८ वैशाख २०८१ शनिबार
विचार

‘वाम’ एकताका आयाम

राष्ट्रिय प्रजातन्त्र दिवसको छेको पारेर ७ फागुनका दिन अहिलेका दुई सत्ताधारी वामपन्थी दल (नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आआफ्नो अस्तित्व एकअर्कामा विलीन गराई ‘नेपाल कम्युनिस्ट पार्टी’ नामक एकीकृत कम्युनिस्ट पार्टीको निर्माण गर्ने निर्णय गरेका छन् । प्रभावशाली वामपन्थी गठबन्धन बनाई गत मंसिर महिनामा भएका संसदीय चुनाव सफलतापूर्वक लडेका यी दुई कम्युनिस्ट घटकहरूले आफूहरूलाई एउटै  संगठनमा समाहित गराएर एकीकृत कम्युनिस्ट पार्टीको गठन गर्ने अभ्यासका क्रममा गएको असोज महिनादेखि नै दुवै दलको मर्जर र पार्टी पुनर्गठनका लागि आन्तरिक गृहकार्य गरिरहेका थिए । साथै, एकता वार्तालाई पनि विभिन्न तह र चरणमा अगाडि बढाइरहेका थिए । ती दुई दलको एकता प्रयत्नलाई लिएर हल्लै हल्लाको देशको राजधानी काठमाडौँमा अनेक प्रकारका हल्ला, सन्देह, अविश्वास र अन्यौलको बतास नचलेको भने होइन । दक्षिणको छिमेकी भारतले यो एकता प्रयत्नमा भाँजो हाल्न खोजिरहेको छ भन्ने दाबी एकथरीले गरिरहेका थिए भने अर्काथरी उत्तरतिरको सँधियार चीन यो एकतालाई टुंगोमा पुर्‍याउन कम्मर कसेर लागेको छ भनिरहेका थिए । तर जे होस्, अन्ततोगत्वा ती दुई कम्युनिस्ट घटकका प्रमुख नेताहरू त्यस्ता सबै प्रकारका हल्ला र  प्रचारबाजीलाई चिर्दै एकता प्रक्रियालाई तात्विक परिणतिमा पुर्‍याउन एक कदम अगाडि बढ्न सफल भएका छन् । दुई दलको एकीकरणलाई अन्तिम रूप दिई एउटा सुदृढ कम्युनिस्ट पार्टी बनाउनका लागि ती दुवै दलले गत सोमबार ७ बुँदे संयुक्त आधारपत्र जारी गरेका  छन्।

नयाँ कम्युनिस्ट पार्टी प्रमुखका रूपमा मात्र होइन, देशको प्रधानमन्त्रीका रूपमा समेत केपी ओलीजीले हरेक पाइला एकदमै सतर्क भएर चाल्नु जरुरी हुन्छ। 

पार्टी एकीकरणका मुख्य मुख्य आधारहरूलाई संहिताबद्ध गरी गत ७ गते सोमबार सार्वजनिक गरिएको त्यस सहमतिपत्रमा वामपन्थी गठबन्धनको पहिलो दल नेकपा एमालेका तर्फबाट ५ शीर्षस्थ नेताहरू क्रमशः अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यस दलका उनी पछिका प्रभावशाली नेताद्वय नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’ले सहीछाप  गरेका छन् । वालिग मताधिकारको आधारमा भएको निर्वाचनबाट संघीय संरचनामा बनेको देशको वर्तमान संसद्मा सदस्य संख्याको अंकगणित अनुसार क्रमशः पहिलो र तेस्रो दल हुन् नेकपा एमाले र नेकपा माओवादी केन्द्र । अब यी दुई दल संयुक्त भई एकीकृत नेपाल कम्युनिस्ट पार्टी बनाए भने त्यस एकीकृत पार्टीको संसदीय दल संसद्मा दुई तिहाइ बहुमतको नजिक पुग्नेछ । त्यो स्थिति भनेको छिमेकी देश भारतको पश्चिम बंगाल राज्यको विधान सभामा सन् १९७० को दशकमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले प्राप्त गरेको बहुमतको स्थिति जस्तै हुनेछ ।

एकीकृत कम्युनिस्ट पार्टी निर्माणको यस महत्वपूर्ण अजेन्डालाई अघि बढाएर एकताको सम्पूर्ण प्रक्रियालाई अन्तिम टुंगोमा पु¥याउनका लागि एकताबद्ध  हुन लागेका दुवै वामपन्थी घटकका केन्द्रीय नेताहरू संलग्न भएको पार्टी एकता संयोजन समितिको पनि गठन गरिएको छ । एकताको आधारपत्र सार्वजनिक गरिएको दिन, गत ७ गते नै गठन गरिएको सो संयोजन समितिले आफूले पाएको म्यान्डेट अनुसार काम पनि सुरु गरिसकेको छ । संयोजन समितिको म्यान्डेटको आधार भनेको पार्टी एकीकरणका लागि दुवै दलका शीर्ष नेताहरूद्वारा जारी गरिएको ७ बुँदे सहमतिपत्र नै हो । त्यसैलाई आधार मानेर सो समितिले एकीकृत पार्टीको विधान मस्यौदा गर्ने, पहिलो महाधिवेशनको कार्यविधि बनाउने र त्यसको मिति तोक्ने जस्ता एकता प्रक्रियालाई अघि बढाउन आवश्यक पर्ने सबै काम गर्नेछ । सो समितिले गर्नुपर्ने आवश्यक सिफारिससहित नेताद्वय केपी र पीकेसमक्ष  प्रतिवेदन पेस गरेपछि पार्टी एकताको प्रक्रिया टुंगोमा पुग्न, एमाले र माओवादी केन्द्रको आपसमा विलयन हुन र देशमा नेपाल कम्युनिस्ट पार्टी नामक नयाँ दल विधिवत् अस्तित्वमा देखापर्नका लागि मार्ग प्रशस्त हुनेछ  । त्यसपछि नवगठित त्यो पार्टीलाई निर्वाचन आयोगमा विधिवत् दर्ता गरिनेछ।

नवगठित नेपाल कम्युनिस्ट पार्टी शैशवावस्थादेखि नै सांगठनिक रूपले विभाजित, वैचारिक रूपले दिग्भ्रमित र अन्यौलग्रस्त नेपाली कम्युनिस्ट जगत्का लागि एउटा सुखद् उपहार हुनसक्छ । तर त्यो उपहार साँच्चिकै राम्रो र सुखद साबित हुन्छ कि हुँदैन त्यसका विषयमा भने यसै भन्न सकिँदैन । सबैभन्दा पहिले निक्र्याैल हुनुपर्ने अहम् महत्वको कुरो त त्यो कम्युनिस्ट पार्टी कम्युनिस्ट नै हो कि होइन, हो भने कसरी वा कति प्रतिशत हो ? भन्ने नै हुनुपर्छ । त्यसपछि आउँछ त्यस पार्टीमा समाहित व्यक्ति र समूहको पृष्ठभूमि, सोच र सरोकार एउटा कम्युनिस्ट पार्टीको सदस्यलाई सुहाउने खालको छ कि छैन भन्ने सवाल । एमाले र माकेको एकीकरणका सन्दर्भमा त अरू पनि अनेक गम्भीर प्रश्न उठन सक्छन् । उदाहरणका लागि लिन सकिन्छ, एमालेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काइसौँ शताब्दीको जनवाद (एशज) लाई कुन सैद्धान्तिक र व्यावहारिक डबलीमा लगेर समायोजन गर्ने ? छापामार युद्धको स्कूलिङबाट आएका माओवादी कार्यकर्ताहरू र सरकारी र गैरसरकारी नोकरशाहीको गल्ली र गल्छेडा हुँदै पार्टी कार्यकर्ता बनेका एमाले कणलाई एकीकृत पार्टीमा जिम्मेवारी दिँदा कसरी वजन निर्धारण गर्ने ? भन्ने जस्ता सवालले पनि नेतागणको टाउको दुखाउन सक्छ । माथिल्लो लहरका केही नेताको महत्वाकांक्षाको जोखिमरहित परितोष गर्न पनि केपी–पीकेको जोडीलाई अत्यन्त नै कठिन साबित हुने देखिन्छ। 

निकट भविष्यमा नयाँ पार्टीका नेताद्वयका सामु देखापर्न सक्ने चुनौती आफ्ना ठाउँमा छन् तर अहिले यस देशको  राजनीतिक क्षितिजमा जसरी एउटा शक्तिशाली कम्युनिस्ट पार्टीको अभ्युदय हुने र त्यसले गहिरोसँग जरा गाड्ने सम्भावना देखिँदै छ त्यसो भयो भने त्यो, हाम्रो राष्ट्रको समसामयिक राजनीतिक इतिहासमा नै एउटा दूरगामी महत्वको घटना बन्न सक्ने कुरामा कुनै सन्देह छैन । चिन्ताको विषय चाहिँ के छ भने त्यस्तो शक्तिशाली वामपन्थी राजनीतिक संगठनका हातमा एकीकृत भएको शासकीय शक्तिको बृहत्तर जनहितमा सदुपयोग हुनेभन्दा सीमित व्यक्ति र तिनका समूहहरूको स्वार्थपूर्तिका लागि दुरुपयोग हुने सम्भावना नै बढी हुन्छ । कम्युनिस्ट पार्टीहरू क्याडर बेस्ड हुने र नेताहरूले पार्टीमाथि आफ्नो पकड कायम राखिरहन क्याडरमध्येका पनि प्रभावशाली कार्यकर्तालाई प्रसन्न राखिरहनुपर्ने बाध्यता हुने हुँदा भ्रष्टाचारलाई छुट दिनुपर्ने अवस्था परि नै रहन्छ । पश्चिम बंगालमा ज्योति बसुको, तान्जानियामा जुलियसको र जिम्बाबेमा रबर्ट मुगाबेको देब्रेढल्कुवा सत्ताको पतन क्याडरहरूकै कारणले भएको थियो । एमाले र माकेका हकमा पनि यही कुरा लागू भएको देखिएको हो । केपी र पीके दुवैले धनवीर र मुष्ठीवीरहरूसँग परहेज गरेको भन्दा उनीहरूको संगतलाई रुचाएको नै देखिएको छ ती दुवै नेताको निकट विगतलाई सर्सर्ती हेर्दा । नयाँ कम्युनिस्ट पार्टी प्रमुखका रूपमा मात्र होइन, देशको प्रधानमन्त्रीका रूपमा समेत केपी ओलीजीले हरेक पाइला एकदमै सतर्क भएर चाल्नु जरुरी हुन्छ । खेदको कुरो उनले त्यस्तो लक्षण देखाएका छैनन्।

एमाले–माकेको मर्जर र नयाँ कम्युनिस्ट पार्टीको उदयको पूर्वसन्ध्यामा यस एकीकरणका अभियन्ता र नेताहरूलाई शुभकामना दिन यो लेखक कुनै प्रकारको कन्जुस्याइँ गर्दैन । तर यो एकीकरण कुनै सैद्धान्तिक र नैतिक जगमा नभएकाले र तात्कालिक लाभ–हानिको वणिक गणितले डोर्‍याइएका केपी र पीकेको नक्कली प्रेम प्रदर्शन जस्तो मात्र लागेकाले खुसी हुन पनि सक्दैन । दुई पार्टी मिलेर बन्ने नयाँ कम्युनिस्ट पार्टीका हातमा आउने अपरिमित शक्तिको दुरुपयोग हुने सम्भावनाप्रति सतर्क यो लेखक बरू केही चिन्तित भएको छ। पूर्ववर्ती सरकारले गरेका निर्णय जति सबै खारेज गर्ने ओली प्रशासनको निर्णयले गर्ने संकेतबाट झस्किएको पनि छ। प्रधानमन्त्री केपी ओलीका रुचि र अरुचि र उनले हालै सहभागिता गरेका भोज आदिलाई देखेर ऊ हताश भएको छ। नयाँ बन्ने बलियो कम्युनिस्ट पार्टी बाँदरलाई लिस्नो हालिदिएको जस्तो त हुँदैन भनेर डराएको पनि छ।

प्रकाशित: १० फाल्गुन २०७४ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App