६ वैशाख २०८१ बिहीबार
विचार

के भन्छन् कांग्रेस महासमिति सदस्य ?

नेपाली कांग्रेसका महासमिति सदस्यहरूले वर्तमान सरकारले जनताको अपेक्षा र चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। नेकपाको नेतृत्वमा बहुमतको स्थिर सरकारसँगै देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने आम जनताको चाहना विपरीत सरकार उल्टो बाटोमा हिँड्न थालेको उनीहरूको टिप्पणी छ। सरकारको कामबारे प्रदेश नम्बर एकअन्र्तगत विभिन्न जिल्लाका महासमिति सदस्यहरूको भनाइ:

‘सरकारप्रति उत्साह हराउँदै छ’
पूर्ण गौतम, इलाम

तत्कालीन माओवादी र नेकपा एमाले मिलेर दुई तिहाइ हाराहारीको सरकार बने पनि यसले आर्थिक समृद्धिको जुन नारा लगाएको छ, कतै यो नारा मात्र त हुँदैन भन्नेमा आशंका नै छ। समृद्धिको बाटो लिनुपर्ने सरकारले लिन सकेको छैन। जनताले सरकार भएको अनुभूत गरे पनि न्याय पाउने, सुरक्षा पाउने, देश समृद्ध हुने कुरामा विश्वास गर्ने वातावरण बनेको छैन। जनतामा सरकारप्रतिको उत्साह कम हुँदैछ। जनतालाई जुन आर्थिक सुविधा दिनुपथ्र्याे त्यो भएन। चुनावी घोषणापत्रमा भएका प्रतिबद्धता पूरा गर्न सरकारले सकेन। 

‘सरकारले संघीयता अस्वीकार गर्दैछ’
हिमालय कर्माचार्य, इलाम

यो सरकारले संघीय व्यवस्थालाई अप्रत्यक्ष रूपले अस्वीकार गरेझैँ देखिन्छ। निरंकुशता र अधिनायकवादी शैलीमा सरकार अघि बढेको जनताले महसुस गरिरहेका छन्। तल्लो तहका सरकारलाई संविधानले दिएका अधिकार दिनसमेत सरकारले कञ्जुस्याइँ गरेको छ। संघीयताको अवधारणाअनुसार कुनै पनि काम यो सरकारले गर्न सकेको छैन। सरकार आफैं अन्योलग्रस्त अवस्थामा रहेकाले यो सरकारले सकारात्मक काम गरेको देखिँदैन। पानीजहाज, रेल, चुलामा ग्यास पाइप पु-याउनेजस्ता प्रोपगन्डा चाहिँ धेरै भए। 

‘भ्रष्टाचार नियन्त्रण भएन’
केशव थापा, इलाम

जनताको अधिकार पाएर सरकारले जसरी काम गर्नुपर्ने हो, त्यसरी केही हुन सकेको छैन। सरकार बहुमतले चलेको छ, तर जनताको काम केही भएको छैन। विपक्षीभन्दा पनि आफ्नै दलका नेता–कार्यकर्ता सरकारको विरुद्धमा आवाज उठाइरहेका छन्। देशमा भ्रष्टााचार नियन्त्रण हुनुपर्नेमा झन् बढेको छ। प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनुपर्ने, कर्मचारी व्यवस्थापन गर्नुपर्नेमा सरकार आफैँ विवादमा फसिरहेको छ। 

‘सरकार माफियाको चङ्गुलमा’
सुदनबहादुर कार्की, मोरङ 

सरकार माफियाको चङ्गुलमा फसेर आफ्नै गुणगान गाउन व्यस्त भएको छ। जनताको स्वतन्त्रता खोसिरहेको छ। एकतन्त्रीय अधिनायकवादतर्फ उन्मुख भइरहेको छ। सरकारले स्वेच्छाचारी प्रवृत्ति देखाइरह“दा कांग्रेसले प्रमुख प्रतिपक्षका रूपमा पर्याप्त खबरदारी गर्न सकिरहेको छैन। कांग्रेसले जति फाइदा लिनुपर्ने हो, पार्टीभित्रको मतभेदले गर्दा त्यति धेरै फाइदा लिन सकिरहेको छैन।  

‘वाचा भुलियो’ 
विद्यानन्द चौधरी, मोरङ

सरकारको भनाइ र गराइ ठीक उल्टो देखिएको छ। रेल, पानीजहाजका सपना देखाए पनि व्यवहारमा केही छैन। सरकारले विकासका काम द्रुत गतिमा बढाउनुपथ्र्यो। समृद्धिको नारा पूरा गर्ने किसिमका योजना अघि बढाउनुपथ्र्यो। जनजीविकाको सवाललाई सम्बोधन गर्न सक्नुपथ्र्यो। वाचाअनुसार काम भएकै छैन । 

‘सपनाको पुलिन्दामात्रै बाँड्यो’ 
दामोदर कोइराला, मोरङ

सरकारले सपनाको पुलिन्दामात्रै बाँड्यो, काम गरेन। देशको परिवर्तन हुने खाका कुनै पनि दीर्घकालीन योजना सरकारले कार्यान्वयन गर्न सकेको छैन। प्रतिपक्षी दलहरूलाई पनि साथमा लिएर विकास निर्माणका काम अघि बढाउन सकेन। समग्रमा भन्दा सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न अग्रसर देखिएको छैन।  अपराध, भ्रष्टाचार, विभेद, मह“गी नियन्त्रण गर्नुभन्दा सस्तो लोकप्रियताका लागि आफ्नै प्रचार प्रसारमा व्यस्त बनेको छ।  

‘गरिब र सीमान्तीकृतको अहितमा’ 
मीता आचार्य, मोरङ 

भ्रष्टाचार, अपराध र बेथितिले सबै क्षेत्रलाई गाँजेको छ। महँगी नियन्त्रण गर्न सरकार असफल भएको छ। सरकारले विकासका कामलाई पनि अघि बढाउन सकेको छैन। गरिब र सीमान्तीकृत जनताको हितमा कार्यक्रम ल्याउन सकेको छैन। सरकारले समृद्धिको अभियान चलाउनु पथ्र्यो। जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न सहयोग गर्नुपथ्र्यो। तर, भाषणमा समृद्धिको नारा घन्काए पनि समृद्धि आउने किसिमका कामको सुरुवातै हुन सकेको छैन। सरकारका गलत कामको भण्डाफोर गर्न कांग्रेस चुक्नु हुँदैन। 

विधि–विधानअनुरूप चल्न सकेन
मनोजनारायण श्रेष्ठ, धनकुटा

यो ९ महिनाको कार्यावधिलाई हेर्दा निराशा छाएको छ। विधिविधानअनुरूप चल्न सकिरहेको अवस्था देखिँदैन। लोकतान्त्रिक विधिअनुसार चलेमा हाम्रो सधैँ सम्मानका साथ सर्मथन रहन्छ। 

‘गृह मन्त्रालय छ र ?’  
लीला सुब्बा, धनकुटा
स्थिरता चाहिएको थियो। बहुमतका साथ सरकार आए पनि जनमत अनुसारको काम गर्न अझै सकिरहेको देखिएको छैन। एकात्मक शैलीले जनतालाई सास्ती दिने गरी कर वृद्धि भएको छ। हत्या, बलात्कार, अपहरण जस्ता घटना बढेको छ। गृह मन्त्रालयको काम राम्रो भइरहेको छैन। ‘गृह मन्त्रालय छ र ?’  

आनन्दसन्तोषी राई,धनकुटा
प्रतिपक्षसँगको दूरी छोट्याउनुपर्छ

संविधान जारी भएपछि निर्वाचनबाट बहुजनमत पाएर बनेको सरकारले धैर्यसहित सही सदुपयोग गरेको कम पाइएको छ। दिनको झल्को बिहानीले दिन्छ भनेझैँ सत्ता पक्षको कार्यकाल आरम्भमै देखिरहेका छौँ। विपक्षीको भूमिका महत्वपूर्ण हुन्छ, प्रतिपक्षसँगको दूरी छोटो बनाउनुपर्छ। 

‘सरकारले नाराबाहेक केही गरेको छैन’
सुजेन्द्र गोले तामाङ, सुनसरी

संवैधानिक आयोगलाई पनि प्रधानमन्त्री मातहतमा राख्ने, राज्यलाई अधिनायक शैलीमा सञ्चालन गर्ने काम भइरहेको छ। यो सरकारले नाराबाहेक केही गरेको छैन। प्रेस स्वतन्त्रता, नागरिकको मौलिक हक, सामाजिक सुरक्षा, र न्यायको क्षेत्रमा सरकार असहिष्णु भएको पायौँ। ऐतिहासिक परिवर्तनको अनुभूति जनताले पाइराखेका छैनन्। प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदहरूले नै असन्तुष्ट भएर विरोध गरिरहेका छन्। एकात्मक शैलीमा सरकार चलेको छ। भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको छ।   

‘सरकार संघीयतामै चुक्या’
उमेश थापा, सुनसरी

सरकारले जनतालाई शान्तिसुरक्षा दिन सकेको छैन। महँगी, भ्रष्टााचार र विकास, सुशासन सबै कुरामा सरकार असफल भएको छ। सरकारले संघीयतालाई संस्थागत विकास गर्नुपथ्र्यो, मजबुत गर्नुपथ्र्यो। पहिलो कुरा सरकार यसैमा चुक्यो। कर्मचारी नपठाएर सरकारले संघीयतालाई आफैँ असफल बनाउनतिर लागेको हो कि भन्ने देखियो। 

‘सरकार सर्वसत्तावाद लाद्ने अभ्यासमा’ 
राजीव ढुंगाना, सुनसरी

समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना विपरीत अहिले जताततै भ्रष्टाचार मौलाएको छ। महँगी बढेको  छ। हत्या–हिंसा र बलात्कारका घटना बढिरहेका छन्। शान्ति–सुरक्षा कमजोर छ। सरकार सर्वसत्तावाद लाद्ने अभ्यासमा लागेको छ। 

‘बलात्कारको दोषी को ?’ 
दिलकुमारी राई,सुनसरी

महिला हिंसा, हत्या र बलात्कारका घटना बढेको बढ्यै छन्। प्रेस स्वतन्त्रता र मानवअधिकार स्वतन्त्रतामाथि दमन गर्ने काम भएको छ। वैज्ञानिक कर प्रणाली लागू गर्नुपथ्र्याे। अहिले अवैज्ञानिक कर प्रणाली लागु गर्दा सर्वसाधारण मारमा परेका छन्। 

‘प्रतिपक्षीले रेलिङ भाँचेको छैन’ 
रामहरि खतिवडा ओखलढुंगा 

प्रतिपक्षीले खासै केही बिगारेको छैन। न रेलिङ भाँचेको छ, न जथाभावी गरेको छ। प्रतिपक्षी पनि कमजोर हुने, सरकार पनि कमजोर हुने। दुई तिहाइको सरकार कमजोर छ, त्यो भन्दा कमजोर कांग्रेस देखिएको छ। यसले अन्योल सिर्जना गरेको छ। राजनैतिक व्यवस्थामाथि नै प्रश्न उठेको छ। दुई तिहाइ दिएर पनि हुन्न भने के गर्ने भन्ने भएको छ ? 

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित’
मित्रप्रसाद काफ्ले,पाँचथर 

मुलुकको आर्थिक अवस्था चौपट भएको छ। व्यावसायिक क्षेत्र नाजुक भएको छ। नेपाली कांग्रेसलाई सहयोगीका रूपमा हेर्नुपर्नेमा शत्रुका रूपमा हेर्न खोजिएको देखिन्छ। सरकार त टिकाउला तर नामको मात्र सरकार हुने अवस्था छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा कुण्ठित गर्न खोजेको देखिन्छ।

‘भन्न लायकका राम्रा काम केही छैन’  
टेकेन्द्र काम्बाङ लिम्बु, पाँचथर 

सरकारले भन्न लायकका राम्रा काम केही गर्न सकेन। निर्मला हत्याकाण्ड लगायतका घटनामा दोषीलाई कारबाही गर्न  सकेन। बरु संरक्षण गरेको देखिन्छ। यस हिसाबले सरकार असफल भएको देखिन्छ।

‘भ्रम छरेर निर्वाचन जित्यो’ 
सुरेश सुब्बा, झापा 

भ्रम छरेर निर्वाचन जित्यो। जनताका पक्षमा एउटा पनि काम गर्न सकेको छैन। बलात्कारमा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन, के कुरा ?

‘हामी निराश झापाली’ 
सुधीर शिवाकोटी, झापा  

दण्डहीनता व्याप्त छ। नियन्त्रणका लागि सरकारले चासो दिएको छैन। प्रधानमन्त्री झापाकै भएकै कारणले समेत विकास निर्माणका काममा चासो होस् भनेर अपेक्षा राखेका छौँ। पूरा हुन सकेको छैन। 

‘हामी अशक्त प्रतिपक्ष’ 
टिकाराज सापकोटा, झापा 

प्रधानमन्त्री हावा गफमै अलमलिनु भएको छ। हाम्रो पार्टीले समेत सशक्त प्रतिपक्षको रूपमा भूमिका निर्वाह गर्न सकेको छैन। हामी अशक्त प्रतिपक्ष भएका छौँ कि ?

‘गौरीगन्जको पनि विकास भएन’
फुलवती राजवंशी, झापा 

केपी ओली यहीँ निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभयो, गौरीगन्जको विकास अहिलेसम्म हुन सकेन। हुलाकी मार्गको काम अघि बढन सकेको छैन। 

‘लगानीमैत्री वातावरण बनाउनुपथ्र्यो’  
सुवासकुमार पोखरेल, खोटाङ 

यो सरकारले पहिला संघीयता कार्यान्वयन गर्नुपथ्र्यो। संघीयता कार्यान्वयन गरेन। संघीय कानुन, प्रादेशिक कानुन बनाउनुपथ्र्यो। दुई तिहाइको स्थिर सरकार भएकाले लगानीमैत्री वातावरण बनाउनुपथ्र्यो।  

‘राज्यकोष भोगविलासमा’ 
विष्णुकुमार राई, खोटाङ  

सरकार सर्वसत्तावादतिर उन्मुख हँुदै गइरहेको छ। राज्यकोष जनताको हितको पक्षमा भन्दा भोगविलासमा खर्चिन थालेको छ। दलीय सहिष्णुता र सद्भाव, दलीय एकता मजबुत गराई राष्ट्रिय एकता मजबुत गराउन सक्नुपथ्र्यो।

प्रकाशित: ३ पुस २०७५ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App