८ वैशाख २०८१ शनिबार
विचार

कमन कोल्ड : नो ड्रग्स

हो, रोगोपचारका लागि ड्रग्स (औषधि) आवश्यक छ। औषधि र मेडिकल साइन्सको विकासका कारण बालमृत्युदर र आकस्मिक दुर्घटनाबाट हुने मृत्युदरमा निकै कमी आएको छ । पहिला जुन भयंकर पीडा बिरामीले सहनुपथ्र्यो, त्यो पनि कम भएको छ । तर औषधिको समुचित सदुपयोग नहुँदा स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुगेको छ। हिजोआज जति पनि रोग देखिएका छन्, बढेका छन्, त्यसको एक प्रमुख कारण औषधिहरूको बढ्दो प्रयोग हो।

नेपाल, भारत जस्ता देशमा त मौसमी रुघाखोकी लाग्दासमेत गाउँघरका औषधि बिक्रेताले मात्र होइन, अधिकांश चिकित्सकले समेत आर्थिक लाभका लागि अनेक टेस्ट गर्न लगाउने र एक झोला औषधि लेखिदिने गरेको सर्वविदितै छ। मानव स्वास्थ्यका लागि यो निकै चिन्ताको विषय हो। त्यसैले यसप्रति सचेत र सजग हुन अति आवश्यक छ।

रुघाका लागि औषधि सेवन आवश्यक छैन, औषधिबिना, घरेलु उपायबाट नै रुघा ठीक हुन्छ । बिलकुल ठीक हुन्छ ।

रुघाखोकी प्रायः मौसम परिर्वतनसँगै देखा पर्छ । त्यसैले थुप्रै मानिस हरेक वर्ष एक दुई पटक रुघाखोकीको प्रकोपमा पर्ने गर्छन्। रुघाखोकी विश्वमा सबैभन्दा बढी हुने संक्रामक रोगमध्य एक हो। दुई सयभन्दा बढी प्रकारका भाइरसबाट हुने यो रोगलाई एक सामान्य रोग मानिए तापनि यसले मानिसलाई निकै सताउँछ, आक्रान्त बनाउँछ। रुघालाई अंग्रेजी भाषामा कमन कोल्ड भनिन्छ।

रुघाका अनेक लक्षण हुन्छन् । जस्तै– चिसो लाग्नु र हाँछ्यु आउनु। आँखा रसाउनु तथा नाकबाट पानी बग्नु। टाउको भारी हुनु, दुख्नु। नाक बन्द हुनु । हाँछ्यु आउनु। घाँटीमा खसखस हुनु। सुक्खा खोकी लाग्नु। स्वर मोटो हुनु। टाउको दुख्नु, जिउ दुख्नु , कहिलेकाहीँ हल्का ज्वरो आउनु। मानसिकरूपमा झिंझो लाग्नु। अल्छी लाग्नु आदि।

रुघा रानो भाइरसको संक्रमणबाट लाग्ने गर्छ। अनेक कारणले गर्दा यस भाइरसको संक्रमण हुने गर्छ। जस्तै– धुलो, धुवाँ, प्रदूषण, बदलिँदो मौसम इत्यादिबाट एलर्जी हुनु। चिसोबाट एकाएक गर्मीमा या गर्मीबाट एक्कासि चिसोमा आउनु। एकदमै चिसो कुरा खाइदिनु। गलत आहारबिहार हुनु। कब्जियत र अपच हुनु। शारीरिक र मानसिक तनाव हुनु। बेक्टेरियाबाट इन्फेक्सन हुनु। उच्च रक्तचाप, मधुमेह, मुटुको रोगी, केटाकेटी तथा बूढापाकाहरू रुघाप्रति बढी संवेदनशील हुन्छन्। रुघाबाट पीडित व्यक्तिले हाँछ्यु गर्दा या खोक्दा भाइरसयुक्त खकारको ससानो थोपा (ड्रपलेट) भुइँमा खस्छ र वातावरणमा फैलिन्छ। स्वस्थ व्यक्तिद्वारा श्वास फेर्दा मुखको माध्यमले एवं नाकको सिंगानबाट एकअर्कामा रुघा फैलिन्छ। रुघाको मूल कारण इम्युनिटी पावर अर्थात शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु हो । इम्युनिटी पावर कम हुनाले तथा एलर्जनप्रति अत्यधिक संवेदनशील हुनाले बारम्बार तथा लगातार रुघा लागिरहन्छ।

रुघाखोकीले मानिसको मनमस्तिष्कलाई समेत निकै बेचैन बनाउँछ। रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हुँदैन। मानिसको स्मरण शक्तिले पनि ठीकसँग कार्य गर्दैन। रुघा लागेको बेलामा मानिसको स्थिति मनस्थिति कस्तो हुन्छ, सबैले अनुभव गर्दै आएको कुरा हो। रुघा सामान्य रोग मानिए तापनि यसले मानिसलाई निकै सताउँछ। यही रुघा बिग्रेर निमोनिया, दम, साइनोसाइटिस (पिनास) जस्ता अनेकौँ रोगको कारण बन्न सक्छ। तर आधुनिक मेडिकल विज्ञानमा रुघाको कुनै औषधि छैन। एउटा निकै चर्चित भनाइ नै छ– रुघा औषधि खाए पनि ७ दिनमा ठीक हुन्छ, नखाए पनि ७ दिनमा ठीक हुन्छ। हुन पनि हो, सामान्यतया रुघा ६, ७ दिनभित्र आफैंँ ठीक हुन्छ। तर रुघा लागेको बेलामा ६, ७ दिन निकै लामो र कठिनपूर्ण हुन्छ। त्यसैले अधिकांश मानिस रुघाले छुनेबित्तिकै आत्तिन्छन्। अनि नजिकैको डिस्पेन्सरीमा गएर एन्टिकोल्ड तथा एन्टिबायोटिक ल्याएर खान थाल्छन्।

अधिकांश नेपाली मेडिकल चिकित्सकले पनि यस्तै औषधि दिने गर्छन्। तर एन्टिबायोटिकले रुघाका भाइरसलाई कुनै असर गर्दैन। उल्टो शरीरको रक्षा गर्ने ब्याक्टेरियालाई मार्ने तथा प्रतिप्रभावका रूपमा पेटलाई असर गर्ने गर्छ। त्यसैले केवल रुघा लागेका बेलामा एन्टिबायोटिकको प्रयोग गर्नु/गराउनु सर्बथा अनुचित छ।

रुघाका लागि औषधि सेवन आवश्यक छैन, औषधिबिना, घरेलु उपायबाट नै रुघा ठीक हुन्छ। बिलकुल ठीक हुन्छ। यसका लागि रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने। बिहान–बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५–१० मिनेट राख्ने । सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने । आधा चम्चा अदुवाको रस, आधा चम्चा तुलसी पत्रको रस र एक चम्मा मह मिसाएर दिनको तीन पटक सेवन गर्ने हो पहिलो दिनमा नै रुघामा राहत मिल्छ। यसका साथै अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्ने।

एक हातको बूढी औँलाले अर्को हातको सबै आैँलाको टुप्पोलाई दस दस पटक पालैपालो अँठ्याउने/छाड्ने गरेर अक्युप्रेसर उपचार गर्ने। अनि दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याँक्ने। गहन आरामको अनुभव गर्ने । अब कल्पना गर्ने कि वरिपरिको वातावरण शान्त, मनोरम र घमाइलो छ। सूर्यको चम्किलो किरणले न्यानो महसुस भएको छ। पहेलो रंगको प्रकाशको गुच्छा बिस्तारै तपाईंँको नाइटोबाट शरीरभित्र प्रवेश गर्छ र फोक्सो, सास नली, घाँटी, साइनस, आँखा, निधार, टाउकाको भारीपना, पिनास तथा रुघा आदिलाई हिल गर्दै नाकबाट बाहिर निस्कन्छ। अनि नाकबाट लामो सास लिने र मुखबाट फ्याँक्ने, आराम महसुस गर्ने। केहीबेरपछि आँखा खोल्ने र आफ्नो कार्यमा लाग्ने। रुघा लागेको बेलामा आलु, बैगुन, गाजर, लौका, फर्सी, दही, आचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने। चिसो, धुवाँ र धुलोबाट बच्ने। नुहाउनुपरेमा तोरी वा तिलको तेलले सम्पूर्ण शरीर मालिस गर्ने र मनतातो पानीले नुहाउने। सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने।

व्यक्तिगत सरसफाइमा ध्यान दिने। भिडभाड हुने ठाउँ, जस्तै– सिनेमा हल, आमसभा, मेला आदिमा जानपरे मुखमा मास्क लगाउने। रुघाबाट बच्न रुघा लागेका व्यक्तिको नजिक वा मुखामुख हुनेगरी नबस्ने । यदि बस्नुपरेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसैगरी रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग नगर्ने। रुघाखोकीबाट पीडित व्यक्तिको सम्पर्कमा नआउने । अन्य व्यक्तिमा संक्रमण नहोस् भनेर हाछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिस्युपेपर प्रयोग गर्ने । संक्रमित व्यक्तिको भाँडाकुँडा, लुगाफाटा, बेडसिट आदि सेयर नगर्ने । पुराना किताव, आलमिरा, कार्पेट आदिको समय समयमा सफाइ गरिराख्ने । गर्मीबाट चिसो वा चिसोबाट गर्मीमा एकाएक नजाने । बाइक, स्कुटर, साइकल चलाउँदा नाकमुख राम्रोसँग छोप्ने गरी रुमाल बाँध्ने । चिसो तथा चिसो हावाबाट बच्ने प्रयास गर्ने। रुघाखोकी लागेमा अफिस, स्कुल, कलेज नजाने । घरमा बसेर पर्याप्त आराम गर्ने, प्रशस्त तातो पानी पिउने र आराम गर्नाले रुघा छिट्टै निको हुन्छ।

अन्तमा, रोगको औषधि गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हो । त्यसैले रुघाखोकीबाट बच्न शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन आवश्यक छ। शरीरको रोग प्रतिरोधात्मक शक्ति बढी छ भने रुघाखोकीले आक्रमण गर्न सक्दैन । यसका लागि अमला तथा कागती जस्ता भिटामिन सि भएका र मौसमी फलफूलको सेवन गर्नु उत्तम हुन्छ । त्यो किनभने भिटामिन सिले शरीरमा रोगसँग लड्ने शक्ति बढाउँछ । दिनहुँ वा हप्ताको एक पटक जलनेती क्रिया गर्ने तथा दिनहुँ दस मिनेट अनुलोम विलोम प्राणायाम गर्ने हो भने रुघाखोकी लाग्ने, पिनास पर्ने, आँखा दुख्ने तथा कमजोर हुने, टाउको भारी हुने आदि समस्या नै आउँदैन । यस प्रयोगले पुरानो पिनास पनि ठीक हुन्छ । अनुहार चम्किलो तथा नेत्र ज्योति तेज रहन्छ । स्मरण शक्ति पनि बढ्छ।
(मनोविद्)

प्रकाशित: २५ कार्तिक २०७५ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App