coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

पाइलट प्रधानमन्त्री प्रधानमन्त्री पाइलट

अठार वर्ष लामो व्यावसायिक पाइलटको सफल जीवन बिताएका राजीव गान्धीलाई विशेष घटनाक्रमले चालीस वर्षकै उमेरमा भारतको छैटौँ प्रधानमन्त्री हुने मौका मिलेको थियो। यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जेट विमानको पाइलट भएको घोषणा गरे । एउटा शक्तिशाली प्रधानमन्त्रीको अब जेट विमानको पाइलट बन्ने घोषणाले पाइलटको महत्व, जिम्मेवारी तथा आकर्षण एकै पटक चुलीमा पु-याएको छ । अहिलेको दुनियाँमा असम्भव भन्ने केही छैन । कुनै समय दुई वर्षभन्दा लामो समय लाग्ने पाइलटको शिक्षा (ट्रेनिङ) हालका दिनमा एक वर्षकै अवधिमा पूरा हुने व्यवस्था छ । विलक्षण प्रतिभाका धनी केही यस्ता पाइलट पनि छन्, जसले छ महिनाकै छोटो अवधिमा व्यावसायिक पाइलट मात्र हैन पाइलटलाई प्रशिक्षण दिने प्रशिक्षक (इन्स्ट्रक्टर)  पाइलटको प्रमाणपत्र (लाइसेन्स) समेत सानै उमेरमा हासिल गरेको दृष्टान्त आफ्नै देशमा कायम छन् । विगत लामो समयदेखि अखबारहरूमा आइरहेको ‘निगममा पाइलटको चरम अभाव’को समाचारले होस् वा ‘न्यू पाइलटस् डिमान्ड’को विश्वव्यापी चर्चामा रहेको विषयले होस्, प्रम ओलीको पाइलट मात्र हैन जेट विमानकै पाइलट भएर देशलाई जेट विमानको तीव्र गतिमा अगाडि लिएर जाने अठोटले नेपाली जनमानस तरंगित भएको छ।

एकातिर आफ्नै देशको राष्ट्रिय ध्वजावाहक (नेवानि) पाइलटको चरम अभावबाट कठिन परिस्थिति भोगिरहेको छ भने अर्कोतिर अमेरिकाको बोइङ जेट विमान बनाउने कम्पनीको अनुमानअनुसार एसिया प्यासेफिकमा मात्र २ लाख ४८ हजार नयाँ पाइलटहरूको आवश्यकता निकट २० वर्षभित्रै पर्नेछ । तुलनात्मक दृष्टिमा यही संख्या अमेरिकामा १ लाख १२ हजार, युरोपमा १ लाख ४ हजारको हाराहारी पुग्न आउँछ भने मिडिइस्ट, ल्याटिन अमेरिका, सिआइएस÷रुस तथा अफ्रिकी आदि मुलुकहरूमा पनि ठूलै संख्यामा पाइलटको खाँचो पर्नेछ । भएका विमान उडाउनका निमित्त देशमा पाइलटको चरम अभाव भइरहेका बेला सम्पूर्ण देशलाई जेट विमानको गतिमा उडाउन सकेमात्र छोटो समयमा समृद्धिका विभिन्न गन्तव्यसम्म पुग्न सकिने विश्वासमा उक्त विमानको पाइलट आफैँ हुने प्रम ओलीको अठोटले युवा पिँढीलाई पाइलट प्रोफेसनप्रति झनै बढी आकर्षण गर्ने सकारात्मक सन्देश दिएको छ। विगतका समयमा सरकार चलाउनेहरू कसैले देशलाई ट्रयाक्टर, माइक्रो बस, टेम्पोका गतिमा चलाए भने तिनै गतिका परिणाम हुन देशको अहिलेको यो चौतर्फी दुर्गति । पाइलट प्रधानमन्त्री राजीव गान्धीले भारतमा ल्याएका थुप्रै सुधारमध्ये देशको कायापलट गर्ने बीजको प्रत्यारोपण गरे ‘इन्फर्मेसन टेक्नोलोजी’को क्रान्तिकारी प्रवेशद्वारा। प्रमका रूपमा उनले ‘नेसनल इन्फर्मेसन सेन्टर’को स्थापना गरेर सदियौँ विदेशी सामानको निर्यात निषेध गरिएको देशमा कम्प्युटर आयात गर्न सुगम बनाउँदै ‘टेक्नोलजी मिसन’को स्थापना गरे, जसले आजका दिनमा भारतका कुनाकुनाका गाउँहरूमा पनि सञ्चारको जालो फिँजाउन सहयोग ग¥यो । धनी तथा सम्पन्नताको प्रतीक मानिने टेलिफोन, त्यही बेलादेखि ग्रामीण भेगका गरिब बस्तीहरूसम्म पनि पुग्न सफल भयो । भारत आज इन्फर्मेसन टेक्नोलोजीमा विश्वमै औँलामा गनिने मुलुकमा पर्छ।

धेरै नेपालीहरूलाई प्रम ओली वाम विमानका मात्र पाइलट बन्नेछन् भन्ने पत्याउन गाह्रो पर्छ । देशलाई जेटको गतिमा गन्तव्यसम्म पु-याउने अठोट तथा क्षमता राख्ने व्यक्तिले नेकपाको ‘नयाँ ब्रान्डको जहाज’ मात्र उडाएर बस्लान् भन्ने कुरा पनि आफैँमा युक्तिसंगत देखिँदैन । पढेर, देखेर, सुनेर वा भोगेर सिक्ने मानिसको स्वभावबाट परिचित पाइलट ओलीले आफ्नो गहन जिम्मेवारी राम्ररी बुझेका छन् भन्ने कुरामा कुनै शंका गर्ने ठाउँ नदेखाउलान्, हाललाई यही सोचौँ।

प्रम ओलीको सपना देख्ने बानीबाट सम्पूर्ण नेपाली परिचित छन् । हावाबाट बिजुली निकाल्ने, घाम (सौर्य) बाट विद्युत् उत्पादन गर्ने, प्रत्येक घरमा ग्यासको पाइपलाइन जडान गर्ने, जल यातायात सुरु गर्ने, रेल ल्याउने आदि इतयादि कुनै पनि कुरा असम्भव होइनन् । कसैकसैले ठट्टा ठाने पनि, दृढ इच्छाशक्ति, निश्चित कार्ययोजना हुँदा निर्धारित समयमै सम्पूर्ण कुरा अवश्य सम्भव हुनेछन् । सपना सबैले देख्छन् । राष्ट्रको चौतर्फी विकास समयमा पूरा गर्न, देशको जेट विमान विभिन्न गन्तव्यमा पु-याउन, ओलीका आफ्नै सपना तथा कार्ययोजना होलान् । नेपालको कायाकल्पका निमित्त सपना, सोच, संकल्प तथा सम्पूर्ण नेपालीको सहकार्य अनिवार्य हुन्छ । जसरी विमान कुनै गन्तव्यका निमित्त उड्नुअघि तयार पारिएको उडान योजना (फ्लाइट प्लान) मा उड्ने गन्तव्य (डेस्टिनेसन), गन्तव्यसम्म पुग्ने समय (टाइम), पूर्व निर्धारित मार्ग (पिडिआर), बाटोमा पर्ने मुलुकहरूसँगको सम्पर्क (असल सम्बन्ध), बाटामा आइपर्ने मौसमी जटिलता (रुट वेदर), गन्तव्यसम्म पुग्नका निमित्त आवश्यक पर्ने इन्धन (फ्युल) कुनै कारणवश गन्तव्यसम्म पुग्न कठिनाइ पर्दा अर्का विकल्पमा सकुशल पुग्न सक्ने इन्धन (अल्टरनेट फ्युल), जगडा इन्धन (रिजर्भ फ्युल) को साथै गन्तव्यमा पुग्ने निश्चित समय (इटिए) इत्यादि थुप्रै कुराहरूको विस्तृत अध्ययन तथा बन्दोबस्त समावेश हुन्छ । देशको जेट विमान प्रम ओलीको नेतृत्वमा सफलतापूर्वक सञ्चालन हुने आधारहरू स्थापित हँुदै जाने दृश्यहरू हेर्न सबै नेपाली उत्सुक छन् । करेक्ट डिसिजन (सही निर्णय), प्रम्ट डिसिजन (तत्क्षण निर्णय) तथा रिजिड डिसिजन (दृढ निश्चय) जस्ता थुप्रै आवश्यक गुणहरूमध्ये तीन गुणहरूले नै पाइलटको ज्ञान, गुणस्तर तथा विलक्षण प्रतिभाको प्रमाण निरन्तर प्रदर्शित गरिरहेको हुन्छ । देशलाई आधुनिक युग सुहाउँदो जेट विमानको रफ्तार तथा उचाइमा उडाउने प्रम ओलीको अभिलाषालाई बीचमा आइपर्ने चुनौती तथा अवरोधका बादल खडा गर्ने उद्देश्य लिएर बसेका विरोधी तथा अन्य विषम परिस्थितिबाट जोगाएर विमानलाई देश निर्माण तथा समृद्धिको गन्तव्यसम्म पु-याउने कौशल तथा चातुर्य देखाउन सके विश्वले एउटा चमत्कार देख्न पाउँथ्यो भने सम्पूर्ण नेपालीले गर्व गर्ने इतिहास पनि रचिने थियो । जिन्दगी एक मिनेटमा बदलिने हैन, त्यसमा पनि आफ्ना प्रत्येक महत्वपूर्ण मिनेटको सदुपयोग गरेर देशलाई जरूर बदल्न सकिन्छ।

(राष्ट्रिय ध्वजावाहकका सेवानिवृत्त पाइलट)                                                       

 

प्रकाशित: १२ भाद्र २०७५ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App