२८ श्रावण २०७७ बुधबार
विचार

घटस्थापनाको छुट्टी !

हाम्रा धेरै पर्वमा सरकारले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक मान्यता हेरी सार्वजनिक छुट्टी दिने गरेको छ । यस वर्ष विगतमा भन्दा धेरै पर्व छुट्टीहरू काटिनुले जातीय, क्षेत्रीय, धार्मिक, समुदाय, साम्प्रदायिकता, भौगोलिकता र सांस्कृतिक आधारमा दिइने राष्ट्रव्यापी छुट्टीको अन्त्य गरेको बुझ्नुपर्छ।

हिन्दु धर्मको बाहुल्य रहेका पर्वहरू घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको दिनमा दिइँदै आएको बिदा कटौती गरिएको छ । त्यसैगरी रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती भएको हो । कुनै पनि धर्म, सम्प्रदाय, सांस्कृतिक महत्व बोकेका पर्वहरूमा छुट्टी दिइनुको अर्थ ती पर्वहरूको सम्मान र महत्वलाई राष्ट्रिय मान्यता दिइनु र कर्मचारी र नागरिकहरूलाई पर्व मनाएर आफ्नो परम्परा र संस्कृतिलाई कायम राख्न प्रोत्साहन गर्नका निम्ति हुनुपर्छ।

हुनत सबै धर्म, संस्कृति, परम्परा, पर्व, प्रचलन सामाजिक मान्यताको आधारमा तय भएका हुन् र पनि धेरै पर्वहरूमा सामाजिक मान्यता मात्र नभएर वैज्ञानिक आधारले पनि हाम्रो संस्कृति र संस्कारलाई बचाइराख्न महत्वपूर्ण भूमिका खेलेका छन् । छुट्टीका अवसरमा प्राप्त गर्ने फुर्सदको समयले शारीरिक र मानसिक स्वास्थ्यलाई सबल बनाउने मात्र होइन, व्यक्तिको सिर्जनात्मक क्षमतासमेत अभिवृद्धि गर्न मद्दत पुर्याउँछ । छुट्टीले सामाजिक–सांस्कृतिक सम्बन्धहरूलाई सुमधुर बनाउन सहयोग गर्छ।

छुट्टीको अवसरले पर्यटनजन्य उद्योगहरूको गतिविधि बढाउन योगदान गर्छ । त्यसैले व्यवस्थित सार्वजनिक छुट्टीहरू व्यक्तिगत, समुदाय र सांस्कृतिक लाभको हिसाबले महत्वपूर्ण छन् । यसभन्दा अगाडिका धेरै पर्वहरूमा छुट्टी नभए पनि स्वीकार गर्दै आएका कर्मचारी र नागरिकहरू घटस्थापनाको दिन छुट्टी नहुनुले भने चौतर्फी बहस चलेको भान हुन्छ । हुनत यो भन्दा अगाडि पनि सार्वजनिक छुट्टीको प्रणाली सान्दर्भिक, व्यावहारिक, मौलिक, वस्तुनिष्ठ र वैज्ञानिक हुन जरुरी भएकाले कटौती गरिएका छुट्टीमाथि सुधार र पुनर्विचार गरियोस् भन्ने आवाज नउठेको पनि होइन।

घटस्थापनाको दिन नवरात्रि आरम्भ हुने दिन भएको र यो दिन जमरा राखी घट कलशको स्थापना गरी नवदुर्गालाई आह्वान गरिने दिन भएकाले दसैँ पर्वमा यो दिनको विशेष महत्व रहेको छ । जमरा राखी, नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरी दसौँ दिन नवदुर्गाको प्रसाद स्वरूप त्यही जमराको साथमा टीका ग्रहण गरिने हुनाले घटस्थापनाको दिन नवदुर्गालाई आह्वान गरिने कामलाई महत्व नदिई एकैचोटि प्रसाद लगाउने चलन कसरी सुरु भयो भनेर आवाज उठ्न थालेको छ । छुट्टी कटौती गर्ने क्रममा प्रमुख राष्ट्रिय पर्व र बाहुल्य रहेको हिन्दु धर्मको मर्मलाई सरकारले बुझ्न नसकी परम्पराको कटौती गरेको आरोप नागरिकहरूले लगाउन थालेका छन् । यतिसम्म कि कतिले त सामाजिक सञ्जालमार्फत सरकारलाई अझै पनि सच्याउने समय रहेको सुझाव समेत दिएका छन्।

‘१५ दिनसम्म चल्ने यो चाडमा पहिलो दिन घटस्थापना गरी जौ, मकै रोपी दुर्गाको आह्वान गरी ९ दिनसम्म पूजा गरी दसौँ दिन विजयादशमीको दिनमा त्यही घटको जल अभिषेक गर्ने, जमरा प्रसादका रूपमा मान्यजनको हातबाट लगाउने गरिन्छ । तर सरकारले जमरा लगाउने दिनका पहिचान गरी बिदा दिएको छ । दसैँ कोठामा फूलपाती भित्र्याउने, काली अनि नवदुर्गाको पूजा गर्ने दिनहरू फूलपाती, महाअष्टमी, महानवमीको दिन पनि बिदा नै छ । तर दुर्गा आह्वान गर्ने, जमरा रोप्ने दिन भने बिदा नपाउने, फुर्सद नहुने र ‘पूजा गर, प्रसाद लगाऊ’ भन्छ सरकार । तर आह्वान नै नभएकी देवीको प्रसाद कसरी लगाउने ? अनेकौँ तन्त्र, दिवसहरू जस्तो होइन, घटस्थापना । बेला घर्किसकेको छैन । सरकारले यो गल्ती सच्याओस् । घटस्थापनाको बिदा देओस् । सामाजिक सञ्जालमार्फत फैलिरहेको समाचार हो यो । जसले पर्वप्रतिको भावनात्मक आस्थालाई प्रस्ट्याउन खोजेको हुनुपर्छ।

हुनत विश्वका कतिपय विकसित राष्ट्रमा समेत राष्ट्रभर नै काम नै ठप्प हुने गरी लामो समयको सार्वजनिक छुट्टी दिने गरेको पाइँदैन तर हाम्रो देशमा भने बुझेर नभई हचुवाको भरमा पर्वहरूमा छुट्टी दिने र काट्ने प्रणाली रहेको बुझिन्छ । त्यसो त विदेशीहरूको भन्दा हाम्रो सांस्कृतिक पर्व, जातजाति, धर्मावलम्बी, धार्मिक सहिष्णुता पनि त बढी नै छ । सार्वजनिक छुट्टीको राष्ट्रिय महत्व, फाइदा–बेफाइदाका बारेमा बहस, विश्लेषण र गहन छलफल गरी बिदा प्रणालीलाई वस्तुगत, वैज्ञानिक र अर्थतन्त्रमैत्री बनाउने प्रयास भएको पाइँदैन । छुट्टीको सान्दर्भिकता, व्यावहारिकता हेरेर जनशक्तिको सदुपयोग गर्दै अर्थतन्त्र र देश विकासमा नागरिक र कर्मचारीहरूको योगदान बढाउन छुट्टीको संख्या घटाएको भए पनि पर्वको वास्तविक महत्व नबुझी क्यालेन्डरमा छुट्टी काट्नुले सांस्कृतिक संरक्षण प्रवद्र्धनमा ध्यान नदिएको प्रस्ट हुन्छ ।

सार्वजनिक छुट्टीको प्रणालीलाई व्यवस्थित गर्ने विषयमा सोचविचारसहित निर्णय गर्न नसक्दा कर्मचारीबाट सेवा लिनुभन्दा पनि समस्या जहाँको त्यहीँ रहने सम्भावना हुँदा धेरै कुरामा विचार पुर्याउनुपर्ने हुन्छ । राष्ट्र विकासको गतिलाई तीव्रताका साथ अघि बढाउँदै आर्थिक समृद्धिलाई गतिशीलता प्रदान गर्न खोजिए पनि सार्वजनिक छुट्टीलाई जनमैत्री बनाउन सकिएन भने सरकारको घोषित कार्यक्रमले मात्र जनजीवन र राष्ट्रिय कार्यक्रममा सान्दर्भिकता, व्यावहारिकता, मौलिकता, वस्तुनिष्ठता  र वैज्ञानिकतामा  सघाउ पुग्दैन कि ?

प्रकाशित: २४ आश्विन २०७५ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App