२७ श्रावण २०७७ मंगलबार
विचार

ग्राम्स्की, नेपाल र युरो कम्युनिज्म

पहिलो विश्वयुद्धमा इटाली सम्मिलित गुटमा थियो । यो गुटमा बेलायत, अमेरिका, फ्रान्स, जपान, रुस, चीनलगायतका २८ राष्ट्र थिए । बबरशमशेरको नेतृत्वमा सैनिक फौज पठाएर नेपालले पनि यही गुटलाई समर्थन गरेको थियो । कारण थियो– यो गुटमा बेलायत रहनु । प्रथम विश्वयुद्धको समाप्तिसँगै सन् १९१९ मा मुसोलिनीले फासिस्ट पार्टी स्थापना गरेर इटालीमा संसदीय व्यवस्था र लोकतान्त्रिक पद्धतिलाई दमन गरे । उनको कोपभाजनमा परेका पात्रमध्ये थिए– एन्टिनियो ग्राम्स्की । 
ग्राम्स्की लेनिनका नजिकका साथी र इटालीमा बोल्सेभिक प्रतिनिधिका रूपमा रहे । उनले सन् १९२१ मा इटालीको कम्युनिस्ट पार्टी निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गरे ।सन् १९२४ मा पार्टी प्रमुख भएकाउनी मुसोलिनीले इटालीमा आपतकाल घोषणा गरेपछि गिरफ्तार भए । जेलमा दिइएको अत्यधिक यातना र क्षयरोगका कारण उनको २७ अप्रिल १९३७ मा ४६ वर्षकैदुःखद निधन भयो । 
सङघर्षमय जीवनयात्रामा ग्राम्स्कीले माक्र्सवादको नवीन आधारमा समीक्षा र प्रचार गरेका छन् । उनले आर्थिक वा राजनीतिक क्रान्तिले मात्र पुँजीवादी राज्यका आधार समाप्त गर्न सकिँदैन, त्यसका लागि सर्वहारा वर्गले वैकल्पिक संस्कृतिनिर्माण गर्नुपर्छ भनी सांस्कृतिक वर्चस्वको सिद्धान्त प्रतिपादन गरेका छन् । उनी राज्यको चरित्र परस्पर अन्तर्विरोधी मान्छन् । तर माक्र्स सर्वहारा क्रान्तिपछिको एउटा निश्चित समयको संक्रमणपछि राज्य विलोप हुने मान्छन् । राज्य विलोप हुन सशस्त्र सैन्यबल, तलवी कर्मचारीतन्त्र र पेशेवर राजनीतिज्ञ हुनुहुँदैन । 
नेपाली कम्युनिस्ट आन्दोलनमा राज्य विलोप हुने स्थिति आएन । नेपाली समाज त उल्टो राज्यको शोषणबाट पो पीडित छ । संसारमा त्यस्तो कुुनै राज्य छैन, जो शोषणबिना शक्तिशाली भएको छ । समाजको आवश्यकताले राज्य गठन हुन्छ र गठनपछि राज्यले शोषण सुरु गर्छ भन्ने ग्राम्स्कीको मत नेपाली कम्युनिस्ट आन्दोलनसँग मिल्दोजुल्दो छ । किनकि नेपाली क्रान्तिपछि सर्वहारालाई जसरी राज्य प्राप्त भएको छ, प्राप्त भएको राज्य विलोप गर्नेतिर सर्वहाराहरू छैनन् । 
माक्र्स तलवी कर्मचारीतन्त्रलाई आफैँमा एउटा वर्ग मान्छन् । माक्र्स भन्छन्– राज्य र राजनीतिको चरित्र नोकरशाही र लालफित्ताशाही रहुन्जेल पार्टी संगठन र सत्ता संगठनको शक्तिको आडमा विशेष सुविधा सम्पन्न वर्ग जन्मिन्छ । नेपाली समाजमा कर्मचारीतन्त्रको वर्ग त थियो नै, कम्युनिस्टहरू सत्तामा गएपछि अर्को नयाँ वर्ग जन्मियो । जहाँ श्रमिक–किसानको औसतस्थिति र कम्युनिस्ट क्रान्तिपछि सत्ताको पदसोपानमा सत्तासीनहरूको औसतस्थितिमा देखिने ठूलो अन्तरले प्रस्ट्याउँछ । त्यसैले नेपाली समाजमा वर्गविहीनता असम्भवप्रायः छ । यस्तै असम्भवप्रायः छ– निजी सम्पत्तिको समाप्ति र उत्पादनका साधनहरूको सामूहिकीकरण । मजदूर–किसान, जनता–संगठक–कार्यकर्ता, शहीद–योद्धा–लडाकुले अतिरिक्त समयमा विभिन्न किसिमको लगानी गरेर सिर्जना गरेको शक्ति सीमित नेताहरूले मात्र उपयोग गर्ने स्थिति बन्नु पुँजीपतिहरूले अतिरिक्त मूल्य असुल्नुभन्दा फरक छैन । यस्तो स्थिति हुनु भनेको लेनिनवादी संगठनात्मक सिद्धान्त कार्यान्वयन नहुनु होइन ?
बालिग मताधिकारका आधारमा दलहरू सत्तामा आउने र जाने प्रक्रिया एवम् दलीय प्रतिस्पर्धालाई स्वीकार्नु नेपाली कम्युनिस्ट आन्दोलनको विशेषता बन्न आइपुगेको छ । यस्तै बन्न आइपुगेको विशेषता हो– लोकतन्त्रका संसदीय नियम र शान्तिपूर्ण सत्ता हस्तान्तरण तथा संविधानवादका सिद्धान्ताहरूको अनुमोदन एवम् आर्थिक विकासका अवसरहरूको रक्षा, जनप्रतिनिधिमूलक व्यवस्था, नागरिक सर्वोच्चता र मानव अधिकार । यस्ता विशेषता पश्चिमी युरोपका विभिन्न देशको कम्युनिस्ट आन्दोलनमा देखापरेको थियो जसलाई सन् १९७५ पछि युरो कम्युनिज्म भनिएको छ । 

प्रकाशित: १० जेष्ठ २०७५ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App