९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

बालगोपालेश्वर स्वरूप विवाद

रानीपोखरीको मध्यभागमा अवस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिर मल्लकालीन शैलीमा नै बन्न लागेको भन्ने कुरा विभिन्न सञ्चार माध्यममा आएका छन्। यो जोसुकैका लागि पनि खुसीकै खबर थियो। पुरातत्व विभागले यो मन्दिरको शैलीमा विवाद उठेको र प्रताप मल्लले निर्माण गरेको भन्ने ग्रन्थकुट शैली (जसलाई शिखर शैली पनि भनिन्छ) त्यसै शैलीबाट बनेको मन्दिरको कुनै पनि ठोस प्रमाण नभेटिएको हुनाले राणाकालीन गुम्बज शैलीमा नै पुनःनिर्माण गर्ने भनी गरेको निर्णय थातीमा राखेको कुरा भने बुझ्न सकिएन। संस्कृति मन्त्री र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको उक्त मन्दिर गुम्बज शैलीमा निर्माण गर्न पुनः विचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएको रहेछ।

मैलै बुझेसम्म राष्ट्रका सांस्कृतिक सम्पदाहरूको संरक्षण, मर्मत, जीर्णोद्धार र पुनःनिर्माणको जिम्मेवार सरकारी निकाय भनेको पुरातत्व विभाग नै हो। यो विभागको अधिकार र क्षमतालाई दुई चारजना व्यक्तिको कुरा सुनी दखल दिने काम कसैबाट पनि गरिनुहुँदैन । काठमाडौँ महानगरपालिकाले गठन गरेको विज्ञ समूहको आफ्नै तर्क होलान्। सञ्चार माध्यममा प्रकाशित भएअनुसार ‘विज्ञहरूले ग्रन्थकुट शैलीबाट गुम्बज शैलीमा निर्माण गर्दा ग्रन्थकुट शैलीकै मन्दिरको भुइँ तलाको मन्दिरको नाप नक्शामा निर्माण गरिएको, ग्रन्थकुट शैलीमा निर्माण भएको काठ, बन्धन तथा शीलाको संहारलगायतका भाग दुईपटक पुनः निर्माण (गुम्बज शैलीमा) गर्दा पनि प्रयोग भएको र गर्भगृहको गारोको पर्खाल नाप नक्शा मल्लकालीन मन्दिरको नाप नक्शाअनुसार नै निर्माण भएको’ भनी प्रतिवेदनमा उल्लेख गरेको रहेछ।

दक्ष समूहले जबर्जस्ती ‘मेरो गोरुको बाह्रै टक्का’ भनी पुरातत्व विभागको अधिकार, क्षमता र दक्षतालाई हाँक दिनु कुनै पनि हालतमा राम्रो परम्परा होइन।

अर्को एक समाचारअनुसार केही दिनअघि सिंहदरवारमा आयोजित बैठकमा संस्कृति मन्त्री रवीन्द्र अधिकारीले विज्ञहरूको आधारसम्मत प्रतिवेदनलाई बालगोपालेश्वर पुनः निर्माणको आधार बनाउन निर्देशन दिएका रहेछन्। ‘विज्ञ समितिले वास्तुशास्त्रअनुसारको मिल्दो संरचना र पर्खालको मोटाइ–चौडाइको विशेष नाप नक्शाअनुसार ग्रन्थकुट शैली निर्धारण भएको हो । ग्रन्थकुट आधारको मन्दिरको उचाइ गर्भगृहको सतहबाट गजुरको अमालक सम्म ३९ फिट रहने र गजुरको उचाइ १३ फिट रहने प्रतिवेदनमा उल्लेख छ । यसरी विज्ञ समूह एउटा हचुवा किसिमको निर्णयमा पुगेको जस्तो लाग्यो । यी केही प्राप्त भएका भग्नावशेषका सामग्रीले उक्त मन्दिरको सत्य रूप कुनै पनि हालतमा प्रमाणित गर्न सक्दैन।

काठमाडौंँ महानगरपालिकाको आर्थिक एवं प्राविधिक सहयोगबाट विज्ञ समूहले शायद अब भविष्यमा बन्ने ग्रन्थकुट शैलीको बालगोपालेश्वर मन्दिरको स्केच नक्शासमेत सञ्चार माध्यमबाट प्रचार भएको छ। यसरी धेरै मेहनत र माथापच्चिसी गरी एउटा काल्पनिक ग्रन्थकुट शैलीको मन्दिरको स्केच नक्शा तयार गरेकामा विज्ञ समूहलाई धन्यवाद दिनैपर्छ । तर उहाँहरूले यसै नाप नक्शा र डिजाइनअनुसारकै त्यो मन्दिर थियो भनी हामी जस्ता जिज्ञासुलाई चित्तबुझ्दोखालको प्रमाणसहित देखाइदिनुभए राम्रा हुने थियो। लाग्छ– प्रताप मल्ल जस्तो प्रतापी एवं कलाप्रेमी राजाले यति साधारण किसिमको ग्रन्थकुट शैलीको मन्दिर निर्माण गरी रानीपोखरीको मध्यभागमा स्थापना गरेको कुरा पत्याउन त्यति सजिलो छैन। मल्लकालमा उपत्यकाभित्र प्रशस्त प्रस्तर एवं इँटाका ग्रन्थकुट शैलीका मन्दिर बनेका थिए।

तीमध्ये काठमाडौँंभन्दा पाटन र भक्तपुरमा बढी बनेका थिए । शिखर शैलीकै पाटनकै प्रसिद्ध कृष्ण मन्दिर, भलाटोलको बालगोपाल मन्दिर, इखलखुको गणेश मन्दिर, नरसिंह मन्दिर आदि । त्यस्तै भक्तपुरको सिद्धिलक्ष्मी मन्दिर, प्रसिद्ध वत्सला मन्दिर, काठमाडौँंको टेकूस्थित जगन्नाथ मन्दिर आदि सबैजसो मल्लकालीन नै हुन् । प्रताप मल्लले निर्माण गराएको प्रसिद्ध शिखर शैलीका दुईवटा मन्दिर स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर नै हुन् । तसर्थ मैले यो बुझ्न खोजेको हो कि हाम्रो दक्ष समूहले प्रस्तुत गरेको शिखर शैलीको मन्दिर तीमध्ये कुनचाहिँ मन्दिरको नमुना वा नक्कल हो ?प्रस्तुत डिजाइनमा देखाइएको पश्चिमतर्फ फर्केको मुख्य स्वरूपमात्र देखिन्छ। अन्य तीन दिशाको रूपरेखा के÷कस्तो छ, त्यो स्पष्ट छैन । प्रस्तुत डिजाइन हुबहु पाटनको उमामहेश्वर मन्दिरको ढाँचामा छ र त्यसमा पनि सानातिना काल्पनिक ढंंगबाट परिवर्तनगरिएका छन्। दक्ष समूहका संयोजकसमेतले संयुक्तरूपमा प्रकाशित गरेको ‘संरक्षण पद्धति’ नामक पुस्तकको पृष्ठ १२२ मा उक्त शिखर शैलीको ढाँचा दिइएको छ । सो ढाँचा र कान्तिपुरमा प्रकाशित ढाँचामा खासै केही फरक देखिँदैन।

यसरी दक्ष समूहले जबर्जस्ती ‘मेरो गोरुको बाह्रै टक्का’ भनी पुरातत्व विभागको अधिकार, क्षमता र दक्षतालाई हाँक दिनु कुनै पनि हालतमा राम्रो परम्परा होइन। यसरी नेपालको कला इतिहासमा पछिसम्म पनि प्रभाव पर्न सक्ने समस्याहरूको सामाधान चार जवान दक्षले मात्र गर्ने होइन। यसलाई पुरातŒव विभागले सकेसम्म राष्ट्रव्यापी गोष्ठी एवं छलफल गरी अन्तर्राष्ट्रिय जगतका कला समीक्षकहरूले समेत मान्यता दिन सक्ने प्रमाणहरू जुटाएरमात्र दक्ष समूहले प्रस्तुत गरेको डिजाइनमा मन्दिर निर्माण गर्न सहमति जनाउनु उचित हुनेछ।

प्रकाशित: २६ कार्तिक २०७५ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App