३० असार २०७७ मंगलबार
विचार

नेहरु स्मृतिपत्रको यथार्थ

ऐतिहासिक तथ्यबारे कलम चलाउँदै आएका विद्वान् लेखक ज्ञानमणि नेपालद्वारा नागरिकमा गत कात्तिक २६, २०७४ मा ‘हाम्रो सुरक्षा नीतिमा भारत’ शीर्षक लेख प्रकाशित भएको थियो । उक्त लेखमा डा. डिल्लीरमण रेग्मीबारे प्रकाशित प्रसंगबारे केही पाठक र इतिहासका तथ्यमा सरोकार राख्ने व्यक्तिहरूले प्रश्न उठाएका थिए । त्यसकारण यससम्बन्धी तथ्यको खोजी गर्नुपर्ने अवस्था रह्यो। 

नेपालले रेग्मीबारे लेखेका थिए, ‘डिल्लीरमण रेग्मी परराष्ट्रमन्त्री भएका बेला यातायात मन्त्री भद्रकाली मिश्र थिए । यिनी नेहरूका नजिकका थिए । यसर्थ पहिलो मन्त्रिमण्डलमा तराईको प्रतिनिधिका रूपमा नेहरुकै जोडमा यी मन्त्री भएका थिए । यिनीहरू पालैपालो मन्त्री हुन्थे । यिनैको पहलमा परराष्ट्र मन्त्रीले भारतमा एक गोप्य सम्झौता गरे– यो सम्झौताअनुसार नेपालमा भारतीय सैनिक राख्ने र दिल्लीकै परराष्ट्र नीतिअनुसारै नेपालको पनि परराष्ट्र नीति तय गर्ने भन्ने थियो । यसपछि डिल्लीरमण रेग्मीले नेपालमा जति पार्टी नेता छन्, ती सबै भारत विरोधी छन्, एउटा मेरो पार्टीमात्र भारतअनुकूलको छ अर्थात् ममात्रै भारतको मित्र हुँ भन्नेखालको वक्तव्य दिएका थिए । भारतको अनुकूल भएर बिपी विरोधी उनी राजप्रासादबाट प्रधानमन्त्री हुने दाउमा थिए । तर सम्भव भएन । उसैबेला यो गोप्य सम्झौता नरेन्द्र रेग्मीले ‘झ्याली’ पत्रिकामा छापिदिएपछि तीव्र विरोध भएको थियो।’

डा. रेग्मीलाई नेहरुको निकट भएको र भारतीय सैनिक राख्ने र दिल्लीकै परराष्ट्र नीतिअनुसार काम गर्ने भनी आरोप लगाइएको छ । तर इतिहासका तथ्यहरूले त्यसो भन्दैनन्। 

यी वाक्यांशमा उल्लेख भएअनुसार डा. रेग्मीलाई नेहरुको निकट भएको र भारतीय सैनिक राख्ने र दिल्लीकै परराष्ट्र नीतिअनुसार काम गर्ने भनी आरोप लगाइएको छ । तर इतिहासका तथ्यहरूले त्यसो नभन्ने उनकी नातिनी अवन्तिका रेग्मी बताउँछिन्, त्यो बेलाका ऐतिहासिक तथ्यबारे अनुसन्धान पनि गर्दै छन् ।  

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाद्वारा लिखित ‘अ रोल इन रिभोल्युसन’ (पृष्ठ २८१ र ८२, २००८) अनुसार कोइरालाले नेहरुलाई मार्च १०, १९५४ मा मन्त्रिपरिषद् विस्तारबारे लिखित पत्र पठाएको उल्लेख छ । उनले डिल्लीरमण रेग्मी नयाँ परराष्ट्रमन्त्री बनेको विषयलाई त्यसमा उल्लेख गरेका छन्। 

मार्च २३, १९५४ मा माथिको पत्रको जवाफ लेख्दै नेहरुले परराष्ट्र मामिलामा आफूले कोइराला मात्र प्रमुख सम्पर्क व्यक्ति (प्रिन्सिपल कन्ट्याक्ट) का रूपमा लिने उल्लेख गरेका छन् । त्यो बेला रेग्मी परराष्ट्र मन्त्री रहे पनि उनीसँग सम्पर्क गर्न नेहरु तयार नभएको देखिन्छ । उक्त पत्रमा नेहरुले कोइराला प्रधानमन्त्रीका रूपमा सरकारको सम्पूर्ण जिम्मेवारी मात्र होइन, प्रत्येक मन्त्रीको संयुक्त जिम्मेवारी समेत आफूमा रहन्छ भनी सम्झाएका थिए । त्यति मात्र होइन, एउटा मन्त्रीलाई मात्र स्वतन्त्र काम गर्न नदिनू भन्ने उनको सल्लाह पत्रमा छ । कोइरालाको पुस्तक ‘अ रोल इल रिभोल्युसन, (पृष्ठ २८५, २००८); सेलेक्टेड वक्र्स अफ जवाहरलाल नेहरु, भोल्युम २५, (पृष्ठ ४५६–४५९) अनुसार परराष्ट्र मामिलाजस्ता विषयलाई विशेष ध्यानपूर्वक (विथ ग्रेट केयर) कार्यान्वयन गर्नुपर्ने थप सुझावसमेत दिइएको छ। 

सोही पत्रमा नेहरुले कोइराला र नेपाल सरकारका प्रतिनिधिहरूसँग ‘दुई सरकारबीच विदेश र रक्षानीतिमा समन्वय गर्नेबारे भएका छलफलबारे उल्लेख गरेका छन् (अ रोल इन रिभोल्युसन, पृष्ठ २८५) । राजा त्रिभुवनलाई नेहरुले २३ मार्च १९५४ मा लेखेको लेखेको पत्रमा समेत यो समन्वय नीतिबारे उल्लेख गरिएको छ । उनले अमेरिकाको नेपालमा खतरनाक उपस्थितिबारे समेत उल्लेख गरेका छन् । राजालाई लेखिएको पत्रमा चीन वा तिब्बतबारे उल्लेख गरिएको छैन (सेलेक्टेड वक्र्स अफ जवाहरलाल नेहरु, भोल्युम २५, पृष्ठ ४५३–४५६)। 

सोही पत्रमा उनले आफ्नो सरकारले ‘तिब्बत मामिलामा चीन सरकारसँग लामो कुराकानी गरेको’ समेत उल्लेख छ । त्यसकारण उनले भविष्यमा कुनै पनि जटिलता आउन नदिन नेपाल र चीनबीच निकट समन्वय गरी फरक धारणा नआउने गरी काम गर्न समेत आग्रह गरेको देखिन्छ। 

राजा त्रिभुवनले मेको सुरुमा दिल्लीको भ्रमण गर्न लागेको जानकारी कोइरालाले ‘सेकेन्डरी सोर्स’ (अन्यत्रै) बाट पाएका थिए । राजाको साथमा परराष्ट्रमन्त्री रेग्मी पनि जान लागेको उनले थाहा पाए । कोइरालाले रेग्मीलाई एउटा नोट पठाई राजासँग दिल्ली जानुपर्ने आवश्यकता नरहेको बताएका थिए। 

रेग्मीले कोइरालाको आग्रहलाई अस्वीकार गरी राजासँग दिल्ली गए । मे ८ मा रेग्मीले नेहरुलाई भेटे । नेहरुले त्यही दिन कोइरालालाई यसबारेमा जानकारी गराई लेखिएको पत्र भ्रमणमै रहेका अर्का मन्त्री भद्रकाली मिश्रलाई दिएका थिए । 
‘मैले रेग्मी र तिम्रा मन्त्रीका साथै राजासँग छलफल गरे र उनीहरूले नेपालको परराष्ट्र नीति नेपालले नै समन्वय गर्नुपर्ने धारणा राखे । आज अपरान्ह मैले तपाईंका मन्त्रीसँग छलफल गरेँ र यस विषयमा संक्षिप्त ‘एड मेमोवायर’ मस्यौदा गरेको छु । रेग्मीले तपाईं र तपाईंको मन्त्रिपरिषद्लाई देखाउने गरी यसलाई आफूसँग लिएर आउनु हुनेछ....तपाईंले दस्तावेज हेर्नुहुनेछ र यसमा तपार्इंको चाँडै स्वीकृति दिनुहुनेछ भन्ने आशामा छु।’

नेहरुले पठाएको एड मेमोवायरको बुँदा ४ र ५ मा लेखिएको थियो : 
मे ८ को एड मेमोवायरमा विदेश मामिला र सम्बन्धमा दुई सरकारबीच निकट र निरन्तर सम्पर्क रहने उल्लेख छ । भारत सरकारले नेपालसँग सम्बन्धित सबै विषयमा नेपालसँग सम्पर्क गर्नेछ, नेपाल सरकारले तिब्बत र चीनसम्बन्धी विषयमा भारतसँग सम्पर्क गर्नेछ । दुवै सरकारले आवधिकरूपमा विदेश मामिलासम्बन्धी जानकारी आदानप्रदान गर्नेछन् । विदेशका जुनसुकै मुलुकमा रहेका भारतीय मिसनले नेपाल सरकारलाई प्रतिनिधित्व गर्नेछन्, नेपालीको स्वार्थलाई हेर्नेछन् र नेपाली नागरिकलाई सहयोग गर्नेछन्। 

नेपाल सरकारले संशोधन गरेको एड मेमोवायरमा उल्लेख गरिएको थियो ः (१) दुई सरकारबीच विदेश नीति र सम्बन्धमा निकट र निरन्तर सम्पर्क रहनेछ, (२) यस सम्बन्धमा दुई सरकारले आवधिकरूपमा सूचना आदानप्रदान गर्नेछन्, (३) विशेषगरी दुवै देशको सीमा जोडिएका मुलुकहरूको सम्बन्धमा नेपाल र भारतले आपसमा परामर्श गर्नेछन्, (४) नेपाल सरकारले अनुरोध गरेमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने र नेपालीको स्वार्थलाई हेर्न भारत सरकारले आफ्ना विदेशस्थित मिसनलाई व्यवस्था गर्न सक्नेछ। 

यी तथ्यहरूलाई हेरिसकेपछि प्रश्न गर्न सकिन्छ, किन नेहरुले हतारमा एड मेमोवायर लेखे ? मे ८, १९५४ मा नेपालका विदेश मन्त्री डिआर रेग्मीसँग एक दिनअघि भएको कुराकानीलाई अभिलेख गरेका थिए । ‘नेपाल र तिब्बतबीचको पुरानो सन्धि कार्यान्वयनमा नरहेको वा सान्दर्भिक नरहेको अहिले प्रस्ट छ । यसलाई रद्द भइसकेको मानिनेछ । यस्तो स्थितिमा सामान्यतः दुई देशबीच कुनै पनि बेला नयाँ सन्धि वा सहमति गर्नुपर्ने हुन्छ । तर, नेपालले यो विषय उठाइरहनु आवश्यक छैन,’ उनले भनेका थिए । उनले अगाडि थपेका थिए, ‘हाम्रो परराष्ट्र नीतिबीच समन्वय गरिएको हुँदा नेपालले अन्य कुनै पनि मुलुकसँग सन्धि गर्दा हाम्रो सहयोग र हामीलाई जानकारी दिएर मात्र हुनेछ (फ्रन्टलाइन)। 

नेहरुले चीनसँगको नेपाल सम्बन्धमा समेत भारतले प्रतिनिधित्व गर्ने चाहना व्यक्त गरेका थिए ।  नेहरुले ८ मेमा कोइरालालाई लेखेको पत्रमा भारतले नेपालको चीनसँग हुने कुनै पनि किसिमको वार्ता दिल्ली वा काठमाडौँमा हुनुपर्ने, चिनियाँलाई नेपालको परराष्ट्र नीति भारतसँग समन्वय गरिएको र यस्ता वार्तामा भारतको प्रतिनिधिको उपस्थिति अनिवार्य भएको जानकारी दिन समेत उल्लेख गरिएको थियो (अ रोल इन रिभोल्युसन, पृष्ठ २९५–२९६)। 

रेग्मीले भने मे ८ को पत्रकार सम्मेलनमा भनेका थिए : 
मे १९५४ मा नेपाल सरकारले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न दृढतापूर्वक जानकारी गराएको छ । परराष्ट्रमन्त्री रेग्मीले चीनद्वारा ‘हामीलाई औपचारिकरूपमा सम्पर्क गरियो भने हामी उचित समयमा उचित निर्णय गर्छौं’ भनेका थिए । यसका लागि नेपालले चीनसँग मित्रता कायम गर्न चाहन्छ भनेर रेग्मीले बताएका थिए (हेमन राय, चाइनिज स्ट्राटेजी इन नेपाल, पृष्ठ १०, १९८३)

एड मेमोवायरसँगै नेहरुबाट मातृकाप्रसाद कोइरालाबाट अर्को पत्र लेखिएको थियो । यो विषय अति संवेदनशील हुनाले (बुँदा १ देखि बुँदा ९ को अंश) भोल्युमबाट मेटाइएको छ । एड मेमोवायरको पाठसमेत मेटाइएको छ । तथापि, बुँदा ९ देखि १७ को अंश भने मेटाइएको थिएन । तर, यो अति संवेदनशील पत्रलाई कोइरालाको पुस्तकमा समावेश गरिएन (सेलेक्टेड वक्र्स अफ जवाहरलाल नेहरु, भोल्युम २५, पृष्ठ ४६०–४६१ लाई मेटाइएको छ)। 

१८ मे १९५४ मा नेहरुले भारतीय संसद्लाई राजा त्रिभुवन र रेग्मीलाई नेपालको परराष्ट्र नीतिलाई भारतसँग समन्वय गर्न परामर्श दिएको जानकारी गराएका थिए । नेहरुको एड मेमोवायर आएको केही समयपछि राजा त्रिभुवन विरामीले अशक्त भएका बेला युवराज महेन्द्रले राजकाजमा सहयोग गरिरहेका समयमा रेग्मीले महेन्द्रसँगको परामर्शमा एड मेमोवायरको अर्को ‘भर्सन’ (पाठ) लेखेका थिए । यो एड मेमोवायरसँगै नेहरुले लेखेको एड मेमोवायरलाई पनि सँगै नेपालको मन्त्रिपरिषद्ममा प्रस्तुत गरिएको थियो । नेहरुको एड मेमोवायरलाई मन्त्रिपरिषद्ले अस्वीकार गरेको थियो। 

मातृकाप्रसाद कोइराला मन्त्रिमण्डलमा सदस्य रहेका सबैलाई १९५४ को एड मेमोवायर बाँडिएको थियो, त्यसै मन्त्रिमण्डलमा रेग्मी परराष्ट्र र टंकप्रसाद आचार्य गृहमन्त्री रहेका थिए । त्यतिबेला मन्त्रिमण्डलका सबै सदस्यलाई उक्त एड मेमोवायर वितरण गरिएको थियो । सबैले त्यो बेला परराष्ट्रमन्त्री रेग्मीलाई फिर्ता गरे पनि आचार्यले आफैँसँग राखेका थिए । आचार्यबाट सन् १९५८ मा हृषीकेश शाहले प्राप्त गरी ‘झ्याली’मा प्रकाशित गरेका थिए । लियो इ रोजका अनुसार रेग्मीको पार्टीबाट विद्रोह गरी हिडेका जीवराज शर्माले ‘झ्याली’ प्रकाशित गर्दै आएका थिए । रेग्मीकै पार्टीमा रहेका पूर्व सदस्य शाहसमेत ‘झ्याली’का प्रमुखमध्ये एक थिए । पछि उनी कांग्रेसमा सहभागी भएका थिए। 

चुनाव आइरहेका कारण विरोधी दलका सदस्यलाई कमजोर देखाउन रेग्मीले उक्त एड मेमोवायर लेखेको भनी ‘झ्याली’मार्फत प्रचार गराइएको थियो । अहिलेका निर्वाचनमा के गरिन्छ ? त्यसबाट पनि बुझ्न सकिन्छ, तथ्य एकातिर थियो तर त्यसको प्रस्तुति अर्कै भइदियो। 

उक्त विवरण ‘झ्याली’मा छपिएपछि डा. रेग्मीले टंकप्रसाद आचार्यलाई जुलाई १९, १९५८ मा पत्र लेखी ‘सोही कागज आज आएर छापिनुबाट तपाईंले आफूसँग रहेको याददास्त (मेमोवायर)को नक्कल प्रतिको दुरुपयोग गर्नुभएको अभियोग तपाईंलाई लाग्न सक्छ । यदि यसबारे तपाईंलाई केही थाहा छ कि भनी सोधनी गर्न तपाईं समक्ष यो पत्र पठाइरहेछु । एक अर्को कुरा ‘झ्याली’ साप्ताहिकका मुख्य हर्ताकर्ता श्री हृषीकेश शाह हुन् । यो पनि सुनिन्छ कि ५ जुलाई रातमा तपार्इंहरू दुवैजनाका बीच निकै बेर गफगाफ भएको थियो । जसको फलस्वरूप उक्त याददास्तको नक्कल प्रकाशित हुन गयो । मलाई यसबारे के के भएको हो... लेखी पठाउनु भए बेश हुने थियो।’

उक्त पत्रको जवाफमा भोलिपल्टै २० जुलाई, १९५८ मा आचार्यले रेग्मीलाई लेखेका थिए : प्रिय श्री रेग्मीजी, तपाईंले भारतबाट मई १९५४ मा लिएर आएको स्मृतिपत्रबारे प्रश्न गर्नु भएकोमा उक्त स्मृतिपत्रको एक प्रति नक्कल मसँगको एउटा फाइलमा पडिरहेको थियो । एक दिन श्री हृषीकेश शाह मकहाँ आउनुभएको थियो । त्यसबेला उहाँ राष्ट्रसंघमा नेपालका तर्फको प्रतिनिधिको जिम्मेदार पदमा हुनुहुन्थ्यो । कोशी प्रोजेक्टको नक्सा हेर्ने कुरा गरी उहाँले उक्त फाइल सिघ्र नै फिर्ता गर्ने कबुलको साथ मागेर लैजानु भयो । उहाँले सो फाइल फिर्ता गर्नुभएको छैन । झ्यालीमा कहाँबाट कसरी प्रकाशित भयो त्यो चाहिँ मलाई थाहा छैन । भवदीय टंकप्रसाद आचार्य ।’

डा. रेग्मीको हातमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले पठाएको एड मेमोवायरलाई तत्कालीन राजा महेन्द्रका पालामा मन्त्रिपरिषद्ले अस्वीर गरेको यी तथ्यबाट देखिन्छ । त्यति मात्र होइन त्यो एड मेमोवायर रेग्मी भारत भ्रमणमा गएका बेला उनलाई समेत हेर्न नदिई बन्द खाममा राखेर नेपाली समकक्षी मातृकाप्रसाद कोइरालालाई पठाएको भन्ने बुझ्न सकिन्छ यी विभिन्न स्रोत सामग्रीको अध्ययनबाट । यति निकटको इतिहासका घटनामा समेत अलमत देखिन्छ । अचेल यस्ता सामग्री कसैले पनि लिखितरुपमा नराख्ने हुनाले भविश्य झन् अन्योलग्रस्त हुने देखिन्छ। 

रेग्मीलार्इ टंक अाचार्यले लेखेकाे पत्र र रेग्मीले अाचार्यलार्इ लेखेकाे पत्र

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
Download Nagarik App