१० आश्विन २०७७ शनिबार
विचार

पुस्तकालयको त मतलबै छैन

त्रिभुवन विश्वविद्यालय उच्च शिक्षामा अझैँ पनि नेपालीका लागि प्रतिस्पर्धीविहीन छ । प्रतिस्पर्धी नभएको धावक कति दौड्ला सबैले अनुमान लगाउन सक्छन् । त्रिविका धेरैजसो निकाय कामकाजी नभएको भनी आलोचना हुने गरेको छ । यसका अन्य विभाग वा शाखा जस्तै पुस्तकालयहरू पनि काम नलाग्ने छन् त ? सेवारत पुस्तकालयका सीमा के होलान् ? पैरवी नपुगेको भन्दै त्रिविको पुस्तकालय विज्ञान विभागका विद्यार्थीले थालेको वार्षिक कार्यक्रम पुस्तकालय दिवस राष्ट्रिय पर्व भइसक्यो । हरेक वर्ष भदौ १५ गते मनाइने पुस्तकालय दिवसमा त्रिविका पुस्तकालयकर्मीले के सुधार गर्दा दिवसको औचित्य पुष्टि होला ? पेसा सुधार्न आपूm सुध्रनुपर्ने र आफ्ना कार्यस्थल कामकाजी बनाउनुपर्ने पैरवी गर्न यो लेख तयार गरिएको हो । सबैले आफ्नो काम दृढतापूर्वक सम्पन्न गर्ने हो भने पेसा, व्यवसाय मात्र हैन देश नै समृद्ध बन्ने आँकलन लेखकको छ।

संकलन सुधार : त्रिविमा रहेका अधिकांश पुस्तकालयको हालत खराब छ भन्न कार्यरत जनशक्ति भएरै पनि मेरा लागि गाह्रो छैन । यहाँका पुस्तकालयमा रहेको अधिकांश संकलन पुरानो र अव्यवस्थित छ । प्राविधिक जनशक्ति नभएर पुस्तकालय व्यवस्थापन र लेनदेन अस्तव्यस्त छ । शिक्षक र विद्यार्थीले फिर्ता नगरेका पुस्तकको कार्डले पुस्तकालयका धेरै दराज भरिएका छन् । भएका पुस्तक संस्करण र पाठ्यक्रमका हिसाबले अत्यन्त पुराना साबित भएका छन् । प्रयोगमा नआउने पुस्तक हटाउन सहज छैन । सरकारी सम्पत्ति भएका कारण तिनलाई हटाउन लामो र निरन्तरको प्रयास जरुरी छ।

जनशक्ति सुधार : त्रिविको पुस्तकालयमा कार्यरत जनशक्तिलाई शैक्षिक तथा प्राज्ञिक उन्नयन गर्न तालिम तथा पुनर्ताजगी सुविधा उपलब्ध गराउनु आवश्यक छ । अधिकांश जनशक्ति कामचलाउ प्रकृतिका छन् । पुस्तकालयसम्बन्धी आधारभूत तालिम लिएका जनशक्ति निर्माण गर्नु चुनौतीपूर्ण छ । हाजिर गरे तलब, काम गरे भत्ता खोज्ने रोग त्रिविमा नौलो होइन । बदलिँदो परिस्थितिमा आफूलाई सुधार गर्न नसक्ने कर्मचारीलाई अनिवार्य अवकासको व्यवस्था गरेर नयाँ जनशक्ति भित्र्याउन ढिला भइसक्यो।

प्रशासनिक सुधार : त्रिविमा नियमित नभइरहेको काम नयाँ कर्मचारी भर्ना हो । शिक्षकहरू करार, आंशिक आदि नाममा नियुक्त भइरहेका छन् तर कर्मचारी भर्ना गर्न खोलिएको सेवा आयोग परीक्षा विभिन्न बाहानामा पटक पटक सारिएको छ । कतिपयले संसारको कुनै पनि विश्वविद्यालयमा शिक्षकभन्दा कर्मचारी बढी हुँदैनन् भन्ने कुतर्क गर्ने गरेका छन् । एक घण्टी पढाएर भाग्ने शिक्षकका विद्यार्थी त्रिविका पुस्तकालयमा थुप्रिन्छन् तिनले खोज्ने पाठ्यसामग्री पुस्तकालयमा सहयोगी कर्मचारीको भरमा चलेको धेरै भयो । ढेड दर्जन बढी अधिकृत स्तरको प्राविधिक कर्मचारी ५ वर्षभन्दा बढी समयदेखि पुस्तकालयका लागि आवश्यक छ तर तिनको नियुक्ति हुनसकेको छैन । विश्वविद्यालय मुख्यतः शिक्षक, कर्मचारी र विद्यार्थीको त्रिवेणी हो । विश्वविद्यालय चलाउने उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार सबै शिक्षक मात्र हुने विद्यमान व्यवस्थामा ठूलो समस्या छ । जिन्दगी विश्वविद्यालयमा बिताउने कुनै पनि कर्मचारी आफ्नो नेतृत्व गर्न नसक्ने हालतमा होला भन्ने कल्पना बेतुकको छ । कर्मचारी व्यवस्थापन गर्ने काममा शिक्षक जो फरक पृष्ठभूमिको हुन्छ उसलाई जिम्मेवारी दिनु सर्वथा अन्यायपूर्ण छ । आफ्नो सम्पत्तिको मालिक आफू हुन नपाएझैँ आफ्नो नेतृत्व आपैmँ गर्न नपाउने कर्मचारीबाट विश्वविद्यालय नेतृत्व गुणस्तरको अपेक्षा गर्छ । कर्मचारीको प्रमुख रजिस्ट्रार योग्य कर्मचारी नै हुने व्यवस्था आवश्यक छ । कुनै कर्मचारी शैक्षिक योग्यता, तालिम, क्षमता अभिवृद्धि आदिमा कमी भएर शिक्षकलाई रजिस्ट्रार मान्न तयार होला तर क्षमता भएरै पनि अवसर नपाउने हो भने यसले गुणस्तर ल्याउनेछैन।

भौतिक सुधार : त्रिविको सम्पूर्ण भौतिक सम्पत्तिलाई मूल्यांकन गरी यसको समुचित प्रयोग र व्यवस्थापन गर्न सके हाल त्रिविबाट राज्यलाई पर्न गएको बजेट भारलाई आन्तरिक स्रोतबाट परिपूर्ति गर्न सकिन्छ । तर त्यसो गर्न नियमनसहितको अधिकार क्याम्पस, कार्यालयलाई दिनु जरुरी छ । एक क्याम्पस प्रमुखले चाहेर पनि कतिपय काम गर्न केन्द्रकै मुख ताक्नुपर्ने अवस्था विद्यमान छ । प्राविधिक ज्ञान भएको पुस्तकालय प्रमुखले पुस्तकालय सुधारको योजना र क्याम्पस प्रमुख लिएर त्रिविका विभिन्न निकाय धाउनुपर्ने बाध्यता कहिले हट्ला ? त्रिविलाई विकेन्द्रित गर्ने भनिए पनि पुस्तकालयमा एक सहयोगी नियुक्तदेखि सानो बजेट चलाउनसमेत केन्द्रको स्वीकृति कुर्नुपर्ने बाध्यता छ।

संरचनागत सुधार : त्रिविलाई कामकाजी बनाउन आंगिक क्याम्पस वा कार्यालयको क्षमता अभिवृद्धि गरेर मात्र हुँदैन निश्चित नियमन गर्ने निकाय अन्तर्गत काम गर्ने स्वतन्त्रता दिनुपर्छ । त्रिवि केन्द्रीय पुस्तकालयको भार महसुस गर्दै अध्ययन संस्थान र संकायका केन्द्रीय पुस्तकालय खोल्न सकेमा पुस्तकालयको काम चुस्त हुनेमा शंका छैन । यसका लागि थप लगानी र आर्थिक भार विश्वविद्यालयले व्यहोर्नुपर्ने छैन । भएकै क्याम्पस पुस्तकालयलाई जनशक्ति थप गरी काम लगाउन सकिन्छ । ७ प्रदेशमा ७ वटा त्रिवि अन्तर्गतका क्याम्पसमा व्यवस्थित र सुविधा सम्पन्न त्रिवि पुस्तकालय सहजीकरण शाखा खोल्न सकेमा त्यस भेगमा उत्पादन हुने सामग्री संकलन र व्यवस्थापनमा गुणस्तर वृद्धि गर्न सकिनेछ।

पाठ्यक्रम र शैक्षिक व्यवस्थापनमा सुधार : त्रिविका पुस्तकालयहरूले हाल प्रयोग गर्दै आएका कतिपय पाठ्यपुस्तक पुराना तथा सिद्धान्तमा मात्र आधारित भएकोले समयानुकूल विश्वमा चलेका पाठ्यपुस्तक संकलन र व्यवस्थापन गर्न सके त्रिवि विश्वको बढी विद्यार्थी भएको विश्वविद्यालय मात्र होइन, प्राज्ञिक र व्यवस्थापकीय रूपमा फेरि पनि एसियाको एउटा अब्बल विश्वविद्यालय बनाउन सकिन्छ । पुस्तकालय सुधार नगरी विश्वविद्यालय सुधार्ने सपना देख्नु नाजायज हुनेछ ।  प्राविधिक विषय तथा कार्यक्रमका लागि पुस्तकालय कक्ष र अध्ययन सामग्री सँगसँगै प्रयोग गर्नु आवश्यक छ । सेमेस्टर प्रणालीमार्फत भएको सुधार तथा आकर्षणलाई पुस्तकालय संकलन, व्यवस्थापन र वितरणमा ढाल्न ढिला गर्नुपर्ने कुनै कारण छैन । त्रिविलाई अब पुरानो शाखमा हैन नयाँ भाष्य (डिस्कोर्स)मा प्रवेश गराउने समय आयो ।  एमफिल तथा पिएचडी लगायतका कार्यक्रम पढाएर मात्र पूरा हुने तह होइनन् । यस्ता तहलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका अध्ययन सामग्री उपलब्ध गराउन पुस्तकालयको क्षमता अभिवृद्धि गर्नुपर्छ । नयाँ अनुसन्धानको निष्कर्ष ल्याउन र तिनमाथि विद्यार्थीलाई पहुँच दिन सकियो भने अनुसन्धानमा सहयोगी हुनसक्छ । संसारमा विश्वविद्यालयको गुणस्तर अध्ययन, अध्यापन भन्दा अनुसन्धानले निर्धारण गर्न थालिसक्यो । संसारमा ख्याति प्राप्त विश्वविद्यालयहरूसँग सम्बन्ध कायम गर्दै अनुसन्धान र तिनको प्रकाशनमा सहकार्यको थालनी गर्न सकिन्छ।

अध्ययन, अनुसन्धानमा सुधार : विश्वविद्यालयहरूको प्रगति र उन्नतिको मुख्य आधार भनेको त्यसको प्राज्ञिक र अनुसन्धानमा भएको विकास नै हो । विगतमा त्रिविमा सेडा, सेरिड, सिनास र रिकास्ट जस्ता अनुसन्धान केन्द्रहरू एकअर्कोमा प्रतिस्पर्धात्मक रूपमा काम गर्ने र विश्वविद्यालय मात्र होइन, समग्र मुलुकको आर्थिक, सामाजिक, ऐतिहासिक तथा वैज्ञानिक क्षेत्रमा आवश्यक सल्लाह दिने हैसियत राख्थे । तर अहिले यी सबै संस्था कर्मचारीको तलब व्यवस्थापनमा रुमल्लिइरहेको देखिन्छ । तिनका पुस्तकालय कामकाजी छैनन् । अनुसन्धान केन्द्रका पुस्तकालय त्रिविकै अर्को अनुसन्धान केन्द्रले निकाल्ने जर्नल संकलन गर्दैनन् । अनुसन्धान गर्ने शिक्षक पैसाका कारण गर्न नसकिएको तर्क गर्छन् जबकि पुस्तकालय अनुसन्धानको प्रमुख साधन हो । अनुसन्धाताले आफ्ना कार्यालयका पुस्तकालय कामकाजी बनाउन घच्घच्याउनु, फुक्र्याउनु र धम्क्याउनुसम्म जरुरी छ।

(पुस्तकालय अधिकृत, त्रिभुवन विश्वविद्यालय)

प्रकाशित: १४ भाद्र २०७५ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App