२१ असार २०७७ आइतबार
विचार

गरिबको दसैँ, दशा

दसैँ सबैका लागि उत्तिकै हर्षाेउल्लास छैन । गरिब र धनीबीचमा भिन्न रूपमा मनाइने गरिएको छ । हरेक वर्ष आउने चाड मनाउनका लागि गरिबलाई भने दशा नै साबित हुने गरेको छ । यसले गरिबलाई झन् बढी ऋण बोकाएर जाने गरेको छ । दुःख थप्ने गरेको छ । यसको कारण पछिल्लो समयमा बढ्दै गएको चाडपर्व मनाउने तडकभडकपन, भड्किलो र खर्चिलो संस्कृति । समाजमा इज्जत जोगाउनकै लागि भए पनि ऋण गरेर भए पनि चाडबाड मनाउन बाध्य छन्, लाखौँ नेपालीहरू । केही प्रतिनिधि घटनालाई मैले यहाँ प्रस्तुत गर्ने जमर्काे गरेकी छु।

दसैँ नजिकिँदै गर्दा आफ्नो हजुरबुबाको दुःखद् निधनको कहानीले दुःखी हुन्छन्, रसुवा कालिका ३ का न्यौपाने परिवार । आफ्ना हजुरबुबाले दसैँमा नयाँ कपडा, माछा–मासु त के एक छाक भातसम्मको जोहो आफ्नो परिवारका निम्ति गर्न नसकेपछि ५ छोराहरू र श्रीमतीलाई छोडी आत्महत्या गर्न बाध्य भएका थिए, खेमराजका हजुरबुबा । हरेक दसैँमा उनको तिथि पर्छ र सबैलाई उनको यस्तो दुःखद् निधनले रुवाउँछ । दसैँ खल्लो हुन्छ भन्छन्, खेमराज न्यौपाने । खेमराजसँगै उनीहरूको ११ परिवारले यो वेदना कहिल्यै बिर्सन सक्दैनन् । ऊ बेलाको गरिबी कस्तो थियो भन्ने बुझ्न यो उदाहरण काफी छ।

रसुवा जिल्ला उत्तरगया गाउँपालिका–१ डाँडागाउँका भक्तबहादुर तामाङ ४० वर्षका भए । २०७२ सालको भूकम्पले उनीहरूको पनि घर भत्कियो । घरमात्रै नभएर उनका जीवनका सपनाहरू, खुसी सबै खोसियो । २÷३ रोपनी पाखो बारी थियो । भूकम्पका कारण आएको पहिरोले उक्त घरबारी पनि लग्यो । विस्थापित भए । आफ्नो बासथलोसमेत गुमेपछि उनीहरू उत्तरगया–५, बोगटीटार आएर अस्थायी शिविरमा बसोबास गरिरहेका छन् । भक्तको परिवारमा २ छोरा, १ बुहारी, १ छोरी र १ नातिनीसहित ६ जना छन् । परिवारको जीविकाको आधार भनेकै ज्याला मजदूरी थियो।

एक वर्षअघि उनकी श्रीमती एक्कासि बिरामी परिन् । उपचार गर्न नपाउँदैै उनी बितिन् । श्रीमतीको मृत्युपछि निराश बनेका भक्तले अर्की एकल दलित महिलासँग विवाह गरे । उक्त विवाहबाट उनका परिवार, आफन्त र गाउँलेहरू खुसी थिएनन् । यस्तैमा श्रीमान्–श्रीमतीबीच सामान्य झगडा भयो, आवेशमा आई भक्तले एसिड पिए । एसिडले उनको जीवन नै लियो । छटपटीको अवस्थामा आफन्तले भेट्टाएपछि उनलाई टिचिङ अस्पताल लगियो । २ महिना अस्पतालमा राख्दा करिब २ लाख ७५ हजार खर्च भयो । टिचिङ अस्पतालले थप उपचारका लागि पाटन लैजान भनेपछि पाटन लगेको र त्यहाँ अपे्रसन गर्नुपर्छ २ लाख ५० हजार रुपियाँ खर्च लाग्छ भनेपछि आफ्नो परिवारमा पैसा नभएपछि उपचार गराउन नसकिएको उनकी छोरी बताउँछिन् । अहिले उनी थप उपचार नपाई घरमै मरण–बाचनको बेचैन स्थितिमा छन्। 

भूकम्पले थातथलो सबै गुमाई अस्थायी शिविरमा बसिरहेका उनको परिवारले जग्गा किन्न भनेर २ लाख बैना गरे पनि थप पैसा दिन नसक्दा उक्त जग्गा पनि जग्गाधनीले अरुलाई नै बेच्न लागेको उनका भाइ कृष्ण बताउँछन् । ३ परिवार विस्थापित भएको र घर भत्केको भए पनि जोखिमयुक्त बस्ती स्थानान्तरणको सूचीमा समेत भक्तबहादुर र बुबाको परिवार अटाएका छैनन् । यतिका समय विस्थापित भएर गाउँ छाडेर बसियो, अहिले सरकारले विस्थापितको लाभग्राही सूचीमा समेत उनको परिवारलाई नराखेपछि उनीहरू दुःखी भएका छन् । वृद्ध आमाबाबु छोराको बिजोग हेरेर मुटुमाथि ढुंगा राख्दै छोराको हेरविचार गरिरहेका छन् । अर्कोतिर बाबुको उपचार र कुरुवा बस्दाबस्दै पढाइ पनि छुटेका छोराछोरी भविष्यको चिन्ताले गलित देखिन्छन् । भक्त आफैँको त के नै कुरा गर्नु र ? उनको शरीर फुकीढल छ । यस्तो अवस्थामा नजिकिँदै गरेको दसैँले उनको परिवारमा झन् बढी पीडा थपेको छ।

कालिका ३ इटपारेकी सुन्तली नेपाली ७५ वर्षकी भइन् । परिवारमा उनी एक्लै छिन् । श्रीमान् धेरै पहिले बिते । एक छोरा थिए । त्यो पनि युवा उमेरमै बिते । भूमिहीन परिवार आम्दानीको स्रोत छैन । वृद्ध अवस्था भइसक्दा पनि उनी रातोमाटो संकलन गरी वल्लो पल्लो गाउँमा बोकेर लान्छिन् र त्यसको साटो पिठो चामल ल्याएर दैनिक गुजारा टार्छिन् । बुढेसकालको सहारा एक मात्रै छोरा बितेपछि उनको जीवन झनै अँध्यारो भयो । सन्तान गुमाउँदाको पीडा एक आमालाई भन्दा बढी कसलाई थाहा होला र ? सुन्तली भन्छिन् । यस्तोमा के दसैँ ? के अरू चाडपर्व ? न मनमा खुसीयाली छ, न घरमा अन्नपात, न कमाउने स्रोत छ ? न ल्याएर दिने कोही छ । यस्तोमा दसैँमा कसरी खुसी हुनु ? झनै पीडा थपिन्छ । उनी मात्र होइन, उनको गाउँका दलित परिवार धेरै ऋणमा डुबेका छन् । माइक्रोफाइनान्सको ऋणले डुबेका इटपारेबासी ऋण तिर्न नसकेर पीडित छन्, यस्तो अवस्थामा उनीहरूले यो दसैँ आउनुभन्दा नआएको भए राम्रो हुन्थ्यो भन्छन् । ४० परिवार रहेको इटपारेमा अधिकांश दलित भूमिहीन परिवार छन्, उनीहरू भन्छन्, दसैँ हाम्रा लागि दशा जस्तो हो।

कालिका २ कालिकास्थान रसुवाका ७० वर्षका कृष्णबहादुर विश्वकर्मा एक्लै बस्छन् । थोरै भएको घरबारी पनि छोराहरूले थाहा नदिई बेचिदिएपछि उनी बेघरबार भए । भूकम्पको अनुदान लिई नयाँ घर बनाउन ठाउँ सम्म छैन । भन्छन्— छोराहरू आफ्नै सुर गरेर बसेका छन् । श्रीमती धेरै पहिले बितिन् । दमको रोगी छु । औषधि किन्नै त मुस्किल छ । कसरी बिहान, बेलुकाको छाक टारौँ भन्ने अवस्थामा केको दसैँ ? केको तिहार ? चाडपर्व आएपछि खर्च र पीडा मात्रै बढ्छ । उनी भन्छन्— खुसी हुने त धन हुनेले हो नि । हामी जस्तो गरिबको भागमा खुसी भन्ने चिज कहिले पो हुन्छ र ?

रसुवाकै ६० वर्षिया भूमिनन्द न्यौपानेको परिवारलाई पनि दसैँको खुसीले भन्दा कसरी टार्ने भन्ने चिन्ताले सताएको छ । भूकम्पले घर भत्केपछि सबैले ढलान घर बनाउन थाले । उनको परिवारलाई पनि ढलान घरमा बस्ने रहर लाग्यो । घरसँगै जोडिएको तरकारी रोपी खाने कुडार नै घडेरीका रूपमा बेचे । घडेरी बिक्री तथा सरकारबाट आएको रकमले पनि घर बन्न मुस्किल भयो । पहिलेको पनि बाँकी र घर बनाएको समेत गरी १० लाख ऋण लाग्यो पुग्यो । न जागिर छ ? न कुनै व्यवसाय ? खेतीको आम्दानीले वर्षभरि खाना पनि पुग्दैन । ऋण तिर्ने अवस्था नभएपछि भर्खरै २२ वर्षका छोरा विदेशिने तरखर गर्दैछन् । छोराको आशामा ८ छोरीपछि जन्मिएको छोरा विदेश गएर के गर्ला भन्ने चिन्ताले बाआमाको आँखा ओभानो छैन । छोरालाई रोकाैं, अर्को उपाय पनि छैन । विदेश जाने भनेर प्रक्रिया मिलाउन भारत गएको छोरा कहिले फर्किने थाहा छैन । दसैँले छपक्कै छोप्दा आठ छोरी, ज्वाइँ, नाति–नातिनी अनि अन्य ईष्टमित्र ठूलै लहरो छ । कसरी टार्ने, कसरी पुर्याउने ? दसैँ पनि हामी गरिबलाई दशा नै भन्दै पिरोलिन्छन्, उनी।

भक्त, सुन्तली, कृष्ण र भूमिनन्दको परिवार त एक प्रतिनिधि पात्र मात्रै हुन् । देशका अधिकांश गरिब परिवारका कथा उस्तै उस्तै हुन्, पात्र मात्र फरक छन् । चाडपर्वको हर्ष, उल्लास र खुसीयाली भन्दा धेरै पीडा छ । दसैँ कसरी मनाउने भन्ने चिन्ता बढी छ । दिनभरि ज्याला मजदूरी गरेर मुस्किलले दुई छाक टार्नुपर्ने बाध्यता भएका गरिब परिवारलाई चाडपर्वको खुसी भन्दा यस्तो बेला लागेको ऋण कसरी तिर्ने भने चिन्ताले पिरोल्छ । समाजमा आफ्नो बाहिरी आवरणको इज्जत कसरी ढाक्ने भन्ने चिन्ता छ । दसैँमा घरमा आउने आफन्तजनलाई कसरी स्वागत गर्ने र खुवाउने भन्ने चिन्ता छ । जीवनभरि मजदूरीको भरमा बाँचेका गरिबहरू कुनै रोग लाग्दा उपचार नपाएर मर्नुपरेका हजारौँ घटना छन् । चाडपर्वका नाममा अनावश्यक खर्च र तडकभडक तथा देखावटीपन कम गर्दा उपयुक्त हुन्छ कि ? हुनेले बढी खर्च गरिँदिँदा, चाडबाड भड्किलो बन्ने रहेछ, देखासिकीमा।

प्रकाशित: ३० आश्विन २०७५ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App