१६ चैत्र २०८० शुक्रबार
विचार

अर्कैको इच्छा र इसारामा

मिखाइल गोर्भाचोभ अत्यन्त शक्तिशाली नेता थिए । तर उनलाई नै प्रयोग गरेर पश्चिमा राष्ट्रले सोभियत संघ (युएसएसआर) टुक्राटुक्रा पारिदिए । चेच्न्यामा ठूलो रक्तपात भयो । राष्ट्र सग्लो, एकीकृत र सशक्त रहुन्जेल सबैको इज्जत थियो । अमेरिका समेत डराउँथ्यो । ग्लास्तनोस्त र पेरेस्त्रोइका जस्तो नीति ‘हाराकिरी’ ठहरियो । सुधार, समृद्धि र अग्रगमनका नाममा विदेशीको ढलिमली भयो भने राष्ट्रको पतन हुन्छ भन्ने एउटा उदाहरण हो, सोभियत संघ। 

नेपाल आएका प्रथम जापानी भिक्षु इकाइ कावागुचीको पुस्तक ‘थ्री इयर्स इन टिबेट’ (सन् १९०९ मा प्रकाशित) साक्षी छ– नेपाल एसियाकै कूटनीतिमा अग्रणी थियो । कावागुचीलगायत धेरै विदेशी लेखकले ब्रिटेनका शासकहरूले समेत नेपालको भूराजनीतिक संवेदनशीलता बुझेर व्यवहार गरेको लेखेका छन् । सन् १९०३ मा (चन्द्र शमशेरको प्रधानमन्त्रित्वकाल) योङ हस्बेन्डको नेतृत्वमा आएको ब्रिटिस प्रतिनिधिमण्डलले नेपालको अनुमति लिएर काठमाडौँ हुँदै चीनको भ्रमण गरेको थियो । इकाइ कावागुची पनि नेपालका प्रधानमन्त्री चन्द्रकै अनुमति लिएर तिब्बततर्फ गएका थिए । चन्द्रकै पालामा ब्रिटेनका शक्तिशाली व्यक्ति लर्ड कर्जनले नेपाल भ्रमण गरेका थिए भने हवाइजहाज नै नचलेको त्यो युगमा कूटनीतिक सम्बन्ध बढाउन जंगबहादुर तथा चन्द्र शमशेरले पानीमार्गबाट ब्रिटेनको यात्रा गर्नु आफैमा महत्वपूर्ण थियो । राष्ट्रको मर्यादा बढाउने यात्रा थियो त्यो।

राजनीति, कूटनीति, धर्म, संस्कृतिलगायतका हरेक विषयमा विदेशीलाई राजगुरु मान्ने चलन फस्टाएको फस्टायै छ। 

लियो ई. रोजद्वारा लिखित ‘नेपाल स्ट्राटेजी फर सर्भाइबल’ पुस्तकमा ब्रिटेन र रसियाबीचको तनाव घटाउन श्री ३ चन्द्र शमशेरले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख छ । सत्ताका निकटवर्ती, पाश्र्ववर्ती र चन्दाजीवी–परजीवी बनेर मालिकको प्रशंसा गर्छन् । तर सात समुद्रपारिका शिक्षित मानिसले सितिमिती अरूको बढाइँचढाइ गर्दैनन् । एम मिलवार्डले लन्डनमा सन् १९३९ फेब्रुअरी ७ मा आयोजित इस्ट इन्डिया एसोसिएसनको बैठकमा नेपाली कूटनीति, नेपालको प्रकृति, महत्व र सौन्दर्यबारे लामो प्रवचन दिए । उनले नेपाललाई स्वर्गजस्तो सुन्दर भनेका छन् । (द एसियाटिक रिभ्यू, अप्रिल १९३९)। 

यसरी विदेशीले हाम्रो नीति, दर्शन, मार्ग र सिद्धान्तको प्रशंसा गरेका प्रमाण–उदाहरण धेरै छन् । आज लुरुलुरु विदेशीका पछिपछि कुद्नेहरूले विगतलाई गाली गर्नुभन्दा हाम्रा पुर्खाले कसरी राष्ट्रको इज्जत र विश्वास बचाएका रहेछन् भनेर दैनिक एक घन्टा मात्र अध्ययन गरे पनि पुग्छ। 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन (पुस २७) को बिदा रद्द गर्नेहरूले जिसस क्राइस्टको नाममा ‘क्रिसमसको बिदा’ दिने सरकारी निर्णय गरे । कार्यालयमा माओ, स्टालिन, लेनिन, कार्लमाक्र्स आदि विदेशीका तस्बिर सजाउँदा गर्व गर्छन् कम्युनिस्ट दलहरू । पृथ्वीनारायण कति कारणले ती विदेशी नेता वा विचारकभन्दा कमसल भए त ? यसको कुनै उत्तर छैन।

‘लानेलाई भन्दा जानेलाई हतार’ भन्ने उखान चरितार्थ गर्दै २०४६ सालपछि काठमाडौँको भारतीय दूतावास धाउनेहरूकै हातमा आज पनि घुमिरहेको छ, नेपाली राजनीति । महाकाली नदी भारतलाई बुझाउँदा हरेक वर्ष अर्बौं रुपियाँ आउँछ र राष्ट्र झिलीमिली हुन्छ भन्ने व्यक्ति नै आउँदो पुसमा कोशीबाट पानीजहाज चढेर कलकत्ता पु-याउँछु भन्दैछन् । त्यो दिन आउन चार महिना मात्र बाँकी छ । पानी जहाज हेर्न पत्रकारहरू क्यामेरा बोकेर जालान् । कोशी किनारमा जल महोत्सव होला । यस्ता गफ पत्याइरहेका छौँ हामी । सरकार दिनदिनै प्रहसन देखाइरहेको छ । जनताले भोग्नुपरेका जटिल समस्या ‘दिन दोब्बर रात चौबर’ थपिएका छन् । सत्तारूढ दलकै नेता भन्दैछन्–‘हामीलाई त सुन्दा पनि लाज भइसक्यो।’

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिनको बिदा रद्द गर्नेहरूले जिसस क्राइस्टको नाममा ‘क्रिसमसको बिदा’ दिने सरकारी निर्णय गरे । कार्यालयमा माओ, स्टालिन, लेनिन, माक्र्स आदि विदेशीका तस्बिर सजाउँदा गर्व गर्छन् कम्युनिस्ट दलहरू। पृथ्वीनारायण कति कारणले ती विदेशी नेता वा विचारकभन्दा कमसल भए त? 

मी जनता अर्थात् मतदाता पनि स्वार्थी छौँ । आफ्नो एक इन्च जमिन मिचिँदा खुकुरी लिएर निस्कने तर राष्ट्रको हजारौँ बिगाह जमिन मिचिँदा हामीले त्यसलाई फगत ‘समाचार’ ठानेका छौँ । भाषा, संस्कृति, प्राचीन धर्म, सभ्यता र परम्परामाथि विधर्मी, कुकर्मी र षड्यन्त्रकारीहरूले हजार पल्ट हमला गरेका छन् । कवि क्षेत्रप्रताप अधिकारी भन्थे, ‘हामीलाई किन देश दुख्दैन?’ 

गीत, कविता, लेख र सामाजिक सञ्जालमा चित्त दुखाउनेहरू एकैपल्ट सडकमा आउने हो भने राष्ट्रघात गर्नेहरू र कर्तव्यच्युतहरू आफैं लज्जित हुने थिए । राजस्व खाएर जनतालाई अल्मल्याउनेहरू परास्त हुने थिए । निष्पक्ष भएर जनताले दण्ड दिन थाले भने कोही पनि उम्किन पाउँदैनथे। 

नेपाल भत्काउन धेरै वर्ष अघिदेखि प्रयास भइरहेको पाइन्छ। २०५९ साल पुस २० देखि २७ गतेसम्म बुढानीलकण्ठस्थित पार्क भिलेज होटलमा क्रिश्चियनहरूको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । नेपाल, भुटान, सिक्किम र तिब्बत क्षेत्रमा क्रिश्चियन धर्म फैलाउन नेपाललाई ‘धर्मनिरपेक्ष राष्ट्र’ घोषणा गर्नुपर्ने सोही भेलाको प्रस्ताव स्वीकार गरेर विभिन्न दलका नेताले संविधानमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको कुरा जगजाहेर छ। 

नेपालमा २००८ सालमा ०.०५ प्रतिशत मात्र क्रिश्चियन धर्मावलम्बी थिए भने अहिले त्यो संख्या अत्यधिक बढेको छ। विभिन्न दाताको सहयोगमा आठ हजार जति चर्च खुलेको कुरा सञ्चार माध्यममा आएको छ । मानवशास्त्री सौभाग्य शाहले झन्डै बीस वर्ष पहिले नै भविष्यवाणी गरेका थिए, “नेपालमा यसरी नै इसाई धर्मको प्रचार भइरह्यो भने एकदिन हिन्दु र बौद्ध धर्मावलम्बीहरू अल्पमतमा पर्नेछन्।”

गणतन्त्र आएपछि ‘जनताले जिते’ भन्ने प्रचार गरियो, तर राष्ट्र हारिरहेको छ। धर्मसंस्कृति परास्त हुँदै गएको छ । नैतिकता धुलिसात बन्दै गयो । ‘उकाली ज्यानको चप्लेटी ढुंगा कान्छी मट्याङट्याङ्’ भनेर नेताहरू आज पनि गीत गाउँछन् । निर्लज्ज भएर संघीयता र धर्मनिरपेक्षताको वकालत गर्छन् । तर राष्ट्र डुब्दै छ । यो कटु सत्य हो।

सत्तारूढ दलका वरिष्ठ नेता माधवकुमार नेपालले नै संसद्मा बोले, “राष्ट्र डुब्दैछ ।” गणतन्त्र भएपछि नेपाल सुखी, शान्त, समृद्ध र बलियो हुन्छ भन्नेहरू अहिले पश्चात्ताप गरिरहेका छन् । नागरिक समाजका नामबाट २०६२/६३ सालमा सडक क्रान्ति गर्ने एकजना डाक्टर बोले, “ढुंगा हानेर ल्याएको गणतन्त्र कहाँ चल्छ ?” सत्य त्यही हो। 

आज चीन र भारत संसारका प्रमुख उदीयमान शक्ति बनेका छन् । विज्ञान, प्रविधि, शिक्षा र सामरिक शक्तिमा उनीहरू प्रतिस्पर्धा गरिरहेका छन् । हामी भने अल्मलिएका छौँ । नेपालमा परोपकार, विकास र समृद्धि ल्याइदिने बहानामा युनाइटेड मिसन टु नेपाल, वल्र्ड भिजन नेपाल, मेरी स्ट्रोप्स क्लिनिक, मेडिकल क्रिश्चियन फेलोसिप, आड्रा नेपाल, नेपाल क्रिश्चियन एलाइन्स, गोस्पेल रेकर्डिङ, विश्वविद्यालय क्रिश्चियन विद्यार्थी संगति, बाइबल ट्रेनिङ, इभानजेलिकल एलायन्स, नेपाल लेप्रोसी ट्रस्ट, क्याम्पस क्रुसेड फर क्राइस्ट, एभ्री होम क्रुसेड, प्रिजन फेलोसिप नेपाल, मुभमेन्ट फर युनिटी लगायतका सयकडौँ क्रिश्चियन संस्थाले नेपालका प्राचीन धर्म संस्कृति जरैसँग मास्ने खेल खेलिरहेका छन् । (राजतन्त्र कि गणतन्त्र : तुलनात्मक अध्ययन, पृष्ठ १३१, युवराज गौतम।)

इतिहासविद् सोमध्वज विष्टले, अंग्रेज सेनासँग लडाइँ गर्नका लागि पंजाबका राजा रणजीत सिंहले गोर्खाली (नेपाली) र खालसा (पंजाबी) सैनिकको मोर्चा बनाउने प्रस्ताव गरेको कुरा लेखेका छन् । तर प्रधानमन्त्री भीमसेन थापाले त्यो प्रस्ताव नमान्दा गोर्खाली र पंजाबी सेना अंग्रेजसँग परास्त भए । नेपाल र भारतमा फैलिएका करोडौँ बौद्ध र सनातन धर्मावलम्बीहरूले पनि साम्राज्यवाद र विस्तारवादको चंगुलबाट मुक्त हुन विभिन्न रूपमा फैलेका क्रिश्चियन मिसनहरू विरुद्ध मोर्चा बनाएर उभिनुपर्ने आवश्यकता टड्कारो देखिएको छ । यसमा गम्भीर हुन सकेनन् र नेपालमा स्थायी शक्ति भएन भने नेपाल र भारत मात्र होइन, क्रिश्चियन प्रभावले चीनमा समेत उपथलपुथल गराउन सक्ने देखिन्छ । तर चीन र भारतले नेपालमा ‘स्थायी शक्ति’ नै चिन्न सकिरहेका छैनन् । सोही कारणले नेपालको राष्ट्रिय सुरक्षा समेत धरापमा पर्ने देखिएको छ।

भुटानको बाटो भएर हिन्दु र मुसलमान व्यापारीलाई तिब्बत जाने छुट दिएपछि भुटानका देवराजाले ठूलो आलोचना भोग्नुपरेका कुरा एस. टर्नरले लेखेका छन् । (भुटानमा राजकाज हेर्ने राष्ट्रनायकलाई देवराजा र धार्मिक मामिला हेर्ने राजालाई धर्मराजा भन्ने चलन छ । सन् १९०७ भन्दा पहिले धार्मिक शासनमा आधारित पद्धति भएकाले त्यहाँ धर्मराजाकै शासन चल्थ्यो ।) धर्म र संस्कृति बचाउन भुटानले जे गरेको छ, नेपालले त्यति पनि गर्न सकेन । किनभने, २०४६ सालपछि राजनीतिज्ञहरूले धर्मसंस्कृतिलाई कुनै महत्व दिएनन् । बरु विदेशीका इच्छा र इसाराअनुसार नेपालका प्राचीन धर्म संस्कृति मास्न उच्चपदस्थ राजनीतिज्ञहरू नै षड्यन्त्रमा सामेल भए। 

राजनीति, कूटनीति, धर्म, संस्कृतिलगायतका हरेक विषयमा नेपालमा विदेशीलाई राजगुरु मान्ने चलन गणतन्त्रमा झन् फस्टाएको देखिन्छ । प्रमुख समस्या केलाउँदै जाँदा राष्ट्रमा भरोसा गर्न योग्य कुनै प्रबल र दिगो शक्ति नै देखिएन। विदेशी शक्तिले हरेक दल र नेतालाई प्रयोग मात्र गरिरहेको देखिन्छ । त्यही कारण आज नेपाली समाजमा विश्वास हराउँदै गएको छ र राष्ट्र दिन प्रतिदिन डुबिरहेको छ।

 

प्रकाशित: १९ आश्विन २०७५ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App