coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

किन कद घटाउँदैछाैं हामी ?

केही वर्षअघि एक जना प्रधानसेनापतिले नेपाली सेनाको इतिहासलाई २४० वर्षदेखि भनी माओवादीले बोलेको भनाइ आफ्नो जीवनीमा लेखेका छन् । किनकि, राजाविहीन नेपालका प्रधान सेनापतिहरूले पनि राज गरिरहेका छन् भने तिनले जे मन लाग्यो त्यही बोल्न, जे मन लाग्यो त्यही युनिफर्म लगाउन, जति मन लाग्यो खर्च गर्न छुट छ । उति खेरको ५३ राज्यमध्ये गोर्खाको मात्र लहरो समातेर नेपालको राजनैतिक इतिहास अघि बढेको छ । त्यही राज्यका राजवंशले बृहत् नेपाल निर्माण गर्न नेतृत्व गरेकाले बृहत् नेपालको रूपरेखा तयार भएबारे दुई मत नहोला । १६१६ भदौ २५ मा द्रव्य शाह लिगलिगकोट (हाल गोर्खा) को राजा भएपछि उनले सेना पनि सोही मितिमा खडा गरेका थिए । भगीरथ पन्तलाई पहिले सेनापति दिएर सानो सेना खडा गरी लिगलिगकोटपछि माथिल्लो कोट र तल्लो कोटसमेत सोही वर्ष विजय गरी ती सबैलाई समेटेर ‘गोर्खा’ नामकरण गरेर अब गोर्खा राज्यको नामबाट नेपाल पुनः निर्माण गरिएको हो । हामीसँग प्रमाण छन्, द्रव्य शाहका नाति, खनातिहरूले उनै सेना प्रयोग गरेर तिब्बतको कुकुरघाट लगायत भूगोल जितेको अनि उपत्यकाका मल्लका राजाहरूको सहयोगमा पटकपटक गोर्खा राज्यले सेना पठाएको र राजा नरभुपाल शाहले समेत १७९९ सालतिर नुवाकोटमाथि हमला गरेको र अन्ततः १८०१ मा पृथ्वीनारायण शाहको नेतृत्वमा नुवाकोट विजय गर्ने त्यही द्रव्य शाहले खडा गरेको सेनाको निरन्तरता थियो । नुवाकोट, बेलकोट, शिवपुरी, नाल्दुम, दहचोक, मकवानपुर, हरिहरपुर लगायत थुप्रै भूगोल जितिसकेपछि १८१९ सालमा बंगाली फौजले मकवानपुरबाट नेपाल हमला गर्न लाग्दा गोर्खाली फौजले ती बंगाली फौजलाई हराएर तिनबाट खोसिएका करिब ५०० नाल बन्दुक र २ थान तोपबाट पृथ्वीनारायण शाहले आफ्ना धेरै फौजमध्ये करिब ५०० जना छानेर १०० जनाको एक एक कम्पनी (गुल्म) बनाई ती बैरीबाट खोसिएका हतियारबाट १०० नाल राइफल प्रत्येक कम्पनीमा बाँडियो । गोर्खाली सेनामा पहिला पटक कम्पनीको संगठन बनाएर औपचारिक रूपले १८१९ सालमा श्रीनाथ, काली बक्स, गोरख, बर्जवाणी र सबुज कम्पनीको नामकरण गरियो । यद्यपि पहिला पनि गोर्खाली सेनामा आफ्नो संगठन त छँदै थियो । यसर्थ, पृथ्वीनारायण शाहले नेपाली सेनाको संगठनात्मक र पेसागत विकास गरेका थिए । ती १६१६ सालमा खडा भएकै सेनाका क्रमिकता हुन् । राजनैतिक इतिहास लेख्ने इतिहासकारहरूले नेपाली सेना खडा गर्ने पृथ्वीनारायण शाह हुन् भनेर लेखेका छन् । यस कुरामा कुनै प्रमाण देखिँदैन । 

२०६३ सालमा भन्ने गरेको २४० वर्षे नेपाली सेना । मतलब १८२५ सालमा कान्तिपुर (नेपाल) जितेपछि मात्र नेपाली सेना भएकाले २४० वर्ष भनिएको रे । यो माओवादीको भनाइ थियो । अनि हाम्रा नेताका कुरा छाडौँ, अनि इतिहासकारका कुरा छाडौँ प्रधानसेनापतिका फुली लगाएर पनि यही कुरो बोले र इतिहास लेखाए । यो सेनाकै दुर्भाग्य हो । १६१६ देखि १८२५ सम्म नेपाली सेनाले गरेका एकीकरण युद्ध, बंगाली फौज र अंग्रेजी फौजसँगको युद्ध कसको नेतृत्वमा कुन देशका फौजले गरे त ? अनि २०९ वर्षको इतिहास काटेर हाम्रो कद हामी आफैँ घटाउँदै छौँ । 

नेपाली सेनाको आधिकारिक सैनिक गान अब नयाँ बनाइनु पर्छ । हाल प्रचलनमा रहेको गान भन्दा पहिलाको भारतीय मिलिटरी एकाडेमीको गान रहेको तथ्य भारतीय जर्नेल मेहताले नेपाली सेनाविरुद्ध लेखेका पुस्तकमा लेखिसकेका छन् भने हाल प्रचलित सैनिक गानमा हामीले अंग्रेज र चीन दुई सामाज्यलाई हरायौँ भनेर लेखिएका शब्द एउटा कवि हृदयले कल्पना गरेको हो । त्यो सत्य छैन । सुगौली सन्धि र बेत्रावती दुवै सन्धिले दुवै साम्राज्यसँग हाम्रो हार भएको तथ्य छर्लंगै छ । अर्को कुरो हाल चलिरहेको सैनिक गानको रचनाकारलाई मरणोपरान्त र तत्काल जीवित रहेका संगीतकारलाई कर्नेल पद दिइयो । अनि संगीतकारलाई त फुल कर्नेलको सैनिक पोसाक लगाउन दिइयो । त्यस बखतका राजविहीन प्रधान सेनापतिले राज गर्दा त्यो सम्भव भयो । भर्खर मात्र राष्ट्रकवि माधव घिमिरेलाई पोसाक लगाउने गरी सहायक रथी दर्जाको मानार्थ दिनु अर्को गल्ती भएको छ । सेनाको पोसाक सेनायोग्य हुन लायक व्यक्तिले लगाउने हो कवि, कलाकार, गायकले लगाउने होइन । सिभिललाई दिने मानार्थ दर्जा मात्र हो, पोसाक होइन । गैरसैनिकलाई मानार्थ सैनिक पद दिँदा जंगी पोसाक लगाउन दिइएको थिएन । राजा त्रिभुवनको पालामा प्रधानमन्त्री भएका मातृकाप्रसाद कोइरालालाई जंगबहादुर राणालाई जस्तै प्रधानमन्त्री र महारथी (जर्नेल) हुन मन लागेपछि राजाले मानार्थ जर्नेल दिए । तर मातृकाले बहालवाला महारथीले लगाउने जंगी पोसाक लगाएर हिँडेपछि बबाल भयो । तुरुन्त राजा त्रिभुवनले मातृकालाई झपारेर जंगी पोसाक उतारे । त्यसपछि सेनाबाट निवृत्त हुनेले बाहेक अरू गैरसैनिकले मानार्थ दर्जा पाउनेले कहिलै जंगी पोसाक लगाएनन् । वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा अहिले पनि मानार्थ उपरथी हुन् । उनलाई जंगी पोसाक लगाउन कसरी रोक्ने त ? ती संगीतकार, कवि, कलाकारको नजीर दिएर उनले आजै जंगी पोसाक लगाउन मिल्छ । त्यस्तै व्यक्तिहरू अरू पनि होलान् । यो सैनिक इतिहासले बोल्ने कुरो हो । नेपाल सरकाले वीरगति पाउने सेनालाई सहिद घोषणा गरेको छ । सेनाले सहिद होइन, राष्ट्रिय विभूति पाउने हो।

गोर्खाली सेना, नेपाली सेना, शाही सेना, शाही नेपाली सेना र पुनः नेपाली सेनाको नामबाट ४५८ वर्षदेखि अविछिन्न रूपले देशको सेवा गर्दै आएको यो सेनाको इतिहास घाम जस्तै छर्लंग छ। 

सेना दिवस राजा वीरेन्द्रको पालामा र प्रधानसेनापति महारथी सत्चितशम्शेर राणाको कार्यकालबाट सुरु भएको हो । संसारका प्रायः सबै सेनाको सेना दिवस छन् । उस बखत नेपाली सेनाको खर्च, समय र परिश्रम जोगाउने हिसाबले शिवरात्रिको दिनलाई नै सैनिक दिवस मानियो । शिवरात्रिमा सेनाको ठूलो खर्च हुन्छ । फूलपाती, घोडे जात्रा, शिवरात्रि पर्वहरू सैनिक होइनन्, सामाजिक पर्व हुन् । सेनाले नेपाली संस्कृतिमा ठूलो सहयोग गरिरहेको छ । वास्तवमा अब यो स्थानीय सरकार वा नगरपालिकाले जिम्मा लिनु जरुरी पनि देखिन्छ । सेना दिवसलाई छुट्टै मान्ने हो भने अर्को ठूलो व्यय हुने हुँदा ‘एक पन्थ, दुई काज’ जस्तै भएको हो । यसमा कुनै धर्मसँग जोडिनु संयोग मात्र हो । यद्यपि उस बेलाको परम्परामा युद्धको बेला हामी देवी÷दैवी शक्तिमा भर पर्ने जातजाति भएकाले नेपाली सेनाको निशान, पूजा, आज तिनै शक्तिमा आधारित छन् । यो सत्यतालाई नबुझेर हाल समाज भड्काउने खाले अपव्याख्या पनि गरिन्छ । हुन त राजाविहीन नेपालका एक जना प्रधानसेनापतिले विदेशी र माओवादीको प्रभावमा परेर शिवरात्रिको दिनमा मनाइने सेना दिवसलाई खारेज गर्न लागेका थिए । तर, असफल भएको कुरा सुनियो । क्रुरतन्त्र, राजतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र जे भए पनि संसारभरिको सेनाको संस्कार राजनीति जस्तै छिनछिनमा बदलिँदैन । सेनाले सरकारको संवैधानिक आदेश मान्ने हो । यो परिवेशलाई सबैले बुझिदिएमा सबैलाई रमाइलो हुनेछ । नेपालको सार्वभौमसत्ताको खम्बा ठानिएको नेपाली सेना देश टुक्रिने गतिविधि भइरहँदा पनि मौन रहेकामा राष्ट्रवादी नेपालीहरूले आक्रोश व्यक्त गरिरहेका तथ्यलाई जंगी अड्डाले ध्यान दिनेछ भन्ने विश्वाससहित परापूर्वकालदेखि वर्तमानसम्म नेपाल र नेपालीका लागि वीरगति प्राप्त गर्ने ज्ञात–अज्ञात सम्पूर्ण नेपाली सैनिक परिवारमा सेना दिवसको सन्दर्भमा भावपूर्ण श्रद्धाञ्जली र सलाम।
(लेखक पिएचडी एसोसिएसनसँग आबद्ध छन्)

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App