१५ आश्विन २०७७ बिहीबार
विचार

जननायक कि खलनायक ?

‘क्रोनी क्यापिटलिज्म’ अर्थात् ‘याराना पुँजीवाद’ हाम्रो मुलुकमा समेत फस्टाउँदै गएको देखिन्छ । शुद्ध नेपालीमा यसलाई ‘हजुरिया पुँजीवाद’ भने पनि फरक पर्दैन । आफ्ना आसेपासेलाई राजनीतिक प्रभावका आधारमा कमाउने मौका दिनु नै याराना पुँजीवादको लक्षण हो । विशेषगरी जनआन्दोलन २०४६ र २०६२÷६३ को जनआन्दोलनपछि यसले फस्टाउने मौका पाएको छ । यी परिवर्तनपछि उदाएको नवधनाढ्य वर्ग ‘क्रोनी क्यापिटलिज्म’ का नमुना हो । उसो त ‘क्रोनी क्यापिटलिज्म’ लाई तत्कालीन निरंकुश पञ्चायत प्रणालीमा पनि उत्तिकै प्रचलनमा ल्याइएको थियो । तत्कालीन शासन व्यवस्थाका निकटस्थलाई व्यापार–व्यवसायका लागि दिइएको कोटा प्रणाली यसैको उपजका रूपमा रह्यो । मुलुकमा प्रजातन्त्र वा लोकतन्त्र स्थापनापछि गुणमा आधारित शासन व्यवस्था सञ्चालन हुने अपेक्षाविपरीत फेरि पनि पुरानै ढर्रामा आफू निकटलाई सहज बनाउने ढंगले काम भइरहेको देखिएको छ । अन्ततः ‘क्रोनी क्यापिटलिज्म’ ले लोकतान्त्रिक शासन व्यवस्थालाई जनमुखी हुन त दिँदैन नै, सँगै नेताहरूलाई भ्रष्टाचारको पर्यायवाची बनाउने खतरा रहन्छ । पछिल्ला वर्षहरूमा विशेषगरी राजनीतिक व्यक्तिहरूको प्रभावमा व्यापार–व्यवसाय विस्तार गर्ने चलन बढ्न थालेको देखिएको छ । कुनै खास व्यक्तिको रातारात आर्थिक उन्नति हुन थालेको देखेपछि सर्वसाधारणले उसको निकटतामा रहेका नेतालाई जोडेर हेर्ने चलन पनि सुरु भइसकेको छ । यसमा सम्बन्धित नेताले जतिसुकै अस्वीकार गरे पनि लाभान्वित व्यक्तिले भने त्यो निकटताको फाइदा उठाइरहेको देखिन्छ। 

आज केन्द्रमात्र होइन, प्रदेश र स्थानीय तहमा समेत सरकार छन् । ती सरकारमा रहेका व्यक्तिले भ्रष्टाचारजन्य आजको व्यवहारबाट भोलि अपमानपूर्वक काराबास भोग्नुपर्ने भयावह अवस्थालाई आजैदेखि अनुभूत गर्नु आवश्यक छ । हिजोका जननायक आजका खलनायक नबनून्।

नेतालाई निकटमा राखेर आफ्नो व्यापार–व्यवसाय विस्तार गर्नेलाई यसले खासै प्रभाव पारेको देखिएको छैन । हाम्रो मुलुकमा यस्तो अभ्यासलाई धेरै आपत्तिको विषय पनि मानिएको छैन । कालान्तरमा यसले पार्न सक्ने प्रभावप्रति सरोकारवाला नेताहरूको ध्यान जानु आवश्यक छ । यति बेला विश्वका विभिन्न मुलुकमा नेताहरू भ्रष्टाचारको आरोपमा थुनामा परिरहेका छन् । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गेउन हाय भर्खरै २४ वर्ष लामो जेल जीवनमा प्रवेश गरेकी छन् । उनले आफ्नी मित्रको प्रभावमा परेर गरेको निर्णयका आधारमा राष्ट्रपति पदबाट हातमात्र धुनुपरेको छैन, कारावास जीवनको कहालीलाग्दो अवस्थामा पुग्नुपरेको छ । शक्तिको उन्मादमा रहेका बेला जेसुकै गर्न सक्छु भन्ने पर्न सक्छ तर राज्यका संस्थाहरू बलिया भए र नागरिकले पनि आफूलाई सजग तुल्याए भने यस्ता अभ्यासबाट लाभान्वित हुनेहरूले बेलैमा कानुनको कठघरामा उभिनुपर्ने दिन आउन सक्छ । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा पनि भ्रष्टाचारको आरोपमा सत्ता गुमाउनेमध्येका एक हुन् । सार्क राष्ट्रभित्रकै पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले पनि पद गुमाएका छन् । उनको नाम ‘पानामा पेपर्स’ प्रकरणमा समेत जोडिएको थियो । त्यस्तै अर्को सार्क मुलुक बंगलादेशमा विपक्षी नेतृ खालिदा जियाविरुद्ध पनि भ्रष्टाचारको आरोपमा जेलसजाय तोकिएको छ। उनले बंगलादेशमा १० वर्षसम्म प्रधानमन्त्रीका रूपमा शासन चलाइसकेकी छन् । ब्राजिलका पूर्वराष्ट्रपति लुला दा सिल्भाविरुद्ध पनि भ्रष्टाचारमा १२ वर्षको कैद सजाय भएको छ । पेरुका पूर्वराष्ट्रपति पेड्रो पाब्लो कुज्यन्सीलाई पनि भ्रष्टाचारकै आरोपमा १८ महिना देश छाड्न प्रतिबन्ध लागेको छ। 

देश र जनताको भाग्य र भविष्यका निम्ति संघर्षरत नेताहरू भ्रष्टाचारमा मुछिएर पदमुक्त हुन पर्नु दुःखद अवस्था हो। क्रान्ति र आन्दोलनका बेला नेताहरू आस्थाको धरोहरका रूपमा हुन्छन् तर तिनै व्यक्ति ‘क्रोनी क्यापिटलिज्म’ को चंगुलमा परेपछि आलोचनाको पात्र बन्न पुग्छन् । त्यतिमात्र होइन, ती आस्थाका धरोहर विकृति÷विसंगतिका पर्यायमा अनुदित हुनु जनताका निम्ति पनि दुःखको विषय हुन्छ । त्यति बेला आफूले विश्वास गरेका व्यक्तिबाट घात भएको महसुस हुन्छ । कुनै एक तानाशाही शासकबाट शासित हुन अस्वीकार गर्दै जनताकै छोराछोरीलाई राज्यका उच्च स्थानमा पु¥याएपछि तिनीबाट मुलुकप्रति न्याय हुने अपेक्षा हुनु स्वाभाविक हो तर स्वार्थ समूहको प्रभावमा परेर यस्ता नेताहरूले आफूलाई खलनायकमा रूपान्तरण गर्ने खतरा रहन्छ । यसै पनि राज्यको सम्पत्ति चोर्ने काम राजनीतिक व्यक्तिको संलग्नताबाटै हुने गरेको छ । राज्य र नागरिकलाई प्रत्यक्ष घाटा गराई केही खास व्यक्तिलाई फाइदा हुने काम नै भ्रष्टाचार हो । विश्व बैंकका अनुसार प्रत्येक वर्ष भ्रष्टाचारका कारण एक खर्ब डलर अपचलन हुने गरेको छ । यसले भ्रष्टाचारको भयावह अवस्था उजागर गर्छ । हाम्रा बाटाघाटाको दुरवस्थाले भ्रष्टाचारको चरम रूप उजागर गरिरहेको छ । गाउँमा सिटामोल पाइँदैन । स्कुल, कलेज र स्वास्थ्यकेन्द्रको अवस्था कहालीलाग्दो छ । निश्चित व्यक्तिले नीतिगत भ्रष्टाचार गरी कमाएको रकमले धनी र गरिबबीचको अन्तर झनै बढाएको छ। आखिर भ्रष्टाचार गरेरै बढी सुविधा लिने र आफ्ना सन्तानलाई राम्रो शिक्षादीक्षा दिन सक्ने अवस्थामा एकथरी छन्। अर्काथरी जो रातदिन मेहनत गर्छन् तर राम्ररी जीविका चलाउन पनि सक्दैनन् । आज केन्द्रमात्र होइन, प्रदेश र स्थानीय तहमा समेत सरकार छन् । ती सरकारमा रहेका व्यक्तिले भ्रष्टाचारजन्य आजको व्यवहारबाट भोलि अपमानपूर्वक काराबास भोग्नुपर्ने भयावह अवस्थालाई आजैदेखि अनुभूत गर्नु आवश्यक छ । हिजोका जननायक आजका खलनायक नबनून्। 

प्रकाशित: १० वैशाख २०७५ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App