटा हो। तिनको उपचारका निम्ति धेरै खर्च लाग्छ र यस्ता काम गर्न नसक्ने नागरिकबाट उत्पादन पनि बढ्न सक्दैन। स्वच्छ वातावरणमा बस्न नपाएपछि सर्वसाधारणमा अनेकन् मानसिक समस्यासमेत देखिन थाल्छन्। जता हेर्‍यो उतै लथालिङ्गको अवस्थामा सुधार ल्याउन सकिएन भने त्यसले पनि सर्वसाधारणमा बेचैनीको अवस्था सिर्जना गर्छ। कुनै बेला काठमाडौँ महानगरपालिकाकाले स्वच्छ, सफा हराभरा काठमाडौँ भन्ने नारा अघि सारेको थियो। तर, अहिले यस्तो नारा र त्यसको कार्यान्वयन धेरै आवश्यक भएजस्तो देखिन्छ। राजधानी काठमाडौँलाई रोगको घर बन्न नदिई उही भानुभक्तले लेखेको जस्तै सुन्दर कान्तिपुर नगरीमा बस्ने मौका हामीलाई प्राप्त हुन सकोस्। सरकारको ध्यान यता गए राम्रो हुन्थ्यो।

 

प्रकाशित: २२ पुस २०७५ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App