असल समाज निर्माण गर्ने उपयुक्त तरिका के हुन सक्छ ? उत्तर सजिलो छ, सबैका लागि शिक्षाका साथसाथै ज्ञान आर्जन गर्ने केन्द्रहरूका ढोका खोलिनुपर्छ । पुस्तकालय नै ज्ञानको संग्रहालय हो । शताब्दीयाैं अगाडि फ्रान्सिस बेकनको तर्क थियो, ज्ञान नै शक्ति हो।
चीन उदाउनुको कारण राजनैतिक र आर्थिक समथ्र्यमात्र होइन, ज्ञान उत्पादनका लागि गरिएको लगानी पनि हो । विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा चीनका विश्वविद्यालयहरूले गरेको बढोत्तरीले चीनको बढ्दो प्रभावको मापन गर्न सकिन्छ । चीनले वैज्ञानिक अनुसन्धानमा लगानी गरेको छ । फलस्वरूप पश्चिमी ज्ञान र समाज विज्ञानको एकाधिकारविरुद्ध चीनले वैकल्पिक अवधारणा र सिद्धान्तको प्रतिवादन गरी चुनौती दिँदै छ।
चीनको सार्वजनिक पुस्तकालयले ज्ञानको संग्रह अनुसन्धानको प्रयोजनका लागि मात्र गरेको छैन, संगृहीत ज्ञानलाई समाजको विभिन्न क्षेत्रमा फैलाएको पनि छ । चीनको पुस्तकालयका सामग्री विदेशीले प्रयोग गर्नुपर्दा परिचय खुलाउने पासपोर्टमात्र देखाए पुग्छ । स्वदेशीलाई भने कुनै कागजात देखाउनु पर्दैन । स्मार्ट कार्डको प्रयोगले पुस्तकालयको अनुभवलाई आरामदायी र प्रक्रियालाई छिटोछरितो बनाएको छ ।पुस्तकालयको सदस्य बन्न कुनै शुल्क लाग्दैन । किताब सापट लिन वा केही समय आफैसँग राख्न भने प्रयोगकर्ताले थोरै शुल्क धरौटी राख्नुपर्छ । पछि ती शुल्क फिर्ता लिन मिल्छ ।अब चीनसँग भारतीय सार्वजनिक पुस्तकालयलाई दाजेर हेरौँ । भारतीय पुस्तकालयको प्रशासनिक झन्झटले ज्ञानसम्मको सर्वसाधारणको सहज पहुँचलाई खुम्च्याउँछ।
त्यसैले ज्ञान इतिहासदेखि नै सीमित व्यक्तिको दायराभित्र मात्र छ । जस्तो, यदि कसैले नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु मेमोरियल र पुस्तकालयको सदस्य बन्न चाहेमा लामो प्रक्रिया पार गर्नुपर्छ । पहिचान खुलाउने कागजात (प्यान कार्ड, अफिस आइडी, विद्यार्थी आइडी ) र आपूm आबद्ध भएको संस्थाको सिफारिस वा स्वतन्त्र अनुसन्धानदाता हुँ भन्ने प्रमाण पेस गरेर मात्र पुस्तकालयको ढोका खुल्छ । सदस्यताका लागि पनि शुल्क तिर्नुपर्छ । अर्थात्, सार्वजनिक पुस्तकालयमा आम मानिसको पहुँचलाई निरुत्साहित गर्न प्रशासन लागिपरेको छ।
चीनले पुस्तकालयमा उदारतापूर्वक लगानी गरेको छ । पुस्तकालय भवनको सौन्दर्यशास्त्रमा समेत ध्यान पु¥याएको छ । अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त कालीगढ नै बोलाएर पुस्तकालय भवनको डिजाइन गरिन्छ ।हालसालै सांघार्ई पुस्तकालयले पुडोङ क्षेत्रमा आफ्नाे पूर्वी शाखा खोल्ने उद्घोष गर्यो । पुडोङ क्षेत्र अहिले वित्तीय र व्यापारिक गतिविधिको नयाँ केन्द्र बनेको छ । उक्त क्षेत्रमा पुस्तकालय बनाउने ठेक्का विदेशी कम्पनी सिमट हमर लेसेन आर्किटेक्ट्स, डेनमार्कले जित्यो।
बेइजिङस्थित राष्ट्रिय पुस्तकालयमा, चीनभित्र प्रकाशित सबै सामग्री संगृहीत हुन्छन् । चीनबाहेकका अन्य देशहरूमा प्रकाशित हुने सामग्री पनि त्यहाँ पाइन्छ । पुस्तक, पत्रिका र जर्नलहरू कागजी र इलेक्ट्रोनिक दुवै रूपमा राखिएको छ । अडियो र भिडियो सामग्रीलाई पनि जम्मा परिएको छ, जसमा टिभी नाटक र फिलिमहरू पर्छन् । चीनका पुस्तकालयहरूले ज्ञानको संग्रह मात्र गर्दैनन्, सर्वजनिक बहस गर्ने थलोका रूपमा पनि पुस्तकालयहरू उभिएका छन्।
इन्टरनेट सुविधासहितका कम्प्युटरहरू डिजिटल स्रोतसँग जोडिएको हुन्छ । इन्टरभ्युको र लेक्चरको रेकर्डिङ निःशुल्क प्रयोगका लागि राखिएको हुन्छ । जसको प्रयोग कुनै पनि व्यक्तिले दिनको चार घण्टासम्म गर्न सक्छन् ।
सबभन्दा महत्वपूर्ण कुरा त अंग्रेजी वा अन्य भाषामा प्रकाशित पुस्तकहरूलाई चिनियाँ भाषामा छिटोभन्दा छिटो अनुवाद गरिन्छ । र, अनुवाद गरिएका पुस्तकहरू पुस्तकालय र पुस्तक पसलहरूमा सजिलै पाइन्छ । यस्तो कार्यले चिनियाँहरूलाई संसारका विभिन्न भागमा भएका विकासबारे सचेत बनाएको छ।
कल्पना गर्नुस् त, परिवारका सबै सदस्यले एक दिन पूरै लाइब्रेरीमा बिताउँदा कस्तो हुन्छ ? हाम्रा लागि यस्तो कल्पना असामान्य भइदिन्छ । तर, यस्तो अभ्यास चिनियाँ सार्वजनिक पुस्तकालयका लागि सामान्य हो । चिनियाँ पुस्तकालयले बालबालिकाका लागि भनेर छुटै खण्डको व्यवस्था गरेका छन्, जसले गर्दा बालबालिकालाई सानै उमेरदेखि पढ्ने बानीको विकास गर्न सहयोग गर्छ । चीनका पुस्तकालयहरू पट्यारलाग्दा हुँदैनन् बरु यसले पुस्तकालयका प्रयोगकर्तालाई सक्रिय बनाएर उनीहरूको खानपानको आवश्यकता धरि पूरा गर्छ।
ठूलाठूला पुस्तकालयहरू पुस्तक लिन र फिर्ता गर्न चौबीसै घन्टा खुला हुन्छन् । इ–जर्नलको डाटाबेस (कहिलेकाहीँ शुल्क पनि लाग्न सक्छ) ले आम मानिसको पठन अनुभवलाई रमाइलो बनाउँछ । सेडो विश्वविद्यालय र किंनदाओ क्याम्पसले सार्वजनिक स्रोतबाट पुस्तकालय निर्माण गर्यो । यसरी निर्माण गरिएको पुस्तकालय सम्पूर्ण सहरबासीका लागि खुला छ । सार्वजनिक स्रोतबाट निर्माण गर्नु पछाडि उद्देश्य ज्ञानमा सबैको पहुँच होस् र सबैको सहभागिता र समावेशिता सुनिश्चित होस् भन्ने हो।
डिजिटल युगमा प्रविधिको प्रयोग पुस्तकालयहरूले पर्याप्त मात्रामा गरेका छन् । वेबसाइटहरूमा सम्पूर्ण जानकारी र क्रियाकलापहरू तरुन्तै राखिहालिन्छ । स्मार्ट फोन वा इन्टरनेट हुने सबैले सजिलै पुस्तकालयमा भएका पुस्तकको सूची हेर्न सक्छन्, निःशुल्क डिजिटल पुस्तक, म्यागेजिन र दस्तावेजहरू पढ्न सक्छन् । नयाँ किताब आइपुगेकोबारे पनि जानकार हुनसक्छन् ।
(लेखक सांघाई विश्वविद्यालयका सहायक प्राध्यापक हुन् । डेलिओमा प्रकाशित यस लेखको भावानुवाद रवीन्द्र ढकालले गरेका हुन्)
प्रकाशित: ३ श्रावण २०७५ ०४:१४ बिहीबार