५ आश्विन २०७७ सोमबार
विचार

चाहियो लोभ–भ्रममुक्त मतदाता

निर्वाचन नजिकिएसँगै राजनीतिक पूर्वाग्रह छुताछुल्ल बनेको छ । समय नै रंगिएपछि रंगहीन पात्र व्यर्थको कल्पना बन्दो रहेछ । वाम र लोकतान्त्रिक गठबन्धनदेखि साना राजनीतिक दलहरूप्रतिको प्रशंसा र आलोचनाले कोरेको किनाराले पात्रहरूको पक्षधरता परिभाषित गरेकै छ । छिपाउने प्रयत्न छिपेको छैन । राजनीतिक अधिकारयुक्त नागरिक जुनसुकै भूमिकामा रहे तापनि उसले एउटा किनारा रोज्दो नै रहेछ (अपवादबाहेक) । विशेषगरी महत्वपूर्ण राजनीतिक मोडहरूमा । यो आलेखले पनि पूर्वाग्रह लिएकै छ । विवेकले देखेको विकल्पको पक्षमा आग्रह नै गरेको छु । किनभने, यसलाई म एउटा नागरिक हुनुको कर्तव्य सम्झेको छु र समय नै त्यस्तो आइलागेको छ। 

एउटा व्यक्तिले पराजय भोग्दैमा केही बिगँ्रदैन, अर्को अवसर त आउँछ नै । तर, व्यवस्था नै पराजित हुने अवस्था सिर्जना हुनु इतिहासकै भूल हुनेछ । 

केपी शर्मा ओली र पुष्पकमल दाहालको ‘दसैँ बम्पर’ले जुन राजनीतिक समीकरण तय गरेको छ । यसले नयाँ युगको यात्रा प्रारम्भविन्दु मानिएको निर्वाचनको बहसलाई अझ व्यापक बनाएको छ । विगतका मतपरिणाम देखाएर कांग्रेसलाई हतोत्साहित बनाइँदै छ भने एक्लिएको अनुभूतिले कांग्रेस स्वयं आत्तिएको छ । निर्वाचन घोषणापत्रको भाषामा होओस् अथवा राजनीतिक सभाहरूमा, कांग्रेस आत्तिएको प्रस्ट अनुभव गर्न सकिन्छ । ऊ यतिबेला वाम गठबन्धनप्रति कुतर्क गर्नबाट समेत बचेको छैन । तर, कांग्रेसभित्रका केही पात्रहरू पनि यस्ता देखिएका छन् । जसको स्वरमा निर्वाचनको परिणाम ‘जुवाको हार होइन, राजनीतिक परिणति हुन्’ भन्ने झन्कार सुनिन्छ । कांग्रेस पाँच वर्ष पराजित हुने हो, अन्त्य होइन भन्दैछन् । हो, तिनै पात्रहरूप्रति मेरो आग्रह छ । जहाँ देशको भविष्य देखेको छु। 

को जित्ने ? 
यतिबेला व्यावसायिक परिचय बनाएका सञ्चार माध्यमलाई राजनीतिक सन्तुलनको बढी चिन्ता छ । यो, स्वाभाविक पनि हो । तर, कसले हार्ला र कसले जित्ला भन्ने अनुमानित तथ्यांकहरू सञ्चारमाध्यमको सामग्री बनिरहेकै छन् । सिंहदरबारदेखि दुर्गमका कुनाकन्दारासमेत निर्वाचनको प्रक्षेपणमै केन्द्रित रहेका बेला सञ्चारमाध्यम लोकगीतको व्याख्या गरेर बस्ने कुरा रहेन । तर, कसलाई जिताउनुपर्छ र किन ? भन्ने तथ्यहरू भने नेपाली सञ्चार माध्यमबाट सुनिँदैन । त्यस्तो अभ्यास पनि छैन । यो आलेखबाट भने केही पात्रका नाम किटान गरेर त्यस्ता प्रवृत्तिका उम्मेदवारहरूले जित्नुपर्छ भन्ने आग्रह गरेको छु। 

बीपी कोइरालाको निधनपछि राष्ट्रिय राजनीतिमा दीर्घकालीन नीतिसहित कार्यक्रम तय गर्नबाट कांग्रेस धेरै पटक चुक्यो । हजारौँ योद्धाहरूको सपनाले बनेको कांग्रेसको गौरवपूर्ण इतिहास धुलाम्मे बनाउने गरी जनताले प्राप्त गरेको अधिकार राजाको पाउमा राख्ने काम कांग्रेसकै नेतृत्वमा भयो । जसको सजाय कांग्रेससँगै सिंगो देशले भोग्दै थियो । त्यही बेला एउटा युवक राजशाही कालरात्रि तोड्ने उद्घोषसहित उज्यालो गणतन्त्रसँग प्राण जोड्न पुग्यो । जोड–जोडले चिच्यायो, कफनले कपाल बेरेर दरबारविरुद्ध धावा बोल्यो । स्वतन्त्रता चाहने जनताको ढुकढुकी समातेका तिनै युवक सिंगो पार्टी पंक्तिसँगै देशलाई गणतन्त्र स्वीकार्न बाध्य तुल्याउने पात्रहरूमध्ये एक बन्न पुगे । आजपर्यन्त उनले त्यो धार छोडेका छैनन्। 

तिनै युवक अर्थात् गगन थापा अहिले संसदीय इतिहासमै कांग्रेस सर्वाधिक कमजोर बनेका बेला सोही पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । र, सात दशक लामो जनसंघर्षबाट स्थापित गणतन्त्र नेपालको संविधान कार्यान्वयनको पूर्णता दिने काम तिनै निर्वाचित सदस्यहरूले गर्नुपर्नेछ । तर, गगन थापाजस्ता केही पात्रहरू छुट्ने सम्भावना पनि उत्तिकै छ । लोकतान्त्रिक गठबन्धनकाहरू वाम गणितको कारण र वाम गठबन्धनकाहरू पुँजीपतिको कूप्रवृत्तिसँग स्पर्धा गरिरहनुपरेको छ । उनीहरूको पराजयमा एउटा प्रगतिशील प्रवृत्ति पराजित हुने सम्भावना छ । 
गगन थापासँगै अरू केही पात्र कांग्रेसमा छन्, जो संविधानको भावना र सोचमुताबिक मुखरित हुँदै आएका छन् । आमभावनालाई केन्द्रमा राखेर अडान लिँदा धेरै पटक आफूआबद्ध पार्टीसँग मतभिन्नता राखेका छन् । यस्तैमा पर्ने धनराज गुरुङजस्ता केही पात्रलाई कांग्रेसले टिकट दिनसमेत उचित ठानेन । तर, निर्वाचनको मैदानमा जति छन् । उनीहरूप्रति न्याय गर्दा नै मुलुकको राजनीतिक ट्रयाक सही दिशातर्फ बढ्छ । किनभने, कुनै चामत्कारिक परिवर्तन आएन भने कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दयनीय अवस्थाकै प्रतिपक्षमा पुग्ने सम्भावना बढी छ । र, यस्तो परिस्थितिका लागि कांग्रेसमा थापाजस्ता केही पात्र छुट्न हुन्न । जसले अन्त्यन्तै दयनीय अवस्थाको प्रतिपक्षलाई समेत आवेग होइन, विवेकमा लोकतान्त्रिक संस्कार र अभ्यासतिर तान्नसक्ने ल्याकत राख्छन् भन्ने कम्तीमा मलाई विश्वास छ । निकट राजनीतिक विगत हेर्दा पनि त्यो प्रस्ट हुन्छ। 

अहिलेको राष्ट्रिय राजनीतिका लागि गगन थापा, कृष्णप्रसाद सिटौला, प्रदिप गिरी, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्काहरू संसद्बाहिर रहनु हुन्न । जसले संघीय गणतान्त्रिक संविधान जारी गर्न र त्यसका लागि आवश्यक सोच विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका छन् । यसको अर्थ कांग्रेसका अरू नेता अयोग्य छन् र पराजित हुनुपर्छ भन्ने होइन । तर, प्रगतिशील सोच र जनभावनाको कदर गर्न माथि उल्लेख गरिएका पात्रहरू ज्यादा उचित हुन् भन्ने हो । उनीहरूको अनुपस्थितिमा संविधान, संसद् र प्राप्त उपलब्धि नै रहन्न भन्ने ठोकुवा पनि होइन । दलीय बाध्यता र व्यक्तिगत कमजोरीरहित पात्र पनि होइनन्, उनीहरू । विशेषगरी कांग्रेसमा आबद्धहरूको आर्थिक नीतिप्रति बिल्कुलै मेरो सहमति छैन । फेरि, यी पात्रहरू पराजित हुँदा आकाश खस्ने पनि होइन। 

तर, कम्तीमा संसदीय शक्ति सन्तुलनमा उचित पात्रहरू अटून् भन्ने हो । किनभने, संसदीय शक्ति सन्तुलनमा उपयुक्त पात्र नपर्दाको दुःखद इतिहास हामीले भर्खरै भोगेका छौँ । ०६४ को संविधानसभा निर्वाचनको परिणाम शक्ति सन्तुलन गुमाएको नजीर थियो । जहाँ, माओवादी उम्मेदवारबाट कांग्रेस र एमालेका प्रगतिशील एवम् राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन कायम राख्नसक्ने नेताहरू पराजित भएका थिए । त्यसको अभाव पहिलो संविधानसभाको अवधिभर खड्कियो । यसैकारण अतिवादी शक्ति र प्रवृत्तिहरूले मौलाउने अवसर पाए । देश कसरी जोगाउने भन्ने चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आयो। 

०७० को निर्वाचनले भने यसको विपरीत परिणाम दियो, पार्टी पंक्ति पराजित हुँदा संसदीय शक्ति सन्तुलनमा आवश्यक माओवादी नेताहरू विजयी भए । जसले अधुरो र अप्ठ्यारो मोडमा पुगेको राजनीति सही मार्गमा आयो, संविधानसभाबाट शक्ति सन्तुलनको साझा दस्तावेजका रूपमा संविधान जारी भयो। 

को हार्ने ? 
लोकतान्त्रिक गणतन्त्र नै यस्तो व्यवस्था हो । जहाँ एकले जितेर ऊबाहेक सबै हार्ने होइन कि सबैले जित्ने हुन्छ । यसकारण कसैलाई पराजित गर्नेभन्दा पनि कसले बढी जनताको मन जित्ने भन्ने हो । यो पटक राजनीतिक समीकरणका आधारमा वाम गठबन्धनले बहुमत ल्याउने देखिन्छ । आमजनता, कार्यकर्ता र राजनीतिज्ञका लागि यो खुसीको विषय पनि हो । किनभने, देशले पाँच वर्षका लागि स्थिर सरकारको आधार तय गरिदिन्छ । कम्तीमा सामाजिक न्याय, सुशासन र समृद्धि मुलुकको एजेन्डा बन्छ। 

यसबाहेक छुट्टाछुट्टै अड्डा खडा गरेर बसेका कम्युनिस्टहरूबीच एकता अझ बढी महत्वपूर्ण छ । यसले मुलुकमा राजनीतिक ध्रुवीकरणलाई प्रोत्साहित गर्छ र पदकै लागि पार्टी खोल्ने प्रवृत्तिको अन्त्य हुन्छ । यो एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सैद्धान्तिक र कूटनीतिक पहल गर्ने पात्रहरूले पनि जित्न आवश्यक छ । यसै पनि अन्तर–राजनीतिक संवादमा शीर्ष नेता सधैँ समस्या हुन्, समाधान होइनन् । राजनीतिक निकासको आधार तय गर्ने पहलकदमी सधैँ दोस्रो÷तेस्रो तहकै नेताहरूबाट हुँदै आएको छ । वाम एकता र स्थिर सरकार बन्न गठबन्धनको निरन्तरता वा पार्टी एकता हो । तर, यसमा नेताहरूको पदीय हैसियत र शक्ति भोगले समस्या हुने अनुमान गरिँदै छ । यदि गणतन्त्र, संघीयता, नागरिक स्वतन्त्रता र समृद्धिका लागि राजनीति गरिएको हो भने भोगविलास नपाउँदा पराजित भएको सोच्नु राजनीतिक दरिद्रता हो । यसर्थ, जनताको पक्षबाट लाभहानिको मानकका आधारमा राजनीति बढाउने हो भने अहिले वाम गठबन्धनको बहुमतको आवश्यक छ । त्यसका लागि एमाले अध्यक्ष ओलीले संविधान निर्माण, भारतीय नाकाबन्दी, आत्मनिर्भरता, समृद्धिको सपनाजस्ता अडान लिएर जनमत जितेका छन् । नयाँ संविधानअनुसार थितिसमेत बसाल्ने सरकारका लागि वाम घोषणापत्र संगतिपूर्ण र आशा जगाउने प्रकृतिको तयार पारिएको छ । तर, सर्त भने नेताले जितेर जनताले हार्ने अवस्थाको अन्त्य गर्न सचेत पंक्तिले संकीर्ण दायरा तोड्ने हिम्मत राख्नुपर्छ। 

संकीर्णता त्याग्दा सबैको जित हुन्छ । एउटा राजनीतिक व्यक्तिले एउटा निर्वाचनमा पराजय भोग्दैमा केही बिगँ्रदैन, अर्को अवसर आउँछ । तर, व्यवस्था नै पराजित हुने अवस्था सिर्जना हुनु इतिहासकै भूल हुनेछ । सचेत मतदाताले यसबारे ध्यान पुर्‍याउने नै छन् । अन्त्यमा, संकीर्ण मोह त्यागेर उचित समयमा उचित पात्र चयन हुन नसक्नुको शृखलाले कुरुक्षेत्रको महाविनाश हुन्छ र महाभारतको कथा सकिन्छ । कथाको आखिरीतिर एउटा रोचक दृश्य प्रस्तुत हुन्छ– स्वर्गमा । सबैले भूलको प्रायश्चित गरिसकेका हुन्छन् । जेष्ठताको आधारमा विधिपूर्वक कर्ण राजा हुन्छन्, १०६ भाइ दाजुभाइको खुसीले एउटा इन्द्रेणी सभा बन्छ । यसबाट प्रसन्न श्रीकृष्ण भन्छन्– उचित समयमा उचित चयन भइदिएको भए हस्तिनापुर नै स्वर्ग हुनेथियो।

प्रकाशित: ७ मंसिर २०७४ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App