coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

पन्त दम्पतीको पीडा

निर्मला पन्तको बलात्कारपछि हत्या भएयताका घटनाक्रमले एकपछि अर्को गर्दै हाम्रो प्रहरी प्रशासनको निकम्मापन सार्वजनिक भइरहेको छ। हुँदाहुँदा निर्मलाका पीडित पिता यज्ञराज पन्तको अवस्था अन्त्यन्त दयनीय अवस्थामा पुगेको छ। त्यो निर्दोष हत्याका आततायीलाई जोगाउन किन राज्य संयन्त्र प्रयोग भयो भन्ने प्रश्न यतिबेला गम्भीररूपमा उठेको छ। झन् यज्ञराजको मानसिक स्थिति नै असामान्य अवस्थामा पुग्नुजस्तो पीडादायी अवस्था केही हुन सक्दैन। केही दिनयता पन्त दम्पती आफ्नी छोरीलाई बलात्कार गरी हत्यामा संलग्न व्यक्ति वा समूहमाथि कारबाहीका निम्ति आन्दोलन गरिरहेको अवस्थामा एकाएक यज्ञराजको अवस्था बिग्रेर उपचारका निम्ति राजधानी काठमाडौँ ल्याउनुपरेको छ। यज्ञराजले सन्तुलन गुमाएर आक्रामक व्यवहार देखाएका भिडियो हेर्दा निर्मलाजस्ता छोरी भएका सबै बाबुआमाको मुटु कटक्क काटिन्छ। हाम्रो मुलुकमा विगतमा भएका ठूल्ठूला अपराधका घटनामा संलग्न व्यक्तिहरू ढिलोचाँडो कारबाहीको दायरामा आएका छन्। तर, यो घटनाका सम्बन्धमा देखिएको उदासीनताले अहिलेसम्म अनेकन् प्रश्न खडा गरिरहेको छ। आखिर किन र केका लागि यो अपराधमा संलग्न अपराधीहरू लुक्न वा लुकाइन सफल भएका छन् ? सुरुकै दिनदेखि प्रहरी प्रशासनले यो घटनाको ढाकछोप गर्न खोज्नु, प्रमाण लुकाइनु र अस्वाभाविक किसिमका व्यवहार देखाइनुले स्थानीय स्तरमा समेत ठूलो आशंका उत्पन्न गराएको हो। संयोग नै मान्नुपर्छ। यो घटना लुकाउन खोज्दाखोज्दै पनि राष्ट्रिय स्तरसम्मको आन्दोलनमा रूपान्तरित हुन सफल भएको छ। राजधानी काठमाडौँमै समेत यस घटनालाई लिएर विरोध प्रदर्शन भए। विभिन्न तह र तप्काका नागरिकले यसमा चासो र चिन्ता प्रकट गरिरहेका छन्। यति हुँदाहुँदै पनि अपराधीको नजिकसम्म अनुसन्धान पुग्न नसक्नु आफैँमा विडम्बनाको अवस्था आएको छ।

तिनीहरूमाथि कारबाही गरेर मात्र अपराधी पत्ता लगाउने जिम्मेवारी पूरा हुँदैन। वास्तवमा यो घटनामा गृह प्रशासन नेतृत्वको पूर्ण असफलता झल्किएको छ। सुरुमै यस घटनामा गडबडी अनुभव भएको छ। किन र कसलाई जोगाउन स्थानीय प्रहरी र प्रशासनले आत्मघाती भूमिका निर्वाह गरेको हो ?

पञ्चायतका बेला पोखरामा नमिता–सुनिता काण्डको नामले कुख्यात बलात्कार र हत्या भएको थियो। त्यसमा तत्कालीन शासन व्यवस्थाकै केही जिम्मेवार व्यक्ति संलग्न भएका कारण यो लुक्न पुग्यो भन्ने अहिलेसम्म पनि हाम्रो सम्झनाबाट हटेको छैन। उक्त घटनाका दोषीलाई कहिल्यै फेला पार्न सकिएन। बरु साक्षीलाई समेत त्यो घटनामा सिध्याउने काम भएको थियो। अहिले आएर निर्मला हत्याकाण्डका दोषीको छेउसम्म अनुसन्धान पुग्न नसक्नुको पछाडि के त्यस्तो रहस्य रहेको छ भन्ने आशंका भइरहेको छ। सामान्य व्यक्तिले अपराध गरे सहजै समातिन सक्ने तर शक्तिशालीहरू त्यसमा संलग्न रहे छेउसम्मै पुग्न नसक्ने अवस्था हामीकहाँ नौलो होइन। निर्मला हत्याकाण्डमा सुरुका दिनदेखि प्रहरी प्रशासनले सत्यतथ्य पत्ता लगाउने भन्दा पनि प्रमाण लुकाउने काममै संलग्न भएको पाइएको छ। सुरु कारबाहीमै गडबडी गरेका कारण जिल्लाका तत्कालीन प्रहरी प्रमुख र सम्बन्धित प्रहरी कारबाहीमा पनि परेका छन्। तिनीहरूमाथि कारबाही गरेर मात्र अपराधी पत्ता लगाउने जिम्मेवारी पूरा हुँदैन। वास्तवमा यो घटनामा गृह प्रशासन नेतृत्वको पूर्ण असफलता झल्किएको छ। सुरुमै यस घटनामा गडबडी अनुभव भएको छ। किन र कसलाई जोगाउन स्थानीय प्रहरी र प्रशासनले आत्मघाती भूमिका निर्वाह गरेको हो ? त्यसो त कतिपय घटनामा विगतमा पनि नक्कली व्यक्ति खडा गरेर मुद्दामामिलाबाट प्रभावशाली व्यक्तिहरूलाई उन्मुक्ति दिने गरेको देखिएकै हो। यस घटनाले मुलुकको शान्ति सुव्यवस्थाका बारेमा गम्भीर कमजोरी उत्पन्न गराएको छ।

गृहमन्त्री रामबहादुर थापाजस्ता ‘जनयुद्ध’को नेतृत्व गरेर आएका नेताले सञ्चालन गरेको गृह प्रशासनले प्रभावकारी काम गर्न नसकेको हो। यसले उनको व्यक्तित्व विकासमा समेत नकारात्मक प्रभाव पारेको छ। सामाजिक सञ्जालमा उनका कमजोरीलाई लिएर आलोचना भइरहेको पनि देखिएको छ। प्रहरी प्रशासनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न नसकेको र यो घटनाको दोषीलाई फेला पार्न नसकेको अहिलेको अवस्थाले खराब काम गर्ने व्यक्तिहरूको मनोबल बढाएको छ। हुँदाहुँदा राजधानीको बसमा चढेर लुटेरा समूले सर्वसाधारण यात्रुले लुटेका घटना समेत सार्वजनिक हुन थालेका छन्। निर्मला हत्या काण्डको पर्दाफास नभई यस्तो अपराधमा लाग्ने व्यक्तिको मनोबल घटाउन सकिँदैन। यो अपराधमा संलग्न व्यक्ति जतिसुकै शक्तिशाली भए पनि तिनीहरूमाथि कारबाही गराउन सकेमा प्रहरीको विश्वसनीयता बढ्छ। न्याय नपाएर निर्मलाका मातापिताले आन्दोलन गर्नुपर्ने अवस्था आउनु कुनै अर्थमा उचित हुन सक्दैन। यो घटनाबाट सिक्दै प्रहरीको तालिमदेखि यस्ता घटनामा अनुसन्धान प्रक्रियालाई बढ्ता प्रभावकारी बनाउन सक्नुपर्छ। यो घटनाका सम्बन्धमा जति छानबिन समिति बनेका छन् त्यसले यथार्थमै अपेक्षित परिणाम दिन सकेको छैन। यससँग जोडिएका सुरु अनुसन्धानकर्ता प्रहरीलाई पनि ‘भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नहुने गरी’ सेवाबाट हटाइएको छ। काममा यति धेरै लापरबाही हुँदा पनि भविष्यमा सरकारी सेवाका निम्ति किन योग्य ठान्नुपरेको हो ? अनि यसमा दोषी ती प्रहरी मात्र हुन् कि त्यो भन्दा माथि पनि यसको लहरो जोडिएको छ। वास्तवमा यो घटनाका सम्बन्धमा शक्तिशाली न्यायिक आयोग नै गठन गरी छानबिन गर्ने तथा भविष्यमा यस्ता घटना हुँदा विगतको कमजोरी दोहोरिन नदिनेतर्फ ध्यान दिन सक्नुपर्छ। निर्मलाका पिताको अहिलेको यो अवस्थाबाट राज्यले लज्जाबोध गर्नुपर्छ। एउटा सामान्य घटनाका रूपमा यसलाई लिएर बिर्सिएर जान सकिँदैन। निर्मलाका पिताले अहिलेको अवस्थाको जिम्मेवारी गृह प्रशासनले लिनुपर्छ। र, कारबाही प्रक्रियालाई अघि बढाउनु पर्छ।

प्रकाशित: १० मंसिर २०७५ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App