४ कार्तिक २०७७ मंगलबार
विचार

कस्तो कांग्रेस ?

प्रमुख विपक्षी दल नेपाली कांग्रेस महासमितिको राजधानीमा शनिबारदेखि सुरु भएको बैठकतर्फ सबैका नजर एकोहोरिएका छन्। आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने यो दलका नेताहरूले मुलुकको वर्तमान परिस्थितिको यथार्थ आँकलन गर्दै भाबी कार्यदिशा कसरी तय गर्लान् भन्ने जिज्ञासा पनि यतिबेला सर्वत्र छ। निर्वाचनपछि दुई तिहाइ बहुमतको सरकार बनेयताका काम कारबाहीमा यसले आफूलाई कत्तिको ध्यानाकर्षण गर्छ ? विश्वमै निर्वाचित तानाशाही प्रवृत्तिले आफ्नो चर्तिकला देखाइरहेको अहिलेको परिस्थितिलाई यो दलले कसरी हेरिरहेको छ ? कांग्रेसको भाबी महाधिवेशनमार्फत राजनीतिक नेतृत्व लिन अहिलेदेखि नै कांग्रेसमा रस्साकस्सी सुरु भइसकेको छ।

दलको नेतृत्वका निम्ति तिकडम गर्दागर्दै मुलुकको बहुलवादी व्यवस्थाको गतितर्फ ध्यानाकर्षण हुनु पनि उत्तिकै आवश्यक भइसकेको छ। मुलुकमा चरम निराशाको स्थिति देखिएको छ। र, राजनीतिक परिवर्तनको अहिलेको अवस्थासम्म आइपुग्न कांग्रेसले खेलेको भूमिका पनि आफ्ना ठाउँमा छ। यो परिवर्तनलाई संस्थागत गर्न र मुलुकको प्रजातान्त्रिक भविष्यलाई सुनिश्चित गर्नुपर्ने गम्भीर अवस्थासमेत विभिन्न घटनाक्रमबाट देखिन थालिसकेको छ। यस्तो विषम परिस्थितिलाई प्रमुख विपक्षी दलको समेत जिम्मेवारीमा रहेको कांग्रेसले कसरी चिर्ने हो ? प्रश्न गम्भीर छ। 

कांग्रेसमा गतिशीलता छैन भन्ने पक्षलाई निर्वाचनको एक वर्ष पुग्दासमेत समीक्षा नहुनुले पुष्टि गर्छ। वास्तवमा कांग्रेसभित्र हिजोको जुझारुपन आवश्यक छ। मुलुकले हासिल गरेको राजनीतिक उपलब्धि रक्षाका निम्ति कांग्रेसले फेरि आफूलाई यो महासमिति बैठकपछि सक्रिय रूपमा उभ्याउनुपर्नेछ।

लोकप्रिय मतमा कांग्रेस दुई कम्युनिस्ट दलको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीकै हाराहारीमा रहे पनि यसपटक जनादेशले प्रतिपक्षमा पु-याएको छ। प्रतिपक्षमा पुगे पनि कांग्रेसको इतिहास र भविष्यप्रतिको जिम्मेवारी ठूलो छ। तर, सर्वसाधारणमा दलका गतिविधिप्रति निराशाजनक अवस्था छ। दलभित्रै पनि सिंगो पार्टीभन्दा पनि गुटगत सक्रियताका आधारमा भाबी नेतृत्व हासिल गर्नुपर्ने अवस्था कांग्रेसमा देखिन्छ। कुनै बेला कांग्रेस नेताहरूले व्यक्त गर्ने अभिव्यक्तिको महत्ता ठूलो थियो। जनआन्दोलन २०४६ पछि कांग्रेसका शिखर नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले जुन ओज हासिल गरेका थिए, आज त्यो अवस्थामा बाँचेका नेताहरू छन्÷छैनन् ? वास्तवमा अहिले घोत्लिनुपर्ने प्रश्न यो, हो। कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, कृष्णप्रसाद सिटौला आदिबाट मुलुकको अहिलेको अवस्थामाथि कसरी सम्बोधन हुने हो ? प्रश्न यो पनि छ।

मुलुकको शान्ति प्रक्रियालाई एउटा टुंगोमा पु-याउँदै संविधान जारी गर्ने, निर्वाचन गराउनेसम्मका काममा कांग्रेसको भूमिका छ। यसका साथै साम्यवादी विचार बोकेका दलहरूकै अजेन्डामा कांग्रेस नेतृत्व हिँडेका कारण अब यसले आफूलाई भिन्न ढंगले प्रस्तुत गर्नुपर्ने आवाज पनि उत्तिकै उठेको छ। साम्यवादी विचार बोकेका व्यक्तिहरू निर्वाचनबाटै आए पनि अधिनायकवादी चरित्र तिनका कामकारबाहीमा देखिन्छ भन्ने कुरा कांग्रेस नेताहरूलाई बुझाइरहनु पर्दैन। मुलुकले हासिल गरेको बहुलवादी चरित्रमा आँच नआओस् भनेर कांग्रेसले सुनिश्चित गर्न सक्ला ? सत्ता उपयोग र त्यसलाई कब्जा गर्ने चरित्रलाई कांग्रेसले कति बुझेको छ। बिस्तारै सार्वजनिक डिस्कोर्सको ठाउँ खुम्चिँदै गएको धेरैले महसुस गरेका छन्। छपन्न कोटी यदुवंशी सखाप भएजस्तै आपसी गुटबन्दीमा कांग्रेसको अवसान हुने त होइन ? 

हामीले खोजेको शासन व्यवस्था अधिनायकवादी होइन। तर, अत्यन्तै प्रजातान्त्रिक ढंगले निर्वाचित भएर पनि आफूखुसी गर्न खोज्ने प्रवृत्ति अहिलेको विश्वको अवस्था हो। सर्वसाधारणले निर्वाचित गरेर पठाएको अर्थ जथाभाबी गर्न र नागरिक स्वतन्त्रतालाई सीमित गर्नका निम्ति होइन। यो अवस्था सुनिश्चितताका निम्ति कांग्रेसले आफूलाई कसरी उभ्याउँछ ? मुलुक बिस्तारै अर्को एउटा अप्ठ्यारो अवस्थातिर जाँदै गरेको अनुभव हुन्छ। यसलाई कांग्रेस आफैंले भने कति महसुस गरेको छ ? निश्चय नै कांग्रेसले गत निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको प्रश्नले त्यसभित्र प्रश्न खडा गरेको छ। यसको दोषभागी को हुने भन्ने प्रश्न पनि उठिरहेकै छ। दललाई दिशानिर्देश गर्न यसको व्यक्तिगत वा सामूहिक जिम्मेवारी लिने कामलाई ठूलो मुद्दा नबनाएर भविष्यका निम्ति पाठका रूपमा स्वीकार गर्ने अग्रसरता त्यहाँ भयो भने मुलुकका गम्भीर समस्यातर्फ यो दलको ध्यान जान पाउँछ।

कांग्रेसमा गतिशीलता छैन भन्ने पक्षलाई निर्वाचनको एक वर्ष पुग्दासमेत समीक्षा नहुनुले पुष्टि गर्छ। वास्तवमा कांग्रेसभित्र हिजोको जुझारुपन आवश्यक छ। मुलुकले हासिल गरेको राजनीतिक उपलब्धि रक्षाका निम्ति कांग्रेसले फेरि आफूलाई यो महासमिति बैठकपछि सक्रिय रूपमा उभ्याउनुपर्नेछ। 

प्रकाशित: १ पुस २०७५ ०८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App