अहिले देशमा रहेका १३ विश्वविद्यालयको नाम र काममा खासै अन्तर छैन। सबै विश्वविद्यालयको उद्देश्य र उत्पादन उही भएकाले नेपालमा उच्च शिक्षा पाएको जनशक्ति शैक्षिक बेरोजगार जमात बनिरहेकाले पनि यस्ता विश्वविद्यालयको आलोचना भएको हो। यति मात्र होइन, विश्वविद्यालयहरूमा भइरहने राजनीतिक दाउपेच र दलगत स्वार्थ पूर्ति गर्नकै लागि विश्वविद्यालयमा हुने महिनौँ दिनसम्मको तालाबन्दी र बन्द हड्तालले विद्यार्थी र अभिभावक दिक्क छन्।
यसैकारण शिक्षासँग सरोकार राख्नेहरूले अब नेपालमा साना साना विशिष्ट प्रकारका विश्वविद्यालयको स्थापनाका लागि पैरवी गरिरहेकै अवस्थामा अहिले तीलगंगा विश्वविद्यालयको विधेयक राष्ट्रिय सभामा छलफल भइरहेको छ।
यस विश्वविद्यालयको स्थापना नितान्त प्राज्ञिक मात्र छैन यसले यस क्षेत्रका निम्ति नभइनहुने जनशक्ति निर्माण गर्नेछ। विशिष्ट खालको तीलगंगा नेत्र विश्वविद्यालय स्थापनाका लागि तयार विधेयकले प्राज्ञिक जनशक्ति र सामग्री उत्पादनमा जोड दिएको छ।
कुनै पनि देशमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दक्ष जनशक्ति आवश्यक हुन्छ। नेपालमा कुनै पनि क्षेत्रको विशिष्ट विश्वविद्यालय नभएकाले एकातिर राज्यलाई आवश्यक जनशक्ति विश्वविद्यालयहरूले व्यवस्थापन गर्न सकिरहेका छैनन् भने अर्कोतिर भएका सबै विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक प्रवृत्ति उस्तै भएकाले देशमा शिक्षित बेरोजगारको समस्या दिनदिनै बढिरहेको छ। यस्तो परिस्थितिमा मुख्यरूपमा आँखा स्वास्थ्य क्षेत्रको विशिष्ट विश्वविद्यालय स्थापना गर्ने प्रेरित गर्ने डा. सन्दुक रुइतको प्रयासले मूर्तरूप लिइरहेको छ।
विश्वमा हरेक पाँच सेकेन्डमा एकजना मानिस दृष्टिबिहीन भइरहेको तथ्यांक छ। करिब तीन करोड ६० लाख मानिस दृष्टिबिहीन छन् भने दुई अर्बभन्दा बढी मानिसको दृष्टि कमजोर रहेको तथ्यांक छ। दृष्टिबिहीनहरूमध्ये करिब ९० प्रतिशत मानिस ग्रामीण क्षेत्रका र सीमान्तकृत समुदायका छन्।
नेपालमा सन् २०१९ मा भएको एक सर्वेक्षणअनुसार कुल दृष्टिबिहीनमध्ये मोतिविन्दुका कारण ६२ प्रतिशत मानिस दृष्टिबिहीन पाइएको छ। अधिकांश दृष्टिबिहीन न्यून आयका र दुर्गम ग्रामीण भेगका रहेका छन्।
यस्तो परिवेशमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डा. रुइतको सहकार्यमा विश्वविद्यालय स्थापनाको विधेयक तयार पारी छलफलमा ल्याएको हो। जसले नेपालको आँखा स्वास्थ्यको क्षेत्रमा रहेका समस्या छिमोल्ने विश्वास गर्न सकिन्छ। किनकि अहिले स्थापित विश्वविद्यालय सबैले सम्बन्धन बाँड्ने मात्र काममा ध्यान केन्द्रित गरेका देखिन्छ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने र दक्ष जनशक्ति उत्पादनलाई खासै प्राथमिकतामा राखेको देखिँदैन। यति मात्र होइन, भएका विश्वविद्यालयमा राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनाएर विश्वविद्यालयको विश्वसनीयता गुमाएको अवस्था पनि छ। त्यसैले यो परिवेशमा फरकखाले साना विश्वविद्यालयबाट केही हुने आश गर्नु उपयुक्त ठानिएको हो।
अहिलेको आवश्यकता पनि विशेष विश्वविद्यालयहरूकै हो। नेत्र विश्वविद्यालय मानित विश्वविद्यालयका रूपमा स्थापना गरिने प्रस्ताव विधेयकले गरेकाले यसले मुख्यरूपमा शैक्षिक गतिविधिका साथै उत्पादनलाई पनि जोड दिने भएकाले पनि यस्तोखाले शैक्षिक निकायको महत्त्व धेरै छ। मानित विश्वविद्यालयले सम्बन्धन बाँड्ने र आर्थिक लाभ लिने काम नगर्ने भएकाले पनि विशेषज्ञ उत्पादनमा जोड दिन करै लाग्छ। जसले पनि यो विश्वविद्यालयको औचित्य पूरा हुन सक्छ।
साथै आँखा स्वास्थ्यका क्षेत्रमा प्रविधिको विस्तार गर्न विभिन्न नवीनतम् विधामा अध्ययन/अध्यापनमार्फत शैक्षिक गुणस्तर हासिलमा समेत सहयोग पुग्ने विधेयकमै उल्लेख छ। विश्वविद्यालय स्थापना भएमा यसले नेत्र रोग विशेषज्ञ, दृष्टि विशेषज्ञ, सामुदायिक आँखा स्वास्थ्य, आँखा स्वास्थ्य व्यवस्थापन, आँखा अस्पताल व्यवस्थापन, आँखा स्वास्थ्य नर्सिङलगायतका विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्छ।
विश्वविद्यालयको प्रस्तावित संरचनाले अनावश्यक प्रशासनिक खर्च कम गर्न छरितो संरक्षक परिषद्को प्रस्ताव गरेको छ। संरक्षक परिषद् मातहतका पदाधिकारी विभिन्न पदमा कार्य गर्ने कर्मचारीसरह नै हुने भएकाले आर्थिक भार कम हुन्छ।
आँखा कार्यक्रमअन्तर्गतको तीलगंगा आँखा अस्पताल आफैँ अत्मनिर्भर भएकाले प्रस्तावित तिलगंगा नेत्र विश्वविद्यालय स्वतः अत्मनिर्भर संस्था हुने देखिन्छ। यसले गर्दा सञ्चालनका लागि अनुदानबाहेक दैनिक प्रशासनिक खर्च, तलब भत्तामा राज्यको कुनै व्यय भार नपर्ने देखिन्छ। राज्यले थप आर्थिक भार बेहोर्नु नपर्ने र विशेषज्ञ जनशक्तिसमेत विधेयकमै उल्लेख भएकाले पनि यस्तो विश्वविद्यालय हाल देशले खोजिरहेको निकायमै पर्ने पक्का छ।
आँखा स्वास्थ्यका लागि जरुरी लेन्ससमेत उत्पादन गरेर मुलुकको आवश्यकता पूर्ति गर्ने र आधाभन्दा बढी उत्पादन अन्य देशमा समेत निर्यात गर्ने तीलगंगा आँखा अस्पतालले बर्सेनि हजारौँ आँखा बिरामीलाई संसार देखाउन मद्दत गर्दै आएकोसमेत छ। यस्तो अवस्थामा पनि नेत्र विश्वविद्यालय किन भन्ने प्रश्नको उत्तर सहज बनेको देखिन्छ।
प्रकाशित: १७ भाद्र २०८१ ०७:०७ सोमबार