२८ असार २०७७ आइतबार
विचार

नेपाल संवत् र राज्य

दृष्टिकोणमा भिन्नता

नेपाल संवत् इतिहास हो । नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाल इतिहास हुन् । तर इतिहास हेर्ने दृष्टिकोण सबैको समान छैन । त्यस्तै अभिमत पनि फरक फरक छन् । संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरिसकेपछि राष्ट्र संघ परिसरभित्र नेपाल सरकारको तर्फबाट प्रत्येक वर्ष ‘नेपाल दे’ (नेपाल दिवस) मनाइन्थ्यो–म्हपूजाको दिन अर्थात नेपाल संवत्वसरको अवसर पार्दै । मुलुकमा निर्दलीयता र निरंकुशताको प्रभावमा त्यो प्रचलन पछि रोकियो ।

लोककल्याणकारी अग्रज अभियन्ताका रूपमा नेपालका सुपुत्र शंखधर साख्वाःलाई स्थापित गराउनु आजको दायित्व हो ।

संभवतः २०४० सालतिर होला । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको नेतृत्वमा काठमाडौंँदेखि वीरगन्जसम्म भव्य मोटरसाइकल ¥याली आयोजना गरिएको थियो । आयोजक संस्था थियो– न्युरोड पाकोस्थित लुमन्ति खलः भन्ने एक सामाजिक संस्था । मोटरसाइकल ¥याली वीरगन्ज पुग्न नपाउँदै श्रीपुरमा रोकियो । प्रहरी जत्थाले जबर्जस्ती त्यस ¥यालीमा सहभागी व्यक्ति तथा मोटरसाइकललाई हिमालयन आइरन कम्पनीको कारखाना कम्पाउन्डभित्र कोचे । अञ्चलाधीश थिए– लक्षबहादुर गुरुङ । यता राजधानीमा वाग्मती अञ्चलाधीश कार्यालयले समन जारी गरी कवि दुर्गालाल श्रेष्ठ र यस पंक्तिकारलाई रत्नपार्कस्थित अञ्चलाधीश कार्यालयमा नजरबन्द ग¥यो । सह–अञ्चलाधीश बासु पासा केरकार गर्ने हाकिम थिए । तत्कालीन प्रशासकहरूको तर्क थियो– नेपाल संवत् भिंतुना ¥यालीको  मधेसतिर प्रवेश पहाडिया र मधेसीबीच साम्प्रदायिक दङ्गा भड्काउने कारक हुन सक्छ ।
राजदरवारका मुख्य सचिव थिए– रञ्जनराज खनाल, संवाद् सचिव चिरनशमशेर थापा । उनीहरूको विशेष निर्देशनमा एकातिर सरकारी सञ्चारमाध्यममा नेपाल संवत्सम्बन्धी समाचार प्रतिबन्धित भए । अर्कोतिर दरवारका केही आसेपासेबाट पत्रपत्रिकामार्फत कलम चलाउन लगाएर नेपाल संवत्को राष्ट्रिय मान्यताको औचित्य छैन भन्ने विचार गोयबल्स शैलीबाट अन्धाधुन्ध प्रचार अभियान चलाए ।  
वसन्तपुरमा लक्ष्मीपूजाको दिन प्रत्येक वर्ष मास ¥याली (सामूहिक दौड) हुने गथ्र्यो नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा । त्यस वर्ष क्रेन र डोजर पठाइए सरकारको तर्फबाट सहभागीहरूको मोटर, मोटरसाइकल उठाउन । एकाबिहान वसन्तपुर भेला भएका सयौँ कार्यकर्ता गिरफ्तार गरिए । त्यत्तिकै संख्यामा प्रहरी दमनमा घाइते भए । प्रधानमन्त्रीको कुर्सीमा थिए मरीचमान सिंह, कुरा २०४५ सालको थियो ।
परिवर्तन र परिमार्जित दृष्टिकोण
अर्को वर्ष, जनआन्दोलन सफल भएको वर्ष । वसन्तपुरमा बर्सेनि आयोजना गरिने नेपाल संवत् भिंतुना ¥याली, जुलुस र आमसभाको प्रमुख अतिथिका रूपमा उपस्थित भइदिए स्वयं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई । अनि उनको मन्त्रिपरिषद्का गृहमन्त्री योगप्रसाद उपाध्याय, वाणिज्यमन्त्री सहाना प्रधान, यातायात मन्त्री मार्सलजुलुम शाक्य र स्वास्थ्य मन्त्री मथुराप्रसाद श्रेष्ठसहितको जमात नै उपस्थित थिए त्यस अवसरमा ।
२०५७ साल मंसिर २ को मन्त्रिपरिषद् बैठकले नेपाल संवत्का प्रणेता शंखधर साख्वालको हैसियत राष्ट्रिय विभूतिका रूपमा रहेको स्वीकारे । सोहीअनुसार घोषणा गरियो । पुष्पकमल दाहालले प्रधानमन्त्रीको कुर्सी सम्हालेको वर्ष २०६५ सम्म आइपुग्दा नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता प्राप्त गर्यो ।
आखिर शंखधर साख्वालद्वारा प्रतिपादित नेपाल संवत् त्यही हो, शंखधर उही हुन् । हामी नेपाली र हाम्रो नेपाल पनि त्यही हो तर समय कालखण्डले नेपाल संवत् र शंखधरप्रति आत्मसात् गरिने प्रवृत्तिमा ठूलो अन्तराल देखाए । नेपाल संवत् भिंतुनाको ¥यालीमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री सहभागी हुँदै आइरहेका छन्, यस वर्ष पनि त्यो क्रम जारी रहन्छ । तर अनौठो ! गिरिजाप्रसाद कोइरालाले सोही कार्यक्रमको मञ्चमा उभिएर अभिभाषण जारी राख्दा भावुक भएर घोषणा गरेका थिए– ‘नेपालको गौरव र मौलिक संवत् नेपाल संवत्को तिथि मिति आजको दिनदेखि मैले अरुमा नभए पनि मेरो लेटरप्याडमा प्रयोग गर्नेछु ।’ तत्कालीन राजनीतिको त्यो शीर्ष व्यक्तित्वबाट सार्वजनिक स्थलमा भएको उद्घोष कार्यान्वयन भने कहिल्यै भएन ।
माधवकुमार नेपाल प्रधानमन्त्रीका रूपमा वसन्तपुरको भिंतुना ¥यालीमा जनसमक्ष उभिएर नेपाल संवत्बारे अध्ययन÷अनुसन्धानका लागि आयोग बनाउने र आयोगको सुझाव अविलम्ब कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जाहेर गरेका थिए । आयोग त बन्यो तर सुझाव कार्यान्वयनमा सिन्कोसमेत भाँचिएन ।
त्यो वर्ष, नेपाल संवत् भिंतुना ¥यालीको आमसभास्थल वसन्तपुर थिएन, खुल्लामञ्चतिर पुगेको थियो । प्रधानमन्त्रीका रूपमा थिए डा. बाबुराम भट्टराई । नयाँपन दिने जमर्कोस्वरूप उनको सम्बोधन नेपाल भाषामा भएको थियो । उल्लेख्य कुरा– नेपाल संवत्सम्बन्धी अध्ययन÷अनुसन्धानका लागि राज्यस्तरबाट एउटा प्रतिष्ठान सञ्चालन गर्ने र त्यसका लागि आकर्षक रकम कोषका लागि सरकारले उपलब्ध गराउने । जसरी उनको कार्यकाल क्षणिक थियो, उनको त्यो वचन पनि खुल्लामञ्चकै हावामा त्यसैगरी बिलायो ।
पहिलो संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बहुमतका आधारमा प्रधानमन्त्री बन्न सफल भए । उनी पनि नेपाल संवत्को भिंतुना ¥याली र आमसभामा प्रमुख अतिथि बने । सो अवसरमा उनको उद्घोष अरुको भन्दा फरक थियो– दृढताका साथ उनले नेपाल संवत्को महत्ता अंगीकार गर्दै नेपाल संवत् नेपालको राष्ट्रिय संवत्का रूपमा मान्यता प्रदान गरे । आधिकारिकरूपमा त्यसको घोषणा गरे । तर तत्पश्चात उनले नेतृत्व गरेको सरकार र त्यसपछिका मन्त्रिपरिषद्ले पनि राष्ट्रिय संवत्को मान्यताका व्यावहारिक परिणति के हुन्् भन्नेबारे कहिल्यै स्पष्ट पारेनन् । त्यसअनुरूप व्यवहार गरिएन ।
बुझाइ र व्यवहार
विगतदेखि वर्तमानसम्मको यथार्थ भनेको बुझाइको कमी नै हो । त्यसैको प्रतिफल हो– व्यावहारिक पक्षमा देखिने यावत् अलमल । राज्यको दृष्टिकोण धेरै परिमार्जित भइसकेको छ, अद्यापि स्पष्ट हुनुपर्ने पक्ष त्यत्तिकै छन् ।
साररूपमा नेपाल संवत्ले समेटेका ऐतिहासिक, सामाजिक÷सांस्कृतिक र कार्यान्वयन पक्ष नै हुन । ऐतिहासिक पक्ष खोतलखातलका लागि अध्ययन÷अनुसन्धान गर्न÷गराउनमा राज्यको भूमिका के÷कस्तो हुने हो अब स्पष्ट हुनुपर्छ । अभौतिक सम्पदाका रूपमा एघार सय वर्षदेखि स्थानीय समुदायमाझ जीवन्त रहँदै आएको नेपाल संवत्सँग गाँसिएका संस्कार, संस्कृति, रीति, परम्परा, चाड, पर्वको संरक्षण, सम्बद्र्धनमा राज्यको दायित्व के हो ? सरकारी पक्षले अब किटान गर्नुपर्छ । त्योभन्दा महŒवपूर्ण कुरा राष्ट्रिय संवत्को मान्यता प्रदान गरिसकेपछि राष्ट्रिय स्तरमा यो संवत्लाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने हो, सरकारी स्तरबाट नीति तय हुनु आवश्यक छ । प्रधानमन्त्रीले प्रमुख अतिथिका रूपमा जनमानससमक्ष उभिएर भावुकतावश सस्तो लोकप्रियता वा भोट बैंक रिजाउनेखालका गुलिया शब्द प्रयोगको अब कुनै औचित्य छैन ।
एउटा महत्वपूर्ण पक्ष
नेपाल संवत् एकातिर इतिहास हो अर्कोतिर पछिल्लो कालखण्डमा यसको पक्षमा देखिएका व्यापक लोक अभिमत । यसमा मत विभाजित हुन सकिन्छ । तर यथार्थतः नेपाल संवत्को संवत्सर एउटा यस्तो ऐतिहासिक घटना थियो तत्कालीन त्यस अवस्थामा केही उथलपुथल भए । तीन शताब्दीभन्दा पुरानो लिच्छवि वंशको सत्ताक्रम भंग भयो, त्यत्तिकै बेला । लगत्तै, विशालनगर केन्द्र रहेको नेपालमण्डलको प्रशासनिक केन्द्र अन्यत्र स्थानान्तरण भयो । र, मानदेवले प्रचलनमा ल्याएको संवत् त्यागेर नयाँ संवत्को प्रचलन सुरु भयो ।
किवंदन्तीमात्र होइन, वंशावली अनि प्राप्त ऐतिहासिक दस्तावेजहरूले पनि भन्छन् नेपाल संवत्को थालनी शंखधर साख्वाःले आर्जन गरेको निजी सम्पत्तिबाट देशभरि जे÷जति आर्थिकरूपमा पीडित जनता थिए उनीहरूका ऋण मोचनका लागि गरिएको पवित्र कार्यको सम्मानमा भएको थियो । सोही ऋण मोचनको सम्झनामा नयाँ सवत् प्रचनलमा ल्याइयो । कुनै एक सामान्य व्यक्ति आफ्नो निजी सम्पत्ति स्वजनहरूको आर्थिक मुक्तिका लागि प्रयोग गर्नमा अग्रसर भइदिनु सानो घटना थिएन । त्यस घटनाले शंखधरको हृदयभित्रको दानशीलता र उदार चित्तवृत्तिलाई स्पष्ट गर्छ । एक अर्थमा त्यो शंखधरले गरेको अतुलनीय लोककल्याणकारी  थियो ।

लोककल्याणकारी कार्यका सन्दर्भमा हिजोआज नेपाली समाजमा पनि रोटरी क्लब, लायन्स क्लब, जेसी, रेडक्रस सोसाइटी आदिको चर्चा हुने गर्छ । पाश्चत जगतको सिको गर्दै गरेको नेपाली समाजको नवीनतम् अभ्यास हुन् यी । यसमध्ये जेठो लोककल्याणकारी संस्था हो– रेडक्रस सोसाइटी जेन हेनरी डुनट्बाट संस्थापित । जसको इतिहास दुई शताब्दी पनि पुरानो छैन । तर यता आफ्नै मुलुकमा, हाम्रै दौतरी शंखधर साख्वालले एघार सय वर्षअगाडि लोककल्याणकारी कामको एउटा अनुपम दृष्टान्त स्थापित गरिसकेको थियो– स्वजनहरूलाई ऋण मुक्त गराएर । यस अर्थमा शंखधरको कार्य विश्वमै लोककल्याकारी कामको अग्र क्रममा छ । शंखधर विश्वकै लागि लोककल्याणकारी अभियानको अग्रज हुन् । सरकार, राज्यका प्रतिनिधि यस तथ्यलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउने राष्ट्रिय संवाहक बन्नु आवश्यक छ । राष्ट्र संघको मञ्चमा यस ऐतिहासिक धरोहरका यथार्थ प्रस्तुत गर्न सक्षम हुनुपर्छ ।
नेपाली धरतीका सन्तति सिद्धार्थ गौतमलाई राष्ट्र संघ र विश्वले शान्तिका अग्रदूतका रूपमा अंगीकार गरेको छ । अब लोककल्याणकारी अग्रज अभियन्ताका रूपमा नेपालका सुपुत्र शंखधर साख्वाःलाई स्थापित गराउनु आजको दायित्व हो । राज्यले शंखधरलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान प्रदान र नेपाल संवत् राष्ट्रिय संवत्का रूपमा मान्यताको तबमात्र वास्तविक अर्थ रहन्छ ।

प्रकाशित: २ कार्तिक २०७४ १०:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App