२१ असार २०७७ आइतबार
विचार

याैनजन्य हिंसाकाे रिपाेर्टिङ यसरी गराैं

श्री गुणराज लुइँटेल,
सम्पादक, नागरिक दैनिक ।

विषय : बलात्कार तथा यौनजन्य हिंसाका घटनाको रिपोर्टिङमा संवेदनशील तस्बिर तथा चित्र प्रकाशन गर्दा अपनाइनुपर्ने सावधानीका सम्बन्धमा।

नेपालमा हरेक महिना औसत १०० भन्दा बढी बलात्कार तथा यौनजन्य हिंसाका घटना प्रहरीमा दर्ता हुने गरेका छन् । उजुरी गरिएको भन्दा वास्तविक घटनाको संख्या धेरै बढी हुने आँकलन गरिएको छ । विगत केही वर्षयता बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूले सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान पाएको कुरा सराहनीय छ।

नेपाली सञ्चार क्षेत्रले सामान्यतया पीडितको गोपनीयता कायम गरेको र यस्ता घटनाहरूको उजुरी हुनुपर्छ भनेर गरिरहेको प्रयास प्रशंसनीय छ । यद्यपि, कतिपय अवस्थामा बलात्कार तथा यौनजन्य हिंसाका समाचारको रिपोर्टिङमा हिंसापीडित निरीह बालिका तथा महिलाहरूको क्षतविक्षत तस्बिर एवं चित्र प्रयोग र पुनःप्रयोग हुने गरेको छ। 

पीडित अँध्यारोमा रुँदै गरेको, डरलाग्दो हातको छायाँ, फुटेका चुरा, केही थोपा रगत भएका चित्रहरू बलात्कार तथा यौनजन्य हिंसाका घटनाको रिपोर्टिङमा बारम्बार प्रयोग भएको देखिन्छ । यस्ता दृश्यले बलात्कारबाट पीडितहरू निर्बल हुन्छन्, असहाय हुन्छन्, यस्ता घटनाको विरोध गर्न सक्दैनन् भन्ने सन्देश दिन्छन् । आम मानिसमा पनि यस्ता चित्र तथा तस्बिरले त्रास सृजना गर्छ । यसले पीडितलाई हौसला दिनुभन्दा पनि निरुत्साहित गर्छ भने पीडकलाई यस्ता तस्बिरले सधैँ आफूमाथि परेको महसुस गराउँछ।

हामीलाई यसमा बदलाब ल्याउनुपर्छ भन्ने लागेको छ । महिलाहरू यौनजन्य हिंसाको प्रतिरोध गर्न सक्षम छन् र गरिरहेका पनि छन् । नसक्नेहरूलाई पनि हामीले विरोध गर्न, उजुरी गर्न, न्यायको माग गर्न सघाउनु पर्छ । तसर्थ, हामी यहाँलाई सञ्चार माध्यममा बलात्कार तथा यौनजन्य हिंसा र घरेलु हिंसाको रिपोर्टिङमा परिमार्जन गर्नका लागि अनुरोध गर्न चाहन्छौँ । उदाहरणका लागि यस्ता समाचारमा पीडितभन्दा पनि पीडकको तस्बिर र सांकेतिक चित्र देखाउन सकिन्छ।

साथै रिपोर्टिङमा नक्सा र तथ्यांकको विवरण (इन्फोग्राफिक), प्रहरीले घटनाको उजुरी लिँदै गरेको, न्यायको माग गरी यस्ता घटनाको विरोध गरेको र्याली, दबाब कार्यक्रमका तस्बिरहरू, पीडितले प्रहरी तथा न्यायालयतिर आशाको दृष्टिले हेरिरहेको, पीडितलाई समाज, प्रहरी, न्यायालयले साथ दिएको र पीडक यी सबैबाट एक्लिएको र जेलमा परेको जस्ता तस्बिर तथा चित्र प्रयोग गर्न सकिन्छ।

कुनै पनि विषयवस्तुका बारेमा आम धारणा निर्माण गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्छ । तसर्थ, यस सम्बन्धमा तपाईंको पत्रिकामा सार्वजनिक बहस, अन्तक्र्रियाका लागि स्थान सृजना गर्न हुन पनि हामी यसै पत्रमार्फत अनुरोध गर्दछौँ। 

बलात्कार तथा यौनजन्य हिंसा र घरेलु हिंसाका घटनालाई रिपोर्टिङ गर्ने सन्दर्भमा यहाँ र यहाँ संलग्न सञ्चारमाध्यमले स्थापित मान्यतामा परिवर्तनका लागि अग्रसर हुँदै समाजमा सकारात्मक प्रभाव ल्याउनका लागि सहयोग गर्नुहुनेछ भन्ने आशा राख्छौँ । यहाँको प्रयासले बलात्कार तथा यौनजन्य हिंसा र घरेलु हिंसा पीडितलाई न्याय दिलाउनमा समेत योगदान पुर्याउनेछ भन्ने विश्वास गर्दै यस अभियानमा यहाँको ऐक्यबद्धताको अपेक्षा गर्छौं । बलात्कार तथा यौनजन्य हिंसाका संवेदनशील रिपोर्टिङ, पीडितलाई हौसला दिने इन्फोग्राफिकको प्रयोग, निरन्तर फलोअप नै न्यायका लागि तपाईंको ऐक्यबद्धता हो भन्ने हामीले बुझेका छौँ। 

यहाँको सहयोगका लागि धन्यवाद ।

निर्मलाका निम्ति न्याय 
(हिमा विष्टमार्फत प्राप्त चिठी)

प्रकाशित: ११ आश्विन २०७५ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App