२३ असार २०७७ मंगलबार
विचार

बलात्कारमा अनुसन्धान?

बलात्कार अनि हत्या । त्यो पनि किशोरावस्था भर्खर टेकेकीको । कुन मानिसको मन नरोला ! को आक्रोशित नहोला ! को भावुक नहोला ! तर अपराध अनुसन्धान मन रुवाएर, आक्रोशित र भावुक भएर गर्ने विषय होइन । त्यसमाथि पनि शंका र अनेकन् सम्भावनाहरूलाई जन्म दिएको बलात्कारपछिको हत्याको विषय ! यस्ता घटनामा  धैर्य र अनुसन्धानमा दक्षता अति जरुरी हुन्छ । राजनीति गरेर प्रधानमन्त्री वा गृहमन्त्री भएको व्यक्ति अनुसन्धानमा दक्ष हुँदैन, लोकसेवाको परीक्षा उत्तीर्ण गरेर प्रशासनिक दक्षता हासिल गरेको व्यक्ति पनि हुँदैन । सुरक्षा निकायमा रहँदैमा पनि त्यो व्यक्ति अपराध अनुसन्धानमा दक्ष नहुन सक्छ । अनुसन्धानसम्बन्धी गहिरो अध्ययन र अनुसन्धानबाट खारिएको दृढसंकल्पित तथा धैर्यवान् व्यक्तिमा मात्र त्यस्तो दक्षता हुनसक्छ । मुख होइन आवश्यकताअनुसार सही तरिकाले दिमाग र खुट्टा चलाउन सक्ने व्यक्ति दक्ष हुन्छ । जब क्षमतावान्लाई अविश्वास गरेर अपराध अनुसन्धानको जिम्मा समितिका नाममा कर्मचारीलाई दिइन्छ तब घटनाले परिघटनालाई जन्म दिन्छ । देशमा यही भइरहेको छ।

निश्चय पनि कञ्चनपुरको बीभत्स घटनाको अनुसन्धान जतिसक्दो छिटो टुंगोमा पुग्नुपर्छ । ‘ढिलो न्याय दिनु न्याय नदिनु हो ।’ तर, हतार गर्दा निर्दोषको जीवन बर्बाद हुन्छ । अपराध अनुसन्धानमा त्यस्ता धेरै घटना छन् जसमा निर्दोषहरूको जीवनको उर्वर समय जेलमा बितेको छ । त्यो जवानी फर्केर आउँदैन । कसैको जवानी कुनै क्षतिपूर्तिले भर्ताल हुँदैन । यस्तो गल्ती कञ्चनपुरको हत्याकाण्डमा पनि गरिनुहुन्न । लोकको आवाज सुनुवाइ हुनुपर्छ । लोकतन्त्रको सौन्दर्य यही हो । तर, लोकतन्त्रमा भीडतन्त्र हाबी भए खतरा निम्तन्छ । अपराध अनुसन्धान जस्तो संवेदनशील विषय भीडबाट निर्देशित हुनुहुन्न । भीडको दबाबमा अनुसन्धान गिजोलिने र निर्दोषहरू जेल जानुपरेका घटनाहरूको फेहरिस्त छ नेपालमा । पंक्तिकारले शोध तयार गर्दा विगत १५ वर्ष कारागार र कारागारबाहिर अध्ययनका सिलसिलामा फेला पारेको तथ्य हो यो । जुन तथ्यबाहिर ल्याउँदा मित्रहरू समेतले प्रश्न उठाएका छन्, पंक्तिकारलाई । सत्यको विकल्प सत्य नै हुन्छ । सत्य तीतो पनि हुन्छ । तर, सत्य छिप्दैन । जेल परेका सबै वास्तवमा दोषी छैनन्, सबै निर्दोष पनि होइनन् । त्यसैले, अपराधको घटनाको संवेदनशीलता मनन गर्न जसरी छ । निर्दोषमाथि अन्याय नहोस् र पीडितमाथि न्याय मिलोस् भनेर सबैले आआफ्नो कर्तव्य निर्वाह गर्न जरुरी छ।

कहाँ चुक्यौँ ?
आखिर जे हुनु थियो त्यही भयो । कञ्चनपुर घटना एउटा माध्यम मात्र बन्यो जसले नेपाली समाज, राजनीति गर्नेको स्तर, कर्मचारीतन्त्रको स्वार्थ र प्रहरीको कमजोरीलाई सतहमा ल्याइदियो । नेपाली समाजमा बलात्कार बढेको तथ्यांक आइरहेको छ । प्रहरीमा उजुरी दर्ताको संख्याका आधारमा यसको निक्र्याेल गरिएको हो । तर, बलात्कारको घटना हिजो पनि थियो, आज पनि छ र भोलि पनि भइरहनेछ । प्रहरीमा उजुरीको तथ्यांकका आधारमा केलाउँदा घटना बढेको भन्दा उजुरी बढेको मान्नुपर्छ । नेपाली समाजमा चेतनास्तर बढेछ, मानिसहरूमा साहस बढेछ र अब चुप लाग्न हुन्न भन्ने सोच बढेछ । अब बलात्कारको घटना दबाउने दुष्प्रयास विफल हुँदैछ । चेतना वृद्धि महत्वपूर्ण उपलब्धि हो । घटनाहरूको उजुरी बढ्न थालेपछि प्रहरी निकायबाट चाहिँ कमी कमजोरी देखिएको छ । यस्ता घटनालाई कसरी अनुसन्धान गर्ने र सम्भावित जनआक्रोशलाई मत्थर पार्न सकारात्मक भूमिका कसरी खेल्ने भन्नेबारे प्रहरी गम्भीर हुन जरुरी छ।

राजनीति गरेर जिम्मेवार पदमा बसेकाहरूले जघन्य अपराधप्रति जनआक्रोश बढिरहँदा सही भूमिका निभाउन सकेनन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलसमेत यसमा चुके । उनीहरूका भूमिका र अभिव्यक्ति अपराध अनुसन्धानलाई समेत प्रभावित पार्ने खालका देखिए । घटनाको छानबिन गर्न समिति बनाउनेदेखि एकजना समिति सदस्यले राजीनामा दिएको विषयमा समेत छानबिन समिति बनाएर जग हँसाउने काम भयो । अपराध अनुसन्धानमा दक्ष मानिएको नेपाल प्रहरीको दक्ष अनुसन्धानकर्ताहरूलाई समेत निरुत्साहित पार्ने व्यवहार भयो । प्रहरीले पनि बयानका आधारमा अपराधी निक्र्याेल गर्ने परिपाटीलाई निरन्तरता दिन खोज्दा चुक्यो । बयानका आधारमा नभई प्रमाणका आधारमा अपराधी निक्र्यौल हुनुपर्छ । विज्ञान र प्रविधिको युगमा प्रयोगशालाबाट घटनाको प्रमाण फेला पर्छ । बयानलाई अझै आधार मानिरहने हो भने नेपाल प्रहरीले करोडौँ खर्च गरेर देशभित्र र बाहिर अध्ययन र तालिम दिन लगाएका दक्ष जनशक्तिको के काम ? अर्कोतर्फ, नेपालको अदालत घटनाको अनुसन्धान सायदै गर्छ । अपराधसम्बन्धी मुद्दामा अदालत प्रहरी र बयानमा भर पर्छ । कानुन अध्ययन गर्नेले अपराधशास्त्र र फोरेन्सिक साइन्सजस्ता विषय अध्ययन गर्नुको उपयोगिता के?

नेपालमा कर्मचारीहरू अध्ययन र अनुसन्धानमा भन्दा प्रशासनिक काममा दक्ष हुन्छन् । यतिसम्म कि चिकित्साशास्त्र, इन्जिनियरिङका साथै विज्ञान प्रविधि अध्ययन गरेर निजामती सेवामा प्रवेश गरेकाहरू समेत प्रशासनिक ढर्रामा रुमल्लिन थाल्छन् । यहाँ विधि–विज्ञान प्रविधिको प्रयोगशालामा काम गरेर नवीनता ल्याउने जोस जाँगर कमैमा मात्र छ । निजामती सेवाको ढर्रामा रुमल्लिएर निवृत्त भएपछि धेरैले कुण्ठा व्यक्त गर्न थाल्छन् विज्ञका रूपमा । यो भन्दा हाँस्यास्पद र उपहासको विषय के हुनसक्छ । अपराधशास्त्र र फोरेन्सिक विज्ञानको अल्पज्ञानका आधारमा फलाक्ने पूर्वप्रहरी अधिकृतहरूको कमी छैन । कतिपयका अभिव्यक्तिले अपराध अनुसन्धानमा त्रुटि बढ्न भूमिका मात्र निभाएको छैन, भीडलाई उत्तेजित पार्न भूमिका खेलिरहेछ । अनुसन्धान निष्कर्षमा नपुगी अनुमानका भरमा निकालिने निष्कर्षले अर्को समस्या खडा गर्छ । अभियुक्त अपराधी ठहर भइसकेको हुँदैन । अपराधी ठहर नभई कसैलाई दोष दिन मिल्दैन । कञ्चनपुर घटनामा शंकाको भरमा लिइएका नामहरू दोषी हुन् भने त अहिले जे भएको छ ठीकै होला निर्दोष छन् भने तिनको सामाजिक प्रतिष्ठामा पुगेको ठेसको क्षतिपूर्ति हुन सक्दैन । यसतर्फ जिम्मेवार निकायमा रहेकाहरूले ध्यान पु¥याउन जरुरी छ । विशेषगरी धेरैले पढून् भनेर अपराधको समाचारलाई जसरी प्रस्तुत गरिएको छ त्यसमा पनि त्रुटि छ । हाम्रो मिडिया यसमा चुक्दै गएको छ । जसले मिडियाको विश्वसनीयता गुम्ने मात्र नभई समाजमा नकारात्मक सोच बढ्न सक्छ । बलात्कारकी पीडितको नाम र तस्बिर सार्वजनिक गर्नु नै त्रुटि भइसकेको छ । विकसित देशमा यस्ता घटनामा इथिक्स सम्झेर नाम र तस्बिर सार्वजनिक गरिँदैन । भारतमा मिडियाले बेला बेलामा विवादास्पद क्रियाकलाप देखाए पनि २०१२ को डिसेम्बरमा भएको ‘निर्भया’ बलात्कार र हत्याको घटनामा पीडितको नाम र तस्बिर सार्वजनिक गरेन । ‘निर्भया’ नाम मिडियाले दिएको नाम हो।

समाधानको उपाय
कञ्चनपुर घटनाको दोषी कुनै हालतमा उम्कन हुँदैन तर गहिरो अनुसन्धान गरी हल गर्नुपर्छ । अनुसन्धानमा समय लाग्न सक्छ । नेपालमा कतिपय हत्याकाण्डका दोषी एक दशकपछि पत्ता लागेका छन् । भारतको नोयडामा सन् २००८ मा भएको आरुषी हत्याकाण्डले अनुसन्धानका क्रममा अनेकन् मोड लियो । नेपालीसमेत मारिएको उक्त हत्याकाण्डमा अपराध अनुसन्धानमा दिग्गजहरू समेत सफल हुन सकेनन् । अमेरिकामा कतिपय हत्याकाण्ड अझै निष्कर्षमा पुग्न सकेको छैन । यतिसम्म कि जोन अफ केनेडीको हत्याकाण्डको फाइल अझै बन्द भएको छ।

अपराध अनुसन्धानको फाइल कहिले बन्द हुँदैन, बेवास्ता हुन सक्छ । त्यसैले, ३७ वर्षअघि भएको नमिता–सुमिता हत्याकाण्डको शैलीमा कञ्चनपुर घटनामा बेवास्ता नहोस् । निजामती सेवामा रहेका उच्च अधिकृतका छोरीहरूको पोखरामा बलात्कारपछि निर्ममतापूर्वक हत्या गर्ने अपराधीले उन्मुक्ति पायो । पञ्चायतको कालरात्रिमा धेरै नमिता–सुमिताहरू बलात्कृत भए मारिए र अपराधीले उन्मुक्ति पायो । अब समाज धेरै बदलिएछ । ३७ वर्षपछि निर्मलाहरू शिकार भएका छन् तर शिकारीहरूले चैन नपाउने देखिएको छ । विपन्न परिवारकै किन नहुन् निर्मलाका परिवारका आवाज सुनिन थालेछ । अपराधीहरूले उन्मुक्ति पाउने सम्भावना नरहने अवस्था बन्दै गएछ । यो नेपाली समाजको बदलिँदो परिवेशको प्रमाण हो।

प्रहरीमा केहीले गरेको त्रुटिलाई सिंगो संगठन गलत भन्न मिल्दैन । व्यक्ति खराब हुन सक्छ संगठन हुँदैन । तर, प्रहरी नेतृत्व जिम्मेवारबाट पन्छिन हुँदैन । कञ्चनपुर हत्याकाण्डको दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन सके प्रहरी निकायप्रति जनविश्वास झन् बलियो हुनपुग्नेछ । कुनै पनि नेपाली नारी आफ्नो देशभित्र जुनसुकै ठाउँमा निर्धक्क एक्लै हिँड्न सक्ने साहस जाग्न सक्नेछ । समाज परिवर्तनका क्षेत्रमा यसले महत्वपूर्ण योगदान दिन सक्नेछ । यही सम्झेर नेपाल प्रहरीले कुनै प्रकारको दबाबलाई बेवास्ता गरेर अर्जुनदृष्टि लगाएर काम गर्नुपर्छ । अनुसन्धानले लय लिँदा कुनै पनि प्रकारको बाह्य घटनाक्रमबाट प्रभावित हुनु हुँदैन । सरकारले प्रहरीलाई विश्वास गर्ने र प्रहरीले जनताको आस्थाको सम्मान गर्ने थिति बस्नुपर्छ । नियत सबैको एउटै हुँदैन र जस्तो नियत त्यस्तै नियति भोग्नुपर्छ । सरकारमा बसेका÷नबसेका, सडकमा आएका/नआएका सबैमा यो लागू हुन्छ । जनआवाजको सम्मान गर्दै अपराध अनुसन्धानलाई सही निष्कर्षमा पु-याउने दायित्व पूरा गर्नुमै प्रहरी नेतृत्वको क्षमता मापनको मापदण्ड बनेको छ । अपराध अनुसन्धानको जिम्मेवार निकाय जुन हो मूल रूपमा त्यसले जिम्मेवारी सही ढंगले पूरा गर्नुपर्छ । बलात्कार जस्तो घटना अनुसन्धानको संवेदनशीलतालाई कसैले बिर्सन हुँदैन।

प्रकाशित: ९ आश्विन २०७५ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App