११ आश्विन २०७७ आइतबार
विचार

‘वाम’ एकताको आधार

वाम एकता अनि लोकतान्त्रिक गठबन्धनसँगै नेपाली राजनीतिमा अब तीन धार देखिएका छन् । पहिलो वामपन्थी धारको नेतृत्व एमाले–माओवादीले गर्नेछन् । दोस्रो, लोकतान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ भने तेस्रो वैकल्पिक राजनीतिक धारको नेतृत्व विवेकशील साझा पार्टीले गर्नेछ । साथै, यो निर्वाचनमा परम्परागत शक्तिहरू वा वैकल्पिक शक्ति भन्ने बहस पनि अगाडि आउनेछ भने नयाँ पुस्ताको नेतृत्व अगाडि आउनुपर्ने बहसले पनि नेपालको राजनीति अनि पार्र्टीिभत्र पनि राम्रो बहस सिर्जना गर्नेछ । यो आलेखमा भने वाम एकतालाई नै केन्द्रमा राखेर चर्चा गरिनेछ ।

यो एकीकरणले माओवादीलाई सांगठनिकरूपमा भने समाप्त पार्नेछ । अनि कम्युनिस्ट भनेको एमाले हो भन्ने स्थापित हुनेछ ।

छोटो समयमै आएको यो एकताको सन्देशले धेरै सन्देह उब्जाएको छ । यदि यो एकता सिद्धान्त र अजेन्डाले प्रेरित छ भने यसले पक्कै पनि राजनीति अनि देशलाई एक कदम अगाडि लैजान्छ । तर यो एकताको जग नेताको व्यक्तिगत स्वार्थसँग जोडिएको छ । ६०–४० को तालमेल होस् वा चुनावपपछि पार्टी र सत्ताको नेतृत्व कसले गर्ने भन्ने आधार, यो तालमेलले बृहत् राष्ट्रिय हितको रूप लेला भन्नेमा पर्याप्त शंका गर्ने ठाउँ छ ।
एकतामा नेताहरूको स्वार्थ   
    ‘राजनीति सम्भावनाको खेल हो’ भन्दै १० वर्षदेखि प्रचण्डले नेपाली राजनीतिमा प्रत्येक पटक निर्णायक भूमिकामा आफूलाई प्रस्तुत गरे । उनले नेपालको राजनीतिलाई आफू वरिपरि नै घुमाइराखे । यसपटक पनि उनले एक तीरले धेरैतिर निशाना लगाएका छन् । माओवादीभित्रै नेतृत्व परिवर्तनको कुरा उठिरहेको बेलामा अनि उनी कमजोर बन्दै गएको बेलामा, उनले यी कुरा सतहमा आउनुअघि नै नयाँ माहोल सिर्जना गरेका छन् । यो कदमले फेरि उनलाई राजनीतिको केन्द्रमा पु¥याएको छ । साथै, उनले आफूलाई पुनः एकचोटि आलोपालो नेतृत्वको नाममा सत्तामा पु¥याएका छन् । उनी पार्टी अनि सरकार दुवैको सत्तामा पुनः स्थापित भएका छन् । साथै, उनको अन्तिम उद्देश्य भनेको राष्ट्रपति बन्ने नै हो । अब राष्ट्रपतिको कार्ड पनि प्रचण्डले आफूसँगै राखेका छन् । योसँगै यदि उनी राजनीतिकरूपमा कमजोर बन्दै गए द्वन्द्वकालका मुद्दाहरू, क्यान्टोमेन्टको हिसाब आदिबारेमा उठ्न सक्ने प्रश्नबारे पनि सचेत छन् । तसर्थ, प्रचण्ड कमजोर बन्न चाहँदैनन् । साथै, माओवादी केन्द्रका नेताहरूलाई पनि प्रचण्डको एकछत्र राजबाट मुक्ति मिलेको छ र उनीहरूले पनि बृहत्रूपमा सोच्ने मौका पाएका छन् ।
यसमा एमाले नेताहरूको पनि उत्तिकै स्वार्थ छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफूले बहुमत ल्याउन नसक्ने अनि फेरि सत्ता गठबन्धनमा माओवादीकै साथ चाहिने देखेर यो सहमतिका निम्ति सहमत भएका हुन् । उनी पार्टीभित्र माधवकुमार नेपालको गुटलाई कमजोर बनाउन चाहन्थे । तसर्थ, यो कदम चाले । साथै, भारतीय जनता पार्टीका नरेन्द्र मोदीझैँ निर्विवाद नेता बन्ने धूनमा छन् । एमालेभित्र केपी ओलीको बढ्दै गएको प्रभावलाई कम गर्न माधवकुमार नेपाल, झलनाथ खनालहरू पनि यो सहमतिबाट आफूलाई लाभ भएको ठान्छन् । तसर्थ, एमाले नेताहरूलाई पनि लाभ नै हुनेछ यो तालमेल र एकताबाट ।
नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्तिमा लागेर अध्यक्ष बन्दै देश हाँक्ने जुन सपना देखेका थिए, त्यो सजिलै पूरा हुने नदेखेपछि उनका निम्ति पनि विकल्प थिएन । नयाँ शक्तिलाई सांगठनिक हिसाबमा बढाएर वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने न उनको लक्ष्य थियो न सामथ्र्य । तसर्थ, यो उनका लागि पनि सहज अवतरण थियो । तर २ वर्षको अन्तरालमा २ चोटि १८० डिग्रीको सैद्धान्तिक परिवर्तनले उनको व्यक्तिगत नेतृत्वमा फेरि शंकाको परिस्थिति भने उब्जिएकै छ ।
साथै, हाल कोही पनि शीर्ष नेता प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो स्थानप्रति सुनिश्चित थिएनन् । तसर्थ, यो एकताको उद्देश्य शीर्ष नेताहरूले आफ्नो खस्दै गएको साख जोगाउन र प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गर्नका लागि हो कि भनेर शंका गर्ने पनि पर्याप्त स्थान छ । त्यसैले, सिद्धान्तभन्दा पनि नेताको स्वार्थले प्रेरित यो एकता यदि कसैको स्वार्थसँग बाझिए कति टिक्ला, यसै भन्न सकिन्न ।
पार्टीगत हिसाबले हेर्दा
हामी जुन संरचनामा छौँ त्योअनुरूप कुनै एक दलको बहुमत आउने देखिँदैन । तसर्थ, निर्वाचनअघि वा निर्वाचनपछि गठबन्धनको आवश्यक्ता पक्कै थियो । त्यसैले पनि पहिलो हुने ३ पार्टीमध्ये दुईको गठबन्धन हुनुको विकल्प थिएन । तर विभिन्न मुद्दामा विपरित धारणा राख्दै आएका दलबीचको हठात तालमेल तथा एकता प्रक्रियाले ठूलो प्रश्न उब्जिएको छ । यो कदम मूल्य, मान्यता, संस्कार र विधिको राजनीति गर्ने दिशातर्फ नभएर पार्टीलाई शक्तिशाली र सत्ता प्राप्तिकै दिशातर्फ मात्र लक्षित देखिएको छ । यसले एकातिर सुसंस्कृत राजनीतिको मुद्दा, सुशासनको मुद्दा, विकास मुद्दालाई किनारा लगाउने काम गरेको छ भने अर्कातिर फेरि सत्ताका लागि ‘राजनीतिक सिन्डिकेट’ निर्माण पो भएको हो कि भन्ने देखिएको छ ।
पार्टीगत हिसाबले हेर्दा एमालेलाई यो गठबन्धनले फाइदै पुगेको छ । यो एकीकरणको नेतृत्व गरेकामा एमाले कार्यकर्ताहरूको मनोबल पनि उच्च रहनेछ । तर पनि विभिन्न क्षेत्रमा उम्मेदवार अनि नेतृत्वका आकांक्षीहरू भने निराश हुने र पार्टीलाई असहयोग गर्न सक्ने देखिन्छ । तर पनि यो एकताको नेतृत्व गरेको पार्टी भएकाले एमालेलाई फाइदै हुनेछ ।
माओवादी केन्द्रले पनि यो गठबन्धनबाट हालको उसको हैसियतभन्दा बढी नै पाएको छ । तर यो एकीकरणले माओवादीलाई सांगठनिकरूपमा भने समाप्त पार्नेछ । अनि कम्युनिस्ट भनेको एमाले हो भन्ने स्थापित हुनेछ । यसले केही समय माओवादीका नेताहरुलाई पुनः एकचोटि सत्ता अनि शक्तिमा स्थापित भने गर्नेछ । विगतमा रहेको तिक्तताका कारणले गर्दा निर्वाचनमा एमालेका कार्यकर्ताले माओवादीलाई, माओवादीले पनि एमालेलाई मनैदेखि सहयोग नगर्न सक्छन् । फेरि एकपल्ट स्थानीय निर्वाचनको पहिलो चरणमा एमाले–राप्रपाको जस्तो तालमेल मतपत्रमै देखिन सक्छ । साथै, सत्ता अनि शक्तिकै बार्गेनिङका कारण प्रचण्डले फेरि एकपल्ट ‘सम्भावनाको खेल हो’ भन्दै अर्को कदम नचाल्लान् भन्न सकिन्न ।
कांग्रेसलाई तत्काल निर्वाचनको हिसाबमा केही घाटा त अवश्य लाग्नेछ तर सांगठनिक हिसाबमा भने उसलाई पनि फाइदै हुनेछ । वाम एकताले कांग्रेस पार्टीभित्रै अनि पार्टीबाहिर रहेका लोकतान्त्रिक नेतृत्व अनि शक्तिलाई एक ठाउँमा ल्याउन ‘इन्डक्टिभ इफेक्ट’ का रूपमा काम गर्छ । यो कदमले कांग्रेसलाई सांगठनिक हिसाबमा चलायमान बनाइदिएको छ । उद्देश्यबिहीन बन्दै गएको कांग्रेसलाई नयाँ उद्देश्य अनि ऊर्जाको सञ्चार गरेको छ । अब नेपाली कांग्रेस संविधान बनाएको, संविधान कार्यान्वयन गरेको, चुनाव गराएको सफलता बोकेर निर्वाचनमा जानेछ । साथै, अब यो कदमले नेताहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न प्रेरित गरेको छ । यो निर्वाचनमा कांग्रेसले लोकमानमा लिएको अडान, सुशीला कार्कीको महाअभियोगको मुद्दा, भरतपुरको कांग्रेस–माओवादी तालमेल जस्ता निर्णयबाट हालका लागि राहत पाएको छ ।
नयाँ शक्ति नेपाललाई पार्टीगत हिसाबमा घाटा हुनेछ । वैकल्पिक राजनीतिको अजेन्डा बोकेर हिँडेका कार्यकर्ताको विचल्ली भएको छ । अब ती कार्यकर्ता राजनीतिबाट टाढा जानेछन् कि वैकल्पिक शक्तिका रूपमा अगाडि आएको विवेकशील साझामा प्रवेश गर्नेछन् । तसर्थ, नयाँ शक्तिको सांगठनिक अस्तित्व रहने छैन ।
वैकल्पिक शक्तिका रूपमा अगाडि आएको विवेकशील साझा पार्टीलाई भने फाइदा भएको छ । अब वैकल्पिक राजनीतिको सबै हिस्सा उसले नै पाउनेछ भने यो टुट, फुट र जुटको राजनीतिबाट वाक्क भएका जनताको साथ पनि उसले नै पाउनेछ । साथै, उसको भोट बैंक नयाँ पुस्ताको मतदाता अनि स्विङ भोटर्स भएकाले उसलाई यो एकताले खासै फरक पर्ने छैन । अब तेस्रो धारको नेतृत्व यो पार्टीले गर्नेछ । तर यी सबै सम्भावनालाई विवेकशील साझा पार्टीले कति आफ्नो पक्षमा पार्न सक्छ, त्यो भने हामीले हेर्नैपर्छ ।
अन्त्यमा,
यो एकताको धरातल कमजोर छ । पार्टीहरू मिल्नु, एकबद्ध हुनु स्वागतयोग्य कदम हो तर मूल प्रश्न यो एकताको उद्देश्य के हो भन्ने नै हो । पार्टीगत वा राष्ट्रिय हितका लागि हो भने यसले राम्रो परिणाम दिनेछ । तर यदि केही सीमित नेताहरूको स्वार्थका लागि हो भने यसले फेरि अस्थिरतालाई नै जन्म दिनेछ । राजनीतिक निष्ठा र इमानदारितासहितको एकताले मात्र स्थायित्व दिन्छ । आलोपालो सरकार बनाउनका लागिमात्र यो एकता भएको हो भने यसले फेरि यही दलको सिन्डिकेटलाई स्थापित गर्नेछ ।
सिद्धान्त अनि व्यवहारको राजनीतिभन्दा विजय र पराजयको राजनीतिमात्र चाहने तप्काका निम्ति यो एकता तहल्का हुन सक्छ । जसले केही समयसम्म चियापसल, चौतारा अनि अखबार तात्नेछन् । यदि यो एकताको जग स्वार्थ नभएर साँच्चिकै समृद्धि, विकास, जनता हो भने अब यो एकीकृत पार्टीको मुद्दामा सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य जस्ता अजेन्डाले प्राथमिकता पाउनुपर्छ । यदि यसो भएमा, यसले नेपाललाई नयाँ उचाइमा लानेछ र अबका कैयौंँ वर्षसम्म पनि यो शक्तिको उल्लेखनीय अस्तित्व रहनेछ । तर, यदि माथि शंका गरिएझैँ यदि यो एकता स्वार्थमा टिकेको हो भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’ नहोला भन्न सकिन्न ।

प्रकाशित: २२ आश्विन २०७४ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App