८ वैशाख २०८१ शनिबार
विचार

उकुसमुकुस उपत्यका

वरिपरि हरिया डाँडाले घेरिएको काठमाडौं उपत्यकावासीले हिउँदयाममा बिरलै नीलो आकाश देख्न पाउँछन्। बिहानका कलिला घामलाई प्रदूषणको पत्र चिरेर हाम्रो घरआँगनसम्म आइपुग्न मुस्किल छ। हाम्रो सुन्दर काठमाडौं वायु प्रदूषणले आक्रान्त हुँदा बिहानबेलुका स्वतन्त्र विचरण गर्न सकिँदैन। बिहानको सुन्दर र सुरम्य वातावरणमा हिँडडुल गरी स्वास्थ्यलाभ गर्न नपाउने अधिकारवञ्चित हौं हामी।

यो अवस्था राजधानी काठमाडौंको हावामा उडिरहेका असाध्यै मसिना धुलीकणले ल्याएको हो। यो मौसममा उपत्यकामा बिहान र बेलुका हावामा पार्टिकुलेट म्याटर (पिएम) २.५ को मात्रा दुई सय माइक्रोग्राम प्रतिघनमिटर सरदर पुगेका छ। हाम्रो सरकारले तोकेको मापदण्डअनुसार यस्ता धुलीकण ४० माइक्रोग्राम प्रतिघनमिटर छ। विश्व स्वास्थ्य संगठनले त यसलाई २५ मै सीमित राखेको छ। यसरी हेर्दा हामी खतरनाक स्थितिमा बाँचिरहेको अनुभूति हुन्छ। यस्तो प्रदूषित वायु श्वासप्रश्वासका कारण हाम्रो फोक्सोमा प्रवेश गर्नु भनेको अनेकन् भयावह रोगको सिकार हुनु हो।

यो अवस्थाका निम्ति जति जिम्मेवार केन्द्र सरकार र स्थानीय पालिकाहरू छन्, त्यति नै जिम्मेवार हाम्रा बानी र व्यवहार पनि छन्। उसै त प्रदूषित राजधानीलाई जाडोमा घरटोलमा थुप्रिएको फोहोर तथा घरघरमा आगो बालेर ताप्ने चलनले पनि बिगारेको छ। बिहानपख बालेको आगोले अत्यधिक प्रदूषण बढाउने गरेको छ। फोहोर तथा आगो बाल्दा निस्कने धुवाँले चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहेर प्रदूषण बढाउने गर्छ। काठमाडौं उपत्यका कचौरा आकारको भएकाले यहाँको धुवाँ सजिलै बाहिर उडेर पनि जाँदैन। दिउँसो राम्ररी घाम लागेपछि तातेर मात्र प्रदूषण माथिमाथि उड्दै जान्छ। आँखाले देख्न सकिने धुलोका कणलाई पिएम १० मा मापन गरिन्छ। पिएम २.५ मा आँखाले देख्न सकिनेभन्दा चार गुणा साना कण हुन्छन्।

विश्व बैंकको सन् २०१६ को एक प्रतिवेदनले नेपालमा वायुप्रदूषणका कारण प्रत्येक वर्ष २२ हजार हाराहारीमा मानिसको ज्यान जाने गरेको देखाएको थियो। यो भयावह अवस्था १० वर्षे ‘जनयुद्ध’भन्दा कम छ ? ठूल्ठूला सपना देखाएर मानिसलाई भ्रममा पार्नुभन्दा उपत्यकाको वायु प्रदूषण नियन्त्रण मात्रै गरे पनि सरकारले निकै ठूलो विश्वसनीयता हासिल गर्न सक्छ।

पिएम २.५ मा कम आकारका धुलीकणमा कार्बन मोनोअक्साइड र नाइट्रोेजन अक्साइड हुन्छ। यस्ता कण स्वास्थ्यका लागि हानिकारक मानिन्छन्। यी कण श्वासप्रश्वासमार्फत शरीरभित्र सजिलै पस्ने हुनाले श्वासनलीमा संक्रमण हुन्छ। वायु प्रदूषणको तत्कालीन असर सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वासमा देखिए पनि दीर्घकालीन रूपमा मुटुरोग, मस्तिष्काघात, फोक्सोको क्यान्सर, दम आदिका रूपमा देखा पर्छ। यसले बालबालिकामा मस्तिष्क विकास तथा प्रजनन क्षमतामा समेत ह्रास गराउँछ। सन् २०१५ को एक अध्ययनअनुसार उपत्यकामा गाडीको धुवाँबाट ३८ प्रतिशत र सडकको धुलोबाट २५ प्रतिशत प्रदूषण फैलने गरेको छ। त्यसैगरी फोहोर तथा कृषिजन्य अवशेष बाल्दा १९ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट ७ प्रतिशत प्रदूषण हुन्छ। उपत्यकामा विभिन्न बहानामा लथालिंग छोडिएका सडकको धुलोका कारण पनि अत्यधिक प्रदूषण हुने गरेको छ। मेलम्ची खानेपानी आयोजनाका नाममा सडक खनेर लथालिंग पार्दा जनस्वस्थ्यमा समेत ठूलो क्षति पुगेको छ।

सरकारले अघिल्ला वर्षहरूमा उपत्यकामा बढ्दो वायु प्रदूषण कम गर्न खुला रूपमा आगो बाल्न प्रतिबन्ध लगाउने, सवारीसाधन प्रदूषण जाँच गर्ने, सवारीसाधनमा ग्रिन स्टिकर लगाउनेलगायत योजना अघि सारेको थियो। मेलम्ची खानेपानी आयोजनाको निर्माणपछि सडक कालोपत्रे, विद्युतीय सवारीसाधनको प्रयोगमा प्रोत्साहन नीतिलगायत निर्णय गरे पनि पूर्ण रूपमा कार्यान्वयन भएनन्। जसले गर्दा वायुप्रदूषणमा कमी आएन। तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको प्रस्तावमा सरकारले ०७३ चैत २९ मा मन्त्रिपरिषद्ले वायु प्रदूषण घटाउन २३ निकायको भूमिकासहितको कार्ययोजना पारित गरेको थियो। पछिल्लोपटक ०७४ मंसिर १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तत्कालीन सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा ‘दु्रत कार्यान्वयन’ टोली गठन गर्ने निर्णय गरे पनि ठोस काम भएको छैन। काठमाडौं तीन सहरमा सबैभन्दा अगुवा काठमाडौं महानगरपालिका रहेको छ। तर, यसले आफ्नो सहर स्वच्छतामा ध्यान दिएको छैन। सडकमा बेलाबेलामा सफाइका लागि ब्रुमर निकालिए पनि यहाँको अन्तहीन धुलो उस्तै छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सन् २०१४ को प्रतिवेदनअनुसार प्रदूषणका कारण विश्वभर प्रत्येक वर्ष ७० लाख मानिसको मृत्यु हुन्छ।

यसमा घरभित्रको र घरबाहिरको प्रदूषणको हिस्सा बराबरी छ। विश्व बैंकको सन् २०१६ को एक प्रतिवेदनले नेपालमा वायुप्रदूषणका कारण प्रत्येक वर्ष २२ हजार हाराहारीमा मानिसको ज्यान जाने गरेको देखाएको थियो। यो भयावह अवस्था १० वर्षे ‘जनयुद्ध’भन्दा कम छ ? ठूल्ठूला सपना देखाएर मानिसलाई भ्रममा पार्नुभन्दा उपत्यकाको वायु प्रदूषण नियन्त्रण मात्रै गरे पनि सरकारले निकै ठूलो विश्वसनीयता हासिल गर्न सक्छ। अहिले राजधानीको वायु प्रदूषणलाई सामान्य घटनाका रूपमा मात्र लिन सकिँदैन। डब्लुएचओले गत कात्तिकमा सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्येक १० मध्ये नौजनाले लिने श्वास प्रदूषित छ। यस्तो अवस्थाका कारण विश्वभर ७० लाखको मृत्यु हुने गरेको छ। वायु प्रदूषणले विश्वमा १५ वर्षमुनिका ६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ। यो अवस्थाबाट हाम्रो मुलुक पनि अछुतो छैन। अतः वायु प्रदूषणको गम्भीरतालाई ध्यानमा राखी समाधान खोज्न ढिला भइसकेको छ।

प्रकाशित: ८ पुस २०७५ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App