८ वैशाख २०८१ शनिबार
विचार

कांग्रेसको दशा र दिशा

दसैँ र तिहार समापनसँगै राजनीतिमा चहलपहल सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक जीवनमा विवाद बाहिर आएका छन् । विपक्षी नेपाली कांग्रेसभित्र पनि अनेकन विवाद र बहस अगाडि आएका छन् । कांग्रेसका यस्ता बहस, विवाद र छलफलमा सत्ताच्युत भएपछि म जस्ता छेउ किनाराको कांग्रेसीलाई पनि सहभागी हुने अवसर मिल्न थालेको छ । अन्यथा कांग्रेसभित्र कांग्रेस नै हराएको अवस्था थियो । ढिलै भए पनि कांग्रेसभित्र कांग्रेसीको भूमिका खोजिँदैछ । गुट र गिरोहको होइन, यो सराहनीय कार्यको थालनी हो।

दसैँ र तिहार बिदामा मलाई कांग्रेसका साना÷ठूला समूहसँग कोठे छलफल गर्ने अवसर मिल्यो। नयाँ कांग्रेसीहरू जसलाई ‘चैते कांग्रेस’ पनि भन्थे तिनको गर्जन पुराना कांग्रेसीभन्दा यतिखेर केही तल परेको अवस्था छ । कर्पोरेट संसारबाट आएका, शिक्षा र स्वास्थ्यलाई व्यापार बनाएका, जग्गा दलाली र देशको स्रोत÷साधनमाथि कब्जा जमाएर बसेकाहरू बिस्तारै कांग्रेसबाट पलायन गर्दैछन् । कम्युनिस्टतिर लाग्दैछन्।

कांग्रेस संस्कार नभएका तर पद र प्रतिष्ठाका लागि कांग्रेसको गुट वा गिरोहबाट लाभको पदका आकांक्षी तथाकथित सुसंस्कृत भलाद्मीहरू पनिविस्तारै राज्यको सुविधा लिन ‘वाम खेमा’ मा फर्कँदैछन् । ‘जता खिर उता फिर’ राजधानीको तथाकथित भलाद्मीको संस्कार नै हो । यसले निरन्तरता पाउँछ नै।

कांग्रेस नवजीवनका लागि मन्थन गर्न यो समय अत्यन्त उपयुक्त छ । उपयुक्त यसकारण पनि कि कांग्रेसको अगाडि यतिखेर राज्यसत्ता छैन । पार्टी सत्ता र यसमा सुधारको प्रयत्न चैते र सुविधाभोगी कांग्रेसीका लागि कुनै विषय नै होइन । शासक हुने अवसर यतिखेर कांग्रेसबाट कसैले अपेक्षा गर्र्दैन । नेकपाको सरकार पाँचवर्ष अवधि पूरा होस् र यो पाँचवर्षमा कांग्रेस नयाँ ढंगले निर्माण हुन्छ भनी प्रण गर्ने हो भने कांग्रेसको सान्दर्भिकता र उपयोगिता अझै पाँच दशकसम्म हुनसक्छ नेपालमा । त्यसका लागि यो समय र परिस्थिति दुवै ठीक छ।

कांग्रेस नवजीवनका लागि मन्थन गर्न यो समय अत्यन्त उपयुक्त छ । उपयुक्त यसकारण पनि कि कांग्रेसको अगाडि यतिखेर राज्यसत्ता छैन।

कांग्रेसलाई कसरी पुनर्निर्माण गर्ने र यसमा नयाँ रक्त सञ्चार गराउने उद्देश्यका साथ दुई दिनअगाडि म कांग्रेसको प्रभावशाली नेताहरूसँग छलफलमा थिएँ । छलफलको प्रारम्भमै मैले प्रभावशाली नेतासँग ‘तपाईँसँग एउटा पनि कुलमान घिसिङ छ?’ भनी सोधेँ । अनि प्रहरी नेतृत्वमा मेरिट पन्छाएर पार्टी सभापतिले नियुक्ति दिएको व्यक्ति यतिखेर कहाँ के गर्दैछन् पनि सोधेँ । के उनी कतै कांग्रेसको लोकतान्त्रिक धारलाई अगाडि बढाउन लागिपरेका होलान्? वा उनको नियुक्ति प्रकरणले कांग्रेसले गत निर्वाचनमा बेहोरेको क्षतिको सोधभर्ना अब कसरी र कसले गर्ने भावी दिनमा सोच्दै होलान्?प्रभावशाली कांग्रेस नेताहरूसँग थुप्रै किनको उत्तरै छैन।  

सत्तामा लामो यात्रा गरेको कांग्रेससँग आज एउटा पनि कुलमान घिसिङ नहुनु दुर्भाग्यमात्र होइन, त्यसको कारण पनि खोज्नुपर्छ । मैले कांग्रेस सरकारले विगतमा भूकम्पपीडितहरूको सम्पूर्ण जिम्मेवारी दिएको नेतृत्वले कुलमान जस्तै उदाहरण किन पेश गर्न नसकेको होला भनी कांग्रेस नेतासँग सोधेँ । भूकम्पपीडितको राहत, पुनर्निर्माण र पुनस्र्थापना गर्न पूर्वप्रम बाबुराम भट्टराईले इच्छा जाहेर गरेका थिए जुन सम्भव भएन । त्यस्तै बामदेव गौतमले पनि त्यसको नेतृत्वमा जाने इच्छा प्रकट गरेका हुन्, त्यो पनि सम्भव भएन । तर कांग्रेसले पठाएको नेतृत्व भूकम्पपीडितहरूलाई बेवारिसे छाडेर भाग्दा कांग्रेस नेतृत्वले कुनै प्रश्न गर्न सकेन, कुनै जिम्मेवारी बोध गराउन नसक्नु भनेको के हो ?

आज कुलमान घिसिङले ‘म गर्छु’ होइन कि वाम खेमाको पक्षमा उभिएर ‘हामी गर्छौँ’ भनी हुँकार गर्दा आमनेपालीले विश्वास र भरोसा कोमाथि गर्छन् भनेरपनि सोधेँ । किन कांग्रेसले सक्षम भनी नियुक्त गरेको नेतृत्वले विद्युत् प्राधिकरणमा कुलमानझैँ उदाहरण पेश गर्न सकेनन्? अहिले त्रिभुवन विश्वविद्यालयमा कांग्रेसले नियुक्त गरेको नेतृत्व छ, अन्यत्र पनि छन् । तर के त्यहाँ उदाहरणीय काम भइरहेको छ ? छैन ।  त्रिभुवन विश्वविद्यालयमा विगतमा नियुक्त केदारभक्त माथेमालाई किन आजसम्म पनि विद्यार्थी र अविभावकले स्मरण गर्छन् ? कांग्रेस बैठकमा यस्ता प्रश्नको सदाबहार उत्तर एउटै आउने गर्छ– ‘कांग्रेसको नाममा खोपीहरूबाट संस्था र प्रतिष्ठानमा नियुक्त हुन्छन्’जसमा चलखेलले प्राथमिकता पाउँछ । यहाँसम्म कि सांसद पद पनि यस्तै प्रणालीबाट नियुक्त गरिन्छ भनी कोठे बैठकमा कांग्रेसका प्रभावशाली नेताहरू नै निरीहता प्रकट गर्छन्।

नेकपाको सरकार पाँचवर्ष अवधि पूरा होस् र यो पाँचवर्षमा कांग्रेस नयाँ ढंगले निर्माण हुन्छ भनी प्रण गर्ने हो भने कांग्रेसको सान्दर्भिकता र उपयोगिता अझै पाँच दशकसम्म हुनसक्छ नेपालमा । त्यसका लागि यो समय र परिस्थिति दुवै ठीक छ।  

कांग्रेसका कार्यकर्ता खटेर संगठन गर्छन् । जनतामाझ पनि पुगिरहेका हुन्छन् तर सत्ताको भागबन्डामा कांग्रेसबाट भयानक गल्ती हुन्छ र मेहनतले गरेको संगठन एकैचोटि तासको घरझैँ ढल्छ । वास्तवमा नेपालका शासकहरूलाई सबैथोक हामी नै हौ भन्ने भ्रम छ । कांग्रेस शासक हुँदा यो रोग बढी देखिन्छ । त्यसैले कांग्रेसले सत्ता के हो र कहाँ छ भन्ने चाल अझै पाएको छैन काठमाडौँमा । सही सत्तालाई कांग्रेसले लेनदेनको विषय बनायो विगतमा ।यो ज्ञान नहुँदा पटकपटक शासन सत्तामा गएर पनि कांग्रेस टिक्न सक्तैन, असफल हुन्छ । नेपालका राजनीतिज्ञहरू खासगरी कांग्रेस त्यही धरापमा पर्ने गर्छ । कसरी हेरौँ :
शासन र प्रशासन राष्ट्र निर्माणका दुई पहिया हुन्एउटा रथको । एउटा शासक हो अर्को प्रशासक हो । एउटा जनताबाट निर्वाचित हुन्छ र अर्को योग्यता, क्षमताबाट नियुक्ति पाएर जिम्मेवारी दिएको काम पूरा गर्नेछ भन्ने विश्वास गरिन्छ । जहाँबाट शासकको कामको अन्त हुन्छ त्यहीँबाट प्रशासकको काम सुरु हुन्छ।

शासकसँग राज्यको तीन अंग हुन्छ र यी तीन अंगले तीन काम गर्छन् हाम्रो संविधानअनुसार । पहिलो, कानुन बनाउने काम व्यवस्थापिकाले गर्छ । दोस्रो, नीति निर्माणको काम अर्थात कानुनलाई अगाडि बढाउने काम कार्यपालिकाले गर्छ । र तेस्रो, व्यवस्थापिका र कार्यपालिकाको काममा विवाद भए त्यसको निरुपण गर्ने काम न्यायपालिकाले गर्छ । अर्थात व्यक्ति–व्यक्तिबीचको विवाद अनि व्यक्ति र राज्यबीच आउने विवाद वा अन्य विवादलाई न्यायपालिकाले निरुपण गर्छ । यी तीनै अंग आफ्नो ढंगका शासक भए । शासकहरू हिजोआज भारतीय प्रम नरेन्द्र मोदीको भनाइमा जनताका सेवक हुन्।

प्रशासनतन्त्रले शासकको कामको अर्थात व्यवस्थापिका र कार्यपालिकाको निर्णयलाई व्यवहारमा रूपान्तरण गर्छ । प्रशासक जिम्मेवार नहुँदा शासकले सजाय पाउँछ जनताबाट । नेपालमा जनप्रतिनिधिहरूले पटकपटक सजाय पाएका छन् जनताबाट । केही अपवाद छाड्ने हो भने प्रायः सबै शासक वा सेवकलाई जनताले सजाय दिएका छन् निर्वाचनमा हराएर । यस्तो किन हुन्छ ? के सबै शासक नेपालमा बेइमाननै थिए त ? होइन।

जनताबाट जनप्रतिनिधिहरूले सजाय पाउनुमा व्यवहारमा प्रशासनतन्त्रमाथि जसले हैकम चलाउन सक्षम भयो आमजनता त्यसैलाई आफ्नो प्रतिनिधि र शासक ठान्छन् ।निर्वाचित सांसदको निरन्तरता स्थानीय विकास प्रशासन, सेवा प्रशासन, निजामती र सुरक्षा निकायको भूमिकाले धेरैहदसम्म निर्धारण गर्छ नेपालको राजनीतिमा । अझ भनौँ, दक्षिण एशियाको राजनीतिमा । यिनलाई आफूअनुकूल परिचालन गर्न नसक्दा इमान्दार र सत्यनिष्ठ राजनीतिज्ञहरु निर्वाचनमा पराजय भोग्न बाध्य छन् । उदाहरण कांग्रेसका भीमबहादुर तामाङ र शैलजा आचार्य हुन् । कम्युनिस्टमा पनि यस्ता धेरै छन्।

कुनै पनि राजनीतिक भूमिका र पृष्ठभूमि नभएका मेडिकल कलेजका सञ्चालक सुनील शर्मा कांग्रेसको प्रभाव क्षेत्र नठानिएको मोरङको उत्तरक्षेत्रको राजमार्ग लाइनबाट ४० हजार भोट ल्याएर पराजय भए । यो कसरी सम्भव भयो भन्दा उनले राज्यले गर्ने काम आफैँ गर्न सक्छन् भन्ने सन्देश प्रवाह गरे, त्यहाँका मतदाताबीच । खासगरी शिक्षा, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा । जनता विकल्प खोज्छन् र त्यो विकल्प राजनीतिक र अराजनीतिक दुवै हुन सक्छ । सुनील शर्मा अराजनीतिक विकल्प हुन् तर मतदाताको आवश्यकता पनि भए।

शासकले प्रायः आफ्नो काम गर्छन् नै तर प्रशासक र जनताबीच सम्बन्धको तिक्तता हुन्छ । यही ग्यापमा अराजनीतिक व्यक्तिको राजनीतिक महŒवाकांक्षा अगाडि आउँछ र सफलतातर्फको यात्रा निर्माण गर्छ । नेपालको सबै क्षेत्रको प्रशासनतन्त्र स्वसञ्चालित छैन । शासकहरू पनि प्रशासनतन्त्रलाई स्वसञ्चालन हुन दिदैनन् । यसले गर्दा लोकतान्त्रिक पद्धतिमा तिनै तहका शासकलाई अर्थात निर्वाचित निकायलाई क्षति पुर्याएको छ ।यस प्रकरणमा शासक र प्रशासक दुवैले गुमाएका मात्र छन् आफ्नो छवि । र, सबैभन्दा ठूलो नोक्सानी राष्ट्र निर्माणमा भएको छ । यही कारण नेपालको राजनीति अस्थिर र अराजक भएको छ।

नेपालको विकास प्रशासन, निजामती प्रशासन र सुरक्षा संयत्रलाई शासकहरूले भन्दा स्थानीय व्यापारी, डन, माफिया, गुण्डार केहीमात्र राजनीतिकर्मीले आफ्नो अनुकूल परिचालन गर्न सक्षम भएकै कारण प्रतिनिधिमूलक लोकतन्त्र नेपालको कमजोर र दिशाहीन अवस्थामा छ।

माथि मैले कुलमान घिसिङले सफल नेतृत्व दिनसक्दाको उदाहरण अगाडि सार्नुका पछाडिकांग्रेसले आफ्ना गल्ती कमजोरीबाट शिक्षा लिनसक्छ भन्ने हो । कांग्रेसले विगतमा आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने कैयन् काम गर्यो । व्यवस्थापिकामा मुख्य न्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग ल्याएर, प्रहरी नेतृत्वमा अनावश्यक हस्तक्षेप गरेर र माथि भनिएझैँ जवाफदेही र जिम्मेवारीबाट होइन, कोठे सिफारिसमा अनुत्तरदायी व्यक्तिहरूलाई उत्तरदायी क्षेत्रमा नियुक्त गरेर । यी सबैको पार्टीले प्रायश्चित नगरे पनि समीक्षाचाहिँ होस् भन्ने हो । त्यस्तो समीक्षा कांग्रेसको महासमितिबाट सम्भव छकिनकिकांग्रेस केन्द्रीय कार्यसमिति त्यसका लागि अक्षम नै देखियो।

अन्तमा,कांग्रेसले आफ्नो नयाँ दिशा खोजिरहँदा सफलताको नयाँ उपाय नखोजी अब राजनीति अगाडि बढाउन सकिन्न भनी आत्मसात गर्नसक्नुपर्छ । जनतालाई नतिजा चाहिन्छ । र,नतिजा व्यक्तिको निष्ठा, क्षमता र सत्यताबाट आउँछ, जस्तो कुलमानमा छ । कसले आजभन्दा दुई वर्षअगाडि कल्पना गरेको थियो र नेपालमा यति चाँडो लोडसेडिङ अन्त हुन्छ भनेर । एउटा व्यक्ति थिए शेरसिंह भाट विद्युत् प्राधिकरणमा । उनी कतिखेर लोडसेडिङको तालिका लिएर प्रकट हुने हुन् र अँध्यारो बढ्ने हो भन्ने आतंक नै थियो नेपाली जनमानसमा।

व्यक्तिको महत्व हुन्छ र व्यक्ति–व्यक्तिमा फरक क्षमता र निष्ठा हुन्छ भन्ने ज्ञान सत्रौँ शताब्दीका उदारवादी चिन्तक जाँन लकको मात्र होइन ।  धेरै वर्षअगाडि अरस्तुले राज्यले दिएको विष पिएर त्यसलाई प्रमाणित गरेका हुन् । कांग्रेस राज्य सत्तामा रहँदा यो ज्ञान कहिल्यै आएन । आशा गरौँ, नयाँ दिशातर्फको यात्रा र अहिले भोगिरहेको दशाबाट कांग्रेसमा नवजीवन प्रारम्भ हुनेछ । अस्तु।

प्रकाशित: २७ कार्तिक २०७५ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App