coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

प्राडा मात्रै विद्वान् होइनन्

विषयगत, विधागत, औपचारिक, अनौपचारिक ज्ञान, विद्वत्ता, विज्ञताको उच्चतम तह नै प्राध्यापक–डाक्टर हो । संसारमा नै यस तहका सरस्वतीका वरद् सन्तानको सर्वोपरि महत्व छ र हुन्छ । बरू हाम्रो जस्तो विकासशील मुलुकमा प्राडाहरूको महत्व कमै रहेको र भएकालाई पनि कम आँकेको देखिन्छ । त्यसमा पनि यस देशका पार्टी र तिनको अधिकांश नेतृत्व अक्सर उच्च र उदात्त तहका बौद्धिक व्यक्तित्वहरूलाई सकेसम्म कुनै मान र महत्व दिँदैन । यसो हुनुमा कतिपय प्राडाहरूकै जीहजुरी मनोविज्ञानले पनि काम गरेको देखिन्छ ।

प्राडा युवराज संग्रौलाले एक अन्तर्वार्तामा नेपालको बौद्धिक प्राज्ञिक गतिविधि सुस्त र शिथिल रहेको बताएका थिए । उनले दुनियाँमा बौद्धिक जागरण र क्रान्ति भएको तर यहाँ राजनीतिक पार्टी र तिनका नेतामुखी चरित्र र चिन्तन मात्र पन्पिएकामा गुनासो गर्दै बौद्धिक जागरण वा क्रान्ति आवश्यक रहेको बताएका थिए । अझ उनले त राजनीतिक पार्टी र तिनको अधिकांश नेतृत्वहरू बौद्धिक व्यक्तित्व र कृतित्वबारे नकारात्मक धारणा राख्छन् भन्ने तीतो यथार्थ उल्लेख गरेका थिए । वरिष्ठ अधिवक्ता तथा विद्वान् विश्वकान्त मैनालीले केही वर्षअघि पार्टी नेता र नेतृत्वसित बुद्धिजीवीको तेलपानीको जस्तो सम्बन्ध रहेको बताएका थिए । हुन पनि पार्टी नेतृत्व सकेसम्म बुद्धिजीवीहरूलाई सामान्य कार्यकर्ता सरह ऐँचिन र खैँचिन चाहन्छ ।

सुप्रसिद्ध लेखकहरू मोदनाथ प्रश्रित, महेशराज पन्त, दिनेशराज पन्त, ज्ञानमणि नेपाल, सौरभहरू कुनै जानेमाने प्राडाभन्दा कम छैनन् । गहन खोज र अध्ययन गरेर खारिएका प्रकाण्ड विद्वान् यिनीहरूले कुनै पार्टीमा नलागेर वा निरपेक्ष वा स्वतन्त्र प्राज्ञ भएर पनि थुप्रै योगदान दिएका छन् ।

उनीहरू परोक्ष रूपमा बौद्धिक व्यक्तित्वहरूलाई दबाएर राख्ने, नसके आश र त्रासमा पारेर अलमल्याएर राख्ने अनि त्यसबाट पनि पार लागेन भने अराजकको बिल्ला भिराएर पन्छाइदिने गरेको यस लेखकको प्रत्यक्ष अनुभव रहेको छ । प्रायः नेताहरू बुद्धिजीवीहरूलाई काम सर्याे भाँडो, आफल तेरो ठाँडो भनेझैँ गर्छन् । तर यसै विषयमा एमाले पार्टी अध्यक्ष केपी ओलीले कुनै एक कार्यक्रममा पार्टीमा काम पनि गर्नु तर अपजस, उपेक्षा र अपमान पनि सहनु किमार्थ जाती हुन्न भनेका थिए । यस खालको अनुभूति भने ओली आफैँले पनि पार्टीभित्र भोग्नुभएको पछि अवगत भएको थियो । जनवादका नाममा केन्द्रीयता लाद्ने र परोक्ष रूपमा पार्टीमा नोकरसाहीतन्त्र लाद्ने प्रवृत्ति हाबी हुँदा पार्टी परिवारभित्रकै बौद्धिक वैचारिक प्रतिभाहरू कुण्ठित तथा पलायन हुन्छन्।

बौद्धिक तथा स्वाभिमानी प्राज्ञिकहरूलाई कतिपय नेताहरू पार्टीमा हली बस्न र खेतालो बस्न आएको भनेझैँ खालको व्यवहार गर्न खोजेको अनुभूति हुन्छ तर त्यस खालका कुरूप पक्ष देखेर भाग्नेभन्दा तिनसित जुँध्ने आँट र अठोटका साथ लागिपर्दा त्यस खालको कुरूप प्रवृत्तिविरुद्ध जुँध्न पनि नसकिने पनि होइन । ओलीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृति सभामा हाम्रा पुर्खाहरू यस देशका सबै खालका प्रतिकूलताबाट वाक्कदिक्क भएर देशमा आफूले जन्म लिनुपरेकामा लाज, घिन, शर्म र उपेक्षा गरेर विदेसिएनन् बरू तिनले यही देशका सबै खालका विरूप पक्षहरूलाई उच्छेद गर्दै सुन्दर देश बनाउन गम्भीर रूपमा पहल गरेको यथार्थ औँल्याएका थिए । यो कुरा पार्टी र पार्टी परिवारका सन्दर्भमा पनि सान्दर्भिक हुन्छ । यसै प्रसंगमा प्राडा अभि सुवेदीले २०७४ पुस १७ गते एक प्रमुख दैनिकमा प्रकाशित लेखमा आफू स्वतन्त्र निरपेक्ष प्राज्ञिक मानिसले किन राजनीतिका कुरा गर्ने भन्ने भनाइ  यस लेखकलाई भने टिठलाग्दो लाग्यो ।

अभि सुवेदी विशेषतः नेपाली साहित्यिक क्षेत्रका निक्कै गहकिलो योगदान गरेका र हाल पनि गरिरहेका वरिष्ठ सर्जक तथा समालोचक हुन् । अङ्ग्रेजी भाषा र साहित्यका विज्ञ तथा विद्वान् त हुँदाहुँदै पनि नेपाली साहित्य र समालोचनाको समृद्धिमा सुवेदीको महान् योगदान रहेको छ । उनले अनेक साहित्यिक वाद, विचार र सिद्धान्तका गहन ग्रन्थ लेखन, अनुवाद र अनुसन्धान गरेका छन् । विचार, दर्शन, राजनीतिका अनेक पक्ष, सन्दर्भ र संस्करणहरू कला साहित्यमा अनेक वादका रूपमा स्थापित र विकसित भएका हुन् । अभि सुवेदीले आफूलाई स्वतन्त्र र निरपेक्ष प्राज्ञिक लेखक भने पनि उनका समसामयिक सामाजिक, आर्थिक, कला साहित्यिक तथा भाषिक र सांस्कृतिक विषयका लेखहरू आफैँ निरपेक्ष छैनन् । उत्तर आधुनिकतावादको पक्षपोषण गर्ने सुवेदी कसरी निरपेक्ष प्राज्ञिक हुनसक्छन् ? यो वाद कला साहित्यलाई जीवन निरपेक्ष ठान्छ, यसले महाआख्यानको अन्त्य भनेर माक्र्सवादको समाप्तीलाई सारमा उल्लेख गरेको छ । आफूलाई निरपेक्ष प्राज्ञिक भन्न रुचाउने अभि सुवेदी देश, जनता, जनजीविकाका पक्षमा भने बोल्न रुचाइरहेको देखिन्न । उनले लोकतान्त्रिक विधि, पद्धति, प्रक्रिया, यसका मूल्य–मान्यताको चीरहरण भएको हेरिरहन मिल्छ ? अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको महिनौँ हुँदा पनि सरकारले अलोकतान्त्रिक चरित्र निर्वाह गर्दा देश र समाजका अगुवाले परोक्ष रूपमा पनि बोल्न नहुने हो र ? सत्य र न्यायको वकालत गर्नेहरू नै मौन बसेपछि आवाजविहीनहरू कसरी बोल्लान् ? 

सुप्रसिद्ध लेखक मोदनाथ प्रश्रित, महेशराज पन्त, दिनेशराज पन्त, ज्ञानमणि नेपाल, सौरभहरू कुनै जानेमाने प्राडाभन्दा कम छैनन् । उनले असङ्गति नामको अत्यन्त महत्वपूर्ण पुस्ताकाकार कृतिमा नेपालका सबै खालका कुरूप पक्षको पर्दाफास गरेका छन् । यो उनको पठनीय र संग्रहणीय कृति हो । महामना मोदनाथ प्रश्रितले धेरै प्राडाहरूलाई यो जुनी र जिन्दगीभरि पढाउने र सिकाउने सामथ्र्य राख्छन् । अनौपचारिक गहन र गवेषणामूलक खोज र अध्ययन गरेर खारिएका प्रकाण्ड विद्वान्हरू दिनेशराज पन्त तथा ज्ञानमणि नेपाल खासै कुनै पार्टीमा नलागेर वा निरपेक्ष वा स्वतन्त्र प्राज्ञ भएर पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र अग्रगमनका पक्षधर रहेको देखिन्छ । स्वयं अभि सुवेदीलाई केही वर्षअघि सिक्किममा आयोजित साहित्यिक कार्यक्रममा अतिथि वक्ताका रूपमा आमन्त्रण गर्दा काठमाडौँमा सुवेदीलाई उनी उहिल्यै वाम विद्यार्थी नेता हो भनेर बार हालेका थिए र सिक्किम जानबाट रोकेका थिए ।

यस विषयमा सुवेदीले एक लेख नै लेखेका थिए । त्यसैले सुवेदीले आफूलाई सबैको हुनका लागि निरपेक्ष प्राज्ञिकको सस्तो र पातलो लेपन लगाउनुभन्दा सत्य, न्याय र समानताको पक्षपोषण गरेर भविष्यका लागि गहन सन्देश दिनु जाती हुन्छ ।  
 (सदस्य, नेकपा एमाले संस्कृति विभाग) 

प्रकाशित: ५ माघ २०७४ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App