८ वैशाख २०८१ शनिबार
विचार

कश्मीरमा परिवारका तीन जना गुमायाैँ

जुन १४ मेरो र मेरो परिवारका लागि भयानक दिन थियो। यो दिन मैले मेरा पिताको असामान्य मृत्युको डरलाग्दो खबर सुन्नुप-यो । श्रीनगरको प्रहरी विभाग पुग्दा कसैले, “उनी अब रहेनन्” भनेको आवाज सुनेँ । यो आवाज सुनेकै क्षण मेरा गोडा काम्न थालेँ । तैपनि अझै मैले आश मारिसकेको थिइनँ।

मेरो दिमागमा हजारौँ विचार उब्जिन थालेँ । उहाँ अझै अपरेसन थिएटरमै हुनुहुन्छ कि ? मतिर दौडिँदै मलाई अँगालो मार्नुहोला कि ? तथापि उहाँको भाग्य चुडिइसकेको थियो। आत्मा कतै उडेर माथि पुगिसकेको थियो । म बुझ्न सकिरहेको छैन, किन कसैले मेरो पिता सुजात बुखारीजस्ता विवेकी व्यक्तिलाई यस्तो गर्न सक्छ?

सन् १९९० मा लडाकू र सेनाबीच भएको गोली हानाहानमा मेरा पिताका काकाका दुई छोराहरूको गोली लागि मृत्यु भएको थियो। पिताको मुत्युसँगै हाम्रो परिवारले तीन जना व्यक्ति काश्मीरको माटोमा गुमाइसक्यो।  

यति सोच्दासोच्दै हजारौँ व्यक्तिहरूको भीड काश्मीर प्रहरी विभागभित्र पसिसकेको थियो । शुभेच्छुक, उहाँका साथी र परिवार सदस्यका आँखा अाँसुले भरिएका थिए । म पीडा सहन नसक्दा बेचैन थिए । पिताको पार्थिव शरीर हाम्रो पुर्खौली गाउँ लैजान एम्बुलेन्समा राखिएको थियो । म  एम्बुलेन्स चढ्दै गर्दा बेस्कन रोएँ । पिताले मृत्युलाई जितेर मलाई न्यानो अँगालोमा बेर्नुहुन्छ भन्ने झिनो आशा मरिसकेको थिएन।

मलाई यति कुरा थाहा छ, पिता सिद्धन्तनिष्ठ व्यक्ति हुनुहुन्थ्यो । उहाँ हजारौँ घृणा गर्ने व्यक्तिहरूबाट घेरिनु भए पनि उहाँले कहिल्यै तिनका विरुद्धमा नराम्रो बोल्नु भएन।

मेरो पिता विचारक हुनुहुन्थ्यो । तर, उहाँमा अंहकारको लेस पनि थिएन । उहाँ ज्ञान, परोपकार र उदारताले भरिएको हुनुहुन्थ्यो।

पिताले आप्mनो अफिसका सहकर्मीलाई कमदारजस्तो व्यवहार कहिल्यै गर्नुभएन । परिवारकै सदस्य जस्तै ठान्नुहुन्थ्यो । उहाँहरूको कामलाई उत्कृष्ट बनाउन पिता सधैँ लागिपर्नु हुन्थ्यो।

उहाँ परोपकारी हुनुहुन्थ्यो । सन् २०१४ को काश्मीरमा आएको विनाशकारी बाढीमा उहाँ एकछिन पनि घर बस्नु भएन । बाढी प्रभावित हजारौँ मानिसको उद्धारमा खट्नुभयो।

उहाँ यस्तो छोरा हुनुहुन्थ्यो, जसले आफूले हिँडेको नैतिकता र सत्यको बाटोबाट सधैँ आप्mना माता–पितालाई गौरवान्वित गरिरहनु भयो।  

उहाँले शान्तिका लागि जीवनभर काम गर्नुभयो । शान्तिकै लागि जीवन पनि दिनुभयो । काश्मीरमा निर्दोष मानिसहरूको हत्या हुने स्थिति सधैँ रहँदैन भन्ने कुरामा उहाँलाई विश्वास थियो।

पिता भाषाविद् पनि हुनुहुन्थ्यो । उहाँ काश्मीरी भाषाप्रति निकै झुकाव राख्नुहुन्थ्यो । उहाँको मातृभाषाप्रति निकै गहिरो प्रेम थियो । काश्मीरमा १० कक्षासम्म मातृभाषामै पढाउनुपर्छ भन्ने उहाँको सपना सन् २०१७ मा पूरा भएको थियो।  

उहाँ निःस्वार्थ व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई कुनै भौतिक कुराहरूको मोह थिएन । काश्मीरको शान्तिका लागि केही काम गर्न सकिन्छ कि भनेर विभिन्न महादेशका सयौँ सम्मेलनमा भाग लिनुभयो।

सन् १९९० मा लडाकू र सेनाबीच भएको गोली हानाहानमा मेरा पिताका काकाका दुई छोराहरूको गोली लागि मृत्यु भएको थियो । पिताको मुत्युसँगै हाम्रो परिवारले तीन जना व्यक्ति काश्मीरको माटोमा गुमाइसक्यो।

उहाँले छोडेर गएको विरासत निकै ठूलो छ । मलाई थाहा छैन । म कसरी उहाँको अपेक्षालाई पूरा गर्न सक्छु। उहाँ मलाई जहिले आफ्ना पिता सैयद रफिउद्धिन बुखारी जस्तो उदार बनाउन चाहनु हुन्थ्यो । काश्मीरको अंग्रेजी पत्रकारिताले थुप्रै महान् संवाददाता र सम्पादकहरू जन्मायो । केही नायक पनि जन्मिए तर, सहिद जन्माउन सकेको थिएन । अहिले दुवै छन् । उहाँ जहिले पूर्वाग्रहरहित पत्रकारिताको पक्षमा उभिनुभयो । आफ्नै भाइ राजनीतिमा हुँदा पनि उहाँको पक्ष कहिल्यै लिनु भएन।

उहाँले सिकाएका सबै व्यक्तिसँग उहाँ भावनात्मक रूपमा जोडिनु भएको थियो र उहाँलाई उनीहरूले एक प्राधिकारका रूपमा लिने गरेका थिए । बुबालाई चाहने व्यक्तिहरू थुप्रै थिए । त्यसैले पनि ‘राइजिङ कश्मीर’ पत्रिका दश वर्षभन्दा छोटो अवधिमा जम्मु कश्मीरकै सबभन्दा प्रख्यात र सबैको प्रिय बन्नु कुनै आश्चर्यको कुरा भएन।

अल्लाहले चाहनुभएको भए, दुई वर्ष अगाडि नै उहाँको हृदयघातका कारण मृत्यु भइसक्थ्यो । अल्लाहले उहाँलाई रमादानको पवित्र दिनका लागि बचाएर राख्नु भएको रहेछ । उहाँलाई स्वर्गका सबै आशीर्वाद प्राप्त होऊन्।  

(हालै हत्या गरिएका पत्रकार सैयद सुजात बुखारीका छोरा तम्हिद सुजात बुखारी कश्मीर भ्याली स्कुल, हुमामामा कक्षा १० मा पढ्छन् । पिता संस्थापक रहेको पत्रिका ‘राइजिङ कश्मीर’मा छापिएको यो लेखलाई रवीन्द्र ढकालले अनुवाद गरेका हुन् ।)

प्रकाशित: ११ असार २०७५ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App