८ वैशाख २०८१ शनिबार
विचार

हेलम्बु : गाथा–व्यथा

पुग नपुग ११० घर भएको मेलम्चीघ्याङका ९० भन्दा बढी घरबाट वैदेशिक रोजगारीका लागि गएका छन्। उच्च हिमाली भेग भएकाले यहाँ जुनसुकै बेला पनि चिसो सिरेटो चल्नु स्वाभाविकै भयो। त्यसैले घाम लागेका बेलाबाहेक घरबाहिर मानिस भेटिनु करिब दुर्लभै हुने गर्छ। आदिवासी भनेर चिनिने अल्पसङ्ख्यक ह्योल्मो जाति बस्छन् यहाँ। मुलुकभर १०७५२ जनसङ्ख्या रहेको यो जाति नेपालका ५९ आदिबासीमध्ये एक हो जुन आफैँमा हेर्न, अध्ययन गर्न र जानकारी लिन निकै उपयुक्त छ। यस अर्थमा पर्यटन र रेमिटेन्सबाट यहाँका बासिन्दाले ‘राम्रै’ आम्दानी भित्र्याउने गर्छन्। धेरैजसोको काठमाडौँमा पनि घर छ।

कुरा पाठशालाको
पछिल्लो समय आम्दानी भएपछि छोराछोरी पढाउने नाममा गाउँबाट ‘सहर’ झर्ने प्रवृत्ति निकै झाङ्गिएको छ। खासगरी रेमिटेन्स भित्र्याउने घरका बुहारीहरू घर सासू÷ससुराको जिम्मा लगाएर ‘बालबच्चाको भविष्य सुधार्ने’ कार्यमा निकै सक्रिय देखिन्छन्। तर मेलम्चीघ्याङ यसको अपवाद छ। आफू काठमाडौँ बसे पनि छोराछोरीलाई भने गाउँकै मेलम्चीघ्याङ माविमा पढाउनेको सङ्ख्या बढ्दो छ। अझ कतिपय त छोराछोरी पढाउनकै लागि काठमाडौँबाट ‘गाउँ फर्क अभियान’ मा लागेकासमेत भेटिन्छन् यो गाउँमा।

सुन्दरता छ, प्रचार छैन। विद्यालय उत्कृष्ट छ, सरकार शिक्षक दिँदैन। उत्पादन स्वादिलो छ, बजार छैन। बस्ती आकर्षक छ, बस्ने मान्छे नै छैन। न विशुद्ध हिँड्नेमात्र रुट बनाउन सकिएको छ न त स्तरीय मोटर बाटो नै। यस्तै यस्तै गाथा र व्यथाबीच बाँच्न विवश छ सिङ्गो हेलम्बु।  

यहाँका ह्योल्मो बालबालिका त पढ्ने नै भए। काठमाडौँ नारायणटारका कार्कीदेखि गोरखाका सुवेदीसम्म भेटिन्छन् यो विद्यालयमा। अर्थात सुविधासम्पन्न भनिएका र ‘शैक्षिक हब’ को नाम कमाएका एकसेएक ठाउँका छात्रछात्रा पनि यो बाह्रै महिना लुगलुग कमाउने जाडोमा सुन्दर भविष्यको सपना खोजिरहेका भेटिन्छन्। कारण ? ‘हामी व्यावहारिक शिक्षा प्रदान गर्छौँ, घोकन्ते हैन’– सरल उत्तर छ प्रधानाध्यापक पूर्णबहादुर गौतमको।

३५ वर्षअघि हेलम्बु घुम्न निस्किएका कोशीपारि, काभ्रेका यी ताजा एसएलसीवाला इन्जिनियर बन्ने सपना थाती राखेर यतै भुले। यही क्रममा स्थानीयसँग मिलेर विद्यालय खोल्न लाग्नेदेखि त्यसैलाई हराभरा बनाउन लागिपरे। त्यो पनि कम्मरै कसेर। अहिले यही कारण हो कि मेलम्चीघ्याङको शिक्षाको कुरा गर्दा ‘पूर्ण सर’ बाध्यतावश लिनैपर्ने नाम बनेका छन्। तर उनको थाती रहेको ‘इन्जिनियर सपना’ भने अब विपनामा परिणत नहुने करिब करिब निश्चित छ।

सुन्दर ठाउँको यो सुन्दर शिक्षालयमा पढाउने शिक्षणकर्मी पनि सुन्दर भावनाकै छन्। इलामको टीका लिम्बुदेखि झापाका राजन निरौलासम्म यहाँ रमाइ रमाइ पढाइरहेका भेटिन्छन्। तुलनात्मकरूपमा सुगम, विकसित, सजिलो र अवसर भएको ठाउँ छाडेर यहाँ किन रमाउँदैछन् त उनीहरू ? इलामका लिम्बु सरको उत्तरै काफी छ– ‘हामी केही गर्न चाहन्छौँ र अरुलाई उदाहरण पनि पेश गर्न चाहन्छौँ।’ हो, शिक्षकहरूमा जागेको यही ‘केही गर्न सकिन्छ’ भन्ने इच्छाशक्ति नै पूर्ण सरका लागि सबैभन्दा शक्तिशाली आधार बनेको छ। त्यसैले त उनले यो विद्यालयमा २२५ जना जतिलाई होस्टेलमै राख्ने व्यवस्था मिलाएका छन्। जहाँ विद्यार्थी र शिक्षक मिलेर आफैँ खाना बनाउने, चर्पी सफा गर्नेदेखि ओछ्यान मिलाउने र सरसफाइसम्मका काम गर्छन्।

नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुने यो विद्यालयमा एकैपटकमा १६ वटा कक्षा सञ्चालन हुन्छ। तर शिक्षक ? मात्र १० जना। शिक्षा कार्यालय के सोच्दो हो ? १० जनाले १६ वटा कक्षामा एकैपटक पढाउने कल्पना कसरी गर्दो हो ? त्यो कुरा उनीहरूले नै बुझ्लान् भन्छन् हेडसर गौतम। धन्न विदेशीले ६ जना शिक्षकको तलव व्यवस्था गरिदिएका छन्। अनि होस्टेलदेखि भवन निर्माणसम्मका लागि सहयोग गरेका छन्। त्यसैले यो शिक्षालयले कमाएको नामका लागि यहाँका सहृदयी अभिभावकदेखि डुल्न आएर वा उतै बसेर सहयोग गर्ने विदेशीसम्मलाई श्रेय बाँडचुँड गर्नुपर्ने उदार भावना प्रदर्शन गर्न हिच्किचाउँदैनन् हेडसर गौतम।

भिरको पिर
हेलम्बु गाउँपालिकाको २ नं. वडामा एउटा ठाउँ छ– भिरखर्क। तल सडकबाटै टोपी समाएर हेर्नुपर्ने यो ठाउँ साँच्चै भिरमै कनिकुथी अडेको छ। यही ठाउँमा बस्ने तामाङ समुदायका बासिन्दाले भिरमै भए पनि मकै फलाउने गरेका थिए बाँच्नकै लागि। तर पछिल्लो समय गाउँबाट मानिस पातलिने अनि यही मौकामा जङ्गलचाहिँ बाक्लिने क्रम बढ्यो। यही मौकामा चौका हान्दै बाँदरले यी तामाङ समुदायको मकैबारीमा धावा खेल्न थाले। त्यसपछि स्थानीयसँग पुर्पुरोमा हात राखेर आफैँलाई धिक्कार्नुको विकल्प रहेन।

६० वर्षीय खिना तामाङले एक दिन यही समस्या गाउँमै आयोजित एउटा फुच्चे छलफलमा राखेछन्। भोकै मरिने भइयो भनेर गुनासो गरेपछि एकजनाले मकैको ठाउँमा किबी लगाउने सुझाव दिएछन्। कहिल्यै नसुनेको यो किबी भन्ने जन्तु हो कि खानेकुरा भन्ने भेउ पाउनै मुस्किल परेछ उनलाई। बुझ्दै जाँदा यो गतिलै खाने फल रहेछ भन्ने बुझेछन्। त्यसपछि उनलाई किबी लगाउन सल्लाह दिने सामुदायिक आत्मनिर्भर सेवा केन्द्र भन्ने संस्थाले नै ५० बोट बिरुवा दिएछ। उनलाई मात्र हैन, छिमेकीलाई पनि।

अहिले दुई वर्ष भयो मकै लगाउने यो ठाउँमा किबी रोपेको। किबीको मुन्तिर कोदो पनि राम्रै फलाएका छन्। हुन त किबी तीन वर्षपछि राम्रोसँग फल्न थाल्छ तर दोस्रो वर्षमै अलिअलि फल्न थालेपछि निकै हौसिएका छन् उनी। किनकि ? भन्छन्– यो त निकै मीठो पो हुने रैछ। मकैले टन्न छ्याङ बनाएर खाने गरिएको सुनाउने उनी किबीबाटचाहिँ बनाउन नपाइने भो भन्ने चिन्तामा पनि रहेछन्। छ्याङ बनाउन नमिले पनि उनी एउटा कुरामा भने मख्ख छन्– ‘कम्तीमा बाँदरलाई त छक्याइयो।’ उनैका अनुसार किबीले चिलाउने भएका कारण बाँदर टाढै बस्छ रे।

मेमे बुढिएपछि
‘एउटा भैँसी थियो। घरमै होमस्टे चलाएकाले कहिलेकाहीँ पाहुना आउँदा नून चियामा घोल्न अन्त लिन जानुपर्थेन। आफूलाई त खान मिल्ने नै भइहाल्यो। तर भैँसी राख्न नसकिने भो। बेच्नैपर्ने अवस्था आयो’, घ्याङ्गुलकी होमस्टे सञ्चालक दावा भन्दै थिइन्– मेमे (श्रीमान्) बूढो भयो। घाँस काट्न सक्दिन भन्छ। अनि नबेचेर भयो त ?

मेमे बुढिएकाले निम्तिएको समस्या यतिमा सीमित छैन उनको। बारीमा फलेको मूला भैँसीले खान्थ्यो त्यो पनि अब केलाई खुवाउने भन्ने चिन्ता छ। न आफू खाएर सकिन्छ न त बिक्रीका लागि लैजाने नै कोही छ। ७०–८० किलो फलेको किबी पनि गाउँमा सस्तो ले भन्छन्, बजार लैजाउँ लैजाने मान्छे छैन। चिसो ठाउँ भएकाले यहाँ उत्पादन हुने मूलामात्र हैन, सबै बाली निकै समय लाग्छ खानयोग्य हुन। यसरी लामो समय माटोको खनिज तत्व लिन पाउने भएकाले निकै स्वादिला हुन्छन् लेकाली खानेकुरा। तर प्रशस्तै फले पनि यसबाट फाइदा भने लिन सकेकी छैनन् उनले। बारीमा निकै समय लगाएर उत्पादन हुने करु स्याहार्न पनि हम्मेहम्मे पर्छ उनलाई। उनले सुनाइन्– यो हाम्रो गाउँका धेरैको समस्या हो, मेरोमात्र हैन।

हेलम्बुको गणित
सिन्धुपाल्चोकको उत्तर–पश्चिम भेगमा पर्ने साविकका महाङ्काल, पाल्चोक, इचोक, किउल र हेलम्बु गाविसको संयुक्त नाम बनेको छ यतिबेला हेलम्बु गाउँपालिका। समुद्री सतहदेखि १ हजार मिटरको उचाइ हुँदै ५ हजार मिटरसम्मको भूभाग यस गाउँपालिकामा पर्नुले पनि यसको भौगोलिक विविधतामा आकाश–जमिनको भिन्नता प्रष्टिन्छ।

वास्तवमा हेलम्बु धेरै मानिसले सोचेजस्तो कुनै एउटामात्र ठाउँविशेषमा सीमित छैन। खासगरी याङ्री, घ्याङ्गुल, तार्केघ्याङ, मेलम्चीघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता ठाउँको समग्र रूप नै हेलम्बु हो। जहाँ गुम्बा, माने र घ्याङको सङ्ख्या नै दर्जनौँ छन्। जसले बौद्ध धर्म, ह्योल्मो परम्परा अनि तामाङ जातिको संस्कार बुझ्नमात्र मद्दत गर्दैन, हिमाली जिल्ला पढ्ने धोको काठमाडौँ नजिकैबाट पूरा पनि गर्छ। त्यसैले त सिजनमा यी गाउँमा कहिलेकाहीँ स्थानीयभन्दा पर्यटक बढी देखिन्छन् तिब्बतको राजधानी ल्हासामा जस्तै।

प्रकाशित: २५ मंसिर २०७५ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App