८ वैशाख २०८१ शनिबार
विचार

उम्मेदवार पुरुष, मतदाता महिला

स्थानीय तह निर्वाचन कानुनमा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिला उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था थियो । यसका साथै चार जना वडा सदस्यमध्ये दुईजना अनिवार्य महिला हुनुपर्ने व्यवस्थाका कारण स्थानीय तहमा महिला सहभागिताको उत्साहजनक परिणाम हासिल भएको मानिएको थियो । तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कानुनमा यस्तो व्यवस्था नहुँदा प्रत्यक्षतर्फ महिला उम्मेदवारी अत्यन्त न्यून छ ।
संवैधानिक प्रावधानअनुसार त प्रतिनिधिसभा र संघीय संसद् दुवैमा ३३ प्रतिशत महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने कानुनी मान्यता छ । र पनि यसपटक प्रत्यक्षतर्फ पाँच प्रतिशतको हाराहारीमा मात्र महिला उम्मेदवारी हुनु लैंगिक सशक्तीकरणको सन्दर्भमा दरिद्र मानसिकता हो । यी सबै प्रक्रिया र हल्ला वास्तवमा महिला सशक्तीकरण, महिलाका लागि अवसर, समानता, सहभागिता लगायत थुप्रै विषयमा सोचनीय पक्ष हुन् । महिला सधैँ पुरुषको इसारामा चल्ने, आफ्नो खुबी र दक्षता नभएका प्राणी हुन् ? जम्मेवारी सम्हाल्ने क्षमता मनुष्य जाति सबैमा बराबर छ ।
कुन सोचाइ लिएर कुन क्षेत्रमा आफू अगाडि बढ्ने भन्ने रोजाइ मात्र व्यक्तिमा भर पर्छ, त्यो महिला होस् या पुरुष, कुनै जात होस् या वर्ग । हो, विश्वका कतिपय मुलुकका महिलाहरू र नेपालमा पनि एकाध महिलाले राजनीतिमार्फत आफ्नो समाज र राष्ट्रमा ठूलो परिवर्तन ल्याएका उदाहरण नभएका होइनन् । तर महिलाहरू राजनीतिमा संलग्न हुँदा मात्र सक्षम र क्षमता अभिवृद्धि हुन्छ भन्ने धारणा र मान्यतामा पनि कुनै सार्थकता छैन ।
देशलाई रिचार्ज गर्नु छ, ऊर्जा दिनु छ र निकास खोज्नु छ तर त्यसका लागि शब्द र भाषणले मात्र हुनेवाला छैन । जागरणको नयाँ आयामको जरुरत छ । जुन  आयामले अहिलेसम्मका कमजोरीलाई सुधारेर नयाँ दिशा प्रदान गरोस् । सत्ताको लोभ होइन, स्वसत्ताको पहिचान हुन सकोस् । चुनाव देशका लागि सकारात्मक रूपान्तरणको मापन र साधन बन्न सकोस् । यसका लागि सकारात्मक सोच भएको निष्पक्ष व्यक्ति चाहिएको छ, महिला होस् या पुरुष । अबको चुनाव  परम्परागत र गणितीय माध्यम मात्र नबनोस् । कसैलाई साहस र ढाडस अनि कसैलाई नैतिकतामा आँच आउने साधन र माध्यम पनि नबनोस् । स्वतन्त्र, सही र सत्यको पहिचान अनि देश र जनताको हितमा काम गर्ने प्रतिनिधिको चयन होस् । आफैँले गरेको चुनाव र परिणामले अहिलेसम्म भोगेको दुःख र पछुतो फेरि नदोहोरिओस् । चुनावी ऊर्जाले बाहिर होइन, भित्र आन्दोलित बनाओस् । विचारको आन्दोलन होइन, भावनाको आन्दोलन होस् र त्यो आन्दोलनको परिणाम भित्री जागरण र ऊर्जा प्रष्फुटन गरोस् । जुन देशका लागि सकारात्मक मार्ग र व्यक्ति स्वयंका लागि जीवन रूपान्तरणको मार्ग बनोस् । चुनावको परिणाम पदको भागबन्डा र स्वार्थ पूर्ति नबनोस् बरू चुनावी परिणामले देशमा र समस्त जनमानसमा शान्ति, आनन्द, स्वास्थ्य एवं जीवनको स्वकेन्द्रतर्फ फैलिने प्रेरणा प्रदान गरोस् ।
चुनावी मैदानमा उत्रिने महिलाले भोटको शक्तिसँग होइन, आफ्नो भित्री ऊर्जालाई फैलन दिए सकारात्मक परिणाम हात लाग्नेछ । किनकि सफल नेताभन्दा महत्वपूर्ण नेताको खाँचो भएको छ, नेपाललाई । समुद्रभित्र पस्न किनारा छोड्नैपर्छ । त्यसैले लोभ, द्वैष, अहंकार र भ्रष्टाचारको किनारा पार गरेर करुणा, दया र प्रेमको समुद्रमा पस्न सक्ने महिला नेतृत्वको खाँचो छ देशलाई । म किन चुनावमा जाँदै छु ? कसका लागि जाँदै छु ? र के प्राप्त गर्नका लागि जाँदै छु ? यो  सोचेर चुनावी मैदानमा उत्रिने र आफ्ना मतदातालाई विश्वासिलो पात्र बनेर देखाउने र पुष्टि गर्ने महान् नेताको खाँचो छ, देशलाई । जन्मले, राजनीतिक दलले र  सम्पत्तिले महान् हुँदैनन् नेताहरू । महान् नेता हुन उसले गर्ने कार्य महान् हुनुपर्छ ।
नदी किनारामा उभिएर हेर्नाले मात्र नदी पार गर्न सकिँदैन । त्यसैले विश्वासरूपी नदी तर्न र जनतासामु उपस्थित हुन विश्वासको नदीमा डुबुल्की मार्नैपर्छ र विकासको काम गरेर देखाउनैपर्छ । सफल नेतृत्व उही हुन्छ, जसले आफ्ना हरेक कर्मबाट आनन्दको अनुभूति गर्छ र अरूलाई आनन्द बाँड्ने खुबी राख्छ । समस्या खोज्ने होइन, समाधान खोज्ने नेतृत्वको अभाव देशले भोगिरहेको छ । त्यसैले समस्या होइन, समाधानको बाटो खोज्ने, नेतृत्व चयन गर्ने जिम्मेवारी सबैको काँधमा आएको छ । भ्रष्टाचारमुक्त, शान्त, समुन्नत देश निर्माणमा नेताको ठूलो हात रहेको हुन्छ । उसले गरेको त्यो असल कर्म उसका सन्तान–दरसन्तानका लागि असल मार्ग बन्न सक्छ ।
आफ्ना कर्म र आफ्नो राजनीतिक विचारधारा अनि आफ्नो दलगत सफलताका लागि अरूलाई दोष दिनु र अरूको नराम्रो देख्नुमा कुनै तुक छैन । आफूले राम्रो कर्म गरेर देश र जनताको मन जित्न सके त्यो महत्वपूर्ण खुबी र गुण हो कुनै पनि नेता अथवा दलको । उखान नै छ, ‘समय आउँछ, पर्खंदैन ।’ त्यसैले जीवनमा समय र जीवन दुवै शिक्षक बराबर हुन् । किनभने, जीवनले समयको सही उपयोग गर्न सिकाएको हुन्छ भने समयले जीवनको उपयोगिताबारे सिकाएको हुन्छ । समय र जीवन, जीवन पाउनुको सौभाग्य र त्यो सौभाग्यलाई जनहितमा, देशको हितमा लगाउन हिम्मत राख्ने नेतृत्व वर्गलाई कसले सलाम गर्दैन र ?

प्रकाशित: २३ कार्तिक २०७४ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App