६ वैशाख २०८१ बिहीबार
विचार

छोरी जोगाउने चिन्ता

कञ्चनपुरमा १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक साता नपुग्दै काभ्रेस्थित तिमाल गापा–९ वर्षीया एलिसा तामाङको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भयो। यसरी नै केही समययता लगातार बलात्कारका घटना सार्वजनिक भइरहेका छन्। बलात्कृत हुने र मारिनेमा शिशुदेखि वृद्धासम्म छन्। बलात्कारजस्तो जघन्य अपराधमा संलग्न हुनेमा नजिकका छिमेकी, आफ्नै बाबु, दाजुदेखि प्रहरी स्वयं नै  हुने गरेका छन्।

यसले के देखाउँछ भने हरेक आमालाई पलपलमा छोरी जोगाउने चिन्ता छ। आमाहरूलाई एकातिर घरको काम,अर्कोतिर कार्यालयको जागिर अनि छोरी जोगाउने चिन्ता।  यतिसम्म कि एउटी आमालाई आफ्नै बाबुसँग छोरी छाडेर बाहिर निस्कनसमेतडराउनुपर्ने अवस्था छ। त्यतिमात्र हैन, छोरी विद्यालय पठाउँदासमेत ढुक्क हुने स्थिति छैन ।दिनैजस्तै यस्ता आपराधिक घटना बढ्दै जान थालेपछिहाम्रो समाज छोरीहरूका लागि असुरक्षित हुन थालेको देखिएको छ।

आपराधिक मानसिकता बोकेका पुरुषहरूछोरीहरूको अस्मिता लुटेर सिंगो मुलुकलाई नै कलंकित बनाउँदैछन्। अबोध बालिका बलात्कृत हुन्छिन्, मान्छे आन्दोलित हुन्छन् अनि  सरकार ‘राहत’ दिएरबलात्कृत बालिकामाथि पटक–पटक बलात्कार गर्छ। मानौँ, राहत पाउने भएपछि अझ धेरै छोरी बलात्कृत हुँदैजाउन्। यतिसम्म कि राजनीतिक दलहरूले समेत बलात्कारपछि हत्या गरिएको शवमाथि राजनीति गर्न थाल्छन्।

बलात्कार जस्तो अमानवीय र जघन्य अपराध रोक्न राज्यस्तरबाट पनि खासै पहल भएको छैन । एकातिर भएकै कानुन अपुग छन् भने अर्कोतिर तिनै कानुनअनुसार पनि पीडकलाई कारबाही नहुँदा आपराधिक मानसिकता बढेको छ । बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्ने हो भने केही हदसम्म मानिस डराउँथे तर भएका ऐन, कानुनअनुसार बलात्कारीलाई सजायँ भएका थोरै घटनामात्रै छन् । उच्च नेतृत्वमा रहेकालाई बलात्कारको मुद्दा उठाउन बलात्कार हुनैपर्ने अवस्था छ ।आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई यस्तो सजाय होस् कि समाजमा अरु बाबुहरूले छोरीमाथि बलात्कारको कल्पनासमेत नगरुन् । तर यहाँ त छोरीहरू बलात्कृत हुँदा पनि त्यसलाई राजनीतिका लागि ऊर्वर वातावरण ठानिने सोच बढ्दै जानु चिन्ताको विषय बन्न पुगेको छ।

नेपाल प्रहरीकै तथ्यांकले पनि पछिल्लो समय बलात्कार र बलात्कार प्रयासका घटना  बढेको देखाएको छ । अघिल्लो साउनदेखि असार मसान्तसम्म देशभर१ हजार १ सय ३७ बलात्कारका घटना भएजबकि अघिल्लो वर्ष यो संख्या१ हजार ८१ थियो । पछिल्लो ३–४ वर्षमा बलात्कारका घटनाको आकार वृद्धि भएको यसरी पनि थाहा पाउन सकिन्छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ हजार ८ वटा बलात्कारका मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७३/०७४ मा एक सय ४३ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । त्यस्तै ललितपुरमा आर्थिक वर्ष २०७१/०७२ मा १७ वटा, आर्थिक वर्ष ०७२/०७३मा ११ वटा र ०७४ मसान्त सम्ममा १० वटा बलात्कारका  उजुरी परेका छन् । केन्द्रीय अपराध अनुसन्धान महाशाखाकाअनुसार  बलात्कारका घटना बढेसँगै प्रहरीमा उजुरी दिने क्रम पनि बढेको छ ।  देशभरको तुलनामा उपत्यकामा बलात्कार घटनामा धेरै उजुरीको तथ्यांकले यसको शृंखला भयाबह हुन थालेको पाइन्छ । यसरी नै छोरीहरूमाथि बलात्कार बढ्दै जाने हो भने केही वर्षपछि छोरीहरू बलात्कृत  नहुने ठाउँ कहाँ छ ? भनेर खोज्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । त्यतिबेला हाम्रो समाज विश्वमा कसरी चिनिन्छ होला ? के सोच्न ढिलो भएन र?

प्रकाशित: १७ श्रावण २०७५ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App