८ वैशाख २०८१ शनिबार
विचार

सर्वोच्चता चेतनामा खोज्ने कि ?

मानिस चेतनशील प्राणी हो । चेतनशील प्राणी मात्र होइन चैतन्य, परम चेतना, शुद्ध चेतना हो । जीवनको उद्देश्य त्यही शुद्ध चेतनालाई जान्नु हो । जसले त्यो शुद्ध चेतनाको बोध गर्न जान्छ र त्यही चेतनालाई प्रयोग गरेर कर्म गर्छ उही व्यक्ति सर्वोच्च मानिन्छ । जो सत्, चित्, आनन्दमा रहन्छ ऊ स्वयंमा सर्वमान्य कहलिन्छ । सत्, चित्, आनन्द नै मानिसको स्वभाव, गुण र सर्वोच्च पद हो जुन कुनै सांसारिक पद, सम्मान र धनसँग तुलनीय छैन । तर मानिस यति बेहोसी छ कि आफ्नै गुण, आफ्नै स्वभाव बिर्सिरहेछ, बेहोसीमै जीवन जिइरहेछ । त्यसकै परिणाम आज न्यायालयदेखि सडकसम्म देख्न पाइएको छ । मै खाऊँ, मै लाऊँको लालचले आफू खाडलमा फस्दै छ र अरूलाई फसाउँदै छ । सक्कली, नक्कली अनेक प्रपञ्च रोजेर उसलाई पद, धन, मान सबै चाहिएको छ । शिक्षा, स्वास्थ्यदेखि सेवाका हरेक क्षेत्रमा नक्कली प्रमाणपत्रको भरमा पद र मान जोगिँदै छ, एक पक्ष त्यही नक्कलीलाई जोगाउनमा सक्रिय छ । उही फेरि अदालत धाउँछ मानसम्मानका लागि । जसले लालच, इच्छा, कामना, आशक्ति र चित्तप्रति नियन्त्रण गर्न सक्छ उसको मानहानि कसैले गर्न सक्दैन । भय, क्रोध, तृष्णा र बेहोसीको कारण नै मानिस असल, खराब सबै कर्मप्रति संलग्न हुने गरेको हुन्छ । त्यसले नै मानिसलाई दुर्भाग्यतिर धकेलिरहेको हुन्छ किनकि अहंकार नै दुर्भाग्यको कारण हो । सत्य, सदाचार, प्रेम र क्षमा सुख र आनन्दका कारण हुन् । रोजाइ कतातिर बढी होला हाम्रा जिम्मेवार व्यक्तिहरूको ? चुनाव, संविधान, संसद्, न्यायालय, नागरिक अभियन्ता सबैमा बराबर लागू हुने स्वभाव र नियम यही हुन् । सत्य, सदाचार, प्रेम र क्षमाको सूत्रबाट कर्म गर्दै, विकास पनि गर्ने अनि आफ्नो जीवन पनि जिउने या अहंकार, लालच, क्रोध, प्रतिशोध र तृष्णामै जीवन समाप्त पार्ने । किनकि, यी स्वभावले जनहितको काम गर्ने त सम्भावना नै छैन ।

चेतनाको स्तर कुन तहसम्म विकास गर्ने या कुन तहमा रहेर कर्म गर्ने रोजाइ व्यक्तिको आफ्नै हातमा छ । किनभने, जन्मदेखि मृत्युसम्म मानिस केही न केही कर्ममै लागिरहेको हुन्छ एकपछि अर्को कर्म गर्दै । दैनिक आवश्यकताको पूर्तिका लागि होस् या आफ्नो धन, मान, मर्यादा, सफलता, असफलता जसमा उसको कर्मको सीधा हात रहन्छ, कर्मले नै हाम्रो जीवनको दिशा निर्धारण गरेको हुन्छ । कोही आफ्नो कर्मको कारणले सुखी छन् त कोही कर्मकै कारणले दुःखी । कसैले अरूको खुसियाली बढाउने कर्म गर्छन् भने कसैले अरूको दुःख बढाउने । कतिले आफ्नो जीवन अरूलाई दान दिनुलाई आफ्नो कर्म बनाएका छन् भने कतिले अरूको जीवन लिनुलाई आफ्नो कर्म । एक दिनमा अधिकतम २४ घन्टा हामीसँग कर्मका लागि उपलब्ध छ, जसलाई हामीले अनेक तरिकाले प्रयोग गर्छौं । हाम्रो वरिपरि हामीले हेर्यौं भने यस्ता हजारौँ उदाहरणहरू दैनिक देख्न पाइरहेका छौँ । आधुनिक विज्ञानमा ‘आकर्षणको नियम’ भनेझैँ जे कर्म गरेको छ फल त्यही हात लाग्छ, चाहे त्यो परिणाम एक महिनामा देखियोस् या एक वर्षमा या त एक जन्ममा तर देखिन्छ जरुर । जस्तो भावले कर्म गरिन्छ त्यही अनुरूपको फल प्राप्त हुन्छ यो कर्मको विज्ञान नै हो । आन्तरिक चेतनाको प्रयोग गरी गरिएका कर्मको फल सकारात्मक आउँछन् भने आन्तरिक चेतनाको अभावबाट सृजित कर्महरूको फल नकारात्मक नै आउँछन् । अहिले नेपालको परिप्रेक्ष्यमा न्यायालयदेखि सडकसम्मका व्यक्तिहरूको कर्म, कर्मको परिणाम र स्वभाव देख्दा लाग्छ सानादेखि ठूलासम्मका व्यक्तिहरूले गरेको कर्ममा हतार निर्णय, सुझबुझको कमी र चेतनाको स्तरबाट त शून्यसरह नै छन् । राज्यका प्रमुख तीन अंगले गर्ने लोककल्याणकारी काममा समेत एकआपसमा शक्ति सन्तुलन देखिँदैन । जिम्मेवार पक्षले समेत पूर्वाग्रहीरूपमा काम गर्ने र निर्णय लिने गरेको प्रमाण एकपछि एक गर्दै आइरहेका छन् ।
नेपालको अवस्था हेर्ने हो भने, आम नागरिक आफ्नो स्वतन्त्रता र अधिकार खोसिने हो कि भन्ने भयमा छन् भने जिम्मेवार पक्ष आफ्नो पदको दुरुपयोग गर्दैछन् । दुरुपयोग गर्दैछु भन्ने होस पनि छैन । क्षणिक स्वार्थका निम्ति जे पनि गर्न तत्पर छन् किनकि धेरै देखिसकियो उदाहरणहरू प्रशस्तै भइसकेका छन् । चुनाव जित्न होस् या सरुवा, बढुवा, आफ्ना मान्छे भर्ती गर्न होस् या नक्कलीलाई जोगाउन, भ्रष्टाचारीलाई उम्काउन होस् या ठूला माछा जोगाउन गरिएका हर्कतहरू सबैको सामु प्रस्ट हुँदा पनि गर्नसक्ने र बोल्न सक्ने कोही भेटिन्न । किनकि, चेतनाको स्तरबाट आफ्नो भूमिकालाई सेवामा समर्पित गर्ने चैतन्यवान् व्यक्तिहरू अझै मैदानमा देखिएन । सबैलाई समान देख्ने खुबी र मैत्रीभाव नै सच्चा प्रेम हो, त्यही नै विकासको आधार हो भन्ने ज्ञान भएको व्यक्ति जिम्मेवार पदमा देखिएन ।

सत्य के हो ? जुन छिपाएर छिप्दैन । आफैँले गरेका नकारात्मक कर्म पनि कागज र समाजमा लुकाउन सकिएला तर स्वयंको आत्मालाई लुकाउन सकिन्न । सदाचार , होसियारी, आत्मअनुशासन, निष्पक्षता, इमानदारी, लगनशीलताजस्ता सद्गुणहरू मानिसमा छन् । ती सद्गुणहरूलाई व्यवहारमा प्रयोग गर्न सकेमा कुनै अनैतिक कार्यप्रति मानिस आशक्त हुँदैन भन्ने चेतना जागृत गर्ने खालका कार्यक्रम र सिकाइको सख्त जरुरत देखिएको छ । जिम्मेवार पदमा सही, नैतिक र आदर्श व्यक्तिको अभाव खट्किरहेको छ । जनतालाई सिधै झुक्याउने, राज्य शक्तिको दुरुपयोग गर्ने परिपाटी बढ्दो छ । तर सत्य सत्य नै हुन्छ, असत्यको एकदिन भण्डाफोर हुन्छ । गुप्तरूपमा गरिएका अपराधले मृत्युपर्यन्त पनि सजाय दिनेछन् भन्ने चेतना सबैमा जाग्नैपर्छ । आफ्नो स्वभावमा रहेर कर्म नगर्नु पनि अपराध हो । करुणा, मैत्री, सद्भाव, परोपकार, अनुशासन, सकारात्मक सोच कायम राख्दै सर्वे भवन्तु सुखिनको भाव जागृत भएको व्यक्ति स्वयंमा सर्वोच्च हुनेछ । उसको चेतना सधैँ सत्कर्ममा प्रेरित हुनेछ । चेतना जागृत व्यक्ति आफू पनि शान्त, सौम्य, प्रसन्न र अरूलाई पनि सुख दिने कर्ममा प्रेरित हुन्छ । जहाँ सत्कर्म छ, त्यही त हो विकास । चेतना विकास नै विकासको पहिलो खुट्किलो हो।

प्रकाशित: ८ माघ २०७४ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App