२३ फाल्गुन २०७७ आइतबार
विचार

हिंसा र दुव्र्यवहार : छैन स्वीकार

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियानको राष्ट्रिय नारा ‘लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ मात्र होइन कि कञ्चनपुरकी अबोध १३ वर्षिया निर्मला पन्तको बलात्कार र त्यसपछिको हत्या अहँ स्वीकार छैन। चार महिना बितिसक्दा पनि अपराधी पत्ता नलाग्नु र घटनाको वास्तविकता उजागर नगर्ने सरोकारवाला पक्षसँग पटक्कै स्वीकार छैन ! सारा नेपालीलाई यो कुरा स्वीकार्य छैन। स्वीकार्य नभएपछि यसको सत्यतथ्यका लागि अभियान जारी छ र सत्य कुरा नै बाहिर आई अपराधी सार्वजनिक हुन्छ भन्ने कुरामा सबैलाई विश्वास पनि छ त्यसैले त नोभेम्बर अगाडिदेखि मात्रै होइन विगत चार महिनादेखि नै महिला हिंसाविरुद्धको अभियान निर्मलाकै साथमा जारी छ। जुन कुरा समाज र राष्ट्र विकासमा बाधक छन्, जनताको स्वतन्त्र जीवनका लागि आवश्यक छन् र राष्ट्र र राजनेता, प्रशासनबाट ती कुरालाई प्राथमिकतामा राखिँदैन, तब अभियान सुुरु हुन्छन् नागरिकहरूबाट। जुन अभियान नागरिकहरूबाट सुरुवात हुन्छन्, कुनै पनि कारण रहँदैन, ती अभियान सफल नहोऊन्। नागरिक शक्ति यस्तो शक्ति हो, यस्तो ऊर्जा हो जसले जस्तोसुकै शक्तिलाई परास्त गरेका उदाहरण ताजा र सबैका सामु छर्लंग छन्। नागरिक शक्ति सूर्यको तेज जस्तै ऊर्जा हो, कसैले हत्केलाले छेक्ने प्रयासै नगर्दा राम्रो। वर्षेनि अन्तर्राष्ट्रिय रूपमै चल्ने महिला हिंसाविरुद्धको अभियान नेपालमा पनि प्राथमिकतासाथ चल्ने गरेको छ र यसको उद्देश्य महिला तथा बालबालिकाको मानवअधिकारको संरक्षणमा निरन्तरता, उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने हक–अधिकार सुनिश्चितताको माग तथा विकासका समान साझेदारका रूपमा महिला तथा बालबालिकालाई स्थापित गरी लैंगिक हिंसाविरुद्ध विविध सचेतना जागृत गराउनु हो। यो घडीमा आम महिला, बालबालिकाहरूको नजरमा र हृदयमा निर्मला पन्त, उनको परिवार र भर्खरैमात्र निर्मलाको बुबाको मानसिक अशान्तिले सबैलाई अरू संवेदनशील बनाएको छ। यसपटकको महिला हिंसाविरुद्धको अभियानले निर्मला र निर्मलाको परिवारलाई न्याय दिन सकेन भने यसको सार्थकता र महत्व न्यून हुनेछ। निर्मलाले न्याय नपाउँदा सम्म अहँ, कुनै पनि अभियानको सार्थकता झल्किनेछैन।

आखिर किन वर्षेनि कयौँ निर्मलाहरू दुव्र्यवहार र सिकारमा पर्छन् ? मानवीय संवेदना र राष्ट्रको समृद्धिको मापनमा महिला तथा बालबालिकामाथिका यस्ता खाले यौनजन्य हिंसा एवं दुव्र्यवहारले कुनै मापन गर्दैन ? नारीत्व र मातृत्वको सम्मान नभएको समाजमा समृद्धि कहाँबाट आउँछ ? आत्मविकास हुन नसकेको व्यक्ति र समाजबाट राष्ट्र विकासको अपेक्षा कसरी गर्ने ? महिला भएकै कारणले गरिने हिंसा, हत्या र चरित्र हत्या जस्ता संवेदनहीन क्रियाबाट समाजलाई मुक्ति दिलाउन चेतना जागरणका अभियान कहिलेबाट लागू हुन्छन् ? असल चरित्र मानवीय गुण हो, यो महिला पुरुष दुवैमा लागू हुन्छ भन्ने बोध कहिले जाग्छ ? सुन्दर, प्रेमल, खुसी र आनन्दित जीवनलाई बोझ बनाउने र अरुमा बोझ थप्ने बेहोसी व्यक्तिलाई ढिला नगरी आफ्नो स्वभावमा जिउने र घर, समाज र राष्ट्रलाई सुन्दर बनाउने व्यावहारिक शिक्षा र अभियान कसले सुरु गर्नुपर्ने हो जस्तो लाग्छ ? बुद्धको भूमिलाई वास्तविक बुद्धभूमि बनाउन कसको योगदान आवश्यक छ ? धेरै माग, विकासका अजेन्डा र सुधारसहितका अभियान, अनशन र आन्दोलन हुन्छन् तर मानिसलाई मानिस नै बनाउने अभियान कसले सुरु गर्ने ?

यो राष्ट्रमा अपराधी त लुकाइन्छन् भने अरु चिज किन नलुकाइएका होलान् र ? अपराधी र हत्यारालाई खुलस्त पार, हत्यारालाई मृत्युदण्ड देऊ भन्दै धेरैपटक माग गरिएका छन् तर मृत्युदण्ड नै लागू गरे पनि भित्री चेतना जागृत हुन सकेन भने मानिस भित्रबाट शान्त हुन सक्दैन।  भित्र शान्त नहुँदासम्म वासना र क्रोधबाट मुक्ति पाउँदैन। एकछिन दण्ड र कानुनका कुरा गरे पनि कतिबेला उसको वासना जागेर आउँछ र ऊ बेहोसीमा पुग्छ थाहै हुँदैन। अहिले पनि दण्डित भएर जेलमा रहनेलाई कसरी जेल पर्नुभयो भनेर सोध्यो भने  तनावमा थिएँ, रिस र क्रोधको झोँकमा ज्यान लिएँ या अरु बदमासी गरेँ, अहिले सम्झिँदा लाग्छ बेहोसीमा रहेछु, मैले त्योसम्मको हद, अरुको ज्यानै लिने र अरुलाई मर्का पर्ने काम गर्नु हुँदैनथ्यो, अहिले पछुतो भइरहेछ भन्ने जवाफ आउँछ। महिला हिंसामा परिसकेपछि कानुनी न्याय खोज्दै आन्दोलनमा उत्रिनु र पीडित भएपछि हक अधिकारका मुद्दा अगाडि ल्याउनुभन्दा महिला होस् या पुरुष समाजमा, घर घरमा र राष्ट्रमा हिंसा नै उत्पन्न हुन नदिने वातावरण सृजना गर्न कति वर्षसम्म अभियान चलाउनुपर्ने हो ? दण्ड र कानुनका कुरा आआफ्नै ठाउँमा छन् त्यसका साथै सबैलाई जागृत हुने र प्रेमपूर्ण जीवन जिउने कला सिकाउने हो भने हिंसाका घटना कम हुन्थे कि ? ध्यान र प्रेमका मार्गमा लाग्न प्रेरित गर्ने खालका कार्यक्रमहरूमा सहभागिता जनाउने र जीवनलाई पूर्ण रूपमा, बिना पछुतो जिउन र जिउन दिने वातावारणको सिर्जना गर्नु अहिलेको समाजमा धेरै जरुरी भएको छैन र ? बढ्दै गएको विकास र भौतिक समृद्धिसँगै मानिसको मनस्थितिमा आएको नकरात्मकताले धेरै हिंसाका घटना भइरहेका होइनन् र ? एकातिर नैतिक शिक्षा, व्यावहारिक ज्ञान र आनन्दपूर्ण जीवन जिउने कला बिर्संदै गएको अवस्था छ भने अर्कोतिर मानिस व्यस्त मात्र होइन, अस्तव्यस्त जीवन जिइरहेछ। किन भनेर सोच्नसम्म भ्याएको छैन। जुन दिन मानिसलाई सबै अस्तव्यस्तताको ज्ञान हुने समय आउनेछ त्यतिबेला उसले आवश्यक कुरा गुमाइसकेको त हुँदैन ? त्यसैले समृद्धिको कुरासँगै असल चरित्र निर्माणमा सबैको सहभागिता समान होस् भनेर अभियान सुरु गरौँ न ! चरित्र असल हुनासाथ, इमानदारी र करुणाको व्यवहार हुनासाथ अधिकार र स्वतन्त्रता त्यसमै समाहित हुनेछन्। जीवन पाएसँगै सबै अधिकार मानिसलाई प्रकृतिले नै व्यवस्था गरिदिएको छ। प्राकृतिक रूपमै जिउने कला जाने हिंसामा उत्रिनुपर्छ र ?  प्रकृतिले महिला–पुरुषमा भेद गरेर नियम बनाएको छैन। महिला भएकै कारण भिन्नता सृजना गर्ने अधिकार कसले दियो समाजलाई ? महिलालाई जोडेर चरित्रताको उदाहरण दिने समाजले बनाएको मान्यतालाई परिष्कृत गर्न गरिएका उदाहरणीय कामहरूको मूल्यांकन खोइ ? विभेद मनस्थितिबाट सृजित हुन्छ, परिस्थितिबाट होइन। हिंसा, दुव्र्यवहार र अपराध मनस्थितिबाट सृजना हुन्छन्, परिस्थितिबाट होइनन्। त्यसैले अहँ, कसैको मनस्थितिको उपज हिंसा बनेर महिलामाथि जाइलाग्छ भने त्यो पटक्कै स्वीकार्य छैन !

आपराधिक घटनाको दोष प्रहरी, प्रशासन र सरकारलाई लागेको छ, लाग्दैमा के भयो र यी निकायले प्रभावकारी रूपमा काम गरेर अपराधी पत्ता लगाउने र यस्ता आपराधिक घटना न्यूनीकरण गर्नमा सहयोग गर्नासाथ हिंसा र दुव्र्यवहार आफैँ कम हुन्छन् नि। सरकारी वा गैरसरकारी, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी सबै निकाय यही समाजका प्रतिविम्ब भएकाले जागृत मनस्थितिको विकासमा जुट्न र हिंसामुक्त मनस्थितिको विकासमा सबैको उत्तरदायित्व रहन्छ। अबका अभियान परम्परागत मात्र नभई सामाजिक दृष्टिकोण र अवधारणालाई परिवर्तन गर्न सक्ने खालका हुनु जरुरी छ। व्यक्तिगत र सामाजिक संस्कारलाई परिवर्तन गर्ने खालका हुनुपर्छ। महिलाको आर्थिक–सामाजिक सशक्तीकरणका साथै सामाजिक, धार्मिक दृष्टिकोणमा परिवर्तन गरेर हिंसाजन्य घटना न्यूनीकरण गर्ने अभियानका रूपमा हुनुपर्छ। अबका अभियान यस्ता होऊन् कि जोखिममा रहेका वर्गलाई सचेत रहन सिकाओस्, आत्मविश्वासी बन्न सिकाओस्, अपराधप्रति शून्य सहनशीलताको वातावरण सिर्जना गर्न सघाउ पु-याओस् र अपराध गर्नेहरूको मनोवृत्ति परिवर्तन गर्न सहयोग गरोस्। यौन हिंसा स्वीकार्य छैन, समाजलाई प्रोत्साहन मिल्ने र व्यक्तिगत आचरणमा सुधार ल्याउने अभियान जारी रहोस्।

प्रकाशित: १३ मंसिर २०७५ ०८:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App