७ वैशाख २०८१ शुक्रबार
विचार

राष्ट्रको आचारजन्य पहिचान

उहिल्यैदेखि अनेक धर्म सम्प्रदायमा बाँडिएका थिए चिनियाँहरू । तर ती विभिन्न सम्प्रदायका बीच पनि सांस्कृतिक तहमा भने प्रशस्त एकरूपता थियो । उदाहरणका निम्ति धर्मभीरु, परम्परा र अन्धविश्वास प्रायः सबै चिनियाँका स्वभावको अंश थिए।

१९४९को क्रान्तिपछि धेरै समय नबित्दै चिनियाँले मान्ने गरेका अनेक रूपका ‘ईश्वर’लाई माओले प्रतिस्थापित गरिदिए। ‘सांस्कृतिक क्रान्ति’पछि चीन जब तङ् युगमा प्रवेश गर्‍यो, चिनियाँले न ईश्वरको पूजा गरे, न माओको । यी दुवैलाई पैसाले प्रतिस्थापित गरिदियो र चिनियाँहरू पैसाको पूजा गर्न थाले।

विगत डेढ दुई दशकयता चिनियाँ नेताहरू समाजमा कसरी नैतिक मूल्य मान्यता स्थापित गर्ने भनेर चिन्तित छन् । यस्तो चिन्ता अभिव्यक्त हुनु चीन र चिनियाँका लागि निश्चय नै राम्रो कुरा हो।भर्खरै मात्र एउटा लोकतान्त्रिक संघीय गणतन्त्रका नागरिक भएका हामी नेपालीले यसबाट सिक्नुपर्ने पाठ महत्वपूर्ण छ । यस्तो चिन्ता हाम्रा लागि झनै स्वाभाविक र आवश्यक हुन्छ ।

विशृंखलताको सिद्धान्त (केयस् थ्योरी) ले भन्छ, कुनै पनि संवेदनशील प्रणालीमा प्रस्थान बिन्दुमा भएको अति सानो हेरफेरले पनि गन्तव्यमा पुग्दा अकल्पनीय फरक पार्न सक्छ। गणतन्त्रमा पदार्पण गर्दाको यो प्रारम्भिक कालखण्डमा राष्ट्र, राज्य, जनता सबै त्यस्तै ‘संवेदनशील प्रणाली’का अंग बनेका छन् । हरेक कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।‘समृद्धि’ भन्ने शब्द सबैको मन्त्र भइरहेको यो बेला, राष्ट्रको एउटा महत्वपूर्ण पाटोलाई पूर्णतया बिर्सिएझैँ देखिन्छ, सिंगो राष्ट्रको आचारजन्य पहिचानको पाटोलाई।

विभेद, भ्रष्टाचार, अन्यायविरुद्ध शून्य सहनशीलता भएको देशका रूपमा नेपाललाई चिनोस् विश्वले । अनि मात्र हाम्रो राष्ट्रिय पहिचान बन्छ– सदाचारजन्य राष्ट्रिय पहिचान!


नागरिकको सांस्कृतिक गुणवत्ताले नै राष्ट्रको पहिचान बनाउने हो । राज्यद्वारा ‘अनुशासन’का नाममा थोपरिएका केही कर्मकाण्डले केही हदसम्म मानिसका बोलिचाली, व्यवहार आदिलाई केही समय प्रभावित र निर्देशित गर्न सक्छन्। एकदलीय शासनपद्धति भएका धेरै देशमा यस्तो हुने गरेको छ।

तर नागरिकको गुणवत्ता वा राष्ट्रको सुसंस्कृति निर्धारित हुने र मलजल हुने चाहिँ राज्यद्वारा थोपरिएको अनुशासनमा हैन, नागरिकभित्रको स्वस्फूर्त आन्तरिक अनुशासनमा हो । यस्तो स्वानुशासनको विकासका निम्ति उचित परिस्थिति तयार गरिदिने कामसम्म राज्यको हो । त्यस्ता कामभित्र उचित ऐन कानुनको निर्माण र कार्यान्वयन पनि पर्छन्, तर ती नै सबथोक भने हैनन्।

ती भन्दा धेरै महत्वपूर्ण कुरा हुन्छ, आचारका बारेमा सत्ताधारीको बुझाइ र त्यो बुझाइलाई दर्शाउने व्यवहार ।हरेक राष्ट्रका निम्ति ‘हामी यस्ता छौँ’ भनी गर्व गर्न केही चाहिन्छ । यतिबेला नेपालीपनलाई जनाउने त्यस्ता साझा मूल्यमान्यताको खाँचो परेको छ। यस्ता साझा मूल्य–मान्यताहरू स्थापित गर्नका निम्ति नगरी नहुने दुई काम छन्। एक– नेपाली समाजभित्र विविधताका बीच पनि सधैँ रहिआएका सकारात्मक, जीवनोन्मुख समानताको खोजी गर्नु र त्यो एकरूपतालाई जनमानसमा र जनजिब्रोमा स्थापित गराउनु।

दुई– सर्वकालिक सार्वजनीन मानवीय मूल्य मान्यताका आधारमा नयाँ सर्वमान्य राष्ट्रिय संस्कृतिको निर्माण गर्नु । न विगतका शासकहरूले विभिन्न कालखण्डमा गरेका जस्ता जबर्जस्तीबाट यो सम्भव हुन्छ, न त त्यही ‘पुर्खाको पाप’विरुद्धको प्रतिक्रियाका रूपमा आज झन् झन् हुर्किंदै गरेको विभाजनलाई मलजल गर्ने अतिवादबाट नै।   

फरक मातृभाषा, फरक परम्परा र जीवनशैली, फरक धर्मसम्प्रदाय र आस्था आदि भित्र पनि एकरूपताका प्रशस्त तत्व छन् नेपालीका बीचमा । त्यति मात्रै नभएर, यथास्थितिका विकृतिहरूप्रतिको विद्रोहचेत, सृजनात्मक सोच, जीवनप्रेम र जिजीविषाका विविध आयाम पनि नेपालीलाई एकतामा बाँध्ने सूत्र हुन् ।

देशका हरेक कुनामा अद्यापि विद्यमान रहेका लज्जास्पद अन्धविश्वास र अमानवीय कुसंस्कारबाट मुक्त हुँदै मानवजीवनको गरिमालाई साकार पार्ने चाहना राख्ने नेपाली जुनसुकै भाषाभाषी, जाति, सम्प्रदायमा छन् । समानताका यी अत्यन्त महत्वपूर्ण पक्षहरूको बारेमा कम वास्ता हुनु, कम चर्चा गरिनु र भिन्नताका बारेमा बढी केन्द्रित हुनुले ठूलो नोक्सानी भइरहेको छ।

सबै शास्त्र, धर्म, परम्पराभित्रबाट असमानता वा परस्पर बाझिने कुरालाई हटाएर सकारात्मक, मिल्दाजुल्दा, समयसान्दर्भिक ज्ञानका कुरा खोज्ने हो भने काम लाग्ने कुरा धेरै भेटिनेछन्।

अढाइ हजार वर्षभन्दा लामो समय बितिसक्दा पनि अझै सान्दर्भिक भइरहेको बाटो देखाउने बुद्ध जन्मेको भूमि हाम्रो देश नेपालमा पर्छ । हामी सबैले यसमा गर्व गरिरहेका छौँ । यति धेरै विविधताले भरिएको यो देशमा सबैको साझा गर्वको विषय भएको छ यो । त्यति लामो समय अघि सरल शब्दमा व्यक्त गरिएका बुद्धवचनहरू आजको क्वान्टम भौतिकीदेखि लिएर आधुनिक स्नायुविज्ञानका दृष्टिमा समेत सान्दर्भिक देखिनु चानचुने कुरा हैन।

जनसाधारणका निम्ति यी गहन सिद्धान्तका कुरा सरोकारको विषय हैनन् भन्ने हो भने पनि मानिसका व्यवहारकै बारेमा बुद्धले दिएका सरल शिक्षाहरू नै व्यक्ति, समाज र राष्ट्रको उज्यालोतर्फको यात्राका निम्ति दिग्दर्शक हुनसक्छन् । यी कुरालाई पटक्कै वास्ता नगरी ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्नुको कुनै अर्थ हुँदैन।

शीलपालनको कुराले बौद्ध धर्ममा अत्यन्त महत्वपूर्ण ठाउँ पाएको छ । र शीलपालन सम्बन्धमा विभिन्न किसिमले अभिव्यक्त उक्तिहरू बुझ्न गाह्रा पनि छैनन् । उदाहरणका निम्ति, शरीर, वचन र मनबाट हुनसक्ने दुष्कर्महरूबारे सचेत रहन र त्यसबाट जोगिने सल्लाह दिइन्छ बौद्ध धर्ममा।

शरीरबाट हुने दुष्कर्ममा चोरी, हत्या हिंसा र व्यभिचार पर्छन् भने वचनबाट हुनसक्ने यस्ता दुष्कर्म ढाँट्नु, अरूका कुरा काट्नु वा बदख्वाइँ गर्नु, निरर्थक गफमा समय बिताउनु र झगडा गराउने गरी चुक्ली लगाउनु पर्छन् । मनबाट हुने दुष्कर्ममा अरूको सुखमा आनन्दित हुन नसकी ईष्र्या गर्नु, अरूको कुभलो चिताउनु र सम्यक् सोच हुन नसक्नु पर्छन्।

यतिबेला हाम्रो समाजमा अधिकांश मानिसका जीवनशैली हेर्ने हो भने यी दसै दुर्गुणले भरिपूर्ण देखिन्छौँ हामी । जाग्रतावस्थामा सचेत रहनु भन्छन् बुद्ध । साँच्चै सचेत भएर हेर्ने हो भने यी दसै दुर्गुणहरूबाट मुक्त हुनुपर्छ भन्ने कुरामा सबैको सहमति हुन्छ नै । जुनसुकै धर्म सम्प्रदाय मान्ने मानिसले पनि यति कुरामा सहमति नजनाउने कुरा आउँदैन।

करिब एउटै कालखण्डका उपज भएर होला, विभिन्न उपनिषद्भित्र अलि फरक शैलीमा करीब करीब उही शिक्षा पाइन्छ । यो विशेष कालखण्डमा विभिन्न गैरवैदिक सम्प्रदायबीच ‘हिन्दु’ भनिने विचार समूहभित्र देखिने असुन्दर व्यवहार र खास गरी ‘ब्राह्मणवाद’ भनिने गरिएको अनुदार असमावेशी विचारपद्धतिका बारेमा विरोध भाव हुनु स्वाभाविक हो।

यी असन्तुष्टिका चर्का स्वरहरूको अन्तर्य नबुझी आफ्नो अस्तित्व संकटमा परेको अनुभूत गर्ने वैदिक परम्पराका अनुयायीहरूबाट पनि प्रतिक्रिया हुन थालेको देखिन्छ । तर आफूले मान्दै आएको भनिएको मतको समेत गहिराइमा नपसी, अरूको विरोध मात्र गरिरहँदा कर्मकाण्डको दलदलमा फसिरहेका हुन्छौँ भन्ने कुरामा भने कसैले ध्यान दिएको देखिँदैन।

सबै शास्त्र, धर्म, परम्पराभित्रबाट असमानता वा परस्पर बाझिने कुरालाई हटाएर सकारात्मक, मिल्दाजुल्दा, समयसान्दर्भिक ज्ञानका कुरा खोज्ने हो भने पक्कै धेरै काम लाग्ने कुरा भेटिनेछन् ।विश्वभरि नै तुलनात्मक रूपले खुला, उदार र समावेशी मानिने बौद्ध धर्मकै बारेमा पनि वर्तमान समयका विख्यात बौद्ध गुरु जोङ्सार ख्येन्चे रिन्पोचे भन्छन्– ‘धर्म आज कर्मकाण्डद्वारा अपहृत भएको छ ।’ एउटा अत्यन्त छोटो वाक्यमा प्रस्तुत यो सत्यको महत्व अपरिमेय छ।

झन् अनेक कुरूप कर्मकाण्ड र अन्धविश्वासको प्रचुरता भएको हाम्रो जस्तो देशमा त उनको यो भनाइ अमूल्य मन्त्र बन्न पुग्छ । यति मात्रै बुझ्न सके पनि जनताबीच विभाजन हुने थिएन ।
लोकतन्त्र र सामाजिक न्यायसहितको समृद्धि नै हाम्रो नयाँ गणतन्त्रको सार हो भने, एक एक गर्दै विभिन्न विकृति, विसंगति, विभेदविरुद्धको सम्यक आन्दोलनमा एकजुट भई लाग्न अब ढिलो गर्नै हुन्न।

कर्मकाण्डको बीभत्स, विकृत,  कुरूप र मूर्खतापूर्ण उदाहरण हो बोक्सीका नाममा निरीह महिलामाथि दिनदिनै भइरहेको पाशविक दुव्र्यवहार ।‘दलित’ भनेर एकथरी नागरिकले आफूजस्तै अर्को नागरिकलाई गर्ने दुव्र्यवहार अर्को कुरूप राष्ट्रिय लज्जाको उदाहरण हो।

हरेक दिन किशोरी, बालिका र हरेक उमेरका महिलामाथि भइरहेको बलात्कार, हिंसा, हत्या यस्तो अपराध हो जसका कारण मानव सभ्यता नै समाप्त हुनसक्छ। दुर्भाग्यवश यी अपराधहरू हरेक सम्प्रदायमा रहेका अपराधीबाट कुनै न कुनै रूपमा भइरहेका छन्। यिनका विरुद्धको सम्यक आन्दोलन सम्पूर्ण नेपालीलाई एकतामा बाँध्ने अर्को एउटा सूत्र बन्नुपर्छ।

अब पनि क्रुरतालाई सौर्यका रूपमा रूपमा लिने र नाङ्गो खुकुरीको टलक्क टल्किएको धारमा त्यो नेपाली पहिचान खोजेर हुँदैन । मालिकको सोझो गर्ने ‘बहादुर’ बनेर नेपाली पहिचान रहँदैन । हाम्रो व्यवहार देख्ने बित्तिकै ‘ओहो यो त नेपाली जस्तो छ, कस्तो राम्रो व्यवहार!’ भनून् विदेशीले । विभेद, भ्रष्टाचार, अन्यायविरुद्ध शून्य सहनशीलता भएको देशका रूपमा नेपाललाई चिनोस् विश्वले । अनि मात्र हाम्रो राष्ट्रिय पहिचान बन्छ– सदाचारजन्य राष्ट्रिय पहिचान!

 

प्रकाशित: २३ चैत्र २०७४ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App