१६ चैत्र २०८० शुक्रबार
विचार

यसरी बचौँ बाथरोगबाट

बाथरोग के हो ? यो किन हुन्छ ? कसलाई हुन्छ ? के यो प्राणघातक रोग हो ? यसका लक्षण के के हुन् ? यसलाई कसरी पहिचान गर्ने? रोगको शंका भएमा वा लक्षण देखिएमा कुन चिकित्सा विशेषज्ञकहाँ जाँच गराउने ? यो रोगको उपचार हुन्छ कि हुँदैन? धेरै हामी अन्योलमा छौँ।

बाथ दीर्घ र जटिल रोग हो । यसलाई आथ्र्राइटिस, गठिया, बाथ आदि भनेर पनि चिनिन्छ । यो रोग कुनै उमेर, जात–जाति, लिंग, वर्ण वा कुनै निश्चित भूगोलमा मात्रै सीमित छैन । नाबालक शिशुदेखि वयस्कसम्म, वयस्कदेखि बृद्ध उमेरका महिला÷पुरुष सबैलाई यो रोगले आक्रान्त पार्ने गर्छ । विशेषतः वृद्ध वृद्धालाई यो रोगले बढी असर पार्छ । यो हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा गडबडी उत्पन्न भएर सिर्जना हुने रोग हो । बाथरोग एकै किसिमको नभई २०० भन्दा पनि बढी किसिमका हुन्छन् । कतिपय बाथरोग हड्डी, मासंपेशी, नसा, मुटु, छाला आदिमा प्रभाव परी उत्पन्न हुन्छन् ।

शरीर दुख्ने, हड्डीहरू दुख्ने, सुन्निने, कक्रक्क हुने, बिहान उठ्दा जाम भई औँलाहरू कक्रक्क भएर मुठ्ठी बाँध्न नसकिने, उठबस गर्न गाह्रो हुने आदि बाथका सामान्य लक्षणहरू हुन् । गर्दन दुख्ने, पाखुरा, हातका औँला, कम्मर, हात गोडा, जोर्नी, गोलीगाँठो आदि दुख्ने यसका थप लक्षण हुन् ।

आजको आधुनिक युगमा वैज्ञानिक पद्धतिबाट अत्याधुनिक नवीनतम उपचारका साथै नयाँ मोडेल, नयाँ नयाँ औषधि र अत्याधुनिक तथा प्रभावकारी सुईसमेत विकसित भइसकेका छन् । यी सबैको सुविधा हाम्रै देशमा पाउन सक्छौँ ।

यसले मानव शरीरको अस्थिपञ्जर प्रणालीलाई विशेषतः प्रतिनिधित्व गरेको हुन्छ । शरीरको कुनै पनि हाडजोर्नी, मांसपेशी, छाला, नसा दुखेर उत्पत्ति हुने रोग हो, ‘बाथ’ । यसले हाडजोर्नीबाहेक शरीरको कुनै पनि भित्री अंग जस्तै मुटु, मिर्गौला, फोक्सो, टाउको (मस्तिष्क), कलेजो आदिलाई पनि हानि गर्छ ।

कारण

अहिलेसम्म २०० भन्दा बढी प्रकारका बाथ रोग भएको पाइएको छ । कुन मानिसलाई कुन किसिमको बाथ भएको हो, छुट्याएर उपचार गर्ने गरिन्छ । हरेक बाथका आ–आफ्ना कारण र लक्षण हुने गर्छन् । यी सबै कुनै न कुनै रोग प्रतिरोधात्मक प्रणालीको गडबडीले हुने गर्छ । अर्थात् प्रत्येक मानिसभित्र रोगसँग लड्ने एक आफ्नै किसिमको क्षमता हुन्छ, तर यस रोगले त्यसकै विरुद्धमा शरीरलाई नै हानि गर्ने, जसलाई हामी एन्टीबडिज भन्ने गर्छौं, त्यस्तो किसिमको तत्वहरूको उत्पत्ति गराएर शरीरका विभिन्न भागको हाड, जोर्नी र कार्टिलेजहरू तथा विभिन्न प्रक्रियाबाट शरीरको प्रतिरोधात्मक क्षमता कम गरी रोग प्रतिरोधात्मक प्रणालीलाई नै दुर्बल पार्ने गर्छ ।

समग्रमा भन्दा नेपालीहरूमा ज्यादातररूपमा युरिक एसिड बढेर हुने बाथ, हड्डी कमजोर हुने, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिडको हड्डीमा हुने बाथ बढी भेटिएको छ । तीमध्ये कतिपय बाथ जीवाणु र किटाणुको संक्रमणबाट पनि हुने गर्छन् । जस्तैः क्षयरोग, भाइरल रोगहरू आदि । कतिपय बाथ वंशानुगत पनि हुने गर्छन्, अर्थात् एकै परिवारमा धेरै जनालाई उक्त रोग भएको छ ।

लक्षण

बाथ कुनै खास व्यक्ति विशेषलाई मात्रै हुने रोग होइन । यो नवजात शिशुदेखि ८०–९० वर्ष उमेरसम्मका जुनसुकै व्यक्तिलाई, जुनसुकै बेलामा पनि हुनसक्छ । बाथहरूमध्ये साधारणतया बुझिने भाषामा भन्दा बढी हड्डी खिइने बाथ हुन्छन् भने अरू मांशपेशी, छाला, आँखा, नसा तथा शरीरको भित्री अंगहरूलाई नै असर गरी उत्पन्न हुने बाथहरू पनि हुन्छन् ।

प्रायः बाथका रोगी हामीसँग आउँदा दुखाइको समस्यासहित आउने गर्छन् । प्रायः सबैमा हाड–जोर्नी दुख्ने, सुन्निने, फुल्ने, समस्या देखिन्छ । बिरामीहरूमा बिहान उठ्दा हातका औँला, जोर्नीहरू कक्रक्क पर्ने, साह्रो हुने, मुठ्ठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जाम भए जस्तो हुने, हिँड्न, बस्न, उठ्नै गाह्रो हुने गर्छ । शरीर झमझम गर्ने, मांसपेशीभित्र दुख्ने, ज्वरो आउने, कपाल झर्ने, चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन हुने, शरीरमा राता–निला सानासाना टाटाहरू आउने, छाला तन्किने, आँैलामा घाउ आउने, घाममा जाँदा पुतलीको पखेटा जस्तो गालामा रातो डाम आउने, मुखमा घाउ हुने आदि हुन्छन् । उकालो–ओरालो गर्दा र भ¥याङ चढ्दा हड्डीहरू दुख्ने गर्छन् । ती एकै किसिमको बाथका लक्षण हुन् ।

बाथ बालबालिका तथा सानै उमेरमा पनि हुन्छ । कतिपय बाथहरूले वर्षौं पीडा दिइरहेका हुन्छन्; त्यसका बाबजुद पनि तिनले शरीरलाई घातै गर्नेगरी हानि गर्दैनन् । तर नराम्रा बाथहरूले केही दिन, महिना र वर्षदिनभित्रै हड्डी बांगिने र त्योसँगै मुटु, मिर्गौला, आँखा, छाला, कलेजो र फोक्सोलाई पनि असर गरी घात पु¥याउँछन् । तसर्थ बाथलाई हामीले हाडजोर्नी दुख्ने रोग मात्र भनेर पनि बुझ्नु हुँदैन । यसले शरीरको कुनै पनि अंगलाई आन्तरिक रूपमा क्षति गराइदिन सक्छ ।

नेपालमा बाथ 

करिब दशक अगाडिको स्थिति र अहिलेको स्थितिमा धेरै परिवर्तन आइसकेको छ । धेरैजसो मान्छेले बाथलाई रोगका रूपमा नभई अभिशापका रूपमा बुझ्ने गर्थे । तर हिजो आज यस रोगप्रतिको धारणा बदलिइसकेको छ र मानिसहरूमा बाथ पनि एक किसिमको शारीरिक रोग हो र यसको उपचार गरेपछि निको हुन्छ भन्ने बुझाइ बढेको छ । अधिकांश बाथरोगहरू समयमै र सही पहिचान भई सही उपचार भएमा पूर्णतया निको हुन सक्छ । यदि पूर्णतया निको नहुने प्रकृतिका बाथरोग भए पनि तिनलाई आधुनिक पद्धतिका औषधोपचारसाथ उचित जीवनशैली, आहार–व्यवहार र उपयुक्त व्यायामका माध्यमबाट पूर्णतया नियन्त्रणमा राख्न सकिन्छ । रोग निर्मूल नभए पनि नियन्त्रण भयो भने व्यक्तिले पूर्णरूपमा आफ्नो जीवनको सदुपयोग गर्दै परिवार, समाज र राष्ट्रकै बोझ हुनबाट बच्ने मात्र नभएर ऊर्जाशील, उत्पादनशील र सिर्जनशील जीवन जिउन सक्छ । व्यक्तिगत जीवन, पारिवारिक जीवन एवं सामाजिक जीवनलाई त्यसले सकारात्मक सन्देश दिन सक्छ, खुसी दिन सक्छ, ऊर्जा दिन सक्छ, सक्षमता दिन सक्छ र उज्ज्वल भविष्य पनि दिन

सक्छ । त्यसैले बाथ न त अभिशाप हो, न त श्राप नै । विज्ञान र प्रविधिको प्रगतिले गर्दा हाम्रो हातमा नयाँ–नयाँ औषधि र उपचार पद्धति आइसकेका छन् । उपयुक्त उपचार भएमा यो रोग निको हुने ९५ प्रतिशत सम्भावना रहन्छ ।

यस रोगलाई हामी सजिलैसँग चिन्न सक्छौँ । चिन्ने समयमै जो जति चाँडो अस्पताल आउँछ, उसले तीव्र उपचार पाउन सक्छ । जो छिटो उपचारमा आउँछ, उसले आफूलाई अपांगता हुनबाट बचाएको हुन्छ र अरूलाई पनि पाठ सिकाउन सक्छ र सञ्चार गर्न सक्छ । हामीले भर्खरै विश्व बाथरोग दिवस मनायौँ । बाथ रोगबाट आफैँ पनि बचौँ र अरूलाई पनि बचाऔँ ।

प्रकाशित: १ कार्तिक २०७४ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App