यस घटनाका सम्बन्धमा नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि एमालेका स्थानीय कार्यकर्ता निकै आक्रोशित भए। एमाले गाँउ कमिटीले संवाददाता र नागरिक दैनिकमाथि आक्षेप लगाएर विज्ञप्ती जारी गर्यो। त्यसको केही दिनपछि एमालेकै क्षेत्रीय कमिटीले थप लाञ्छना लगाएर अर्को विज्ञप्ति निकाल्यो। हाल (एमाले)का जिल्ला सचिव भरत दुलाललाई गत वर्ष शिक्षक छँदा एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले दुर्व्यवहार र हातपात गरेपछि उनी सदरमुकाम विस्थापित भएका थिए।
त्यति बेला पनि नागरिक दैनिकले विद्यालय हातामा माओवादी कार्यकर्ताबाट भएको ज्यादतीको समाचार प्रमुखताका साथ छापेको थियो। समान प्रकृतिको समाचार कहिले सराहनीय र कहिले पीत पत्रकारिता कसरी हुन्छ?
घाइत कोइरालालाई भेटेरमात्र समाचार लेख्ने विचार गरेर उनलाई भेट्न अस्पताल पुग्दा उनी बेडमा बेहोस अवस्थामा थिए। उनको अनुहारभर मोसो दलिएको थियो। टाउकोमा ठूलो चोट थियो। मोसो दलिएको अनुहारमा पनि देखिने गरी आँखा नजिक नीलडाम थियो। त्यति बेलै कोइरालालाई कुटपिट गरेको देख्ने शिक्षक बिरेन्द्र राउत अस्पतालमा थिए। उनीसँगै घटनाका बारेमा सोधेर समाचार सम्प्रेषण गरेको थिएँ। समाचार पठाउनुपूर्व घटनामा संलग्न भनिएकामध्ये प्रेम थापा र शिक्षक रामेश्वर थापासँग सम्पर्क गर्न खोज्दा दुवैको मोबाइल फोनको ‘स्विच अफ' थियो।
विद्यालय हातामा एमाले कार्यकर्ताको संलग्नतामा भएको कुटपिटको घटनालाई पत्रकारले अभिभावक र विद्यालय प्रशासनबीचको विवाद भन्नुपर्थ्यो भन्ने एमालेका केही जिल्ला नेता तथा कार्यकर्ताले भनेको सुनियो। विद्यालयभित्र पसेर गरिएको कुटपिट गरेको घटनालाई अभिभावक र शिक्षकबीचको विवाद कसरी भन्ने? शिक्षक र अभिभावकबीच कुनै विवाद भए नै पनि प्रक्रियागत ढंगबाट समाधान गर्नुपर्छ।
यस घटनाको अर्को पाटो स्थानीय प्रशासनको व्यवहार हो। किटानी जाहेरी दिँदा पनि पवटी घटनामा आरोपितहरूमाथि अहिलेसम्म कुनै कारबाही भएको छैन। प्रहरी प्रमुखले आरोपित व्यक्तिहरू रामेछापतिर भागेको आशंकामा प्रहरी परिचालन गरिएको भन्दै आएका छन्। राजनीतिक दलले आफ्ना कार्यकर्ताले अपराध गर्दा पनि सञ्चार माध्यमविरुद्ध विज्ञप्ति निकालेर आक्षेप लगाउने र प्रशासनले सत्तारुढ दलका कार्यकर्ताले गरेको अपराधलाई बेवास्ता गर्दै जाने हो भने हाम्रो भविष्य के होला? नयाँ नेपालको राजनीतिक र प्रशासनिक संस्कार कस्तो होला?
प्रकाशित: ७ असार २०६७ २२:३६ सोमबार