६ वैशाख २०८१ बिहीबार
विचार

बलात्कारको बर्बर शृंखला कहिलेसम्म ?

जुन खबर हामीले सुन्नै र पढ्नै नपरोस् भन्छौँ, हिजोआज त्यही खबर हाम्रा लागि क्रूर वास्तविकता बनेर सभ्य समाजलाई चिमोट्न थालेको छ । हाम्रो समाज कता गइरहेको छ ? नैतिकता, समता र अरूप्रति सहिष्णुभाव किन हराइरहेको छ? सम्झँदा पनि कहालीलाग्दो अवस्था बन्न थालेको छ।

यो एक महिनामा अखबार, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा राति नसुतुन्जेल बलात्कारका घटना यसरी घटिरहेका छन् कि कहिलेकाहीँ सपनामा पनि ती समाचारले सातो लिने गरेका छन्।

दूधे बालिकादेखि हजुरआमा, गर्भवती महिलादेखि महिनावारी भएकी युवतीसम्म बलात्कृत भइरहेका छन् । आखिर यो बलात्कार कसले गरिरहेको छ ? यही समाज र घर अनि वरिपरिकाले नै होइन र ? स्त्री शब्द नै हिजोआज पुरुषका लागि उत्तेजना बढाउने शब्द बन्न पुगेको छ, जसका लागि उसलाई परिपक्वता, उमेर र सहमति चाहिँदैन । उसको घर, पाठशाला, कार्यालय नै शिकारको कारक बन्न पुगेको छ । समाचारमा बलात्कारी काका, बलात्कारी बाबु, बलात्कारी हजुरबुबा, बलात्कारी छोराका समाचार सुन्दा यस्तो लाग्छ, हरे शिव कुन त्यस्तो नाता होला, जसबाट बलात्कार नभएको होस् ? यस्तो लाग्छ, पूरै पुरुष मानसिक विकलांगताको सिकार भएको छ । यही विकलांगताले उसलाई के सही र के गलत छुट्याउनै नसक्ने गरी रोगी बनेको छ। 

केही समयअघि एक जना युवती टाउको मुडेर, पेटिकोट मात्र लगाएर प्रदर्शनमा उत्रिएको समाचारमा हामीले पढ्यौँ । आखिर अत्ति भएपछि र पीडा खप्न नसकेपछि, कतैबाट समस्या समाधान हुने नदेखेपछि ऊ आफ्नो कपाल लुछ्न र लुगा च्यात्न बाध्य हुन्छे । यस्तो बाध्यकारी अवस्था कसले सिर्जना गर्याे ? यही समाज र यहीँको परिस्थितिले होइन ?

बलात्कार रोक्न छोरीलाई शिक्षा दिइन्छ, छोटो कपडा नलगाऊ, पुरुषले देख्छन् । तर तीन–चार वर्षका बालिकामा पुरुषले त्यस्तो के देख्छन् हँ ? हाम्रो सभ्य समाजका पुरुषले अब के गर्ने र के नगर्ने भन्ने शिक्षा छोरीलाई होइन छोरालाई, बाबुलाई, हजुरबुबालाई दिनुपर्ने अवस्था आएको छ । पुरुष अब आफैँले नैतिकताको पाठ पढ्नुपर्ने बेला आएको छ । यो शिक्षाले आफूलाई सभ्य, संयम, नीतिवान् बन्न र अरुलाई पनि बनाउनुपर्ने भएको छ। 

नैतिकताको खडेरी, समाजप्रतिको गैरजिम्मेवारी र पाप–धर्मको सोच नै छिन्नभिन्न भएको छ । त्यसैले त दिनहुँ यस्ता घटना घटिरहेका छन् ।  पुलिस रेर्कड अनुसार सरदर दैनिक चार वटा बलात्कार नेपालमा भइरहेको छ । गत वर्ष मात्र १४८ वटा बलात्कार साथै पुलिसको रिपोर्ट अनुसार काठमाडौंमा मात्र १८८ बलात्कृत भएका थिए । गत सात बर्ष यता पुलिसको रिपोट अनुसार ६६२७ बलात्कृत घट्ना भएका छन्।

उफ ! हामीले यस्ता घटनालाई रोक्न सारा संयन्त्र उपयोग गर्न सकेनौँ र यसलाई रोक्न सकेनौँ अनि यस किसिमको पुरुषत्वको पागलपनको नग्न प्रदर्शन गरिरह्यौँ भने बलात्कारी समाज कहिल्यै माथि उठ्न सक्नेछैन । यस्तो पतित समाज अनि कसरी अघि बढ्छ ? कसरी समृद्ध हुनसक्छ ?

समृद्धि भनेको सभ्यता हो र बलात्कृत नारीको चित्कारले यो हाम्रो सभ्यताको पर्खाल चर्किएको मात्र होइन, ध्वस्त भइसकेको देखाउँछ ।  अब यसका लागि पुरुषहरूले नै अभियान चलाउन आवश्यक छ । यो अभियान घरबाट सुरु हुनुपर्छ, आफ्नो दूषित दिमागलाई पखाल्ने, सफा गर्ने काम अहिल्यै र आजैबाट हुनुपर्छ। 

जबसम्म पुरुष मनको मैलो पखालिँदैन, यस्ता घटना हरेक दिन भइरहन्छन् । सँगैमा यस्ता घटनाले हाम्रो देशको बलात्कारसम्बन्धी अनुसन्धान र कानुनको फितलोपना पनि स्पष्ट पारेको छ । निर्मला पन्त बलात्कार घटनामा वास्तविक अपराधी उम्काउन प्रहरीले खेलेको भूमिकाबार आशंका उठ्न थालेपछि कानुन र अनुसन्धानमाथि पनि सर्वसाधारणको विश्वास हराउन थालेको छ।

यस्तोमा हाम्रो घर, समाज, गाउँको भूमिका बढेर गएको छ । हरेक तल्लो तहमा छोरी–चेली बचाउन राज्यलाई दबाब दिन र बलात्कारीलाई कडाभन्दा कडा सजायको प्रवाधान राख्न एउटा अवसर पनि आएको छ। 

हे दिदी बहिनीहरू, जाग । आफ्नो अस्मिता बचाऊ । छरछिमेक, कुना कन्दरा र गाउँ–टोलका दिदीबहिनीलाई मृत्युको संघारमा जानबाट रोक । यस्ता आवाज उठाउन पाँचतारे होटलमा सभागोष्ठी गरेर हुँदैन । ती सभा र सम्मेलनले बलात्कृत महिला, बालबालिका र वृद्धाको रोदन, चिच्याहट, गुहार रोक्न सक्तैन न त रगतका टाटा पखाल्न भूमिका नै खेल्छ। 

यसको साटो ती घटनालाई चाँडोभन्दा चाँडो किनारा लगाउने काम–कार्बाही र नियम–कानुन बनाई पीडितालाई सहयोगका लागि आवाज उठाउनुपर्छ । एकचोटि सोच्नुस् त, निर्मलाको गल्ती के थियो ? कुनै छोरी पढ्ने खर्च बाबुसँग माग्दा बलात्कृत हुनुपर्ने, दाजुसँग बसेर पढ्दा उसैबाट बलात्कृत हुनुपर्ने ! कोहीमाथि साथीकै बुबाले आँखा गाढ्ने ! यो के भइरहेको छ हाम्रो समाजलाई ? हाम्रो समाज किन यति घृणित तहमा पुगिसकेको छ ? कुन पागलपनमा रमाइरहेको छ हाम्रो समाज ? कुन उपचार खोज्नुपर्ने हो ? यस्ता कयौँ प्रश्न अहिले अनुत्तरित छन्।

यसका लागि त पहिलो काम कडा सजायका लागि सरकारलाई दबाब दिनु नै पर्छ । संस्कारी पढेलेखेको समाजमा बस्नेले मानतावको नाताले यस्ता कुरामा चुप बस्नु हुँदैन । पीडिताका पक्षमा लागि आजैबाट एउटा प्रण गर्नुपर्ने बेला आएको छ– बलात्कार मुक्त समाज बनाउने । बलात्कारीलाई यस्तो सजाय होस् कि कुनै बलात्कारीले सपनामा पनि बलात्कारको ‘ब’ पनि कल्पना नगरोस् । के जन्मदिने आमासँग मात्र हो चेलीबेटीको नाता ? अरुले बलात्कार मात्र सोच्ने ? दाजुभाइहरू दिदी बहिनीको अस्मिता बचाउनुपर्नेमा उल्टी केही पुरुषले गर्दा पुरुष वर्ग नै कलङ्कित भएका छन्।

केही समयअघि एक जना युवती टाउको मुडेर, पेटिकोट मात्र लगाएर प्रदर्शनमा उत्रिएको समाचारमा हामीले पढ्यौँ । आखिर अत्ति भएपछि र पीडा खप्न नसकेपछि, कतैबाट समस्या समाधान हुने नदेखेपछि ऊ आफ्नो कपाल लुछ्न र लुगा च्यात्न बाध्य हुन्छे । यस्तो बाध्यकारी अवस्था कसले सिर्जना गर्याे ? यही समाज र यहीँको परिस्थितिले होइन ? त्यसैले उनीहरूका भावनालाई सम्मान गरौँ।

कुनै पनि दिदीबहिनी बलात्कृत हुनु भनेको हाम्रो समाज बलात्कृत हुनु हो । त्यसैले सभ्य समाजमा बचेकुचेका सभ्य नागरिक अघि बढेर बलात्कृत र पीडिताका रगतको मुल्य बुझौँ । अब कतै कहीँ बलात्कृत भएको हेर्न–सुन्न नपरोस्। 

हे दाजुभाइ–दिदीबहिनी एउटै आवाजमा न्याय मागौँ, आवाज उठाऔँ।

प्रकाशित: १९ भाद्र २०७५ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App